बागमती


भाषा, पहिचान र अस्तित्व संकटमा परेकोमा चिन्तित छन् माझी समुदाय

नदी पुजेर मनाए लदी पर्व
भाषा, पहिचान र अस्तित्व संकटमा परेकोमा चिन्तित छन् माझी समुदाय

सुनिता विष्ट
फागुन २०, २०८१ मंगलबार २१:१, हेटौँडा

मकवानपुरको बकैया गाउँपालिकाको बकैया र सिमात खोला नजिकका माझी बस्तीहरूमा मंगलबार निकै चहलपहल थियो। साना बालिकादेखि वृद्धाहरूसम्म कालो मखमलको चोली र खद्दारको धोतीमा सजिएका थिए। गलामा चाँदीको जन्तर, शिरमा शिरबन्दी, कम्मरमा पहेँलो पटुकी र कपालमा लरक्क लर्काएर बाँटिएको कपालमा रातो धागोमा सजिएका थिए उनीहरू।

यता, बालकदेखि वृद्धाहरूको पनि उस्तै पहिचान झल्कने पोशाकमा चट्ट परेका थिए। सेतो कछाडमा सजिएका उनीहरू सबैको शिरमा डुंगाको छाप लगाइएको फेटा गुथेका थिए। उनीहरू जसरी चट्ट सजिएका थिए, त्यसरी नै चिटिक्क बनाइएको थियो। खोलावरिपरि रहेका माझीको घर पनि हिन्दू नेपालीले मनाउने दसैँ पर्व झल्किने गरी रङरोगन गरी चिटिक्क बनाइएको देख्न सकिन्थ्यो।

बिहानै यहाँका माझीहरू सिमात खोलामा पूजाका लागि जम्मा भए। पूजा गरेर बली चढाउनका लागि बोका, कुखुरा, परेवा सहित खोलामा पुगेका उनीहरूले नदीसँग माफ माग्दै आरधना गरे। पूजाको मुख्य पुजारीको भूमिकामा भने ६५ वर्षीय मंगलदास माझी थिए। उनले खोलामा नुहाएर विधिवत् रुपमा पूजा आरधना गरे।  अन्य समयमा माछा मार्नका लागि मात्रै पुग्ने बकैया–६ जुइनाको सिमात खोलामा यसरी जम्मा भएर सामुहिक पूजा आरधनामा सहभागी भएका उनीहरूमा छुट्टै रस झल्किएको थियो।

सधैँ खोलामै माछा मारेर जीविका चलाउने माझी समुदायहरू आजको दिन सोही खोला र नदीलाई पुज्ने गर्छन्। वर्षदिनभरी चलाएको नदीलाई आजको दिन आराम दिँदै पूजा आरधना गरिएको पतिराम माझीहरू बताउँछन्। पछिल्लो समय मनाइन थालेको लदी पर्वमा उत्साह देखिएको स्थानीय माझी बताउँछन्। पहिले/पहिले लदी पूजा गरे पनि पुरोहित आफैले गर्ने र यसरी तामझाम गर्ने चलन नभएकोमा पछिल्लो समय मुख्य पर्वकै रुपमा मनाउन थालेपछि भने छुट्टै रमाइलो हुने गरेको उनी बताउँछन्।

‘हुन त हाम्रो संस्कृति नै हराउन लागेको हामीहरू आफैलाई भान भएको छ,’ पतिरामले भने, ‘हामीले दशैं मनाउन छोड्यौं। माझीले मुख्य पर्वको रुपमा लदी मनाउने भन्ने निर्णय भएदेखि हामीले हरेक बर्ष फागुनको तेस्रो मंगलबार यो पर्व मनाउँदै आएका छौं। तर पनि भाषा र परम्परा जोगाउन भने समस्या नै छ।’ 

उनका अनुसार पतिराम आफै पनि माझी भाषा बोल्न जान्दैनन्। उनका आमा/बुवाले पनि यो भाषा विरलै बोल्ने भएका कारण आफूले माझी भाषा टिप्न नसकेको उनी बताउँछन्। त्यसोत, प्रकृति नै पानीबाट सिर्जना भएकाले पानीको पूजा गर्दा प्रकृति खुसी हुने माझी समुदायको विश्वास छ। 

‘पानीबिना हामी बाँच्न सक्दैनौं, हाम्रो पेशा नै पानी बनेको छ,’ स्थानीय गमला माझीले भनिन्, ‘माछा मारेरै हामी जीविका चलाउँछौँ। हाम्रो भगवान नै जल हो। जीवनमा गाह्रो परे हामीले खोलालाई भाकल गर्छौं, खोलाको पूजा गर्छौँ।’

यो पर्व मनाउँदै खोला पूजा गर्दा अन्नपात र बोटबिरुवामा लागेको कीरासमेत तन्त्रमन्त्रबाट भाग्ने माझी समुदायको विश्वास छ। मौलिक माछा मार्ने पेसा पनि क्रमशः लोप हुँदै गए पनि मौलिक धर्मलाई मान्न थालिएको माझीहरूको भनाइ छ। तान्त्रिक धर्म मान्दै प्रकृति पूजा गर्ने सीमान्तकृत माझी समुदायलाई सरकारले भिन्न धर्म मान्ने समूहभित्र राखेको जानकारहरू बताउँछन्।

यता, माझीहरूले लदीपर्व मनाए पनि पूजा गर्नका लागि परोहितकै अभाव हुने स्थिती सिर्जना भएको उनीहरूकै गुनासो छ। गाउँमा पूजा गर्ने पुरोहित नपाइने स्थिती देखिए पछि विदेशबाट फर्किएका नरबहादुर माझीले आफ्नो संस्कृति जगेर्ना गर्नकै लागि आफूले पुरोहित पढेको बताउँछन्। अहिले उनी माझी पुरोहित संघको केन्द्रीय सदस्य समेत रहेका नरबहादुर आफ्नो गाउँमै माझी पूजारीको अभाव खड्कन थालेपछि संरक्षणका लागि पुरोहित सिकेको बताउँछन्। 

लोप हुँदै गएको लदी पर्व नेपाल माझी उत्थान संघले २०५५ सालमा सिन्धुलीको कोपिलाकोट गाविसस्थित मरिङ खोलामा पूजा गरेर पुनः सुरु गरेका थिए। हाल भने देशका विभिन्न जिल्लाहरूमा यो पर्व मनाइँदै आएको छ।

संस्कृति जगेर्ना गर्न सामूहिक पूजा
त्यसोत, पछिल्लो समय माझी समुदायको भाषा, पहिचान र अस्तित्व नै संकटमा छ। प्रायः खोला, नदी नजिक बसोबास गर्ने माझीहरूको बासस्थान परिवर्तन हुन थालेको छ। माझी समुदायका पछिल्ला पुस्ताहरूलाई मात्रै होइन, अघिल्ला पुस्ताहरू समेतमा माझी भाषाको ज्ञान छैन।

हुनत, माझी समुदायको हक हितका लागि विभिन्न संघ संस्थाहरू पनि सक्रिय छन्। माझी समुदायको पहिचान, भाषा र संस्कृति संरक्षणकै लागि यसरी सामुहिक रुपमा पूजाआरधना गर्ने कार्यक्रम राखिएको नेपाल माझि उत्थान संघ केन्द्रीय समितिको दाबी छ।

‘माझीको अस्तित्व खोज्न, पहिचान जोगाउन र संस्कृति संरक्षण गर्नकै लागि यो कार्यक्रमको अयोजना गरिएको हो,’ नेपाल माझि उत्थान संघ केन्द्रीय समितिकी अध्यक्ष चिनीमाया माझीले भनिन्, ‘यसरी प्रदेशका १३ वटै जिल्लाका माझीहरूलाई एकैस्थानमा भेला गरेर पूजा गर्ने, सांस्कृतिक कार्यक्रम गर्ने र सामूहिक भोजको आयोजना गर्नु नै माझी समुदायको हित र संरक्षणका लागि हो।’

माझी नेतृत्वमा पुग्न सकेनन् : आदीवासी जनजाति आयोग
नेपाल सरकारले सुचिकृत गरेको ६० आदिवासी जनजातिमध्येको माझी पनि एक हो। राष्ट्रिय जनगरणा २०७८ को तथ्यांक अनुसार देशभर माझीको जनसंख्या १ लाख ११ हजार ३५२ छ। तर पनि माझी समुदायहरू संघीय संरचनामा प्रतिनिधित्व गर्ने तहमा अझै सन्तोषजनक सहभागीता नरहेको आदीवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगर बताउँछन्।

माझी समुदायका व्यक्तिहरू शिक्षाको अभावका कारण र राजनीतिक रुपमा अघि बढ्न नसक्दा उनीहरूको सहभागीताका कमी हुन गएको उनको दाबी छ। यद्यपि, माझी समुदायलार्ई अन्य जाति सरहै अघि बढाउनका लागि राज्यले विभिन्न योजनाहरू अघि बढाएको र आउँदा दिनहरूमा उनीहरू नेतृत्व तहमा पुर्याउन आदीवासी जनजाति आयोगले सहजिकरण गर्ने आयोगका अध्यक्ष थापामगरको भनाइ छ।

बागमतीमा कति छन् माझी?
२०७८ सालको जनगरणा अनुसार नेपालमा माझीको जनसंख्या १ लाख ११ हजार बढी छ। देशका ७७ जिल्लामध्ये ६३ जिल्लामा माझी समुदायको बसोबास छ। जसमध्ये बागमती प्रदेशमा मात्रै ४१ हजार ६७१ माझी छन्। प्रदेशका १३ जिल्लामध्ये सबैभन्दा बढी माझीको बसोबास भने सिन्धुलीमा छ। यहाँ १० हजार ८७३ माझीहरूको बसोबास रहेको २०७८ को जनगणनामा उल्लेख छ।

यस्तै, सिन्धुपाल्चोकमा ७ हजार २३५, रसुवामा १०, नुवाकोटमा ५३४, काठमाडौंमा ५ हजार ३२९, भक्तपुरमा १ हजार ४, ललितपुरमा १ हजार ६४६, काभ्रेमा २ हजार ९४९, रामेछापमा ६ हजार २८८, मकवानपुरमा ३ हजार ४८३, चितवनमा १ हजार ३२०, धादिङमा ५७८ र दोलखामा ४२२ माझीको जनसंख्या रहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad