आकर्षक रोजगारी दिलाइदिने भन्दै हङकङका २ युवतीलाई म्यानमार पुर्‍याई फिरौती माग्ने महिला पक्राउ

आकर्षक रोजगारी दिलाइदिने भन्दै हङकङका २ युवतीलाई म्यानमार पुर्‍याई फिरौती माग्ने महिला पक्राउ

बायाँबाट क्रमश: प्रहरी प्रमुख निरीक्षक यु पोक-होन, सुपरिटेन्डेन्ट इउ विङ कान र प्रमुख निरीक्षक चान विङ क्वानले बुधबार प्रेसलाई घटनाको जानकारी गराउने क्रममा (एससीएमपी)


नेपालखबर
माघ २, २०८१ बुधबार १८:४९, हङकङ

आकर्षक रोजगारी दिलाइदिने भन्दै हङकङका दुई महिलालाई म्यानमार पुर्‍याई फिरौती माग्ने स्थानीय महिला पक्राउ परेकी छन्।

बुधबार प्रहरीले जानकारी गराएअनुसार २० र २३ वर्षका ती दुई युवती अज्ञात रकम फिरौती तिरेर हङकङ फर्किएका थिए।

डिसेम्बरको अन्तिम र जनवरीको सुरुमा यी दुई युवतीका आमाहरूले आफ्ना छोरीहरू हराएको रिपोर्ट गरेपछि यो कुरा बाहिर आएको हो।

प्रहरीलाई दिइएको रिपोर्टअनुसार दुई युवती २७ डिसेम्बरमा सँगै थाइल्यान्ड गएका थिए। उनीहरूलाई पेसाले ब्युटिसियन ३२ वर्षीया महिलाले आकर्षक रोजगारी र नि:शुल्क यात्राको प्रलोभनमा पारेकी थिइन्।

उनीहरू महिलाको प्रलोभनमा परी थाइल्यान्ड हुँदै म्यानमार पुगेका थिए।

तर, उनीहरू थाइल्यान्ड पुगेपछि भने नगद मगाए इनाम दिने भनियो। यसपछि उनीहरूको राहदानी र मोबाइल फोन खोसियो।

कार र डुङ्गाबाट १० घण्टाभन्दा बढीको यात्रापछि म्यानमारको ‘ठगी पार्क’  पुर्‍याइएको थियो। यहाँ पुर्‍याइएपछि युवतीका परिवारलाई फोन गरी छोरीहरू रिहाइका लागि फिरौती मागियो।

परिवारले फिरौती तिरेपछि उनीहरू ११ जनवरीमा हङकङ फर्किएका थिए। परिवारले तिरेको फिरौती रकम प्रहरीले खुलाएको छैन। यद्यपि स्थानीय मिडिया द स्ट्यान्डर्डले स्रोतलाई उद्धृत गर्दै उल्लेख गरेअनुसार सो रकम २८ हजार अमेरिकी डलर थियो।

पीडित युवतीहरूका अनुसार म्यानमार पुगेपछि उनीहरूलाई ‘ठगी पार्क’ बेचबिखन गरिएको भनिएको थियो।

उक्त पार्क काँडेतारले घेरिएको र क्यामफ्लाज बर्दी लगाएका तथा राइफल बोकेका पुरुषहरूको सुरक्षा घेरामा थियो। युवतीहरूलाई त्यहाँ मानिसहरूलाई कसरी ठग्ने भन्ने बारेमा समेत तालिम दिइएको थियो।

न्यु टेरिटोरिज दक्षिण मुख्यालयका वरिष्ठ सुपरिटेन्डेन्ट इउ विङकानका अनुसार पीडित दुई युवती दक्षिणपूर्वी एसियाली देशमा यस प्रकारको ठगीमा परेका कम्तीमा २८ हङकङवासीमध्ये एक हुन्, जसमा १६ जना पहिले नै हङकङ फर्किसकेका छन्।

त्यस्तै, प्रमुख प्रहरी निरक्षक अब्राहम यु पोकका अनुसार, पीडित दुई युवतीले प्रलोभनमा पार्ने ब्युटिसियन महिलासँग गतवर्ष चिनजान भएको थियो। त्यहीँबाट उनले युवतीहरूसँग सम्पर्क बढाउँदै प्रलोभनमा पारेकी थिइन्।

विदेशमा आकर्षक रोजगारीको अवसर वा नि:शुल्क यात्रा जस्ता यस प्रकारका अनलाइन विज्ञापन वा अज्ञात व्यक्तिहरूको भनाइमा विश्वासमा नगर्न समेत प्रमुख प्रहरी निरीक्षक युले आग्रह गरे।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .