म्यागेजिन


‘सुकी ! राजनीति छाडेर नेपालमै बस्न आऊ’

‘सुकी ! राजनीति छाडेर नेपालमै बस्न आऊ’

सीताराम बराल
फागुन १५, २०७७ शनिबार ८:१४,

एक महिनाअघि, १९ माघ (२०७७) मा बर्मेली संसदको पहिलो बैठक आयोजना गरिएको थियो, बर्माको नयाँ राजधानी न्यापितमा। राष्ट्र प्रमुखसरहको स्टेट काउन्सिलरको हैसियतमा रहेकी सर्वोच्च लोकतन्त्रवादी नेतृ आङ सान सुकी राजधानी न्यापितको इन्यालेकस्थित निवासमा थिइन्। राष्ट्रपति विन मिन्ट पनि न्यापितमै थिए।

तर १९ माघ बिहानै बर्मेली सेना प्रमुख मिङ ओङ लाइङले सैनिक शक्तिको बलमा ‘कु’ गरे। नेतृ सुकी, राष्ट्रपति मिन्टलगायत सत्तारूढ दलका शीर्ष नेताहरूलाई सेनाले पक्राउ गर्यो। गत नोभेम्बरमा भएको निर्वाचनमा सुकीको दलले धाँधली गरेर विजय हासिल गरेको आरोप लगाउँदै एक पटक पनि बैठक नबसी संसद विघटन गरिदियो, सेनाले। सुकी, राष्ट्रपति मिन्टलगायत सत्तारूढ दलका नेताहरू अहिले पनि नजरबन्दमै छन्।

१९ माघयता बर्मामा जे–जे भइरहेका छन्, धेरै नेपाली त्यहाँका राजनीतिक घटनाबारे जानकार छैनन्। तर, ठहिँटी (काठमाडौं) नजिकैको नःघलस्थित धर्मकीर्ति विहारकी प्रमुख (गुरुमा) भिक्षु धम्मावती (धर्मावती शाक्य) भने बर्मामा भइरहेका हरेक राजनीतिक घटनाक्रमबारे निरन्तर ‘अपडेट’ छिन्।

धम्मावतीको यो चासो स्वाभाविकै हो। किनभने किशोर वयमै भिक्षु जीवनमा प्रवेश गरेकी उनी ५०–५५ वर्षको अवधिमा दर्जनौंपटक बौद्धकर्मका लागि बर्मा पुगेकी छन्, त्यहाँका बौद्ध विहारहरूमा वर्षाैं बिताएकी छन्।

Suki Nepal13

तर ८७ वर्ष पुगिसक्दा पनि बर्मेली राजनीतिबारे उनमा यति धेरै चासो हुनाको कारण त्यति मात्र होइन। सुकी परिवारसँग झण्डै ५५ वर्ष लामो निकट सम्बन्ध नै धम्मावतीमा रहेको बर्मेली राजनीति र सुकीबारे चासोको मुख्य कारण हो।

बीपी कोइराला प्रधानमन्त्री रहेका बेला २७ चैत २०१६ मा नेपाल र बर्माबीच दौत्य सम्बन्ध स्थापना गर्ने निर्णय भएको थियो। पाँच महिनापछि २०१७ भदौ दोस्रो हप्ता नेपालका लागि बर्मेली राजदूत खिन यी काठमाडौं आइन्। राजदूत खिनले १४ भदौ (२०१७) मा नारायणहिटी राजदबारमा आयोजित कार्यक्रममा राजा महेन्द्रसमक्ष आफ्नो ओहोदाको प्रमाण पत्र पेस गरिन्। काठमाडौंमा बर्माको राजदूतावास स्थापना भइनसकेकाले नयाँदिल्लीबाटै नेपाल हेर्नेगरी खिनलाई बर्मेली सरकारले जिम्मेवारी दिएको थियो।

नेपालका लागि पहिलो बर्मेली राजदूतको जिम्मेवारी पाएकी खिन यी खासमा नोबेल पुरस्कार विजेता बर्माकी लोकतन्त्रवादी नेतृ आङ सान सुकीकी आमा थिइन्। सानैदेखि दार्जिलिङमा बसेर शिक्षा हासिल गरेकी सुकी, आमा खिन यीका साथ त्यही बेला पहिलोपटक काठमाडौं आइन्।

बौद्धमार्गी मुलुक बर्मा र गौतम बुद्धको जन्मभूमि नेपालका बौद्ध भिक्षुबीच उतिबेला पनि निकै ओहोरदोहोर चलिरहन्थ्यो। खिन यी जन्मजात क्रिश्चियन थिइन्। तर सन् १९४२ मा बौद्धमार्गी पूर्वजनरल आङ सानसँग बिहे भएपछि खिनले पनि बौद्धधर्म अँगालिन्।

सुकीका पिता जनरल आङ सान ब्रिटिस उपनिवेशवादविरुद्ध बर्मामा भएको संघर्षका प्रमुख नेता थिए। बर्माले स्वतन्त्रता पाउने भएपछि उनी स्वतन्त्रतापूर्व नै प्रधानमन्त्री बने। तर स्वतन्त्रता प्राप्त गर्ने मितिअगावै १९ जुलाई १९४७ मा उनको हत्या भयो। बर्मेली जनता जनरल आङ सानलाई ‘राष्ट्रपिता’ का रूपमा सम्मान गर्छन्।

खिन यी पेसाले नर्स थिइन्। स्वतन्त्रता संग्राममा उनको धेरथोर भूमिका थियो। सैनिक अभियानमा घाइते भएका योद्धाहरूको उपचारमा उनी संलग्न थिइन्। खासमा संघर्षका क्रममा घाइते जनरल आङ सानकै उपचारका सिलसिलामा उनीहरूबीच भेट भएको थियो र केही महिनापछि नै आफूभन्दा ३ वर्ष कम उमेरका आङ सानसँग उनले बिहे गरेकी थिइन्।

बर्माको स्वतन्त्रता संग्राममा यही भूमिकाका कारण पनि बर्माको तत्कालीन समाजवादी सरकारका प्रधानमन्त्री उ नूले खिन यीलाई भारत र नेपालको राजदूतमा नियुक्ति गरेका थिए। प्रधानमन्त्री उ नूको सम्बन्ध नेपालका प्रधानमन्त्री बीपी कोइरालासँग निकट थियो। २००७ मा भएको नेपालको क्रान्तिमा बीपीले बर्माबाट हतियार प्राप्त गरेको सुकीका पिताले गठन गरेको बर्मा समाजवादी पार्टीबाटै हो।

ओहोदाको प्रमाणपत्र पेस गर्न काठमाडौं आएका बेला खिन यीले धम्मावतीसँग भेट गरिन्, साथमा दार्जिलिङमा स्कुल पढ्दै गरेकी आङ सान सुकी पनि थिइन्।

धम्मावती भन्छिन्, ‘राजदूत बनेर खिन यी काठमाडौं आएका बेला भएको भेट नै सुकी र मबीचको पहिलो भेट हो।’

भारत र नेपालको राजदूतको जिम्मेवारी लिएर खिन यी यता आएपछि काठमाडौंमा बराबर धम्मावतीसँग उनको भेट हुन थाल्यो। उता, दार्जिलिङमा स्कुले पढाइ सकेपछि सुकी थप अध्ययनका लागि नयाँदिल्ली गइन्। दार्जिलिङमै छँदा सुकीको परिचय बेलायती विद्यार्थी माइकल एरिससँग भएको थियो, जुन सन् १९७२ मा प्रेम र विवाहमा परिणत भयो।

माइकल बौद्धधर्मका अध्येता थिए। पछि आफैं पनि बौद्धमार्गी बने। धम्मावतीका भनाइमा बौद्ध धर्मको महायानका ज्ञाता थिए, माइकल। आफ्नो अध्ययन क्षेत्र नेपाल, भुटान र तिब्बत भएकाले उनी सुकीलाई लिएर यता आइरहन्थे।

Suki Nepal11

त्यसै सिलसिलामा माइकल–सुकी दम्पती सन् १९७३ मा लामो बसाइका लागि काठमाडौं आइपुग्यो। साथमा तीनमहिने जेठा छोरा अलेक्जेन्डर पनि थिए।

अनुसन्धानका लागि आएकाले माइकल नेपालका विभिन्न जिल्लामा रहेका बौद्ध गुम्बा पुग्थे, त्यहाँका लामासँग भेटेर तथ्यांक संकलन गर्थे। कहिले मनाङ–मुस्ताङ पुग्थे, कहिले सिन्धुपाल्चोक–रसुवा। काठमाडौंमा रहँदा माइकलले ठमेलको कुनै होटलमा कोठा लिएका थिए। तीनमहिने छोरा अलेक्जेन्डरका साथ सुकी त्यहीँ रहन्थिन्।

‘विचरीको काठमाडौंमा जाने ठाउँ कतै थिएन, ठमेलबाट नजिकै पर्ने भएकाले छोरालाई लिएर यहाँ (धर्मकीर्ति विहार) आउँथिन्, खाना यहीँ खान्थिन्,’ धम्मावती सम्झन्छिन्, ‘बेलुकी पनि यहीँ खाना खाएर छोराका साथ कोठामा जान्थिन्। उनको आवतजावत हिँडेरै हुन्थ्यो।’

सुकी काठमाडौंमा रहँदाका धेरै घटना धम्मावतीका स्मरणमा अझै ताजै छन्।

Suki Nepal6

‘त्यो बेला काठमाडौंमा दूध पनि राम्रोसँग पाइँदैनथ्यो। अलेक्जेन्डर सुकीको दूध खाँदैनथ्यो, अरू कसैको दूध खुवाउन पनि हुँदैनथ्यो, दूध खान नपाएर होला, ऊ निकै रोइरहन्थ्यो,’ उनले सम्झिन्, ‘पछि काठमाडौंमा बर्माको दूतावास स्थापना भयो, त्यसपछि चाहिँ त्यहीँबाट दूध मागेर ल्याएर छोरालाई खुवाउने गरेकी थिइन्।’

काठमाडौंमा रहँदा छोराको स्याहारसुसारबाहेक सुकीको खासै काम थिएन। त्यसैले धर्मकीर्ति विहारमा उनले धम्मावतीसँग बौद्धधर्मबारे थप ज्ञान हासिल गरिन्। सम्भवतः बिरानो मुलुकमा रहनुपर्दा उनलाई तनाव हुँदो हो, मन अशान्त बन्दो हो। मनमा तनाव र अशान्ति हुँदा के गर्ने भन्ने सल्लाह उनी धम्मावतीसँग माग्थिन्। तनावबाट कसरी मुक्त हुने, अशान्तिबाट कसरी पार पाउने भन्ने सम्बन्धमा बुद्धले के भनेका छन्, धम्मावती त्यससम्बन्धी शिक्षा सुकीलाई दिन्थिन्। सँगसँगै ध्यान गर्न पनि सुझाउँथिन्, सिकाउँथिन्।

धम्मावतीसँग सुकीले बुद्ध धर्मबारे आफूले थप ज्ञान मात्र लिइनन्, भारतमा आफूले पाएको शिक्षा विहारमा आउने विद्यार्थीलाई बाँडिन् पनि। बौद्ध धर्म मान्ने बालबालिकाका लागि धर्मकीर्ति विहारले स्कुल सञ्चालन गरेको थियो, जसलाई ‘अध्ययन गोष्ठी’ भनिन्थ्यो। ‘अध्ययन गोष्ठी’ मा २४ विद्यार्थी अध्ययन गर्थे। स्कुले जीवन दार्जिलिङमा बिताएकाले सुकीको अंग्रेजी राम्रो थियो। ‘अध्ययन गोष्ठी’ मा अध्ययन गर्ने बालबालिकालाई अंग्रेजी सिकाउने जिम्मा धम्मावतीले सुकीलाई दिइन्।

सुकीसँग अंग्रेजी पढ्नेमध्ये एक थिए, हाल स्वयम्भूमा बसोबास गर्ने चिनिकाजी महर्जन (५८ वर्ष)। ७ वर्षअघिको एक भेटमा महर्जनले भनेका थिए, ‘म अंग्रेजीमा निकै कमजोर थिएँ, तर एक महिनामा सुकीले यति राम्रोसँग पढाउनुभयो कि त्यसपछि म कहिल्यै अंग्रेजीमा फेल हुन परेन।’

अलेक्जेन्डर जन्मेको ४ वर्षपछि १९७७ मा माइकल–सुकी दम्पतीका कान्छा छोरा किम जन्मे। त्यसपछि पनि माइकल र सुकी छोराहरूका साथ काठमाडौं आइरहे। काठमाडौं आउँदा माइकल–सुकी जहिल्यै ठमेलमा बस्थे। कारण उही थियो, धर्मकीर्ति विहार त्यहाँबाट नजिक हुनु। सन् १९९० को दसकअघि झण्डै आधा दर्जनपटक नेपाल आउँदा सुकीको दिउँसोका अधिकांश समय धर्मकीर्ति विहारमै बित्थे।

