ad ad

म्यागेजिन


लोक गीतका र्‍यापर

लोक गीतका र्‍यापर

कृष्ण आचार्य
असोज ८, २०७६ बुधबार १०:४७,

जगत तिरुवा स्कुल पढ्दा अतिरिक्त क्रियाकलापमा सधैँ अगाडि हुन्थे। स्कुलमा हुने हरेक कार्यक्रममा उनको सहभागीता हुन्थ्यो। उद्घोषणदेखि हाजिरीजवाफ, गायन, गजल वाचन, वादविवाद, वक्तित्व कलामा सबैमा उनी अग्र पंक्तिमा देखिन्थे। पढाईमा पनि अब्बल।

शिक्षक–शिक्षिकाका प्रिय विद्यार्थी उनले कहिल्यै सोचेका थिएनन् आफू एकदिन गायक बन्छु भनेर। अझ त्यसमाथि र्‍यापर, उनको कल्पनाभन्दा बाहिरको कुरा थियो।

हाल जगत लोक गीतमा र्‍याप गरिरहेका छन्। सुन्दा अनौठो लाग्ने लोक र्‍यापकै कारण चर्चामा छन्।

jagat1 5

लोक गीतमा र्‍याप गर्दा लोक संगीत अप्ठ्यारोमा पर्ने त होइन भन्ने प्रश्न उठ्छ। जगत यसलाई समयको मागसँग लगेर जोड्छन्।

‘हरेक कुरा समयअनुसार परिमार्जन हुँदै जान्छन् र वर्तमान आवश्यकता समयले निर्धारण गर्छ’, जगत भन्छन्, ‘लोक संगीतमा नयाँ स्वाद थप्न मैले र्‍याप गरेको हुँ। दोहन गर्न होइन।’

उद्घोषक हुँदै गायनमा
जगतले स्कुलमा कार्यक्रम उद्घोषण गर्दा सबैको तारिफ बटुल्थे। गाउँ–घरमा हुने कार्यक्रममा पनि उद्घोषक बन्न थाले। विस्तारै उनको चर्चा चुलिँदै गयो। त्यसपछि उनी जिल्लास्तमा हुने ठूला मेला–महोत्सवमा पनि उद्घोषक बने।

त्यस्ता महोत्सवमा राष्ट्रिय कलाकार आउँथे। गीत गाउँथे। उनीहरुको गतिबिधि नजिकबाट नियाल्ने अवसर पाएका जगतलाई लाग्यो कलाकार हुँदा बेग्लै मज्जा हुँदो रहेछ, बेग्लै इज्जत पाइँदोरहेछ।

अब जगतलाई कलाकार बन्ने ईच्छा जाग्यो। गायक। सबैले स्वर राम्रो छ भन्थे। उनलाई पनि आफूले गीत गाउन सक्छु भन्ने आत्मविश्वास थियो। तर गर्ने के?
कैलालीको गाउँले परिवेशमा बसेर कलाकार बन्न सम्भव छैन, जगतले बुझेका थिए।

jagat1 8

‘सपनाको सहर काठमाडौं हो र मैले पनि आफ्नो सपना पूरा गर्न काठमाडौं टेक्नुपर्छ भन्ने लाग्यो’, उनी आफू तीन वर्षअघि काठमाडौं आउनुको कारण सुनाउँछन्, ‘त्यसपछि परिवारमा म हिँडे भनेर यतै आएँ।’

काठमाडौंमा संघर्ष
२०७३ चैतमा जगतले काठमाडौं टेके। त्यसपछि उनका संघर्षका दिन सुरु भए। जगत सबै राम्रा कलाकारलाई चिन्थे तर कलाकारहरु जगतलाई चिन्दैनथे। गर्ने के? उनी बरालिन थाले।

मध्यम वर्गीय परिवारका साइला छोरा हुन्, जगत। आमा–बुबाको परिवारमा जिम्मेवारी ठूलो थियो, खर्च धेरै। जगतलाई सधैँ काठमाडौंमा खर्च पु¥याउन परिवारलाई त्यति सहज थिएन।

घरबाट पैसा नपठाउँदासम्म काठमाडौंमा बाँच्न सक्ने अवस्था थिएन। दाल, चामल किन्न पैसा चाहियो। साथीहरुको मुख कति ताक्नु। जगतले कति दिन त दालमोट–चिउराकै भरमा काटेका छन्।

जडिबुटीमा कोठा, काम प्रायः लाजिम्पाटमा हुने। उनी जडिबुटीबाट लाजिम्पाट हिँडेरै पुग्थे। ‘सधैँ खल्तीमा पैसा नहुने। गाडी त आँखाको फल आँखातरी मर भनेझै थियो’ जगत संघर्षका दिन सम्झन्छन्।

jagat 222

हिँडेरै घर फर्कदा रात पथ्र्यो। घरबेटीले ढोका लगाइसकेका हुन्थे। उनीसँग भौतारिनुबाहेक अर्को विकल्प हुँदैनथ्यो। साथीले फोन उठाए उसकोमा, नत्र कता–कता।

संघर्षका ती दिनमा कतिपयले उनलाई संगीतमा राम्रो स्कोप नभएको सुनाउँथे त कतिले तैँले गर्न सक्दैनस भनिदिन्थे। तर उनले हार मानेनन्। केही गरेरै देखाउँछु भनेर लागिरहे।

अग्रजलाई फलो गरे। गीत–संगीतको रचनाका हरेक पाटो केलाए। आफैँ पनि गीत लेखे। आफै संगीत सिके। कम्पोजर भिम बिसीले उनलाई साथ दिए। उनको साथ जगतका लागि हौसला बनिदियो।

अनि दिन आयो
तीजको बेला गाउँ सहर घुमिन्छ फिरिन्छ
कम्मर भाँच्दै नाच्छौँ तिमी मज्जाले हेरिन्छ
तिमी मेरी दिलकी पारु हो
अलि लजाउँदै, पाउजु बजाउँदै
ल है फनफनी, फनफनी घुमेर
आउन नाच मायाले, कम्मर भाँच मायाले।
अभाव र नैराश्यताकाबीच जगतको धैर्यताले जित्यो। उनले आफ्नै शब्द, संगीत र स्वरमा २०७४ असारमा ‘नाच माया’ बोलको तीज गीत बजारमा ल्याए। लगत्तै पूर्णकला बिसीसँग मिलेर लोकगीत ‘घुमाईघुमाई’ ल्याए। यो गीतको शब्द, संगीत र स्वर पनि उनकै थियो। त्यसपछि न हो उनी अरुको नजरमा पर्न थालेको। अर्थात, जगतको सपना पूरा भएको।

तर सयौँ संगीतकर्मीको भीडमा उनलाई कसले वास्ता गर्ने? वास्ता गरे पनि काम गरौँ भन्ने धेरै आए तर आर्थिक रुपमा निराशावादी कुरा सुनाए। उनलाई आफ्नो सिर्जनाको कदर भएझै लागेन।

आफ्नै शब्द, आफ्नै स्वर, आफ्नै संगीत तर, हाता लाग्यो शून्य।

jagat1 9

वाह–वाह गर्नेहरु धेरै भेटिए। साथ दिनेहरु भेटिएनन्। ‘त्यसपछि मलाई अरुभन्दा केही फरक गरौँ भन्ने लाग्यो’ उनी सुनाउँछन्, ‘अनि मैले लोक गीतमा पप मिसाएर र्‍याप हान्न थालेँ।’

यसरी मिलन साउदको गीत ‘म त अछामी हरामी’ मा जगतले पहिलो पटक र्याप हाने। र्यापको शब्द जगतले आफै रचना गरेका थिए। धेरैले मन पराए।
तब उनको पहिचान लोक गायक हुन नपाउँदै र्‍यापर बन्यो।

हिट जगत
र्‍यापमा जगत बामे सर्न थाले। आफ्नै शब्दसहित गीतमा ¥याप गर्दा बल्लतल्ल एउटा गीतको दुई हजारसम्म कमाउँथे। त्यतिले त कोठा भाडा पनि तिर्न पुग्दैनथ्यो।

यसैबीच उनले ‘डिजे वाला दाई’ बोलको गीतमा र्‍याप गर्ने अवसर पाए। त्यो र्‍यापको निकै चर्चा भयो। धेरैले नयाँ र्‍यापरको जन्म भएको संज्ञासमेत दिए।

जगतको रातारात माग बढ्न थाल्यो। उनको पारिश्रमिक बढ्यो। संगीत उत्पादनका विविध आयामबारे पनि उनले चाल पाउन थाले। लगत्तै आफ्नै शब्द तथा संगीत रहेको ‘जेल नेल’ र र्‍याप गरेको ‘रक्सी पिउने हो’ गीत हिट भयो। जगत पनि हिट भए।

अहिलेसम्म जगतले ३५ वटा गीतमा र्‍याप हानेका छन्। आफूले गर्ने र्‍यापको शब्द पनि उनी आफैँ लेख्छन्। जगत पहिले गीतको शब्द सुन्छन्। त्यसपछि गीतले भन्न नसकेको कुरालाई आफ्नै शब्दमा कोर्छन्। उनलाई लाग्छ यसो गर्दा गीत मसलेदार बन्छ।

jagat1 3

‘कतिपय र्‍यापमा निकै छाडापन पनि भेटिन्छ’ जगत भन्छन्, ‘मेरो काम भने र्‍यापमार्फत मनको भावना ब्यक्त गर्नु हो।’ गीतको मर्म र भावलाई ध्यानमा दिएर र्‍याप गर्नुपर्ने भएकाले उनी आफूलाई अनुशासनमा बाँधेर काम गर्छन्।

उनी प्रायः नेपालको पश्चिमी भागमा बोलिने भाषालाई र्‍यापमा जोड दिन्छन्। त्यो उनलाई चिनाउने आधार पनि हो।

र्‍यापमार्फत अहिले आर्थिक रुपमा पनि सन्तुष्ट छन् जगत। सुरुवाती दिनहरुमा एउटा गीतमा र्‍याप गरेको दुई हजार कमाउने उनी आजभोलि एउटै प्रोजेक्टबाट ५० हजारसम्म लिन्छन्।

जगतको अहिले आफ्नै युट्युब च्यानल पनि छ। कहिले कहीँ गीत पनि अपलोड गर्छन्। त्यहाँबाट पनि आम्दानी भइरहेको छ।

‘अग्रजहरुले तिम्रो उमेरमा हामी संघर्ष गर्दै थियौँ। तिमीले राम्रो गरिरहेका छौँ भन्नुहुन्छ’ २३ वर्षीय जगत सुनाउँछन्, ‘म आफ्नो कामबाट सन्तुष्ट छु।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .