छापा खबर


गुडिरहेको मोटरसाइकलबाट युवतीहरूमाथि सिलसिलेबार ‘सिरिन्ज’ आक्रमण

गुडिरहेको मोटरसाइकलबाट युवतीहरूमाथि सिलसिलेबार ‘सिरिन्ज’ आक्रमण

नेपालखबर
असार ५, २०७६ बिहिबार १:२४,

पछिल्लो डेढ महिनामा काठमाडौंको डल्लु क्षेत्रमा चार युवतीमाथि ‘सिरिन्ज’ आक्रमण भएको छ ।

एउटा घटना डेढ महिनाअघि भए पनि पछिल्ला केही दिनमा उस्तै प्रकृतिका तीन घटना दोहोरिएका छन्।

सिरिन्ज आक्रमणमा परेका चार युवती उपचारका लागि आएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवारोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले बताए ।यो खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन्।

उनीहरू सबैको कम्मरमा काँटीले कोपेजस्तो प्वाल रहेको र असैह्य पीडा भएपछि आएको उनले बताए ।

‘गुडिरहेको मोटरसाइकलबाटै सिरिन्ज आक्रमण भएको पीडितहरू बताउँछन् । सबैको कम्मरकै भागमा प्वाल छ, छालाभित्रसम्म रगत आउने गरी घाउ भएको छ,’ डा. बाँस्तोलाले भने, ‘रातिको समयमा घरबाहिर आक्रमणमा परेको उनीहरू बताउँछन् । घटनाबारे चारै युवतीको भनाइ एकै खालको छ,’ डा. बाँस्तोलाले भने ।

एचआइभी तथा हेपाटाइटिस बी र सी संक्रमित सिरिन्ज प्रहार गरिएको हुन सक्ने चिकित्सकहरूको आशंका छ । एचआइभी, हेपाटाइटिस ‘बी’ र ‘सी’जस्ता रोग सिरिन्जको माध्यमबाट अर्कोमा सर्न सक्छ ।

तर, उनीहरूमा यी रोग संक्रमण भए–नभएको रिपोर्ट आउन कम्तीमा तीन महिना लाग्ने डा. बाँस्तोलाले बताए । हाल चारै युवतीको स्वास्थ्य सामान्य छ । उनीहरू २० देखि ३० वर्ष उमेरका छन्।
प्रहरीले थाल्यो अनुसन्धान
प्रहरी अनुसन्धानमा युवतीहरूलाई सिरिन्ज वा अन्य धातुले प्रहार भएको हो भन्ने अझै यकिन भएको छैन ।

‘पीडितको उजुरीअनुसार अनुसन्धान भइरहेको छ,’ महानगरीय प्रहरी कार्यालयकी प्रवक्ता एसएसपी किरण बज्राचार्य भन्छिन्, ‘सिसिटिभीको समेत सहायतामा अभियुक्तहरूको पहिचान गर्ने काम भइरहेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad