ad ad

म्यागेजिन


कोरियाना कफी गफसँग अमेरिकाना मनोवाद

कोरियाना कफी गफसँग अमेरिकाना मनोवाद

दिनेश कार्की
असोज ११, २०७६ शनिबार १४:५६,

नारायण वाग्लेको कोरियाना कफी गफ प्रकाशित भएयता यो किताबलाई लिएर प्रशस्तै धारणाहरु आइसकेका छन्। लेखकले यो पुस्तक कोरियाको परिवेशमा लेखेका कारण ‘कोरियाना कफी गफ’ नाम दिए। म अमेरिकामा बसेर उनको यो कफी गफसँग सम्बाद गर्दैछु। त्यसैले यसलाई ‘अमेरिकाना सम्वाद’ भन्न अनुमति चाहन्छु।

कुनै लेखकको किताब पढिरहँदा सहमत असहमत वा नयाँ कुराले पुलकित बनाउने गर्छ। कतिपयले मानस पटललाई बेग्लै काल्पनिक संसारमा पुर्याउँछ। कति थाहा पाएका विषयहरु पुस्तकमा जोडिन्छ, कति थाहा नभएका विषयसँग साक्षात्कार हुन्छ। वाग्लेको कोरियाना कफी गफ पढिरहँदा यस्तै महसुस भयो। किताब पढेर नसक्दै हेर्ने दृष्टि बद्लियो। त्यो परिवर्तन भएर लेखकको जस्तै बन्न पुग्यो। पुस्तकमा प्रयोग भएका छोटा वाक्य र शब्द फुर्न थाले। क्षणभंगुर वा अल्पजीवित नै सही किताब पढुन्जेल र पछिसम्म पनि तिनले छाप छोडे।

वाग्ले एक जना पत्रकार हुन् जो लामो समय सम्पादकको भूमिका रहे। पुस्तकमा चाहिँ उनी विज्ञान विद्यार्थीजस्ता लाग्छन्। धेरै ठाउँमा वातावरण, प्रकृतिबारे चिन्ता व्यक्त गर्छन्। कतिपय प्रसंगमा विज्ञानका तथ्य भनाइलाई सापट लिंदै आफ्नो भन्नुपर्ने कुरामा बल थप्छन्। उनी लेख्छन्, ‘विज्ञान भन्छ, रुख र मानिसमा फरक छैन।’ समयको अन्तरमात्र। यो भन्दा भित्र प्रवेश गर्नुहुन्न भित्र पसेर साध्य पनि छैन। रुख अग्लो हुन्छ, रुखमा धेरै प्रणाली हुन्छन्। यो किटपतंग, जिवाणु, पदार्थ, हावा पानी आदिको प्रत्यक्ष लगानी संसर्ग इन्टर्याक्सन आदिको एउटा कम्प्लिट प्याकेज हो। त्यस्तै मान्छे पनि उसको वरपरको वातावरण, उसले खाने पिउनेवस्तु, उसको शरीरमा भएका संख्याभन्दा दोब्बर एक कोषिय जीव व्याक्कटेरिया, भौतिक अभौतिक प्रभाव आदिको कम्प्लिट प्याकेज हो। उनी लेख्छन्, ‘ढुसीले भूमिगत सञ्जाल प्रयोग गरेर अरुसँग बोल्छ, सन्तान र छिमेकीलाई मौलाउन सघाउँछ।’ यति पढिसकेपछि ठोकुवा गरेर भन्न सकिन्छ वाग्लेमा गहिरो बायोलोजीकल चेत छ। त्यो नभइ सरल ढंगबाट बनस्पती शास्त्रको रहस्य जो कसैले पर्गेल्न सक्दैन।

मैले कोरियानाका ती हरफहरुलाई पढ्दै गर्दा यूनिभर्सिटी अफ म्यासाच्यूसेट्स बोस्टनमा वनस्पतिको जीवन वा प्लान्ट लाइफ विषयका कक्षाहरु सम्झना भए। वनस्पति र मानव जीवनका सूक्ष्म विषयहरु मस्तिकमा घुम्न थाले।

पुस्तकमा धेरै ठाउँमा जीवन दर्शन छ। वाग्ले भन्छन्, ‘कारण थाहा हुन सकेन भने परिणाम पर्खिन सक्नुपर्छ। हामी अकारण निष्कर्षमा पुग्छौ र परिणाम अघि नै पछुताउँछौं।’ काम गरेपछि पछुतो हुनु पुच्छर हो भन्ने उनको बुझाइ छ। यदि त्यसो हो भने गलत काम गर्ने र गराउने खप्पर चाहिँ के हो भनेर सोध्न मन लाग्छ। अनि यसैमा मानिसको ‘इभोल्यूसन’को कुरालाई सम्झन मन लाग्छ। मानव जातिको विकासमा पुच्छरभन्दा खप्परको विकास ज्यादा भएको छ। त्यही विकसित खप्परको साहारामा आजको मानिस पृथ्वीका करिब ८७ लाख प्राणीमध्ये आफूलाई सर्वश्रेष्ठ सावित गर्न सक्षम भइरहेछ।

पुस्तक पढिरहँदा लाग्छ सम्पादकहरु ‘करेन्ट अफेयर्स’ बादशाह हुन् नै हुन्। ‘करेन्ट अफेयर्स’लाई टुप्पो टुप्पोबाटै तानेर आफ्नो पुस्तकको पेरुंगोमा राख्न सफल छन् वाग्ले। पुस्तकमा फेक न्यूजका प्रसंग पनि छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूयोर्क टाइम्स र सीएनएनसहितका सञ्चार माध्यमलाई आलोचना गर्दै फेक न्यूज शब्दलाई अत्यधिक चल्तीमा ल्याएको उनको बुझाइ छ। वाग्ले लेख्छन्, ‘जनसंख्या दृष्टिले फेसबुक संसारको सबैभन्दा ठूलो शक्तिशाली देश हो।’ वाग्लेको भनाइसँग म पनि सहमत छु। देश पनि एउटा तथ्यांक हो, अर्थात डेटा। फेसबुकमा अहिले यो पृथ्वी ग्रहका सबै देशका डेटा छन्, अमेरिकादेखि अजरबैजान र पाकिस्तानदेखि पनामा सिटीसम्म।

अहिलेको संसारमा जोसँग डेटा हुन्छ, उही शक्तिशाली हुन्छ। न्यूजरुममै हेर्नुस्, मेहनती रिपोर्टर जोसँग धेरै डेटा हुन्छ उही नैं ब्रेकिङ र विस्तृत न्यूज दिन सक्षम हुन्छ। तर यो भीमकाय बिग डेटा फेसबुकमा आजकाल पत्रकारका सूचना भूलवश, असावधानीवश, अन्जानमै चुहिन थालेका छन्। उनीहरु कहाँ छन्, कसलाई भेटे र उनीहरुको मानसिक स्थितिको ग्याल्भानोमिटरले कतातिर ढल्किरहेको (डिफ्लेक्सन भइरहेको) छ भन्ने कुरा पहिले नै फेसबुकमा आइसक्छ। तीनका गतिविधिको डेटा विश्लेषण गर्ने कोही इन्जिनियरलाई भनियो वा कुनै आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरियो भने उसले सम्भावित समाचारको खिचडी यस्तो हुनसक्छ भन्ने सहजै अनुमान लाग्छ।

कोरियाना कफी गफको अर्को कडी शिवा रिउ पनि हुन्। यदि शिवा रिउलाई नपढ्नुभएको भए तपाईंलाई ती कविवारे गुगल सर्च गर्न बाध्य पार्छ यो पुस्तकले। शिवा रिउ उल्का राम्रा कविता लेख्ने रहेछन् यदि वाग्लेका भनाइलाई सत्य मान्ने हो भने जो दक्षिण काेरियाली कवि हुन्। शिवा रिउ तिनै ब्यक्ति रहेछन् जसले पल्पसा क्याफेलाई दक्षिण कोरियामा पुर्याएका रहेछन् अनुवाद गरेर।

वाग्लेका जीवन भोगाइबाट निस्केका नौनीहरु स्वादिला लाग्छन्। साथमा डायरी वा कुनै नोटप्याड छैन भने न्यापकिनमै पनि सर्रर सारेर कोटको खल्तीमा पट्याएर हालूँ झैँ लाग्ने वाक्यहरु बग्रेल्ती छन्। उनी लेख्छन्, ‘मानिसको सफलता नै उसका असफलताहरुको श्रृंखला हो। सिकिसकेको लेख्ने होइन, सिक्न लेख्ने हो।’

तपाईंसँग सम्वाद गर्दा म यहाँ केही सिक्न खोज्दै छु। वाग्लेले हरेक पानैपिच्छे उनीसँग सम्वाद गर्ने गतिला ठाउँहरु छोडेका छन्। कतै सही थाप्न मन लाग्छ। उनले खडा गरेको कपासलाई आफैं जाँगरिलो भएर कातिदिन मन लाग्छ। कहिले ढ्याप्पै किताब बन्द गरेर केमा कसरी म असहमत छु थपक्क बसेर लेख्न मन लाग्छ।

पुस्तकमा नेपालको शासकीय शैलीको विवेचना छ। तिनका प्रवृत्ति सरल भाषामा केलाइको छ। प्रश्न सोध्ने बानी हराएकोले सत्ताधारीहरु जवाफदेही नभएको उनको निष्कर्ष छ। प्रश्न सोधे पो उत्तर पाइन्छ। प्रश्नभन्दा बढी रिस उठेकै कारणले होला हाम्रो समाज क्रुद्ध र वेपर्वाह भएको छ। उनी भन्छन्, ‘रिस उठ्नुभन्दा प्रश्न उठ्नु राम्रो। रिस त अरुका गल्तीका लागि तपाईंलाई दिएको दण्ड हो।’

प्रवासस्थित साहित्य संस्थाका प्रतिनिधिहरुबाट सिर्जित रचनाहरु पढेर हामीले भन्ने गरेका छौं, यिनीहरु साहित्यमा लागेर योगदान दिनुभन्दा नलागेको भए झन् योगदान हुनसक्थ्यो। किनभने साहित्य एकल साधनाले फस्टाउने विधा हो। आत्मप्रवञ्चनामा लिप्त झुण्डहरुको गुटबन्दीमा साहित्यको खासै लेनादेना हुँदैन। वाग्ले लेख्छन्, ‘पाठकसँग सम्पर्क आफैैं गर्ने होइन अक्षरहरुले गर्छन्। तपाईं बढ्ता जान्ने हुने होइन, अक्षरहरु आफैँ कुरा भन्न सक्षम छन्।’ कतिपय लेखक साहित्यकार यस्ता छन् जसका अक्षरभन्दा उनीहरु स्वयं तीब्र रुपमा पाठक समक्ष पुग्न चाहन्छन्। सामाजिक सञ्जालबाट हजारौंलाई ट्याग गर्दै उनीहरु माझ घुस्न खोज्छन्। अझ त्यतिले नपुगेर म्यासेजमा समेत आफ्ना लेख रचनाका लिंक पठाएर इन्टरनेट डेटामा बोझ थप्छन्। ट्याग गर्दिएर तपाईंको फेसबुकको वाल नैं फोहोर पार्दिन्छन्।

starbucksकफीसँग कोरियना कफीगफ। तस्विर: दिनेश कार्की

पुस्तकमा सानो मौसमसम्बन्धी प्रसंग छ। बस्टन बस्न थालेदेखि हिउँदको खराब मौसमको एउटा भुक्तभोगी म आफैँ हुँ। हिउँदे मौसम योभन्दा खराब भएको ठाउँमा बस्नुभएको छ भने कुरा सुनाउने पालो तपाईंको हो। कुनै कविको शब्दहरु सापट लिएर वाग्ले भन्छन्, ‘खराब मौसम झ्यालबाट झन् खराब देखिन्छ। बाहिर लगातार हिउँ परेको बेला कतै निस्कन मन लाग्दैन विदाको दिन भए पनि।’ खासमा पल्पसा क्याफे स्तम्भ लेख्न थालेदेखि नै पाठकले वाग्लेको ट्रेन्डी स्वभावलाई चिनेका हुन्। त्यसयता थुप्रैवर्ष बिते तर उनको त्यो सामयिकी प्रेम वा ट्रेन्डीपनलाई अहिलेसम्म ज्यूँका त्यूँ कायम राखेका छन्। कोरियाना कफी गफमा वाग्ले एलेक्साको कुरा गर्छन्, गुगल साउण्ड बक्सका कुरा छन्, डेटाका कुरा पनि छन्। त्यतिमात्र होइन स्न्यापच्याट र म्यूजिकल्ली पनि अँटाएका छन्।

पुस्तकमा चलनचल्तीका मौलिक शब्दहरुको व्यापक प्रयोग भएको छ। सायद यो नै ट्रेन्डी लेखकका विशेषता समेत हो। प्रविधिका शब्द जसरी बाहिर आउँछन्, खपत त्यही स्वरुपमा हुनेगर्छ। कोरियाना कफी गफमा केही शब्दहरुको प्रयोग लय मिलाउन वा बान्की परेको देखाउन गरिएको हो कि जस्तो पनि लाग्छ। जस्तैः पुतलीफुरी, लिप्ती, घोप्टाशन, सुखाइ आदि। अर्को कोणबाट हेर्दा त्यसलाई वाग्लेको भाषा अभ्यासको सिर्जनशीलता पनि मान्न सकिन्छ जो सुन्दर छ। भाषाबारे अग्रज पत्रकार राजेश कोइराला (न्यूह्याम्सरबाट प्रकाशित हुने अनलाइन अक्षरिकाका सम्पादक) भाषा जति चलायमान भयो त्यति राम्रो भन्छन्। वाग्ले भाषा चलायमान गराउने मामिलामा माहिर लाग्छन्।

समाचारको पेशामा रहेका वाग्लेको यो तेस्रो पुस्तक हो। पहिलो पुस्तकमा नेपालको माओवादी युद्धको सुक्ष्म चित्रण गरेका उनले दोस्रो पुस्तकमा पत्रकार महिलाको कथा लेखेका थिए। कफी गफमार्फत् लेखन शैलीमा नयाँ आयाम भित्र्याएका उनले यो पुस्तक आफ्नो मौलिक शैलीमा तयार पारेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .