छापा खबर


प्रधानमन्त्री ओली भेटघाट बन्द गरेर आराममा, कस्तो छ स्वास्थ्य ?

प्रधानमन्त्री ओली भेटघाट बन्द गरेर आराममा, कस्तो छ स्वास्थ्य ?

नेपालखबर
कात्तिक १५, २०७६ शुक्रबार २३:५३,

मिर्गौलाको डायलाइसिस गरेर बिहीबार बेलुका निवास फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले नियमति भेटघाट रोकेर शुक्रबार आराम गरेका छन्।

चिकित्सकहरुले उनलाई धेरै आरामको जरुरत रहेको भन्दै भेटघाट र बैठकहरु नगर्न सुझाव दिएका छन्।

त्यसैले प्रधानमन्त्री ओली शुक्रबार बालुवाटारस्थित निवासको माथिल्लो तलामै नै आराम गरिरहेका खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

उनले शुक्रबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेललाई मात्र भेटे । अन्य भेटघाट र बालुावाटारमै यसअघि हुने खालको कार्यक्रमहरु राखिएन।

दाहालसँग दिउँसो केहीबेर आरामकक्षमै कुराकानी गरेका ओलीले ‘विस्तारै ठीक हुँदैछ, बाँकी विषयमा अलि निको भइसकेपछि कुरा गरौला’ भनेको उनीहरु निकट स्रोतले बताएको छ।

प्रधानमन्त्री ओलीले दाहाल र उपप्रधानमन्त्री पोखरेलसँग पार्टीका केही विषयहरुमा निर्णय गर्नुपर्ने भन्दै सचिवालयको बैठक बोलाउने विषयमा परामर्श गरेका थिए।

दाहाल र पोखरेलसँगको कुराकानी पछि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले शनिबार बिहान १० बजेका लागि पार्टीको सचिवालय बैठक बोलाएका छन् । पार्टी भित्र लामो समयदेखि पार्टी एकताका काम रोकिइरहेका छन्।

त्यस्तै उपनिर्वाचनका लागि उम्मेदवारको नाम टुंगो लगाउनुपर्ने काम पनि बाँकी छ । प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थासहित पार्टीका रोकिएका काम अघि बढाउनेबारे परामर्श गर्न सचिवाय बैठक बोलाएका हुन्।

यसअघि दाहालले बिहीबार पनि ओलीसँग अस्पतालमै झण्डै १ घण्टा कुराकानी गरेका थिए । त्यसक्रममा ओलीले अलि छिटोछिटो समस्या देखिएकाले अस्पताल आउनुपरेको ओलीले बताएका थिए।

‘ठ्याक्कै यति दिन भन्ने त छैन, उपचार पद्धति कसरी अघि बढाउने भन्नेबारे डाक्टरहरु छलफलमै छन्,’ प्रधानमन्त्री ओलीको निजि सचिवालयका एक सदस्यले भने ‘अहिले उहाँले सबै भेटघाट रोकेर आराम गरिरहनुभएको छ।’

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले पनि प्रधानमन्त्री आराममै रहेको र भेटघाटहरु बन्द गरिएको बताए । प्रधानमन्त्री बालुवाटारमा रहँदा पनि चिकित्सकहरुको निगरानीमा छन् । उनका निजी चिकित्सक दिव्यसिंह शाहले ओलीको प्रत्यक्ष निगरानी गरिरहेकी छन्।

प्रधानमन्त्री ओलीका निजी चिकित्सक शाह सहित डाक्टरहरु दिलिप शर्मा र अरुण सायमीले पनि अबको उपचार पद्धति कस्तो हुने भन्नेबारे छलफल गरेका छन् । ‘प्रधानमन्त्रीज्यूको ट्रिटमेन्ट मोडालिटी कस्तो हुन्छ भन्नेबारेमा हामीले छलफल गरेका छौं तर ठ्याक्कै यस्तै गर्ने भनेर निष्कर्षमा पुगिएको छैन,’ शर्माले भने।

प्रधानमन्त्री ओलीको रगतको एउटा रिपोर्ट आउन बाँकी छ । त्यो रिपोर्ट आएपछि कुन र कस्तो उपचारको विधि अपनाउने भन्ने तय हुनेछ।

ग्रान्डी अस्पतालले बिहिबार प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गर्नु अघि सबै रिपोर्ट हेरेपछि थप उपचारको विधि तय हुने बताएको थियो । बुधबार र बिहीबार ओलीको दुईपटक डायलाइसिस गरिएको थियो।

गत बुधबार प्रधानमन्त्री ओली अस्पताल भर्ना हुँदा रगतमा क्रियाटिनिनको स्तर ५ भन्दा माथि थियो । त्यसैले उनको बुधबार २ घण्टा र बिहिबार ४ घण्टा डायलाइसिस गरिएको थियो।

स्रोतकाअनुसार ओलीको अर्को डायलाइसिस आइतबार गर्ने तयारी थियो । तर ओली शनिबारै अर्को डाइलाइसिसका लागि ग्रान्डी अस्पताल जाने सम्भावना छ । ‘रगतमा क्रियाटिनिनको स्तर बढ्दा डायलाइसिस गर्नुपर्ने हुन्छ।

प्रधानमन्त्री ओलीका लागि अब नियमित रुपमा मिर्गौलाको डायलाइसिस वा अर्को मिर्गौला प्रत्यारोपणको विकल्प छ । एकपटक प्रत्यारोपण गरिसकेको मिर्गौलाले काम गर्न छोडेकोले अब चिकित्सकहरुले अब नयाँ प्रत्यारोपण भन्दा नियमित डायलाइसिसको विकल्प प्रयोग गरिरहेका छन्।

नियमित डायलाइसिस गर्नका लागि हरेक पटक अस्पताल धाउनुपर्छ। त्यसैले उनका लागि बालुवाटारमै डायलाइसिस गर्ने व्यवस्था मिलाउने विकल्प पनि चर्चामा आएको छ । तर यो विकल्प प्रयोग गर्ने कि नगर्ने चिकित्सकहरु टुंगोमा पुगेका छैनन्।

‘प्रधानमन्त्रीलाई मिर्गौलाको मात्र समस्या भएको भए डायलाइसिस मात्र गर्नका लागि यो विकल्प प्रयोग गर्न सकिन्थ्यो,’ एक चिकित्सकले भने, ‘उमेरजन्य कारणले उहालाई अरु प्रकारमा समस्या पनि छन् । त्यसैले अरु केही समस्या देखिए तत्काल अस्पताल जानुपर्नेहुन्छ । त्यसैले धेरै प्रकारको प्रविधि बालुवाटारमै फिट गर्न सहज हुँदैन।’

मिर्गौंलाको समस्या भएका विरामीलाई मुटु, फोक्सो लगायतका अन्य अंगहरुमा पनि तत्कालकै कुनै जटिलता देखिनसक्छ । त्यसैले डायलाइसिसका लागि मेसिन फिट गरेर त्यसै मात्र ढुक्क भएर बस्ने अवस्था नहुने ती चिकित्सकले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad