ad ad

म्यागेजिन


फोनको व्यापार

फोनको व्यापार

ईश्वरकुमार मैनाली
भदौ १४, २०७६ शनिबार ११:४८,

 थोपै–थोपाले दुई हात मिलाउने नोकिया ब्रान्डको सानो फोन कुनै बेला फोनको राजा थियो। धनी होस् या गरिब सबैको सपना थियो त्यो फोन। कति त कामैले बोक्नेहरू थिए भने कति देखावटीका लागि बोक्थे। उनीहरूलाई आफू ठूलो देखिन भए पनि खाई नखाई फोन बोक्नै पर्ने रहर थियो।

कुरा ६० साल तिरको हो। म सानै थिए। गाउँमा एउटा आफन्त पर्नेले तारवाला फोन ल्याएका थिए। गाउँमा हल्ला थियो तेसले फोनको व्यापारबाट काठमाडौँमा जग्गा किन्यो रे। हुन पनि हो, सानो घर दुई–तीन वर्षमा ठूलो भयो। खर हटेर जस्तापाता चढ्यो घरको शिरमा।

यसो मौका पारेर बा सहरका आफन्तलाई फोन गर्न फोनवाला कहाँ जान्थे। म नि पछि लाग्थेँ। छुँदा मयल लाग्ला जस्तो सेतो रंगको फोनवालाको भित्ताबाट मीठो बास्ना आउँथ्यो। कमेरोको ठाउँ अरु नै कुनै गहुँको पिठोजस्तो धुलोले ओगटेको थियो। अरूका आँखा छलेर एक पटक भित्ता चिथोरेर स्वाद चाखे पनि मैले। कमेरोजस्तो त कताबाट हुनु छि!

बा चैते बिदामा सहर जानु भो। फर्कँदा सानो काठको छेस्कोजस्तो केही लिएर आउनुभयो। घरमा खुसी आयो। मेरो ज्यानले नयाँ लुगा पायो। अनि बार्दलीको झ्यालले त्यो छेस्को।

बार्दलीको झ्याल छेऊँ बाको ओछ्यान थियो। ओछ्यानकै छेउ जिरो वाटको चिम सधैँभरी हामीलाई उज्यालो देखाई रहन्थ्यो। तर, बत्तीको स्वीच भने तल मझेरीमा थियो। बा उचित मौकाको पर्खाइमा थिए। अब बत्तीको स्वीच झ्याल छेउ सर्यो अनि झ्यालमा थपियो नयाँ फोन चार्ज गर्ने नयाँ प्लग।

घरमा फोन आएसँगै धेरै कुरामा म प्रतिबन्धित हुँदै गएको महसुस भयो। कहिले ताल्चा नलाग्ने बार्दलीमा ताल्चाले आफ्नो शक्ति देखाउन थाल्यो। म पनि कम्तीको कहाँ थिए र? जुक्ति निकाले– बाख्रा बाँध्ने पालीको छानो जिन्दावाद।

त्यही बाटो हुँदै म बलेँसीको पालीमा सजिलै पुग्न सक्थेँ। यसरी मध्ये दिनमा म बाको झ्यालमा पुग्न थालेँ। घन्टौँ झ्यालको पहरेदार भएर बस्न थालेँ। हात मात्र छिर्ने त्यो झ्यालले ठूलै राहत दिएको थियो। यसरी मैले पहिलो पटक मोबाइल छोएँ।

बा स्कुल पढाउन जानुहुन्थ्यो। आमा मेलापात। दिउँसो घर शून्य हुन्थ्यो। घरको औधी माया लागेर म स्कुलबाट भागिभागी बलँेसीमाथि उभिन पुग्थेँ। यसरी केही समय चल्यो।

एक दिन बा भात खाएर पल्टिएका थिए। कोठा खुला थियो। चुकुलमा गान्टे खुर्सानी झुण्डिए जसरी ताच्ला झुन्डिइरहेको थियो। मलाई खुर्सानी मन कहिल्यै परेन। अनि ताल्चा पनि। फालिदिऊँ फालिदिऊँ लागेको थियो। तर, आँट आएन। रिस अलिकति शान्त गर्न ताल्चामा थुकिदिएँ। अरू कुनै हत्कण्डा गरौँ भने भोलि पनि मलाई यहीँ बस्नु थियो।

म बाको ओछ्यान छेऊँ पुगेँ। बिरालोको चालले बाको ओछ्यानमा बस्दा कम्ता सुकुन मिलेन यो मनमा।

झ्याल सुन्दर देखिरहेको थियो। पहिला–पहिला मलाई त्यो झ्याल कुरूप लाग्थ्यो। अझ झ्यालको त्यो डन्डीहरू महाबिजोगी। एक्कासी मेरो हातले त्यो सानो सुन्दर चिजलाई सुमसुलाउन थाल्यो।

लबलाउँदा सल्मलाउँदै मेरो सातो गयो। बिग्रियो! अब घरमा बास हुन्न। डरले कता–कता थिच्यो। अब पुरै बन्दै भयो। मोबाइलको सानो पर्दाभित्र शून्यता छायो।

आमाले कराउन थाल्नुभयो। बा हत्तपत्त उक्लिए। आमाको आँखा मतिर मेरो आँखा भुईँतिर अनि बाको आँखा हामीतिर पर्यो। बाले यसो कता छोए फेरि थोप्लो मडारिन थाल्यो। कस्तो मीठो धुन पनि बज्यो। बाले धन्न केही भनेनन्। बरु आफ्नै छेउमा राखेर यी यसरी चलाएस् भनेर सिकाए। त्यसपछि बेलाबेला फोन चलाउन पाउने भएँ।

छिमेकीहरू पनि कहिलेकाहीँ हाम्रोमा फोन गर्न आउँथे। बा शानले भन्थे, जा गएर फोन लाइदे। गाउँमा मेरो महत्व बढ्दै गयो। म फोन चलाउन जान्नेमा कहलिँदै गएँ। कसैको फोनमा केही समस्या आयो कि मसम्म आइपुग्थे। त्यहाँबाट सुरु हुन्छ मेरो व्यापारको सिलसिला।

भएको केही हुँदैन थियो, तिनीहरू आत्तिन्थे। म पाँच रुपियाँ लिन्थेँ। उनीहरुलाई आधा घण्टाको समय दिएर पठाउँथेँ। आफू मजाले गेम खेलेर बस्थेँ। ब्याट्री सकिन्थ्यो। उनीहरु आउँथे फेरि चार्ज सकिएको गुनासो लिएर। म भनिदिन्थेँ ‘बनाउँदा सकिहाल्छ नि।’

यसरी मैले गाउँमा दुई–चार रूप्पे कमाउन थालेँ। मायोज चाउचाउ अब मेरो गोजीमा नटुट्ने हुन थाल्यो। बेलाबेला बेसी झरेर चाउमिन, जेरी, समोसा टन्न खान पनि थालेँ।

फेरि बा सहर जानु भो। नयाँ जुत्ता, नयाँ लुगा आयो। फेरि एक पटक म नयाँ भएँ। घरमा अर्को खुसी थपियो, अब म किताबमा भन्दा टिभीमा ध्यान दिन थाले। फेरि पनि मैले व्यापार सुरु गरेँ– टिभी हेरेको घण्टाको दुई रुपैयाँ।

साथीभाइलाई भेला पार्नु, पैसा उठाउनु अनि टिभी देखाउनु मेरो व्यापार हुन थाल्यो। त्यस समय मैले २५ रुपैयाँ पर्ने गप लेखिएको पेटी पनि किने। आफ्नो पहिलो सम्पत्ति जुन म घमन्डले भन्न सक्छु मेरो हो।
गाउँमा फोनको संख्या बढ्दै गयो। रिचार्ज गर्नेदेखि गीत हालेर ल्याइदिनेसम्मको काम मेरो जिम्मामा पर्यो। पैसा लक्ष्मी, पढाइ सरस्वती। मलाइ सरस्वतीले धोका दिइन्। म त्यो साल फेल भएँ। अब मेरो व्यापार चौपट भयो। मोबाइल र टिभीसँगको दोस्तीमा बा तगारो हुनुभयो। म पिँजडाजस्ता बाका आँखामा थुनिएँ।

त्यो साल सुख, दुःखले कट्यो। रिजल्ट आयो, फस्ट भएँ। अब भने मेरो पुरानो सोखिन जिन्दगी सुरुवात हुनेमा म ढुक्क थिएँ। बा फेरि सहर जानु भयो। यसपाली ज्यानले नयाँ स्वादको लुगा पायो, कोट पाइन्ट। आमाले पनि कानमा गजबका सुन पाइन्। बाले त हातमा औँठी पनि हाले। घरमा फेरि क्रान्ति भयो।

साँझ खाना खाइसकेपछि बाले आमालाई गजबको चिज देखाए। म आमाको ढाड छेउ उभिएँ। हाम्रा हात जस्तै देखिने दुई हात कलेजी रंको मोबाइलमा सलबलायो। थोप्लोहरू हराए। बाले मतिर मोबाइल तेस्र्याए। ऐनाले जस्तै जस्ताको तस्तै रंगिन आकृति देखियो मोबाइलमा। अब मोबाइलको सबै भन्दा अगाडि म देखिन थाले। बा–आमाको मुहार उज्यालियो।

गाउँमा हल्ला चल्यो, फोटो खिच्ने मोबाइल ल्याए रे मास्टरले। भन्नेहरू भन्थे मास्टर अचम्मका छन्, रहर नि के–के को हुने हो तिनलाई। राम्रो–नरामो जे–जे भने पनि अनेक बहाना बनाएर फोन हेर्न आउनेको कमी भएन।

छोटो गाँठी, गहुँगोरो वर्ण, पुटुक्क भुँडी तेस्र्याएर सधैँ सर्ट–पाइन्टमा सजिने मेरा बा गाउँभरिकै सोखिन थिए। त्यसमाथि झन् फोटो खिच्ने मोबाइलवाला। कुरै नगरौँ। उनलाई कुनै पनि नयाँ चिज देख्यो कि जसरी हुन्छ आफ्नो बनाई हाल्नुपर्ने। धन्न झिल्के मेरा बाले कुनै युवती मन पराएनन्। नत्र त, आम्मै!

बाको सोखिन जीवनशैलीले घरमा खुसीको अर्को चरण प्रवेश गरायो। मध्यम वर्गीय नै भए पनि विलासिताको रस ममा पस्न थालिसकेको थियो। बाको नयाँ फोनको चर्चाले पुरानो फोनलाई ओझेल पार्यो। अब पुरानो फोन के गर्ने? बा आमाबीच सहमति भयो। उसो त चलन नै पनि हो गाउँतिरको, बुढाले छाडेपछि बल्ल कुनै कुराको स्वामित्व बुढीमा आइपुग्छ। त्यस्तै भयो हाम्रो घरमा पनि। आमालाई सिकाउने निहूँमा त्यो फोन मैले हडपे। त्यसबेला म बेसी पढ्न थालिसकेको थिएँ।

स्कुलमा मेरो चर्चा एकाएक चुलियो। उस्तै परे मलाई बोकेरै घरसम्म ल्याइदिने र स्कुलसम्म लागिदिने जमात तयार भएको थियो। कारण थियो मेरो मोबाइल।

सरकारी स्कुलमा मास्टरले जेनतेन मोबाइल बोक्ने त्यो समयमा मजस्तो साधारण मान्छेले पनि मोबाइल बोक्थेँ। सर्पवाला गेम खेल्न साथीहरु मेरो खुट्टा ढोग्नसमेत तयार थिए। बालाई पढाईमा खुसी पारेर त्यो रंगिन फोन हात लगाउनु मेरो अबको सपना थियो। जसलाई पुरा गर्न भरपुर मेहनत गर्दै थिएँ।

फोन गाउँ–गाउँमा बढ्न थाल्यो। तार फोनको व्यापार संकटमा पर्यो। गाउँका फोनवाला साउजीले अरु नै व्यापार सुरु गरे।

बा–आमाको नम्बर लिने र मौका पारेर मन परेका मान्छेलाई फोन गर्ने चलन सुरु हुन थाल्यो। गाउँका दिदीहरु गोपनियताका कारण मेरै फोनबाट घन्टौँसम्म कुरा गर्थे। म मज्जाले पैसा लिन्थेँ। प्रेमदाता नै भएको थिएँ। उनीहरू मलाई खुसी तुल्याउन घरमा पाकेका मिठा खानेकुरा सुटुक्क दिन्थे।

दुप्चेको जात्रामा भेटिएको सहरिया ठिटोले कसिली ज्यान परेकी गोरी जमुना दिदीलाई कसोकसो माया जालमा फसाएको थियो। प्रेमी सहरमा, प्रेमिका गाउँमा। दुवैको प्रेमको तार जोडिदिने डोरी बलियो नहुँदा झन्डै उनीहरूको प्रेमलीला सकिएको पनि थियो रे। त्यसैबेला मेरो हातमा फोन पर्यो। अनि जमुना दिदीको नजरमा म परेँ।

एक रात बा–आमा सुतिसकेका थिए। बाख्राको पालीबाट लौरीले कसैले घोच्यो। धन्न कराइन छु। मेरो व्यापार गर्ने रहरले अवचेतन मनमै ग्राहक होला भन्ने सोच्न भ्याया । नत्र के हालत हुँदो हो नि बिचरीको। त्यो रातभर उनी फोनमा गफिइन्। तेस्कै भोलि पल्ट गाउँमा नयाँ अनुहार देखापर्यो। त्यो अनुहार मेरो फोनको रिचार्ज बैंकको रहेछ। त्यही सहरिया केटो। जसले मेरो फोनमा ब्यालेन्स हालिदिएर जमुना दिदीलाई फोन गर्न लाउँथ्यो। दिदीले पनि पाँच–१० रुपियाँ उसै दिन्थिन।

त्यो सहरिया ठिटोले दिदीलाई भगाउने नै भयो। उसले दिदीको हात समायो। दिदीले भारी मन लिएर मेरो हात समाइन्। हुनेवाला पतिको आँखामा हेरिन् र मेरो हातमा हजार रुपैयाँ थमाइदिइन्।

त्यसदिनदेखि जमुना दिदी कहिल्यै गाउँ फर्किनन्। यसरी मेरो फोनले सात केटीलाई गाउँबाट भगायो।

फोनको संख्या बढ्दै गयो। तर, मेरो व्यापार घटेन। सम्झेको छु है भनेर देखाउन मिस कल गर्नेसँग पैसा पनि लिन्थेँ। उनीहरू पनि हासीखुसी तिर्न तयार हुन्थे। मिस कल गरेको पैसा, कल गरेको पैसा अनि गेम खेलेको पनि पैसा।

कयौँ पटक मैले केटाहरूको हुन नसेकेका सासू–ससुराको सुन्न नसकिने गाली नि पाएँ। कतिका दाइले धम्की दिएँ। कतिको प्रेम बिछोड भयो। त्यसका बावजुत पनि मेरो व्यवसाय चलिनै रह्यो।

मेरो जीवनमा एक दिन दशा बनेर आइदियो। हामी एकै कक्षामा सँगै पढ्थ्यौँ। कञ्चन भन्ने एउटीलाई उसले मन पराउँथ्यो। एकै गाउँका भएर पनि हाम्रो दोस्ती खासै जमेको चैँ थिएन। एक दिन उसले दिनभर फोन भाडामा माग्यो। राम्रै पैसा प्रस्ताव गर्यो। व्यापार घाटामा गइरहेको बेला पाँच सयको लोभमा उसलाई फोन सुम्पिएँ। दुई सय पचास रुपैयाँ नगद हाताहाती पर्यो बाँकी पैसा साँझ फोन सँगै दिने सर्तमा ऊ बिदा भयो।

साँझ पर्यो। बिहान भयो। एक दिन बित्यो। दुई दिन बित्यो। तर, फोन आएन। घरमा फोनको खोजी हुन थाल्यो। अनेक बहाना बनाएर टार्दै गएँ। एकाएक सनसनती पूर्ण समाचार फ्याँक्यो रेडियोले, अन्दाजी १६ वर्षकी गोरी कद भएकी एक केटीको बेवारिसे लास जंलमा भेटिएको छ। हत्या भएको हुन सक्ने आशंका।

एक छिनपछि फेरि ताजा समाचार अपडेट आयो, मृतक आरुखर्क घर भएकी वीरमान कि कान्छी छोरी कञ्चन भएको पुष्टि। मृतक कञ्चनको नजिकै प्रहरीले एउटा फोन भेटाएको छ। हत्याराको खोजी कार्य तीव्र गतिमा भइरहेको छ।

मेरो संसार डुब्यो। म भासिएँ। कुन दशा बिग्रिएर दिएछु फोन। आफैँलाई सके जति सरापेँ। म दौडिएँ। गन्तब्यबिनाको यात्रामा। घर छाडेर।

बेसीको गाडी चढेको होसै भएन। बाटोमा मैले भगवान भेटेँ। हो, जीवनलाई आफ्नी आमासँग हिँडिरहेको भेटेँ। साले हत्यारा जीवन, मैले मनमनै सरापेँ। गाडी रोक्न लगाएँ अनि दौड्दै उतिर गएँ।

हत्तपत्त फोन मागेँ। उसले ज्ञानी बच्चाले जसरी खुरुक्क दियो। अनि पैसा पनि। म केही नबोली त्यहाँबाट दौडिएँ। मनमा एउटै प्रश्न खेल्यो, लाससँग भेटिएको फोन कसरी जीवनले पायो।

घर पुग्दा बा रिसले चुर हुनुहुन्थ्यो। एसएलसी पास नगरुन्जेल नचलाउने बाचा गरेर मोबाइल बालाई सुम्पिएँ। बा मख्ख पर्नु भयो।

हत्यारा जीवनप्रतिको घृणा र कञ्चनको सुकोमल अनुहारले सताइरह्यो। छटपटीले म बेसुरो झैँ भएँ। किनकि म फस्न सक्ने सम्भावना अझै थियो।

एक दिन बिहान बा रेडियो सुन्दै हुनुहुन्थ्यो। मलाई मोबाइलमा गेम खेल्न मन थियो। त्यसैले माग्न बा नजिक गएँ। उता रेडियोले समाचार भट्याउँदै थियो– दुई दिनअघि जंगलमा भेटिएकी युवती कञ्चनको हत्यारा काठमाडौं घर भइ मनमैजु बस्ने प्रकाश पक्राउ।

बल्ल ज्यानमा सास आयो। जिन्दगीको सबै भन्दा सुखको पल यदि नाप्न मिल्थ्यो भने सायद त्यो नै थियो होला। आफ्नो समस्या पार भएपछि मान्छेले सोच्दिनँ भन्दा पनि अरुकोबारे सोच्दोरहेछ। मैले जीवनलाई सम्झिएँ। बासँग फोन मागिनँ।

भोलिपल्ट जीवन स्कुल आयो। न उसले केही भन्न सक्यो न मैले नै। स्कुल छुटेपछि हामीसँगै उकालो चढ्यौँ।

दुई सातापछिको कुरा हो। आमा फोन डायल र रिसिभ गर्न जान्ने भइसक्नु भएको थियो। आमाको साथी फोन भएको थियो भने मेरो साथी जीवन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .