लक्ष्मी पूजाको अघिल्लो रात साढे १२ बजे। तिहारको रौनक भए पनि झापाको मेचीनगर ११ को धुलाबारी सिरान पश्चिमको गोजाबस्ती प्रायः चकमन्न थियो।
मोटरसाइकल हुइँकिँदै आएका ७ जना उच्छृंखल युवा समूहले स्थानीय मिलन चौधरीको घर अघिल्तिर मोटरसाइकल रोके। अनि आक्रोशित मुद्रामा गालीगलौज गर्दै भने,‘ओइ मिलन, उठ।’
मध्यराति छोरालाई कसैले बोलाएछ भनेर बुबा चन्दु उठेर आँगनमा निस्किएका मात्रै थिए, उनलाई टाउकोमा चिर्पट प्रहार गरे। आमा चिना चौधरीलाई पनि त्यसैगरी शरीरमा चिर्पट प्रहार गरे। उनी बेहोस भइन्।
पछि थप ३ जना युवा बाँसबारी सिमसार क्षेत्रतिरबाट आए। ‘छोरीलाई पनि अभद्र ढंगबाट आक्रमण गरे,’ चन्दुले भने, ‘किन हामीमाथि आक्रमण गरियो, अझै बेखबर छौं।’
नाम मिल्दा आक्रमणकारी समूहले चौधरी परिवारैमाथि अन्धाधुन्ध कुटपिट गरेका थिए। खासमा त्यो समूह चन्दुका छिमेकी मिलन दर्जीको खोजीमा थियो।
नाम मिलेपछि मिलन चौधरीको परिवारले अनाहकमा आक्रमण सहनु पर्यो। यो खबर आजको कान्तिपुरमा पर्वत पोर्तेलले लेखेका छन्।
चन्दु चौधरीको परिवार सामान्य मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका छन्। छोरा मिलन चाहिँ धुलाबारी बजारको एउटा सपिङ मार्टमा काम गर्छन्।
मिलज दर्जी र मिलन चौधरीको घर टिमाइ खोला वारिपारि छ। चौधरी परिवारमाथि आक्रमण सुरु भएपछि स्थानीयवासीले प्रतिकार गर्नुका साथै प्रहरीलाई खबर गरेका थिए।
एक स्थानीयवासीका अनुसार तीन जना मोटरसाइकलमा चढेर फरार भए। ४ जनालाई समातेर प्रहरीलाई बुझाइयो। प्रहरीले घटनाको भोलिपल्ट थप ३ जना पक्राउ गर्यो।
स्रोतका अनुसार मिलन दर्जी लागूपदार्थका कारोबारी हुन्। उनी भारतबाट लागूपदार्थ लिएर काठमाडौ, पोखरा लगायतका सहरी क्षेत्रमा पठाउँछन्। केही समयअघि उनले काठमाडौंका एक जना कारोबारीलाई ‘सामान’ (लागूपदार्थ) पठाउने भनेर करिव डेढ लाख रुपैयाँ रकम असुलेका थिए।
तर, रकम लिएपछि दर्जी सम्पर्कविहीन बनेका थिए। स्रोतका अनुसार दर्जीलाई रकम असुल्न काठमाडौंका कारोवारीले ती व्यक्तिहरुको प्रयोग गरेका थिए।
Shares

प्रतिक्रिया