बिहेको दिन विक्रमले भनेको थियो, ‘मैले बिहे गरेँ, म विदेश जानुभन्दा पहिले तेरो बिहे भएको हेर्न चाहन्छु।’
मैले उसलाई जवाफ दिएँ, ‘ह्या ल्याङ नगर न यार। म कसैको एकतर्फी प्रेममा छु। उनको मनमा म अट्न सक्छु या सक्दिनँ थाहा छैन। यदी अटेँ भने मेरो बिहे धुमधामसँग गरौंला।
प्रेम भनेको सुनेर ऊ उत्साहित भयो र भन्यो, ‘कतै तिम्रो एकतर्फी प्रेमिका मनिषा त होइन नि?’
‘होइन यार, मनिषा त साथीमात्र हो’ म जवाफ दिन्छु।
‘तर, मनिषाले तलाईं धेरै चाहन्छे। जतिबेला नि तेरै गुणगान गाउँछे। उसले भूमिका बाँध्यो।
म झस्किएँ। ख्यालठट्टामा एकदिन मैले उसलाई भनेको थिएँ, ‘बिहे त म तिमी सँगै गर्छु।’ कतै उसले मेरो कुरालाई गम्भीर रुपमा त लिइन? मलाई शंका लाग्न थाल्यो।
‘अनि को हो त भन्न?’ विक्रमले आफ्नो जिज्ञासा मर्न दिएन।
‘नाम त मलाई पनि थाहा छैन तर बिहान–बिहान मेरो पसल अगाडिबाट स्कुल गइरहेको देख्छु। देखेको धेरै भयो तर बोलेको छैन।’
‘स्कुलमा पढ्ने विद्यार्थीलाई पनि छाड्ने भइनस् है’, उसले व्यंग्य कस्छ।
‘मैले विद्यार्थीको कुरा गरेको हैन, ऊ शिक्षिका हो’, मेरो जवाफपछि ऊ थप आश्चर्यमा पर्यो। म उसलाई त्यो दिनबारे सुनाउन थालेँ।
दशैंको समय थियो। म पसल अगाडि बाटोमा उभिएको थिएँ। कसैको मुखबाट ‘समर लभ’ भन्ने शब्द निस्कियो। मैले उपन्यासको कभर प्रिन्टवाला टिसर्ट लगाएको थिएँ। उसले मेरै टिसर्टको प्रिन्ट पढेकी रै’छे भन्ने चाल पाइहालेँ।
म केटीतर्फ फर्किएँ। उसको स्वरले मोहित भइसकेको मलाई अनुहारले झन् लठ्ठ बनायो। सायद त्यसै दिनदेखि म उसको एकतर्फी प्रेममा परेँ।
‘स्वर सुनेर नि कसैले प्रेम गर्छ?’ मेरो कुरा सुनेर विक्रम झर्कियो।
‘प्रेम कोसँग, कसरी र कहिले हुन्छ के थाहा’ मैले दार्शनिकता छाटेँ, ‘बरु सक्छस् भने सहयोग गर न।’
उसलाई नदेखेको नि थुप्रै दिन भइसकेको थियो। झिनो आशा संगालेर ऊ हिँड्ने बाटो हेर्थेँ। तर, छाइदिन्थ्यो निराशा।
०००
पूर्णिमाको रात छतमा बसेर जुन हेरिरहेको थिएँ।
मोबाइलमा घन्टी बज्यो। फोन टेम्पोले गरेको रहेछ। विक्रमको नाम टेम्पो भनेर सेभ गरेको थिएँ। रिसिभ गरेँ।
‘विनोद तँ अहिले कहाँ छस्?’
‘कोटेश्वर।’
‘ल्हास्सोमा आइजा न बानेश्वर।’
‘अबे रात परिसक्यो। गेटमा ताल्चा पनि लागिसक्यो। यतिबेला के भनेर निस्कनु घरबाट?’
‘यार मैले त्यतिकै बोलाएको हैन, पछि भेट्न पाउँछस् पाउँदैनस्?’ उसले भावुक कुरा गर्यो। मलाई उज्यालो जुन पनि अध्यारो लाग्न थाल्यो।
ओर्लेर घरमा केही नभनी गेटमा आएँ। धन्न गेटको साँचो त्यहीँ रहेछ। बिस्तारै गेट खोलेँ। तर, झ्यालबाट दिदी देखिहाल्नुभयो।
ओठमा औंला राखेर दिदीलाई चुप लाग्न संकेत गरेँ।
कपिल मलाई लिन गेट बाहिर आइसकेको रहेछ। हामी तीनकुनेबाट नयाँ बानेश्वरतर्फ लाग्यौँ। बाटोमा मैले कपिललाई विक्रमले बोलाउनुको कारणबारे सोधेँ। तर, उसले मुख खोलेन। मानौँ उसले आफ्नो मुख कुनै केमिकलले टाँसेर राखेको छ।
मलाई झनक्क रिस उठ्यो। तर, केही भन्न सकिनँ।
ल्हास्सोमा छिरेँ। कपिलले केही नबोली पहिलो तलामा जाने इशारा गर्यो। म उतै लागेँ। भित्र छिर्नासाथ स्कुल लेभलका साथीहरु देखापरे। म सरासर उनीहरु बसेको टेबलतिर लागेँ। सबैसँग पालैपालो हात मिलाएँ।
विक्रम अन्तिममा थियो। उसँग हात मिलाउँदै आफूलाई अचानक बोलाउनुको कारणबारे सोधेँ। तर, ऊ मरिगए बोलेन। भन्यो, ‘पहिले रमाइलो गरौँ, त्यसपछि भन्छु।’
टेबल भोड्का, चुरोट र स्न्याक्सले भरिन थाल्यो। हल्ला बढ्दै गयो।
विक्रमले एक पेग भोड्का मतिर सार्यो। म कहिल्यै पिउँदिन भन्ने उसलाई थाहा थियो। तर, आज किन ऊ यसो गर्दै छ? मैले चाल पाउन सकिनँ।
‘आज मेरो लागि पिइ न यार प्लिज’ उसको व्यवहार मलाई झन् अनौँठो लाग्न थाल्यो।
अन्य साथीहरुले पनि हो मा हो मिलाउन थाले। म केही बोलिन। मनमा एउटै कुरा खेल्यो, ‘आज विक्रम किन अरु दिनभन्दा फरक व्यवहार गर्दैछ?’
सबैसँग गिलास ठोक्काएपछि जिब्रोले भोड्काको स्वाद चाख्यो। गन्हायो। कस्तो नमीठो!
विक्रमले मेरो लागि अर्को पेग तयार पारिसकेछ। एक पेग त मैले सकिसकेछु! जोशमा होस गुम्छ भनेको सायद यही होला। मैले पनि गुमाएँ।
०००
‘म अस्ट्रेलिया जाँदै छु। तेरो भाउजुले अष्ट्रेलियाको स्कलरसिप पाएकी छ’, विक्रम बोल्यो।
अब मौन हुने पालो मेरो आयो। दःुखसुखमा हात फैलाउने साथी आफूबाट टाढा जाँदा खुसी त कोही पनि हुँदैनन् होला।
मनमनै खुसी पनि लाग्यो। कम्तिमा ऊ आफ्नो सपना साकार बनाउँदै त छ भनेर।
अब भने मलाई पेगमाथि पेग थप्न मन लाग्यो। बेस्मरी मात्तिन, हल्लिन्। र, म पिएरै बेहोसिएँ पनि।
बिहान ब्युँझदा उसैको घरमा रहेछु! टाउको बेस्मरी दुखिरहेको थियो। आँखा मिच्दै उठे र विक्रमलाई घच्घच्याएँ।
बाहिरबाट ढोका नक गरेको आवाज आइरहेको थियो।
उ ब्युँझियो। तर, ढोका खोल्न मलाई नै आदेश दियो। मैले ढोका खोलेँ। ढोकामा उभिइरहेकी युवती देखेर मेरो धड्कन जोड–जोडले धड्कियो। अनुहार आश्चर्यले भरियो। मन लाजले।
म लजाउँदा–लजाउँदै उनी विलाइन्।
‘ओई तेरो अनुहार किन बेग्लै छ?’ विक्रमले सोध्यो।
‘हिजोको रक्सी नउत्रेको होला’ मैले कुरा लुकाएँ।
म रक्सी लाग्दाको अनुहार छुट्याउन सक्दिनँ र?’ उसले छाडेन।
मेरो मनमा डर बढ्न थाल्यो। त्यै पनि मनको कुरा मनमै राख्दा घाटा मलाई नै थियो। त्यसैले सोधेँ,‘अघि नक गर्ने को हो?’
‘फपुकी छोरी।’
‘नाम नि?’
‘अन्जना रिजाल।’
अन्जना उनै थिइन् जसले मेरो टिसर्टको प्रिन्टलाई मीठो स्वरमा ‘समर लभ’ भनेर वाचन गरेको थिइन्। र, म त्यही स्वर सुनेर मोहित भएको थिएँ।
‘तैँले हिजो मलाई नबोलाएको भए। नपिलाएको भए। म यहाँसम्म नआएको भए। म आज धेरै खुसी छु’ मैले भनेँ। ऊ अकमकायो।
‘मलाई एउटा हेल्प गर्न सक्छस्?’ म नै बोलेँ।
‘मैले कहिल्यै नाइँ भनेको छु र?’
‘म उनलाई देख्न चाहन्छु यार।’
‘उनलाई मतलब कसलाई?’
‘भनेको थिएँ त म एकतर्फी प्रेममा छु भनेर। हो उनलाई’ मैले भनेँ। उसले मेरो कुरालाई हाँसेर उडायो।
हामी फ्रेस भएर किचनतर्फ लाग्यौँ। भाउजु र अन्जना खाना बनाउने तयारी गर्दै गफ गरिरहेका थिए।
विक्रमले भाउजुलाई कफी बनाउन लगायो। मैले अन्जनालाई आँखा लगाएँ। कति राम्रा चक्षु उनका, परेली पनि उत्तिकै मिलेका। सबै नसालु पदार्थ हानिकारक हुँदैनन्, केही अत्यन्तै प्यारा पनि हुन्छन्। जस्तैः उनका आँखा। मनमनै सोचेँ।
म उनको गहिराइमा डुबिरहेको थिएँ। विक्रमले बैठक कोठामा जाने संकेत गर्यो। मेरो मन खिन्न भयो।
कफी लिएर अन्जना बैठक कोठामा आइन्।
सर्लक्क मिलेका रेसमी कपाल, बाटुला परेली, लहरै मिलेका दाँतका पंक्ति, स्याउजस्ता रसिला गाला, चुच्चो नाक, स्लिम शरीर। पहिलोपटक मैले उनलाई मज्जैले नियालेँ।
‘विनोद अघि सोध्दै थिस् त उसको नाम के हो भनेर। छेउँमै हुँदा चै किन परिचय गर्दैनस्?’ उसले झटारो हान्यो।
मैले हात अगाडि बढाएँ, ‘म विनोद।’ उनले नामको पछाडि उप्रेती थपिदिइन्। म चकित परेँ।
उसले आफ्नो हात अघि बढाउँदै अन्जना भन्नासाथ मैले पनि रिजाल भनिदिएँ। विक्रम मज्जाले हाँस्यो।
‘मेरो थर कसरी थाहा भयो?’ मैले उनलाई प्रश्न गरेँ।
उनले ‘समर लभ’ नामको पेजमा मैले राखेका कोट्सहरु पढ्दी रहिछन्। मलाई पहिल्यैदेखि चिनेकी रहिछन्।
उनको कुरा सुनेर म मुस्कुराएँ। एकाएक पेजमा देखिरहेको दृश्य मेरो टिसर्टमा देखेपछि आफ्नो मुखबाट शो शब्द निस्किएको उनले बताइन्।
अन्जना अझ खुल्न थालिन्, ‘बिहान जब मैले तपाईंलाई ढोकामा देखेँ। त्यतिबेला मलाई आश्चर्य लाग्यो। भाउजुलाई सोधेपछि तपाईं दाइको साथी भन्ने थाहा पाएँ।’
अन्जना मसँग बोलिरहँदा उता विक्रमको अनुहार कालो भइसकेको थियो। टिसर्टको कुरा गरेकाले पनि हुनुपर्छ उसले मैले एकतर्फी प्रेम गर्ने केटी ऊ नै हो भन्ने चाल पाइसकेको थियो।
अन्जना किचेनमा गएपछि पनि हामीबीच कुनै संवाद भएन। ऊ झन् पीडाबोध गर्न थाल्यो।
‘के भयो?’ मैले नचाहँदा–नचाहँदै पनि उसलाई प्रश्न गरेँ।
‘तैँले गल्ती गरिस्’ ऊ बोल्यो। मलाई लाग्यो, मैले प्रेम गर्ने केटी उसकी बहिनी हो भन्ने चाल पाएर ऊ निराश छ।
‘साथीको नाममा कलंक’ मैले मनमनै भनेँ। अनि जुरुक्क उठेर कोठामा गएँ। मोबाइल र घडी लिएर बाहिर निस्केँ। मूल ढोकातर्फ अघि बढेँ।
‘केही दिनमा बहिनीको बिहे हुँदैछ। मलाई पहिल्यै सबै कुरा नभनेर गल्ती गरिस्’ विनोदको मुखबाट मलिन शब्द सुनियो।
मैले उसलाई अंगालो हालेँ। आँखाबाट आँसु खस्यो। ‘अब त झन् म उनलाई भुल्न सक्दिनँ’ म यति भनेर आँसु पुछ्दै घरबाट निस्किएँ। दिनभर कोठामै बसेर आफ्नो भाग्यलाई धिक्कार्दै आँसु खसालिरहेँ।
साँझपख विक्रमले मेसेज गर्यो, ‘मैले तेरो बारेमा बहिनीलाई सबै कुरा भनेँ। उसले पनि तँलाई मन पराउँदी रै’छ। घरको दबाबमा उसको अन्तै बिहे हुन लागेको हो। यदी तँ हिम्मत गर्छस् भने भगाएर लैजा, म सहयोग गर्छु।’
उसको मेसेज पढेपछि मेरो आँखाबाट झन् आँसु बग्न थाले। तर, यसपटक ती आँसु खुसीका थिए।
Shares
प्रतिक्रिया