छापा खबर


नेकपामा बेथितिः गुटमा लाग्दा अवसरै अवसर, नलाग्दा जिल्ल !

नेकपामा बेथितिः गुटमा लाग्दा अवसरै अवसर, नलाग्दा जिल्ल !

नेपालखबर
कात्तिक ९, २०७६ शनिबार २:२४,

विरोध खतिवडा संसद् र संसदीय प्रक्रियाका जानकार। ०४८ सालदेखिकै सांसद।

खतिवडाले संसद्मा नियमापत्ति जनाउनेबित्तिकै सबैको ध्यान उनैतर्फ केन्द्रित हुन्छ। सभामुखदेखि विपक्षी दललाई पनि आच्छुआच्छु पार्ने स्वभाव छ खतिवडाको।

नेकपा केन्द्रीय सदस्य खतिवडाले तीनपटक संसदीय निर्वाचन जिते। एकपटक निर्वाचन जितेकाहरूले मन्त्री पद पाउँदा पनि खतिवडा भने नेकपाको संसदीय समितिमै हल्लिरहेका हुन्छन्।

सार्वजनिक लेखा समितिमा प्रभावकारी भूमिका खेलिरहे पनि अवसरका बेला भने खतिवडा नेताहरूको ‘विपक्षी’ कै लाइनमा पर्ने गरेका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा नरेन्द्र साउदले लेखेका छन्।

नेपाल ल क्याम्पसमा अध्ययन गर्दैगर्दा तत्कालीन एमालेले वसन्त नेम्वाङलाई पाँचथर पठायो। कलिलै उमेरमा ०४८ सालकै संसदीय निर्वाचनमा विजयी बने नेम्वाङ। उनले ०५१ र ०७४ को संसदीय निर्वाचन जिते। मन्त्रिपरिषद् विस्तारको चर्चा चल्यो कि सम्भावित मन्त्री भन्दै नेम्वाङको नाम मिडियामा आउँछ। तर उनले अवसर पाएका छैनन्।

‘मन्त्रीको चर्चा भयो कि सुवास नेम्वाङ आफ्ना भाइ वसन्तलाई मन्त्री बनाउन लाग्यो भनेर मिडियामा आउँछ,’ वसन्त निकट एक सांसदले भने, ‘०४८ सालमै चुनाव जितेर संसदीय प्रक्रियामा प्रवेश गरेको व्यक्ति सुवास नेम्वाङसँग जोडिएर नाम आउँदा कति दिक्क लाग्दो हो।’

सत्तासीन नेकपामा कसैलाई अवसरको खातैखात लाग्छ, त कोही चिल्लै हुन्छन्। सत्तासीन नेकपाभित्र पूर्वमाओवादीमा दुई पटक चुनाव जितेका एकजनाबाहेक सबै मन्त्री बनिसके।

तर पूर्वएमालेतिर भने गुट र व्यक्तिगत इगोका कारण १० जना सांसद दुईपटक चुनाव जितेर पनि मन्त्री बन्न वञ्चित छन्। गुट र नेता निकटका भने समानुपातिक कोटामा सांसद बनेर पनि छोटै अवधिमा मन्त्री बनिसके। २०७० को दोस्रो संविधानसभा निर्वाचनमा दलहरूबीच जातीय आधारमा प्रदेश बनाउने कि बनाउने भन्नेमा तीव्र विवाद थियो।

जनजाति पृष्ठभूमिका अधिकांश सांसद जातीय पहिचानका आधारमा राज्य पुनर्संरचना पक्षमा थिए। तर डोटीबाट चुनाव लड्दै गरेका प्रेम आलेको प्रमुख चुनावी मुद्दा थियो, ‘जातीय आधारमा प्रदेश बने सांसद मात्र होइन, पार्टी नै छोड्ने।’ आलेले ०७० को संविधानसभा र ०७४ को प्रतिनिधिसभा निर्वाचन जिते। तर उनले मन्त्री पद पाएका छैनन्।

नेकपा नेत्री अष्टलक्ष्मी शाक्य पार्टीमा योगदान, त्याग, तपस्या र दुःख गर्ने भन्द नेता नजिक हुनेले मात्र अवसर पाउने प्रवृत्ति बढेको बताउँछिन्।

‘पार्टीमा दुःख गर्नेले गरेको गर्‍यै छन्, अवसर भने नेतानिकटले मात्रै पाइरहेका छन्,’ शाक्य भन्छिन्, ‘यही विकृतिका कारण पार्टी लथालिंग छ। गुट, चाकरी र परिवारवाद हाबी छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad