ad ad

म्यागेजिन


कालो कलम

कालो कलम

प्रकाश गुरागाईं
भदौ ७, २०७६ शनिबार ९:२,

 भर्खरै त कलम खल्तीबाट झिकेर टेबलमा राखेको हो। तर, टेबलमा छैन।

टेबलमा कलम छेकिने कुनै सामान पनि छैन। उसले भुईंमा पनि हेर्‍याे। सामान पन्साएरै खोज्यो। तर, टेबलबाट झरेकै छैन।

ऊ ह्यांगरमा झुन्डाएको लुगाका खल्ती छाम्न थाल्यो। पहिला कलेजी कमिजको अगाडि छातीको देब्रेतिरको खल्ती छाम्यो अनि तल कम्मरतिर दुवैतर्फका खल्ती। तर, कलम भेटिएन।

ऊ कलेजी रङकै धोक्रे सुरुवाल लगाउँछ। सुरुवालको खल्ती पनि छाम्यो। कुनै खल्तीमा पनि कलम छैन। आश्चर्य भयो!

हुन त सुरुवालका खल्तीमा ऊ कहिल्यै कलम राख्दैन। तर, यसपटक उसले ती खल्ती पनि छाम्यो। विश्वासमाथि आशंका भरिएपछि हात अनायसै त्यहाँ पुगेका थिए।

०००
उसको नाम अक्षरभेदी गुरुवाचार्य। सुन्नेलाई बडो अजीवको नाम। जुन दिनदेखि आफ्नो नाम सुन्दै आयो, त्यही दिनदेखि नामलाई लिएर जिस्काउने, आश्चर्य मान्ने, हाँस्ने र दोहोर्‍याएर सोध्नेहरु भेटिरह्यो। ऊ आफैंलाई भने कहिल्यै अजीब लागेन। उसले थाहा पाउँदादेखि सुन्दै आयो आफ्नो नाम।

उसको बुबा पत्रकार। साप्ताहिक पत्रिकामा सम्पादक नै बनेका थिए। नेताहरुसँग संगत थियो। विदेश गइरहन्थे। बुबाको पत्रकारितामा एकदमै लगाव थियो। त्यही प्रभावले छोराको नामै अक्षरभेदी राखिदिए। ठीकै राखिदिएछन्, समयले उसलाई पनि पत्रकार बनायो। अहिले उसका फिचर पढ्न मान्छे लालायित हुन्छन्।

त्यस्तो शक्तिशाली फिचर लेख्ने कलम कहाँ गयो? उसले कमिजको खल्ती त पहिल्यै छामेको हो। फेरि छाम्यो। छैन।

‘यो त आश्चर्य भयो,’ फेरि एक्लै बोल्यो। यही वाक्यांश उसले तीनपटक बोलिसकेको छ।

कलम दिमागमा नाचिरहेको छ। त्यो चानचुने कलम नै होइन। उपहार आएको हो। शक्तिशाली राजदूतावासबाट। त्यस्तो राजदूतावास, जसले नेपालको सरकार फेर्न सक्छ। उसको कलम पनि त शक्तिशाली थियो। राजदूतावासजस्तै।

त्यो कलम सपना देख्न सक्थ्यो। अक्षरभेदी कलमको सपनामा दौडिरहन्थ्यो। जब ऊ लेख्न थाल्यो, कलम मजाले कागजमा दौडन्थ्यो। त्यहाँ उसका सपना पनि मिसिन्थे। कलम र सपना मिलेर जोत्थे समाचारका लाइन। तीनै समाचारका लाइनका कारण भारतसँग उसको राम्रो सम्बन्ध थियो। धेरैलाई भारतमा पढ्न छात्रवृत्ति मिलाइदिएको थियो। उसँग नेताहरु पनि छोराछोरीको छात्रवृत्तिका लागि आग्रह गर्थे। ऊ आफैँ पनि धेरैपटक भारत गएको छ। दिल्ली त उसका लागि पानी पँधेरो पो छ।

०००
उसले फेरि टेबलतिर हे¥यो। त्यहाँ कलम छैन। कलम लुक्ने ठाउँ पनि छैन। टेबल करिब खाली छ। त्यहाँ उसले भर्खरै राखेको डायरी मात्र छ।

अक्षरभेदी गम खायो।

उसको नाम र कलम दुवै अजीबका। कलमको रंग पनि अजीबको। सुनौलो। के अब त्यो सुनौलो कलमले नाता टुटाएकै हो त?

ऊ ओछ्यानमा पल्टियो। आफ्ना यसअघिका कलम सम्झन थाल्यो। धेरै कलमहरु यादै आएन। कठीनसँग सम्झनु प¥यो।

एक–दुई कक्षा पढ्दा ऊ कलेजी सिसाकलम बोक्थ्यो। अरुका सिसाकलम कि सेता हुन्थे कि काला। कोही रातो रंगका पनि बोक्थे। तर, कलेजी रंगको भने उसको मात्र थियो। साथीहरुसँग फुर्ति लगाएर भन्थ्यो, ‘यो सिसाकलमले त मैले नजानेका कुरा पनि लेख्न सक्छ ।’ उसलाई सबथोक जान्दछुझैं लाग्थ्यो। त्यसकारण सिसाकलम पनि सबैथोक लेख्न सक्थ्यो।

कक्षा चारदेखि बाबुले चाइनिज कलम ल्याइदिए। त्यो कलेजी रंगकै थियो। लेख्न चाहिँ कालो लेख्ने। किनभने बाबुले कालै रंगको मसीको भाँडो ल्याएका थिए। त्यो पनि गज्जबकै थियो। खोइ किन गज्जब लाग्थ्यो कुन्नी उसलाई? सायद कलेजी भएर हो कि!

कक्षा पाँच पुग्दा उसको नजिककी साथी भइ प्रियबन्दना राणा। अक्षरभेदीले चाइनिज कलम उसैलाई उपहार दियो। त्यसपछि उसको हातमा सामान्य कलमहरु मात्र परे। ती कलमबारे उसलाई खासै सम्झना छैन। सम्झनलायक पनि थिएनन्। सामान्य कलम बोकुञ्जेल उसको पढाइ पनि सामान्य नै भयो।

कक्षा आठमा पुग्दा उसले अर्कै केटी साथी बनाइसकेको थियो, शैलीका वशिष्ठ। शैलीकाले जन्मदिनमा उसलाई फाउन्टेन पेन उपहार दिएकी थिई। त्यतिबेलै हो उसले फाउन्टेन पेनका आविष्कारक लेविस वाटरमेन हुन् भन्ने थाहा पाएको। सामान्य ज्ञानमा पढेको त्यो नाम अहिले पनि उसलाई याद छ। उसलेपछि मात्र थाहा पायो, वास्तवमा वाटरमेनले फाउन्टेन पेनको उत्पादन गर्न पेटेन्ट राइट मात्र पाएका रहेछन्।

शैलीकाले दिएको फाउन्टेन पेनमा ऊ निलो मसी राख्थ्यो। उपहार पाउँदा त्यो फाउन्टेन पेनले निलै लेख्थ्यो, शैलीकाका आँखाको रंगजस्तै। त्यही पेनले परीक्षा दिएर ऊ कक्षा आठमा प्रथम भयो।

शैलीकालाई पनि दोस्रो हुन मद्दत ग¥यो। त्यही कलमले उसले एसएलसी फस्ट डिभिजनमा पास गर्‍याे।

कलमलाई जतन गरेर राख्थ्यो। औँलामा खूब मजाले घुमाउँथ्यो। साथीहरुलाई रमितै देखाउँथ्यो। घुमाउन त शैलीकालाई पनि उसले मजैले घुमायो। शैलीकाको शरीरको बासना उसलाई खुब मन पथ्र्यो।
ऊ आइएस्सी भर्ना भएको थियो। उसको बाबु मानविकी पढाउन चाहन्थे। तर, उसले विज्ञान नै रोज्यो।

क्याम्पस जान थालेपछि एकदिन फाउन्टेन पेन हरायो। कता हरायो खासै खोजी गरेन। त्यो पुरानो भइसकेको थियो। शैलीका पनि हराइ। अक्षरभेदीले उसको पनि खोजी गरेन। ऊ भने राजनीतिमा सक्रिय हुनथाल्यो। प्रेममा पनि सक्रिय नै थियो। मात्र शैलीका थिइन। तर, राजनीति, पढाइ र प्रेम तीनैमा फेल भयो।

उसले स्नातकोत्तर गर्‍याे। तर, मानविकीमा। विज्ञान त भर्ना भएको अर्को साल नै पढ्न छाडिदियो। स्नातकोत्तर गरेपछि ऊ प्राध्यापक भएन। कर्मचारी त झनै भएन। हो त, पत्रकार भयो।

पत्रकार भएरै त भारतीय दूतावासबाट कलम उपहार पाएको थियो। प्राध्यापक भएको भए नपाउन सक्थ्यो। कर्मचारी भएको भए पनि नपाउन सक्थ्यो। नेता हुने संभावना थियो। तर, दूतावासका लागि मन नपर्ने नेता हुनसक्थ्यो। पत्रकार भयो। गज्जबको सुनौलो कलम पायो, उपहार। कलम कतिसम्म गज्जब थियो भने कक्षा एकमा पढ्दाको सिसाकलमजस्तै नजानेको कुरा पनि लेख्न सक्थ्यो। त्यो कलमले समाचार लेखेपछि नछापिने भन्ने नै हुँदैन थियो। कसैले कलममाथि धावा बोल्नै सक्दैन थिए। कलम उप्रति बफादार थियो।

तर, कलम हरायो।

आज दुई पेग रक्सी खाने मुड बनाएर घर आएको थियो। कोठा छिर्नेबित्तिकै कलेजी रंगका कमिज सुरुवाल खोलेर ह्याङ्गरमा झुण्डाएको थियो। र, सेतो गञ्जी र लामो कालो कट्टुमा बसेको थियो। अर्थात उसले आफ्नो रंग बदलेको थियो।

उसको दराजबाट डबल ब्लाकले निम्ता दिइसकेको थियो। बाहिरैबाट मासुको परिकार प्याक गरेर ल्याएको थियो। घरमा पनि एक्लै थियो। हुन त ऊ यसै एक्लै, बिहे गरेन। फुक्काफाल छ। रक्सीमा डबल ब्लाक उसको ब्राण्ड। किन्नै पर्दैन। उपहार आएका बोतलले नै दराज भरिएका छन्।

तर, कलम हराएपछि उसलाई रक्सी खानै मन भएन।

त्यो सुनौलो कलम। उसको सम्पादकले पनि औधी मन पराएको। माग्दै थियो। तर, बाहाना बनाएर नदिएको हो, उसले।

जब ऊ कतै सही गर्न त्यो कलम निकाल्थ्यो, मान्छेहरु उसैलाई हेर्थे। मानौँ उसँग भएको कलम विश्वकै नमूना हो। हो त, यो कलम विश्वकै एउटा त हो। अनि ऊ अदबका साथ कलम कमिजको अगाडितिरको खल्तीमा राख्थ्यो। मान्छे उसलाई अगाडिबाट पनि हेर्थे, पछाडिबाट पनि हेर्थे। जताबाट हेरेपनि ऊ कलेजी देखिन्थ्यो। कलेजी लुगा लगाएको हुन्थ्यो।

उसले ओछ्यानमा पल्टिएरै छेउको पानीको बोतल तान्यो। दुई घुट्की खायो। ओछ्यानबाट उठ्यो। फेरि कमिजका तीनवटै खल्ती छाम्यो।

‘यो त आश्चार्य भयो!’

चौँथोपटक उसले यो वाक्य बोल्यो अनि ¥याकका डायरीहरु टकटकाउन थाल्यो। र्‍याकका किताबका चेपतिर हात घुसार्यो। त्यहाँ कलम छैन भन्ने उसलाई थाहा छ। उसले बिहान बोकेरै हिँडेको थियो। भर्खरै खल्तीबाट निकालेर टेबलमा राखेको हो। त्यैपनि आत्मसन्तुष्टिका लागि र्‍याकतिर आँखा दगुर्‍याउन थाल्यो।

कलम हरायो भने के हुन्छ? सायद उसको सपना बन्द हुन्छ। अथवा निन्द्रामा कलमले तर्साउन सक्छ। ऐठन हुनसक्छ। ऊ मनोरोगी हुनसक्छ।

कसरी सुत्न सक्छ ऊ? स्लिपिङ ट्याब्लेट खानुपर्ने हो कि? अनुहारमा डरका रेखा दौडिए। आएर फेरि ओछ्यानमा थचक्क बस्यो।

दिनभरका घटना सम्झन थाल्यो। बिहानै नेतालाई भेटेको थियो। उसँग ब्रेकफास्ट गर्‍याे। त्यसपछि व्यापारी भेट्यो। उसँग लन्च गर्‍याे। त्यहाँबाट निस्किएर फिल्म हल गयो। समाल्यावती उसलाई पर्खिरहेकी थिई। ठ्याक्कै उसको आधा उमेरकी छे, १८ वर्षकी। निकै सुन्दर देखिन्छे। उसँगै फिल्म हेर्‍यो। फिल्म सकिनेबित्तिकै समाल्यावतीको खाजा खाने अफरलाई बेवास्ता गरेर हतारो भएको बाहना बनाउँदै हिँड्यो। लेखक भेट्यो। चिया र चुरोट खायो। कर्मचारी भेट्यो। मःमः खायो। अनि अफिस गयो। त्यही कलमले ब्यापारीको फिचर लेख्यो। कम्प्युटरमा टाइप गर्‍याे।

ऊ अजिबको छ। पहिला कलमले कपीमा लेख्छ अनि कम्प्युटरमा टाइप गर्छ। उसलाई जिस्काउँछन् साथीहरु। भन्छ, ‘कलमले लेखेर टाइप गर्दा दुईपटक लेखिन्छ, आफ्नो समाचारको सम्पादक मभन्दा राम्रो अरु हुन सक्दैन।’ आज पनि यही बाक्य बोलेको हो एकपटक।

आज यत्ति ठाउँ हो गएको। यति मान्छेलाई त हो भेटेको। कलम पक्कै कसैले लगेन।

ओछ्यानबाट थोरै उठेर अडेस लाग्यो। आँखा चिम्लियो। ओहो कस्तो कालो, अत्यासलाग्दो। तुरुन्तै आँखा खोल्यो। ह्यांगरमा झुन्डिरहेका उसका कलेजी लुगाहरु देखिए। उसले आनन्द मान्यो।

०००
अक्षरभेदीले कलेजी लुगा लगाउन थालेको सात वर्ष भएछ। त्यतिवेला ऊ साप्ताहिक पत्रिकामा काम गथ्र्यो। दैनिक पत्रिकामा काम गर्ने रहर थियो। पाइरहेको थिएन। एकदिन सपना देख्यो, कलेजी रंगको लुगा लगाएर दैनिक पत्रिकामा रिपोर्टिङ गरेको। त्यहीवेला एउटा नयाँ दैनिक पत्रिकामा जागिर खुलेको थियो। कलेजी रंगकै लुगा लगाएर अन्तरवार्तामा गयो। पास भयो। त्यसपछि कलेजी उसको ब्राण्ड भयो।

कलम पनि कलेजी नै बोक्थ्यो। तर, यसपटक सुनौलो कलम उपहार पाएपछि त्यही बोक्न थालेको थियो। हरायो। भर्खरै त हो हराएको।

‘साला कलम हराएको हो, म हराएको त होइन नि?’ उसले अन्तिममा यस्तो सोच्यो। सोचेको मात्र थियो तर, मुखबाट आवाज नै निस्कियो। आफ्नो आवाज सुनेर आफैँ तर्सियो। तर्सिनलाई उबाहेक कोठामा अरु कोही थिएन।

जुरुक्क उठ्यो। दराजबाट डबल ब्लाकको बोतल झिक्यो। दुई वटा गिलास झिक्यो। भुईंमा पलेँटी मारेर बस्यो। स्न्याक्सको प्याकेट खोल्यो। रक्सी गिलासमा खन्याउन थाल्यो। एकैपटक दुई वटा गिलासमा एक–एक पेग रक्सी हाल्यो। दुवै गिलास उठायो।

‘चियर्स...।’

गिलास थोरैमाथि लगेर ठोकाउँदै बोल्यो अनि घुट्क्याउन थाल्यो।

‘कलम...।’

‘कलम...।’

‘कलम...।’

दिमागमा त्यही सुनौलो कलम नाचिरह्यो।

‘पक्कै सम्पादकको आँखा लागेको हुनुपर्छ,’ एक्लै फुस्फुसायो। अन्धविश्वासी कुरामा विश्वास नगर्ने ऊ, सुनौलो कलमको मोहजालमा परेर ‘आँखा लागेको’ ठान्यो। कलमले उसको सोचलाई भ्रष्ट बनायो। उसले थाहै पाएन।

रक्सी थप्यो।

कलम सोच्यो।

रक्सी घुट्क्यायो।

कलम नै सोचिरह्यो।

‘हराउनुभन्दा त बरु सम्पादकलाई उपहार दिएको भए मलाई राम्रो मान्थ्यो, नजिक त हुइन्थ्यो,’ कहिल्यै चाप्लुसी नगर्ने उसले यस्तो पनि सोच्यो। अब सोच्नुबाहेक केही गर्न सक्दैन ऊ । तर, सुनौलो कलमले उसको इमानदारितामाथि हमला गरेको थियो।

अक्षरभेदी गुरुवाचार्य निरास भयो। निरासा मेटाउन फेरि रक्सी थप्यो।

रक्सी खाँदाखाँदै बोतल रित्तियो। ऊ मात्यो। लर्बरिने गरी मात्यो।

ऊ लर्बराउँदै उठ्यो। बोतल उठाएर डस्टबिनमा हाल्यो। उसको आँखा कलममा परे।

‘मेरो सुनौलो कलम,’ ऊ अचानक बोल्यो। तर, कलम कालो थियो। दुई दिनअघि मात्र ऊ आफैँले किनेको।

‘सुनौलो कलम कसरी कालो भयो?’ ऊ फुस्फुसायो।

डस्टबिनमा कलम थियो। औषधिका केही खोल थिए। समाल्यावतीले पठाएकी थिई, लभलेटर । त्यो पनि डस्टबिनमै थियो। उसले डस्टबिनबाट कलम टिप्यो। अनि ओछ्यानमा डङ्ग्रङ्ङ पल्टियो।
ऊ अवाक् भएर कलम हेरिरह्यो। एकैछिनमा जुरुक्क उठेर त्यसलाई फेरि डस्टबिनमै हाल्यो।

‘मेरो सुनौलो कलम कसरी कालो भयो?’ निदाउनुअघि अन्तिमपटक आफैँलाई सोध्यो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .