दरबार हत्याकाण्ड भएको ४ दिन भइसकेको थियो। जसमा मारिएका राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमारी श्रुति, अधिराजकुमार निराजनलगायतको दाहसंस्कार गरिएको पनि ३ दिन बितिसकेको थियो।
छाउनीस्थित सैनिक अस्पतालको अपरेसन थिएटरबाट २२ जेठ (२०५८) बिहानै अर्का एक जनाको शव निकालियो। श्रद्धाञ्जलिका लागि अस्पताल परिसरको पालमुनि राखियो।
तर त्यहाँ श्रद्धाञ्जली अर्पण गर्न राजपरिवारका कुनै सदस्य पुगेनन्।
वास्तवमा त्यो शव युवराज श्री ५ दीपेन्द्रको थियो। दरबार हत्याकाण्डको भोलिपल्टै २० जेठमा राजा घोषित उनको निधन त्यही दिन बिहान ३.४५ बजे भएको थियो। अचेत अवस्थामा ‘श्री ५ महाराजधिराज’ घोषितलगत्तै उनको निधन भएको थियो। जसले गर्दा उनी श्रीपेच लगाउन र गद्दीमा बस्न नपाउने नेपालको पहिलो राजा बने।
एउटा अनुमान गरौं, दरबार हत्याकाण्डमा बाबुआमा, भाइबहिनीसहित १० जनाको हत्या आरोप लागेका दीपेन्द्र बाँचेका भए यतिबेला के गरिरहेका हुन्थे होलान्?
उत्तर : १३ असार (०२८) मा जन्मेका दीपेन्द्र यतिबेला ५०औं जन्मोत्सव मनाइरहेका हुन्थे। सम्भवतः राजा पनि रहिरहेकै हुन्थे कि?
प्रश्न : तर दीपेन्द्र राजा रहन पाउँथे होलान्? त्यत्रो रक्तपात मच्चाउने दीपेन्द्रलाई कसैले राजाका रूपमा स्वीकार गर्थे होलान्? राजा रहेको स्थितिमा उनको शासन कस्तो हुन्थ्यो होला?
यी केही ‘हाइपोथेटिकल’ (अनुमानजन्य) प्रश्न अहिले पनि नेपालीको मनमा गढेर बसेका छन्।

दरबार हत्याकाण्डमा युवराज दीपेन्द्रले राजा वीरेन्द्र उपस्थित विलियार्ड हल (त्रिभुवन सदन) को सिलिङमा पहिलो गोली हानेका थिए। त्यसपछि उनी बाहिर निस्के। एकै छिनमा दोस्रो र तेस्रोपटक हलमा प्रवेश गरी गोली चलाए।
दीपेन्द्रको योजना बाबु वीरेन्द्रलाई मार्ने नै भए सिलिङमा गोली हान्ने थिएनन्। खासमा उनी राजा वीरेन्द्रलाई तर्साएर प्रेमिका देवयानीसँग बिहे गर्न स्वीकृति चाहन्थे। ३० वर्ष पुगिसकेका थिए, धैर्य गर्ने उमेर थिएन।
तर गोली सिलिङबाट उछिट्टिएर वीरेन्द्रको घाँटीमा लाग्यो।
‘(गोली लागेपछि) वीरेन्द्र दाइ ढलिबक्स्यो, मैले गएर समातें। उहाँ उठ्न खोज्दै हुनुहुन्थ्यो, (कम्मरमा भएको पेस्तोल) समातिरहनुभएको थियो’, घटनाकी प्रत्यक्षदर्शी एवं राजा वीरेन्द्रकी कान्छी बहिनी शोभा शाहीले उच्चस्तरीय छानबिन समितिसँगको बयानमा भनेकी छन्, ‘यो छाडिबक्स्योस् भनेर मैले ट्याप्प (पेस्तोल) थुतें, म्याग्जिन आयो, (त्यसलाई) मैले फालिदिएँ।’

विलियार्ड हलको झ्याल–ढोकामा सिसा लगाइएको थियो। बत्ती बलिरहेको कोठाभित्रका गतिविधि बाहिरबाट प्रस्टसँग देखिन्थ्यो। आफूले गोली चलाएपछि प्रतिकारका लागि बाबुले पेस्तोल झिकिरहेको दृश्य दीपेन्द्रले पनि देखे।
‘राजा वीरेन्द्रलाई मार्ने नै योजना दीपेन्द्रको रहेको भए सुरुमै ताकेर गोली हान्थे होलान्, तर सिलिङमा हानेको गोली उछिट्टिएर राजा वीरेन्द्रलाई लाग्यो, उनी आत्तिए,’ नारायणहिटी दरबार संग्रहालयका पूर्वप्रमुख रोहितकुमार ढुंगाना अनुमान गर्छन्, ‘अब बित्याँस पर्नेभयो भनेर फेरि हलमा पसेर गोली चलाएका हुन सक्छन्।’
पहिलो गोली चल्दा वीरेन्द्र घाइते मात्र थिए। यो स्थिति दीपेन्द्रका लागि कति जोखिमयुक्त हुन्थ्यो? यसको विश्लेषण दीपेन्द्रको कोणबाट गरौं।
आफ्नो हत्या प्रयास अभियोगमा राजा वीरेन्द्रले पक्कै एडीसी दल वा कुनै सैनिक टुकडीलाई दीपेन्द्रलाई गिरफ्तार गर्न आदेश दिने थिए।
दीपेन्द्रले पनि प्रतिकार गर्न सक्थे। उनीसँग स्वचालित राइफल र प्रशस्त गोलीगठ्ठा थिए। एडीसीहरूसँग पेस्तोल मात्र थिए। दीपेन्द्रबाट केही एडिसीको ज्यान जान सक्थ्यो। दीपेन्द्र आफैं पनि मारिन सक्थे।
समातिएका खण्डमा दीपेन्द्रलाई फौजदारी अभियोग लाग्ने थियो। राजगद्दी उत्तराधिकार सम्बन्धी ऐन–२०४४ को दफा ८.१.३ अनुसार उनको ‘श्री ५ युवराजधिराज’ को उपाधि पनि खोसिने थियो।
सो दफाले राष्ट्र र राजगद्दीको हित तथा राजपरिवारको रीत र परम्पराविपरीत विवाह वा अन्य कार्य गरेमा राजगद्दीको उत्तराधिकारी हक र क्रमबाट वञ्चित हुने व्यवस्था गरेको थियो।
वीरेन्द्रले अझ कडा कानुन बनाएर दीपेन्द्रलाई थप कारबाही पनि गर्न सक्थे। दरबारमा आवश्यक पर्ने आन्तरिक कानुन निर्माण गर्ने अधिकार उनलाई थियो।
बाबु वीरेन्द्र जीवितै रहँदा आफूले भोग्नुपर्ने यस्तो सजाय र समस्या दीपेन्द्रले अनुमान नगर्ने कुरै भएन। त्यसैले जब दीपेन्द्रले घाइते बाबु प्रतिकारको मुडमा पाए, तब उनलाई सिध्याउनै उनी विलियार्ड हलतिर बढे। र, राजा वीरेन्द्रविरुद्ध अन्धाधुन्ध गोली चलाए। उनको निधन भयो।
***
राजा वीरेन्द्र घाइते मात्र हुँदा दीपेन्द्रलाई जुन जोखिम थियो, उनी मारिएपछि त्यो खतरा टर्यो।
उल्लिखित ऐनमा राजाको निधन भएपछि राजगद्दीको हकदार ‘युवराजधिराज’ हुने व्यवस्था थियो। सोहीबमोजिम २० जेठ (०५८) मा बसेको राजपरिषदको बैठकले दीपेन्द्रलाई ‘श्री ५ महाराजधिराज’ घोषणा गरेको थियो।
राजकाज चलाउन नसक्ने गरी राजा वीरेन्द्र अशक्त मात्र भएका भए पनि दीपेन्द्र शक्तिशाली नै हुने थिए। त्यो स्थितिमा शासन सञ्चालन गर्न उमेर (२० वर्ष) पुगेका युवराजधिराजलई ‘राज्य–सहायक’को जिम्मेवारी दिने व्यवस्था ‘नेपाल अधिराज्यको संविधान–२०४७’ को धारा ३४ (७) ले गरेको थियो।
हो, संवैधानिक र कानुनी रूपमा बलियो अवस्थामा रहे पनि नरसंहारपछि दरबारभित्रको स्थिति काबुमा राख्ने मुख्य चुनौती उनलाई हुने थियो।
यसका लागि सबैभन्दा पहिले एडीसी दल र दरबारभित्रको फौजलाई दीपेन्द्रले आफ्नो नियन्त्रणमा राख्नुपर्थ्यो। नत्र उनीहरूले राजा ‘वीरेन्द्रको हत्यारा’को प्रतिकार गर्न सक्थे।
एडीसी दल वा त्यहाँ उपस्थित राजपरिबारका कुनै सदस्यले दीपेन्द्रविरुद्ध ‘आउट सर्किट’ (बाहिरी घेरा) मा रहेर राजपरिवारको सुरक्षा गर्ने सैनिक प्रहरीको ‘फाइटिङ फोर्स’ बोलाइदिन सक्थे।
एडीसी दल र ‘सम्भावित फाइटिङ फोर्स’ काबुमा राख्न दीपेन्द्रका लागि अवश्य अप्ठेरो हुने थियो। तर असम्भव थिएन।
किनभने एडीसी दल गोली लागेका राजा वीरेन्द्रलगायत अन्य घाइतेलाई ‘रेस्क्यु’ (उद्धार) गरी अस्पताल पुर्याउने काममा लागिसकेको थियो।
त्यस दिन एडिसीको नेतृत्व महासेनानी सुन्दरप्रताप रानाले गरेका थिए। रानाको टुआईसी (सेकेन्ड म्यान) अनन्तकेशर सिंह थिए। ६ सदस्यीय एडीसी दल ड्युटीमा थियो।
घटनाबारे ०७० वैशाख तेस्रो हप्ता मैले महासेनानी (अवकासप्राप्त) रानासँग लामो कुराकानी गरेको थिएँ। उनका भनाइमा– उद्धारका बेला राजा वीरेन्द्रको श्वासप्रश्वास चलिरहेको थियो। त्यसैले उनीसहितको टोली राजा वीरेन्द्र लिएर सैनिक अस्पताल (छाउनी) पुग्यो।
एडीसीका अन्य सदस्य पनि घाइतेहरू लिएर अस्पतालतर्फ लागे। यीमध्ये केहीले राइफल बोकेर विलियार्ड हलबाहिर दौडिरहेका दीपेन्द्रलाई देखे पनि उनीहरूले घाइतेको उद्धारलाई प्राथमिकता दिए।
एडीसी टोली हत्यारा खोज्ने र प्रतिकार गर्नेतिर लागेको भए बाँच्ने सम्भावना भएका घाइते पनि समयमै उपचार नपाएर मर्न सक्थे। त्रिभुवन सदनमा थप भिडन्त हुन सक्थ्यो।
दीपेन्द्रका साथमा एम–१६ (अमेरिकी), एचके एमपी–५ (जर्मन), १२ बोर गन (इटली) जस्ता स्वचालित र अर्ध–स्वचालित हतियार थिए। गोली पनि पर्याप्त थिए। पेस्तोल मात्र बोकेका एडिसीविरुद्ध दीपेन्द्र नै हावी हुन्थे होलान्।
विलियार्ड हलमा गोली चलाइसकेपछि दीपेन्द्र सैनिक प्रहरीको ‘फाइटिङ फोर्स’लाई आफ्नोअनुकूल हुनेगरी बोलाउने योजनामा थिए कि भन्ने अन्दाज उनको एउटा कदमका आधारमा गर्न सकिन्छ।
जस्तो : राजा वीरेन्द्रलाई २–३ पटक गोली हानेपछि दीपेन्द्र बिस्तारै आफ्नो खोपीतिर लाग्दै थिए। घटनाका प्रत्यक्षदर्शी शान्तबहादुर खड्का (ब्वाइज) ले बयानमा भनेका छन्, ‘दीपेन्द्र निकै सतर्कतापूर्वक पछि सर्दै खोपीतिर बढिरहेका थिए।’

सेट वा फोनमार्फत सैनिक प्रहरीलाई राजा वीरेन्द्रको निधनको खबर सुनाउने, घटनास्थलमा रहेका एडीसी, राजपरिवारका जीवित सदस्यलाई नियन्त्रण लिन आदेश दिने उनको योजना हुन सक्थ्यो। त्यसैले घटना गराइसकेपछि अन्यत्र नलागी कोठातिर लागे।
राजा वीरेन्द्रको निधन वा हत्या, एकिन भइनसकेको स्थितिमा ‘भावी राजा’ एवं नेपाली सेनाका ‘सर्वाेच्च महासेनानी’ युवराज दीपेन्द्रको आदेशको अवज्ञा सम्भवतः सैनिक प्रहरीले गर्ने थिएन।
तर दीपेन्द्र खोपीतर्फ अघि बढ्दै गर्दा परिस्थिति सोचेभन्दा फरक ढंगले विकसित भइदियो।
सतर्कतापूर्वक खोपीतिर गइरहेका युवराज दीपेन्द्रलाई चेतावनी दिँदै रानी ऐश्वर्यले पछ्याउन थालिन्। ऐश्वर्यलाई त्यहीँ नरोक्ने हो भने नयाँ झमेला हुन सक्थ्यो। सेना नियन्त्रण गर्ने दीपेन्द्रको योजना असफल हुन्थ्यो।
त्यसैले आफूलाई पछ्याइरहेकी आमा ऐश्वर्यविरुद्ध पनि दीपेन्द्रले फायर खोले। उनी भर्याङमै ढलिन्।
भाइ अधिराजकुमार निराजन पनि ऐश्वर्यलाई पछ्याउँदै थिए। उनलाई पनि दीपेन्द्रले गोली हाने।
‘भाइ निराजन पनि ढलेपछि भने उनलाई ‘बित्याँसै भयो भन्ने लाग्यो होला’ ढुंगाना अनुमान गर्छन्, ‘एकपछि अर्काे गर्दै परिस्थिति फरक बन्दै गएपछि आफू पनि आत्महत्या गर्ने निर्णयमा उनी पुगेका हुन सक्छन्।’

आत्महत्या नगरेको भए बाबु–आमा, भाइ–बहिनी र नातेदारहरूको त्यत्रो संहारपछि दीपेन्द्र राजा बन्न पाउँथे होलान्?
नेपाल अधिराज्यको संविधान–२०४७ र राजगद्दी उत्तराधिकारीसम्बन्धी ऐन–२०४४ अनुसार राजा वीरेन्द्रको निधनपछि युवराज दीपेन्द्रबाहेक अर्काे व्यक्ति ‘श्री ५ महाराजधिराज’ बन्न सक्ने स्थिति नै थिएन। त्यही कारण भोलिपल्ट २० जेठ २०५८ मा राजपरिषदको बैठकले उनलाई ‘श्री ५ महाराजधिराज’ घोषणा गरिदियो।
राजदरबार हत्याकाण्ड युवराज दीपेन्द्रबाट भएको थाहा नपाएर राजपरिषदले उनलाई राजा बनाउने घोषणा गरेको होइन। न त ‘उनी कोमाबाट फर्कनै सक्दैनन्’ भन्ने अनुमान गरेर नै त्यस्तो घोषणा गरेको हो।
संवैधानिक तथा कानुनी व्यवस्थाका कारण दीपेन्द्र जुनसुकै हालतमा राजा हुने अवस्था थियो। श्री ५ वीरेन्द्रको निधन भएपछि दीपेन्द्रलाई अपराधी घोषणा गर्न सक्ने कुनै निकाय ‘युवराजधिराज’ भन्दा माथि थिएन।
यस्तो स्थितिमा दरबारभित्रका कुन सैनिक अधिकृतले ‘भावी राजा’ दीपेन्द्रलाई पक्राउ गरेर आफ्नो ‘करिअर’ र जीवनलाई जोखिममा पार्ने ‘मूर्खता’ गर्दाे हो?
त्यसबाहेक तत्कालीन राजनीतिक परिस्थिति पनि युवराज दीपेन्द्रको प्रतिकूल थिएन। सामाजिक मनस्थिति त झनै अनुकूल थियो।

त्यसबेला राजा वीरेन्द्र र युवराज दीपेन्द्र भने लोकप्रियताको शिखरमा थिए। सेना परिचालन हुन नदिन विद्रोहरत माओवादी राजासँग रणनीतिक संवादमा थियो। माओवादी विद्रोह समाधान गर्न दलहरू असफल देखिएकाले जनताको आशा राजा वीरेन्द्रतर्फ मोडिएको थियो।
युवराज दीपेन्द्रले पनि सामाजिक माहोल आफ्ना लागि अनुकूल बनाउँदै लगेका थिए। उनी कहिले भक्तपुर र पाटनका नेवार बस्तीमा छोयला र बारा खाइरहेका भेटिन्थे त कहिले नाचगान चलिरहेको ठाउँमा।
यस्ता जमघटलाई रोमाञ्चक बनाउन उनी ‘पानको पात, माया तिम्लाई सम्झिन्छु दिनको रात’, ‘उमेरले मैमत्त नानी, घोर्ले हुन्छ बैंसमा स्याल पनि’जस्ता रसिक गीत गाउँथे। युट्युबमा राखिएको एउटा यस्तै जमघट (सम्भवतः विदेशमा) को भिडिओले युवराज दीपेन्द्रको रसिक स्वभाव र लोकप्रियता झल्काउँछ।
एकातिर युवराज दीपेन्द्र लोकप्रियताको चुलीमा थिए, अर्कातिर शाहज्यादा पारसको छवि विवादास्पद र बदनाम बन्दै थियो। पारसले चलाएको गाडीको ठक्करबाट गायक प्रवीण गुरुङको निधन भएको केही महिना मात्र बितेको थियो।
दोषी जोगाउन निर्मल निवास सक्रिय भएको हल्लाका कारण अधिराजकुमार ज्ञानेन्द्र र शाहज्यादा पारस दुवै जनआक्रोशको तारो बनेका थिए।
प्रवीण गुरुङको मृत्यु प्रकरण आलै रहेका बेला दरबार हत्याकाण्ड भएको थियो। त्यत्रो हत्याकाण्डमा पारस सुरक्षित रहनु, उनका पिता अधिराजकुमार ज्ञानेन्द्र पोखरामा हुनु आदि कारण दरबार हत्याकाण्ड दीपेन्द्रले होइन, पारसले गराएका हुन् भन्ने ‘न्यारेटिभ’ (कथन) निर्माण हुन पुगेको थियो। यही ‘न्यारेटिभ’ले नेपालमा गणतन्त्र स्थापना गर्न महत्त्पूर्ण भूमिका खेल्यो।

उच्चस्तरीय छानबिन समितिले प्रत्यक्षदर्शीका बयानका आधारमा हत्याकाण्ड युवराज दीपेन्द्रले गराएको तथ्य सार्वजनिक गर्यो। आखिर सत्य यही नै हो। तर दीपेन्द्र बाँचेका भए उनले ‘न्यारेटिभ’ निर्माण हुन दिँदैनथे।
‘दीपेन्द्रको मृत्यु भइसकेको थियो, त्यसैले हत्याकाण्ड उनैले गराएका हुन् भन्न डर भएन,’ राजप्रासाद सेवाका एक जना पूर्वअधिकारी भन्छन्, ‘उनी जीवितै रहेका भए कुनै प्रत्यक्षदर्शीले पनि यसरी मुख खोल्दैनथे।’
ती अधिकारीले भनेजस्तै सम्भवतः त्यस्तो कुनै ‘शाही क्रान्तिकारी’ जन्मदैनथ्यो, जसले दीपेन्द्रलाई हत्यारा बताएर आफ्नो ज्यानको जोखिम निम्त्याओस्।’
प्रमुख दलहरूको मानसिकता पनि अचम्मको थियो। सशस्त्र युद्धरत माओवादीले दरबार हत्याकाण्डलाई ‘नयाँ कोतपर्व’का रूपमा व्याख्या गर्दै त्यसलाई मान्यता नदिन आह्वान गरेको थियो। उसको यो दृष्टिकोण ‘दीपेन्द्रबाट दरबार हत्याकाण्ड भएको हो’ भन्ने ‘न्यारेटिभ’ विरुद्ध थियो।
प्रमुख प्रतिपक्षी दल एमाले पनि दीपेन्द्रलाई हत्यारा करार गरेर अलोकप्रिय बन्ने पक्षमा थिएन। त्यसैले आफ्ना महासचिव माधव नेपालकै सुझावअनुसार गठित उच्चस्तरीय छानबिन समितिबाट राजीनामा दिन एमालेले उनलाई निर्देशन दियो।
जतिबेला प्रधानमन्त्री, गिरिजाप्रसाद कोइराला थिए। पदबाट हटेको केही समयपछि उनले पनि दरबार हत्याकाण्डलाई ‘ग्य्रान्ड डिजाइन’ का रूपमा व्याख्या गर्न थाले।
अर्थात्, मुख्य राजनीतिक दलहरू आआफ्नै विश्लेषण र स्वार्थका आधारमा ‘दरबार हत्याकाण्डमा दीपेन्द्रको हात छैन’ भन्ने सन्देश प्रवाह गरिरहेका थिए। दलहरू नै यस्तो मनोदशामा रहेका बेला दीपेन्द्रले जसलाई आरोप लगायो, त्यही व्यक्ति दरबार हत्याकाण्डको दोषी करार हुने सम्भावना थियो।

युवराज दीपेन्द्रलाई सानैदेखि चिनेका राजा वीरेन्द्रका एडीसी टीका धमला उनीबारे नकारात्मक टिप्पणी गर्न चाहँदैनन्। यत्ति मात्र भन्छन्, ‘नारायणहिटी दरबारबाहिर जनसाधारण माझ उहाँको छवि भिन्दै (सकारात्मक) थियो। दरबारभित्र भने उहाँको छवि बिलकुल फरक (नकारात्मक) देखिन्थ्यो।’
राजा वीरेन्द्रका सैनिक सचिव विवेक शाहको ‘मैले देखेको दरबार’ पढ्दा होस् वा एडीसी सुन्दरप्रताप राणाको दरबारको दुःखान्त पढ्दा– युवराज दीपेन्द्र सानैदेखि हठी, कतिपय सन्दर्भमा क्रूर व्यक्तिका रूपमा देखिन्छन्। तर आफूलाई लागेका कुरा बिनाहिच्किचाहट ‘सेयर’ गर्ने स्वभाव उनमा पाइन्छ।
साँच्चिकै गद्दीमा बस्न पाएको भए दीपेन्द्रको शासनशैली कस्तो हुन्थ्यो होला? राजनीतिक दलहरूसँग सहमति गरेर अघि बढ्थे होलान् कि उनी आफ्नै हठका आधारमा निरंकुशता–उन्मुख हुन्थे होलान्?
‘मैले देखेको दरबार’मा शाहले दरबारभित्रको अनुदारवादी खेमाभित्र बडामहारानी ऐश्वर्य, युवराज दीपेन्द्र र अधिराजकुमार ज्ञानेन्द्रलाई समावेश गरेका छन्।

जानकारहरूका अनुसार अपरिपक्व उमेरमा दीपेन्द्रमा दलहरूलाई सत्ता दिन हुँदैन भन्ने धारणा अवश्य थियो। तर उमेर बढ्दै जाँदा विकसित फराकिलो संगतले यस्तो दृष्टिकोणमा परिवर्तन आउन पनि थालेको थियो।
उनका कतिपय साथी राजनीतिक दलसँग निकट थिए। प्रेमिका देवयानी राप्रपा नेता पशुपतिशमशेरकी छोरी थिइन्। देवयानीसँगको सम्बन्धका कारण गद्दी जोगाउन पनि दलहरूप्रति नरम हुनुपर्ने बाध्यता सिर्जना हुने थियो।
हजुरआमा रत्नसँग विवाह गर्न खोज्दा उनका हजुरबुबा महेन्द्रले झण्डै गद्दी त्याग्नुपरेको थियो। बीपी कोइरालाले राजा त्रिभुवन र युवराज महेन्द्रबीच मध्यस्थता गरिदिएपछि महेन्द्र–रत्नको विवाह भयो, महेन्द्र गद्दीको हकबाट वञ्चित पनि हुन परेन।
देवयानीसँग बिहे गर्दा रानी ऐश्वर्यको दबाबका कारण उनी पनि राजगद्दीको उत्तराधिकारबाट वञ्चित हुने सम्भावना रहन्थ्यो। त्यो स्थितिमा हजुरबुबा महेन्द्रले जस्तै राजगद्दी उत्तराधिकारीको हक रक्षाका लागि उनले दलहरूलाई गुहार्नुपर्ने हुन सक्थ्यो। यसले गर्दा उनी दलहरूप्रति आफ्ना पूर्वजभन्दा नरम र समन्वयात्मक हुन सक्थे।
प्रेम र विवाहकै सन्दर्भमा पनि उनी त्यस्तो हठी देखिँदैनन्, जति उनीबारेका साहित्यमा उनलाई चित्रण गरिएको छ। जस्तो : ऐश्वर्यको चाहनाबमोजिम नै सुरुमा गरिमा राणासँग बिहे गर्न उनी राजी थिए। तर गरिमा नै तयार भइनन्।
ऐश्वर्यले नै नचाहेपछि सुप्रिया शाहसँगको सम्बन्ध पनि ‘ब्रेक’ भयो। देवयानीसँग विवाहका लागि सहमति जुटाउन उनी आफैंले अन्तिमसम्म सहमतिको प्रयास गरेकै हुन्। तर कुरा नमिलेपछि दरबार हत्याकाण्ड हुन पुग्यो।
त्यो घटनाका कारण उनी साँच्चिकै क्रूर र हठी थिए भन्ने ‘न्यारेटिभ’ निर्माण भयो।
राजाहरू मूलतः निरंकुश शासनकै पक्षपाति हुन्छन्। महेन्द्र र बाबु वीरेन्द्रको पूर्वाद्र्ध शासनकालका आधारमा राजा बनेका भए दीपेन्द्र पनि निरंकुश बन्न सक्थे भन्ने विश्लेषण गर्न नसकिने होइन। तर पूर्वजजस्तो निरंकुश शासक बन्ने वातावरण दीपेन्द्रको वरिपरि थिएन।
राजा वीरेन्द्रका ससुरा केन्द्रशमशेर नेपाली सेनाका रथी थिए भने महेन्द्रका ससुरा अतिरथी (फिल्डमार्सल) हरिशमशेर राणा शासनका पक्षधर। यस्तो पारिवारिक सम्बन्धले पनि महेन्द्र र वीरेन्द्रलाई निरंकुश र अनुदार बन्न भूमिका खेलेको हुनुपर्छ।
यसविपरीत देवयानीका पिता पशुपतिशमशेर राप्रपाभित्र उदार विचारधाराका नेता थिए। देवयानीको मामाघर ग्वालियर (भारत) को राज खानदान पनि कांग्रेस (आई) र भाजपाजस्ता राजनीतिक दलमा आबद्ध थियो।
दीपेन्द्रको साथी–संगाती वृत्तमा विभिन्न राजनीतिक विचारधाराका युवा थिए। बाबु मारेर राजा भएको भयका कारण जनमत आफ्नाविरुद्ध नजाओस् भनेर पनि उनी सम्झौतावादी हुनुपर्ने बाध्यता सिर्जना हुन सक्थ्यो।
‘राम्रोसँग सम्झाउने हो भने ‘कन्भिन्स’ हुने स्वभाव दीपेन्द्रको थियो’, २०३९ देखि राजप्रासाद सेवामा प्रवेश गरेर गणतन्त्रपछि संग्रहालय प्रमुख बनेका ढुंगाना भन्छन्, ‘उनी जीवित र राजा भएको भए अरूका कुरा सुन्ने र कन्भिन्स पनि हुने स्वभावको असर राजनीतिमा स्वाभाविक रूपमा पर्न सक्थ्यो।’
(तस्बिरहरू संकलन : सीताराम बराल)
Shares
प्रतिक्रिया