छापा खबर


भारतको अर्को दादागिरी : महाकाली नदीको सबैजसो पानी भारतीय नहरमा

भारतको अर्को दादागिरी : महाकाली नदीको सबैजसो पानी भारतीय नहरमा

नेपालखबर
कात्तिक २६, २०७६ मंगलबार १:२१,

महाकाली साझा हो, पानी आधा–आधा हो। तर, नेपालले ‘केही पानी पाउने’ भनेर अपमानपूर्वक शारदा सम्झौतामा गरिएको सर्तलाई महाकाली सन्धिले प्रस्तावनामै दोहोर्‍याएको छ।

भारतका लागि पानीको कुनै सीमा नतोकेर अथाह पानी लग्न सक्ने प्रबन्ध गरिएको छ । भारतले अहिले हिउँदमा समेत १० हजार क्युसेक पानी लग्दा नेपालले १५० क्युसेक मात्रै पानी पाइरहेको खबर आजको नयाँ पत्रिका दैनिकमा महेन्द्रनगरबाट तेजराज भट्ट र मोहन विष्ट, काठमाडौंबाट प्रवीण देवकोटा र पुष्प कोइरालाले लेखेका छन्।

सीमा नदीमा दुई देशको बराबरी हक हुनुपर्ने हो । तर, २४ वर्षअघि भएको एकीकृत महाकाली सन्धिमा महाकाली नदीको पानी असमान ढंगले वितरण गर्ने व्यवस्था गरियो।

सन्धिमै ठगिएको नेपालले त्यसअनुसार पाउनुपर्ने पानी पनि अझै पाएको छैन ।

२९ माघ ०५२ मा भएको महाकाली सन्धिअनुसार नेपालले टनकपुर र शारदा ब्यारेजबाट सिँचाइका लागि हिउँदमा ८०० र वर्षायाममा दुई हजार तीन सय ५० क्युसेक पानी पाउनुपर्ने हो ।

तर, अहिले शारदा ब्यारेजबाट मुस्किलले हिउँदमा १५० र वर्षायाममा ६५० क्युसेक पानी मात्र पाइरहेको छ ।

सन्धिअनुसार नेपालले शारदा ब्यारेजबाट हिउँदमा एक सय ५० र वर्षायाममा एक हजार क्युसेक, टनकपुर ब्यारेजबाट हिउँदमा तीन सय र वर्षायाममा एक हजार क्युसेक तथा दोधारा–चाँदनी ९हालको महाकाली नगरपालिका० क्षेत्रको सिँचाइका लागि शारदा ब्यारेजबाट बाह्रै महिना तीन सय ५० क्युसेक पानी पाउनुपर्ने हो ।

तर, वनबासा क्षेत्रबाट हिउँदमा एक सय ५० र वर्षामा अधिकतम ६ सय ५० क्युसेक पानी मात्रै नेपालले पाइरहेको छ । यो पानीले भीमदत्तनगर, बेल्डाँडी र बेलौरीलगायत क्षेत्रको ११ हजार ६ सय हेक्टर क्षेत्रफमा सिँचाइ भइरहेको महाकाली सिँचाइ व्यवस्थापन कार्यालयका इन्जिनियर नवीन जोशीले बताए ।

टनकपुर ब्यारेजबाट पानी ल्याउन नेपाल र भारत दुवैले नहरको संरचना नै बनाएका छैनन् । जसले गर्दा सन्धि भएको झन्डै २५ वर्ष पुग्न लाग्दा पनि नेपालले पाउनुपर्ने पानी पाउन सकेको छैन ।

त्यस्तै, दोधारा–चाँदनी क्षेत्रमा सिँचाइका लागि शारदा ब्यारेजमा हेड रेगुलेटर र नेपालको सीमासम्मको एक हजार एक सय मिटर नहर निर्माणमा पनि भारतले उदासीनता देखाएको छ ।

जसले गर्दा यहाँबाट पाउनुपर्ने पानी पनि नेपालले पाएको छैन । हेड रेगुलेटर र नहर निर्माणबारे कुरा उठाउँदा भारतीयहरूले आफ्नो क्षेत्रमै सिँचाइका लागि पानी अपुग भन्दै दिन नसकिने बताउने गरेको महाकाली सिँचाइ आयोजना तेस्रोका निमित्त प्रमुख लोकबहादुर थापाले बताए ।

भारतले भने महाकाली नदीबाट हिउँद र वर्षायाममा आफूलाई आवश्यक पानी निरन्तर लगिरहेको छ । शारदा ब्यारेजबाट हिउँदमा पनि कम्तीमा १० हजार क्युसेक पानी लगिरहेको छ ।

यो पानीबाट उसले उत्तरप्रदेश र उत्तराखण्डको करिब ११ लाख हेक्टर क्षेत्रफलमा सिँचाइ गरिरहेको थापाले बताए । हिउँदमा वनबासा पुलका सबै ढोका बन्द गरेर शारदा ब्यारेजबाट पूरै पानी लैजाँदा महाकाली नदी सुक्खा हुन्छ । वर्षायाममा भने सबै ढोका खोलिदिन्छ ।

जसले गर्दा महाकाली नदीले कञ्चनपुरको भीमदत्त नगरपालिकाका वडा नम्बर ११, १२ र १३ तथा महाकाली नगरपालिका वडा नम्बर ९ र १० का बस्तीहरू डुबानमा पर्छन् ।

‘भारतले हिउँदमा आफूलाई चाहिने वेला नदी नै सुकाएर पानी लग्छ, वर्षामा सबै पानी नदीमा छाड्दा दर्जनौँ नेपाली बस्ती डुबानमा पर्छन्, सयौँ हेक्टर जग्गा कटान भइसकेको छ,’ भीमदत्त नगरपालिका–१२ का स्थानीय भरत भट्टले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad