एकदिन मायावीको रोमान्टिक दृश्यको सुट हुँदै थियो। जुन सिन गर्दा दीपिका प्रसाईँ निकै भावुक भइन् र सेटमै धरधरी रोइन्। उनलाई देखेर सबै अचम्म परे। तर, किन रोइन् त? जसको जवाफ उनीसँग अहिले पनि छैन।
‘तीन महिना हुँदा प्रेगनेन्ट भएको थाहा पाएँ। ६ महिनासम्म सुटिङ गरियो। सुटिङमा हुँदा भोक, निन्द्रा कम्प्रोमाइज गर्नुपर्ने हुन्छ। हर्मोनल परिवर्तन हुँदा मर्निङ सिकनेसदेखि मुड स्विङ धेरै हुन्थ्यो। बेबी हुर्किंदा शरीरमा परिवर्तन हुँदै जान्छ। क्यामेरामा धेरै मोटो देखिएजस्तो लाग्थ्यो। तर, सिनेमाटोग्राफर दाइले सहज फिल गराउनुहुन्थ्यो। सबैको सहयोगले सम्भव भयो,’ उनले सम्झिँदै भनिन्।
४५ दिनमा मुस्ताङसहित पोखरामा सुटिङ गर्ने सेड्युल थियो। तर, मौसम खराबीले गर्दा सुटिङ सकिन ६५ दिन लागेको सुनाउँछिन् उनी। तयार पारिएको पहिरन पनि साँघुरो भएर समस्या भोग्नुपरेको उनको भनाइ छ।
भन्छिन्, ‘हामीसँग सुटिङमा लगाउने लुगा लगभग सकिसकेको थियो। अन्तिममा एउटा गीतको सुटिङ बाँकी थियो। एउटा मात्रै लुगा थियो, पेट ठूलो हुँदा त्यो लुगा नै फिट भइरहेको थिएन। फिट लगाउँदा बेबीलाई गाह्रो होला भन्ने चिन्ता भयो। हामीसँग अरु अप्सन थिएन। त्यसपछि त्यही प्यान्टलाई फराकिलो बनाएर टाँका दिएर लगाएँ।’
यो फिल्म फागुन १४ गते शिवरात्रीको दिनदेखि प्रदर्शनमा आएको छ।

प्रतिक्रिया