म्यानमारको सीमावर्ती सहरमा रहेको घोटाला (स्क्याम) फार्मबाट थप एक जना हङकङवासीको उद्धार गरिएको छ। बेइजिङका एक शीर्ष अधिकारीले यस क्षेत्रमा ३६ चिनियाँद्वारा सञ्चालित घोटाला गिरोह सक्रिय रहेको बताएको केही दिनपछि थप एक हङकङवासीको उद्धार भएको हो।
यो सँगै म्यानमारमा बन्धक बनाइएका १९ हङकङवासीको उद्धार भएको छ। हङकङ सरकारले आइतबार राति पुष्टि गर्दै ‘म्यानमारमा अवैध कामका लागि बन्धक बनाइएका’ हङकङका एक बासिन्दालाई उद्धार गरिएको बताएको छ। हाल उनी थाइल्यान्डमा छन्।
सरकारले पीडितलाई सकेसम्म चाँडो हङकङ फर्काउने व्यवस्था मिलाइने बताएको छ। हङकङको सुरक्षा ब्युरोको नेतृत्वमा रहेको कार्यदलले थाई अधिकारीहरू र उद्धार गरिएका बासिन्दासँग सम्पर्क कायम भएको जनाएको छ।
अधिकारीहरूका अनुसार, २०२४ को मध्यदेखि विभिन्न प्रलोभनमा म्यानमार पुर्याइएका हङकङवासीलाई मद्दत गर्न कुल २८ वटा अनुरोध दर्ता गरिएका छन्। जसमध्ये पछिल्लो पटककोसहित अहिलेसम्म १९ जनालाई उद्धार गरिएको छ। अझै बन्धक रहेका ९ जनामध्ये आठ म्यानमार र एक कम्बोडियामा छन्।
बैंककबाट प्रकाशित हुने अंग्रेजी पत्रिका द नेसनका अनुसार पछिल्लो पटक उद्धार गरिएकी ३१ वर्षीया महिला हुन्। उनलाई आइतबार थाई सीमा नजिकैको दक्षिणपूर्वी म्यानमारको म्यावाडी सहरबाट उद्धार गरिएको हो।
समाचारमा उल्लेख भएअनुसार, रोयल थाई सेना र रोयल थाई प्रहरीको संयुक्त अपरेसनबाट उनको उद्धार भएको थियो। म्यावाड्डी क्षेत्र ‘चिनियाँ कल-सेन्टर गिरोह र अनलाइन जुवा सञ्चालकको प्रमुख केन्द्रको रूपमा परिचित’ छ।
‘म्यावाडीमा हाल ३६ चिनियाँ स्क्याम गिरोहहरू सक्रिय छन्, जसले मानिसहरूलाई ठगी गर्न एक लाखभन्दा बढी कलरलाई रोजगारी दिन्छन्,’ गतहप्ता थाइल्याण्ड भ्रमण गरेपछि चीनका सार्वजनिक सुरक्षा सहायक मन्त्री लिउ जोङयीले भनेका थिए।
सोमबार थाइल्यान्डको साइबर अपराध अनुसन्धान ब्युरोका आयुक्त ट्राइरोङ फिवपानसँगको भेटमा लिउले यो कुरा साझा गरेको थाई मिडियाले जनाएका छन्।
चिनियाँ घोटाला गिरोहसँग लड्नका लागि थाई अधकारीसँग सहयोग खोज्न चिनियाँ शीर्ष अधिकारीले गतहप्ता थाइल्यान्डको भ्रमण गरेका थिए। (हङकङ फ्रि प्रेस)
Shares

प्रतिक्रिया