कारोबार


नेपालमा लगानी र प्रविधि भित्र्याउन ऊर्जामन्त्री र जापानी मन्त्रीबीच कुराकानी

नेपालमा लगानी र प्रविधि भित्र्याउन ऊर्जामन्त्री र जापानी मन्त्रीबीच कुराकानी

नेपालखबर
असोज ८, २०७६ बुधबार १०:३८,

जापान भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र जापानका मन्त्रीहरूबीच द्विपक्षीय भेटवार्ता भएको छ। मन्त्री पुनले आज जापानका संसदीय, परराष्ट्र उपमन्त्री नोरुहिरो नाकायामा, कृषि, वन तथा मत्स्यपालन राज्यमन्त्री योसिताका इतोसँग भेटवार्ता गरेका हुन्।

द्विपक्षीय भेटमा नेपाल–जापान सम्बन्ध र सहयोगका विषयमा छलफल भएको छ। मन्त्री पुनसँग नेपाल–जापान संसदीय मैत्री समूहका अध्यक्ष तथा लिबरल डेमोक्राटिक पार्टीका महामन्त्री तोसिहिरो निकाइसहितको आठ सदस्यीय संसदीय टोलीले समेत छलफल गरेको छ।

ऊर्जा र जलविद्युतलगायतका क्षेत्रमा लगानी आकर्षित गराउने उद्देश्यका साथ चार दिने जापान भ्रमणमा रहेका मन्त्री पुनले विभिन्न कार्यक्रममा सहभागी जनाइरहेको उनको सचिवालयले जानकारी दिएको छ। छुट्टाछुट्टै भेटवार्तामा मन्त्री पुनले दुई देशको मैत्रीपूर्ण सम्बन्ध, जापानले नेपालका विभिन्न क्षेत्रमा गरेको सहयोग र लगानीको खुलेर प्रशंसा गरे। उनले नेपालमा जापानी प्रविधि र लगानी भित्र्याउन समेत आह्वान गरे।

बैठकमा मन्त्री पुनले ४ सय १७ मेगावाट क्षमता रहेको नलगाड जलविद्युत आयोजनामा समेत लगानीको लागि आग्रह गरेको जानकारी दिए। जापानी सहयोग नियोग(जाइका) को निमन्त्रणामा जापान भ्रमणमा रहेका मन्त्री पुनले बिहीबार जाइकाका कार्यकारी उपाध्यक्षसंग नलसिङगाड जलविद्युत् आयोजनालाई अघि बढाउने विषयमा द्विपक्षीय छलफल गर्ने कार्यक्रम छ।

जापानी उपमन्त्री नोरुहिरो नाकायामाले नेपालमा गरिने लगानी र सहयोगमा बढोत्तरी गरिने प्रतिबद्धता जनाएका छन्। जापानका सम्राटको राज्याभिषेक कार्यक्रममा नेपालबाट राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुनेबारे थाहा पाउँदा खुसी लागेको उनले बताए।

राज्यमन्त्री इतोले नेपालको सिँचाइ र कृषि क्षेत्रमा प्राविधिक र आर्थिक सहयोग बढाउन जापान तयार रहेको बताए। उच्चस्तरीय भेटवार्तामा मन्त्री पुनसंगै जापानका लागि नेपाली राजदूत प्रतिभा राणा, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतको उपस्थिति थियो।

मन्त्री पुन नेतृत्वको टोली असोज १० गते स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .