म्यागेजिन

Tata MotorsTata Motors

तिहारपछि नेपाली आकाशमा ‘मेड इन नेपाल’ ड्रोन

आविष्कार केन्द्रका संस्थापक महावीर पुन। तस्विर: प्रविन कोइराला


कृष्ण आचार्य
काठमाडौं, साउन २५

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरको शिव मन्दिर नजिकै एउटा टहरो छ। टहरो प्रवेश गर्नुअघि गेटमा लेखिएको छ, राष्ट्रिय आविष्कार केन्द्र। बोर्ड छिचोल्दै त्यो सानो अस्थायी टहरोभित्र प्रवेश प्रवेश गर्दा देखिन्छ, युवा काममा व्यस्त भएको दृश्य।

कोही ल्यापटपमा प्राविधिक काम गरिरहेका, कोही निर्माण कार्य गरिरहेका। समूह–समूहमा रहेका उनीहरु आ–आफ्नै सुरमा व्यस्त छन्। ५ हजार २ सय वर्गफिट क्षेत्रफलको टहरो बीचमा बसेर महावीर पुन ल्यापटपमा घोत्लिरहेछन्। उनी कुनैबेला नजिकैका युवालाई केही अह्राउँछन्। कुनैबेला प्रासंगकि सूचना बाँड्छन्।

विश्वविद्यालयहरु अनुसन्धानमा अघि बढ्न सकेनन्। उनीहरुको योगदान देशको आविस्कारका लागि लगभग शून्य छ। यही अवस्थामा महावीरको ‘ड्रिम प्रोजेक्ट’ आविस्कार केन्द्र केही नयाँ गर्दैछ। भविष्यमा यो कहाँसम्म फैलिन सक्ला? उनी भन्छन्, ‘नेपालको विज्ञान र प्रविधि अनुसन्धानको क्षेत्रमा यो एउटा राम्रो काम गर्ने विश्वविद्यालय हुन सक्छ।’

एक वर्षअघि बनाएको ४ कोठा र एक हलसहितको टहरो केन्द्रका लागि अहिले साँघुरो भएको छ। त्यही भएर अहिले फलामको ट्रस्ट हालेर ४ वटा कोठा थप्ने तयारी हुँदैछ। सुरुमा महावीरलाई काम ‘कति नै होला र’ भन्ने लागेको रहेछ। काम थपिँदै जाँदा एक वर्षमै केन्द्रलाई ठाउँ अभाव भएपछि थप गर्न लागिएको उनले सुनाए।

mahabir pun3
त्रिविस्थित आविस्कार केन्द्र। त्यसमा काम गर्दै युवा। तस्विरः प्रविन कोइराला

‘आइडिया हुनेहरुलाई यो एउटा प्लेटफर्म हो। आफैँले ल्याएको आइडियामा यहाँ काम गर्ने हो’, उनी भन्छन्, ‘यो गर्ने र त्यो नगर्ने भन्ने कुनै सीमितता छैन। अनुसन्धान कुनै व्यवसाय चलाएजस्तो होइन।’ हुन पनि केन्द्रमा कृषि, इन्जिनियरिङ, शिक्षा, बायोमेडिकल, पर्यटनसहितका फरक १६ विषयमा अनुसन्धान तथा परीक्षण भइरहेका छन्। तिनको परिणाम आउँदा समाज र देशले आ–आफ्नो क्षेत्रमा केही नयाँ पाउनेछन्।

त्यो नयाँ के हो त ? ‘ड्रोनदेखि पुराना गाडीलाई ब्याट्रीबाट चल्ने बनाउनेसम्म छन्’, उनी भन्छन्।

केन्द्र अहिले धेरै क्षेत्रमा नयाँ प्रविधि विकास गर्न तर्फ लागेको छ। बाँदर लखेट्ने, सेल रोटी पकाउने, उत्पादित तरकारी लामो समयसम्म नबिग्रिने बनाउनेजस्ता वैज्ञानिक प्रणाली निर्माण भइरहेछन्। कपडा काट्ने प्रविधि, कम तापमानबाट बिजुली निकाल्ने, कुखुराको दानाको विकास गर्ने, सिन्के धूप बनाउने प्रविधि तथा स्वास्थ्य र पर्यटनका लागि आवश्यक एप्लिकेशनहरु केन्द्रले बनाउँदैछ।

चितवन, धरान, जनकपुर र पोखरामा समेत केन्द्रकै संयोजनमा अनुसन्धानको काम भइरहेका छन्। देशभर सयौँ युवा मान्छेको जीवनशैलीसँग सिधा जोडिएका र परम्परागत रूपमा हुँदै आएका काम सहज बनाउने गरी आविष्कार गर्न जुटेका छन्।

आविष्कार केन्द्रले ‘एसेम्बल्ड’ गर्ने ड्रोनप्रति सबैको चासो छ। उनकाअनुसार यसै वर्षको तिहारपछि नेपाली आकासमा स्वदेशमै आविष्कार भएका ड्रोनहरु उड्नेछन्।

mahabir pun6
आविस्कार केन्द्रमा समूह बनाएर काम गरिरहेका युवा। तस्विरः प्रविन कोइराला

औषधि बोक्न मेडिकल ड्रोन
२०७४ साल चैतमा एउटा ड्रोन एक केजी औषधि बोकेर डेढ किलोमिटर यात्रा पार गर्दै माग्दीको अन्नपूर्ण गाउँपालिका–८, राम्चे पुग्यो। नागीको हिमाञ्चल माध्यमिक विद्यालयको १५ समय मिटर उचाईबाट सो ड्रोन उडेको थियो। ड्रोन जमिनदेखि करिब १५ मिटर उचाईबाट औषधि खसालेर पुनः विद्यालय फर्कियो।

राम्चेको स्वास्थ्य चौकीमा सधैँ औषधि अभाव हुन्छ। त्यसबाट स्थानीयलाई छटपटी हुने नै भयो।औषधि बोकेर गाउँमै ड्रोन पुगेपछि उनीहरु दंग परे। त्यो नै आविष्कार केन्द्रको पहिलो परीक्षण ड्रोन उडान थियो। औषधि बोक्न उपयोगमा ल्याउन लागिएकाले यसलाई मेडिकल ड्रोन नाम दिइएको छ।

महावीरले मेडिकल ड्रोन निर्माण गर्नुका पछाडि पनि एउटा कथा छ। उनी कर्णालीको मुगु पुगेका थिए। त्यहाँ स्थानीयले आफूहरु औषधिको पहुँचभन्दा धेरै टाढा रहेको पीडा पोखे। उनले सो कुरा मनन् गरे।  के गर्ने त भन्दा उनको दिमागमा मेडिकल ड्रोनको आइडिया फुर्‍यो। ड्रोन एसेम्बल्ड गरियो। केही परीक्षण भए, सफलता पनि हात लाग्यो।

पहाडी र हिमाली भेगमा एक ठाउँबाट अर्को ठाउँसम्म पुग्न सहज छैन। मानवीय जीवन कस्टकर रहेको त्यस्ता ठाउँमा अत्यावश्यक वस्तु औषधि बोक्न ड्रोनको प्रयोग प्रभावकारी हुने उनको ठम्याइ छ।

निर्माण सम्पन्न हुनै लाग्यो ड्रोन
आविष्कार केन्द्रले ड्रोन बनाउन शून्यबाटै काम सुरु गरेको हो। ल्याबमा लामो समय मेकानिकल, इलेक्ट्रिक र इलेक्ट्रोनिक्स कामपछि बल्ल ड्रोन बनेको हो। परीक्षण गरेपछि देखिएका समस्या समाधानको काम यतिबेला भइरहेको छ। र्कीर्तिपुरको आकाशमा पटक–पटक देखिने ड्रोन आविष्कार केन्द्रका परीक्षण उडानहरू हुन्।

 mahabir pun4
आविस्कार केन्द्रका संस्थापक महावीर पुन उनकै नेतृत्वमा युवाले अध्ययन तथा अनुसन्धानको काम गरिरहेका छन्। तस्विरः प्रविन कोइराला

महावीर भन्छन्, ‘हामीले ड्रोन बनाउन थालेको एक वर्षभन्दा धेरै भइसकेको छ। अहिले झन्डै ८० प्रतिशत काम पूरा गरेका छौं। अबको दुई महिनामा शतप्रतिशत काम सकेर ड्रोनको फाइनल भर्सन लन्च हुन्छ।’

ड्रोनको विषयलाई लिएर मानिसहरु सबै पार्टपूर्जा विदेशबाट ल्याएर के आविष्कार हुन्छ भन्ने प्रश्न उठाउँछन्। महावीर भन्छन्, ‘आविष्कार भनेको कुनै पनि चिजलाई आफ्नो वा बजारको आवश्यकताअनुसार ढाल्नु हो। हामीले त्यही गर्दैछौं।’

आविष्कार केन्द्रमा युवाले स्वदेशमै प्रविधि अनुसन्धानको काम गर्न पाइरहेका छन्। यो उनीहरुलाई सीप सिक्ने र क्षमता अभिबृद्धि गर्ने ठूलो अवसर समेत हो। ८ जनाको समूहले ड्रोनको काम गरिरहेको छ।

मेडिकल ड्रोनलाई औषधिमात्र नभई दुर्गम क्षेत्रका स्वास्थ्य चौकीमा अत्यावश्यक उपकरण र मेडिकल सामग्री पुर्‍याउने गरी विकसित गर्न लागिएको महावीर बताउँछन्। आवश्यक परे बिरामीको दिसा, पिसाब, रगतजस्ता नमुनाहरु संकलन गर्ने, रिपोर्ट पुर्याउने काम समेत ड्रोनमार्फ नै गर्न सकिनेछ।

आठवटा पंखा र दुईवटा पखेँटा भएको जहाजजस्तै उड्ने मेडिकल ड्रोन आविष्कार केन्द्रको रिसर्च ल्याबमा उड्नका लागि अन्तिम अवस्थामा छ। सरकारले यसलाई उडाउन स्वीकृतिसमेत प्रदान गरिसकेको छ।

mahabir pun5
आविस्कार केन्द्रमा प्राविधिक परीक्षणको काम गरिरहेका एक युवा। तस्विरः प्रविन कोइराला

पहिलो चरणमा १६ वटा 
दुई वर्षअघि म्याग्दीमा महावीरले उडाइएको ड्रोन पहिलो भर्सनको थियो। अहिले त्यसकै तेस्रो भर्सनमा काम भइरहेको छ। अहिले करिब १६ वटा ड्रोन एकैसाथ निर्माण भइरहेका छन्। ती मध्ये पनि सबैको क्षमता एकै किसिमको छैन।

एउटा ड्रोन चार–पाँच किलिोमिटरसम्म यात्रा गर्न सक्ने हुन्छ, जसलाई ‘मल्टि रोटर’ भनिन्छ। अर्को भनेको ‘फिक्स विन्ड ड्रोन’ हो। जसले २० देखि २५ किलोमिटरसम्म यात्रा गर्न सक्छ। ‘हाइब्रिड ड्रोन’ आवश्यक परेको खण्डमा कुनै ठाउँमा बस्न र कुनै सामान ल्याउन सक्ने क्षमता राख्छ। यसको दूरी ठ्याक्कै यति भन्ने हुँदैन। यो ड्रोनले उचाईअनुसार यात्रा गर्छ।

यी ड्रोन कुन–कुन ठाउँमा उडाउने भन्ने लक्ष्य भने आविष्कार केन्द्रसँग छैन। ‘हाम्रो देशमा ड्रोनबाट काम गर्ने ठाउँ प्रशस्त छन्। बनाइसकेपछि जो सेवा चाहियो भनेर आउँछन् उनीहरुलाई सेवा उपलब्ध गराउँछौं’, महावीर भन्छन्, ‘म्याग्दीमा यसको परीक्षण गरेकाले त्यहीँबाट ड्रोनको लन्च हुनसक्छ।’ तिहारपछि म्याग्दीमा दोस्रो संस्करणको ड्रोन उडाउने तयारी भइरहेको छ।

‘त्यसपछि नियमितरुपमा मागअनुसार अन्य ठाउँमा पनि उडान सुरु हुन्छ’, उनी भन्छन्। पहाडी भेगमा उडान भर्न सक्ने गरी ड्रोनको तीन हजार मिटर उचाईसम्मका बस्तीमा सफल परीक्षण भइसकेको छ।

mahabir pun1
त्रिभुवन विश्वविद्यालय परिसरभित्र रहेको राष्ट्रिय आविस्कार केन्द्र। तस्विरः प्रविन कोइराला

प्रविधि विकासको क्षेत्रमा महावीरले अध्ययन अनुसन्धान गरिरहँदा सरकारले उनका कामप्रति चासो देखाएको छैन। महावीर भन्छन्, ‘हामीले सरकारको लागि नभएर जनताका लागि काम गर्ने भएकाले सरकारले चासो दियो या दिएन भन्ने कुराले केही फरक पर्दैन।’

आविष्कार केन्द्रको खर्च देश तथा विदेशमा रहेका नेपालीहरुको सहयोगमा चलिरहेको छ। कसैले आर्थिक तथा कसैले भौतिक (सामानहरु) सहयोग गरिरहेका छन्।

‘राम्रो प्रतिभा भएका व्यक्तिलाई पनि मौका दियो भने नेपालमा पनि केही चिज बनाउन सकिन्छ भन्ने कुरा प्रमाणित गर्न खोजेका हौं’, महावीर भन्छन्।

साउन २५, २०७६, शनिबार

कृष्ण आचार्य नेपालखबर वरिष्ठ संवाददाता हुन्
लेखकबाट थप

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors