छापा खबर


११ दिनपछि त्रिभुवन विमानस्थल २१ घण्टा सञ्चालन हुने

११ दिनपछि त्रिभुवन विमानस्थल २१ घण्टा सञ्चालन हुने

नेपालखबर
असार ४, २०७६ बुधबार २३:३३,

नागरिक उड्डयन प्राधिकरणले बढीमा ११ दिनभित्र धावनमार्ग जीर्णोद्धारको पहिलो चरणको काम सम्पन्न गर्दै असार १६ देखि एकमात्र अन्तर्राष्ट्रिय विमानस्थललाई २१ घण्टा सञ्चालनमा ल्याउने भएको छ।

प्राधिकरणले चैत ११ देखि विमानस्थलको ३ हजार ५० मिटर (१० हजार ७ फिट) लामो धावनमार्ग सुधार्न १० घण्टा आंशिक उडान बन्द गर्दै जीर्णोद्धार थालेको थियो।

‘असार १६ देखि काठमाडौं विमानस्थल पुनः २१ घण्टा सञ्चालनमा ल्याउँदै छौं,’ विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीले भने । यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

उनका अनुसार भदौ १४ सम्म २१ घण्टा विमानस्थल सञ्चालन हुनेछ । त्यसपछि दोस्रो चरणमा धावनमार्गसँग जोडिएका ‘प्यारलल ट्याक्सी–वे’ तथा अन्य बाटोको सुधार थालिनेछ । यो काम भदौ १६ देखि पुस १५ सम्म चार महिना हुने भए पनि विमानस्थल अहिलेजस्तो १० घण्टा बन्द गरिनेछैन।

‘मुख्य काम सकिइसक्यो, धावनमार्ग र पार्किङ–वे जोड्ने बाटाहरूको जिर्णोद्धार गर्न चार महिना राति ११ः३० देखि बिहान ६ः३० सम्म ७ घण्टा उडान सेवा बन्द गरिनेछ,’ महाप्रबन्धक क्षत्रीले भने, ‘तर त्यसबेला अहिलेजस्तो उडान अवरोध हुनेछैन।’

विमानस्थल २१ घण्टा सञ्चालन हुदा दैनिक ३ सय ५० हाराहारी आन्तरिक र अन्तर्राष्ट्रिय उडान हुन्छन् । अहिले १० घण्टा आंशिक बन्द भएका कारण दैनिक ७० वटासम्म उडान कटौती भएका छन् । यो कुल उडानको २० प्रतिशत हाराहारी हुन आउँछ।

४५ वर्षपछि भइरहेको धावनमार्ग जीर्णोद्धार ग्लोबल टेन्डरबाट छानिएको चाइना नेसनल एरो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसनले गरिरहेको छ । कम्पनीले यस पटक तोकिएकै समयमा काम सम्पन्न गरेको प्राधिकरणले जनाएको छ।

‘वर्षा भइहाले ११ दिन लाग्ला, होइन भने एक सातामा अब मुख्य धावनमार्ग जीर्णोद्धारको काम सकिनेछ,’ प्राधिकरण मातहतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका इन्जिनियर दीपेन्द्र श्रेष्ठले भने।

उनका अनुसार पहिलो चरणमा चिनियाँ ठेकेदारले ३ हजार ५० मिटर लामो तथा ४५ मिटर चौडाइको धावनमार्गमा मध्यरेखाबाट दायाँबायाँ २० मिटर चौडाइ तथा २० सेन्टिमिटर खनेर नयाँ अलकत्रा राख्ने कार्य थालेको थियो । उसले अलकत्रा खनेर उच्च गुणस्तरको बिटुमिन राख्ने काम सकिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad