परीक्षणका रूपमा बिहीबार गरिएको डायलाइसिसपछि पनि प्रधानमन्त्री केपी ओलीको शरीरमा क्रियाटिनिनको मात्रा अपेक्षा गरेअनुसार नघटेको चिकित्सकले बताएका छन् ।
स्रोतका अनुसार उपचारका लागि ग्रान्डी पुग्दा प्रधानमन्त्रीको क्रियाटिनिन ५ एमजी-डिसिलिटर पुगेको थियो ।
क्रियाटिनिनको मात्रा ह्वात्तै बढेपछि तत्काल डायलाइसिस गरेर रगत शुद्धीकरण गरिएको थियो । तर, अहिले पनि ४ एमजी-डिसिलिटर हाराहारीमा छ।
चिकित्सकका अनुसार प्रधानमन्त्रीको उमेर र तौलका व्यक्तिको क्रियाटिनिन सामान्यतया ०.६ देखि १.३ एमजी-डिसिलिटरसम्म हुनुपर्छ।
यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।
‘डायलाइसिस गर्दाको तुलनामा क्रियाटिनिन केही घटेको छ, तर अपेक्षाअनुसार घटेन । अहिले पनि ४ एमजी–डिसिलिटरको हाराहारीमै छ,’ उपचारमा संलग्न एक चिकित्सकले भने, ‘त्यो उमेर र तौलका व्यक्तिको क्रियाटिनिन ४ बाट नघट्नु भनेको मिर्गौलाले पूर्ण रूपमा काम नगर्नुजस्तै हो।’
डायलाइसिस गरेका कारण क्रियाटिनिनको मात्रा ४ एमजी–डिसिलिटरबाट नबढ्न पनि सक्ने एक मिर्गौलारोग विशेषज्ञले बताए।
तर, बढ्दै गए नियमित डायलाइसिस अनिवार्य हुने उनको भनाइ छ । प्रधानमन्त्रीको चिकित्सक टोली अहिले ७२ घन्टे रिपोर्टको प्रतीक्षामा छन्।
Shares

प्रतिक्रिया