माइकलको नेपाल घुमाइ र सुकीको काठमाडौं बसाइको प्रतिफल हो– सुकीले नेपालबारे लेखेको पुस्तक ‘लेट्स भिजिट नेपाल’। लन्डनस्थित बुर्क पब्लिसिङ कम्पनी लिमिटेडले सन् १९८५ मा प्रकाशन गरेको यो पुस्तकमा सुकीले नेपालको इतिहास, संस्कृति र जनजीवनबारे वर्णन गर्दै विदेशीलाई नेपाल घुम्न उत्प्रेरित गरेकी छन्। ९० पृष्ठको पुस्तक माइकलले नेपाल घुमाइका क्रममा खिचेका तस्बिरले भरिभराउ छ।

Suki Nepal7

सुकीकी आमा खिन यी राजदूत भएको केही समयपछि नै बर्मेली सेनाले ‘कु’ गरी समाजवादी सरकारलाई अपदस्थ गरिदियो। सैनिक ‘कु’पछि बर्मामा राजनीतिक दलका गतिविधि प्रतिबन्धित भए। त्यसपछि सुकी बेलायती श्रीमान् माइकलसँग बेलायतमै बस्न थालिन्। सैनिक शासनका कारण खिन यी पनि राजनीतिमा सक्रिय रहने अवस्था रहेन। यिनै कारण सुकी बर्माको राजनीतिमा आउलिन्, बाबुको राजनीतिक बिँडो थाम्लिन् र यो उचाइ हासिल गर्लिन् भन्ने कसैले अनुमान गरेका थिएनन्।

आमा खिन यी गम्भीर बिरामी भएपछि हेरविचारका लागि सुकी सन् १९८८ मा बर्मा फर्किन्। २७ डिसेम्बर १९८८ मा खिन यीको निधन भयो। आफ्ना राष्ट्रपिताकी धर्मपत्नी र स्वतन्त्रता संघर्षकी योद्धाको अन्त्येष्टि कार्यक्रममा २ लाखभन्दा बढी बर्मेली जनता सहभागी भई श्रद्धा प्रकट गरे।

आमाको अन्त्येष्टि कार्यक्रम नै सुकीको राजनीतिक जीवनका लागि ‘टर्निङ प्वाइन्ट’ बनिदियो। प्रौढावस्थामा लागिसकेकी सुकीलाई बर्मेली जनताले लोकतान्त्रिक आन्दोलनको अग्रमोर्चामा ल्याउन चाहे।

सन् १९८८ मा बर्मामा विद्यार्थीले सैनिक शासनविरुद्ध आन्दोलन थाले। जसमध्ये ८ अगस्ट १९८८ मा भएको प्रदर्शनलाई बर्माको लोकतान्त्रिक आन्दोलनको इतिहासमा उल्लेखनीय मानिन्छ। त्यस दिन सैनिक सत्ताले जनप्रदर्शनलाई निर्ममतापूर्वक दमन गर्यो, कैयौं प्रदर्शनकारी मारिए। १९८८ अगस्ट ८ मा भएकाले त्यो प्रदर्शनलाई ‘फोर एट (८८८८) अपराइजिङ’ का रूपमा स्मरण गर्ने गरिएको छ।

‘फोर एट अपराइजिङ’विरुद्ध निर्मम दमनका कारण बर्मेली प्रजातान्त्रिक आन्दोलन थोरै दिन सुस्तायो। तर ३ हप्ता पुग्दा नपुग्दै त्यो आन्दोलन यसरी विद्रोहमा परिणत भयो कि २६ अगस्ट १९८८ का दिन राजधानी रङ्गुनस्थित श्वेडागोँ पेगोडाअगाडि ५ लाख बर्मेलीले प्रदर्शन गरे। त्यो प्रदर्शनलाई सुकीले सम्बोधन गरिन्।

सन् १९६२ देखि सत्तामा रहेका सैनिक शासक ने विनको पतन प्रारम्भ भइसकेको थियो। पदबाट राजीनामा दिएर उनले जनरल स मोङलाई सत्ता हस्तान्तरण गरे। त्यही आन्दोलनका कारण बर्माको सैनिक सत्ता सन् १९९० मा आम निर्वाचन घोषणा गर्न बाध्य भयो। यसबीच आन्दोलन नेतृत्व गरेर सुकीले आफूलाई सशक्त नेतृका रूपमा स्थापित गरिसकेकी थिइन्। उनलाई सैनिक सरकारले सन् १९८९ देखि नजरबन्दमा राख्न थालिसकेको थियो।

‘बेलायतमा भएकाले त्यसअघि राजनीतिमा सक्रिय थिइनन्, सोझी थिइन्, मलाई पनि लाग्दैनथ्यो कि उनी यसरी राजनीतिमा आउनेछिन्,’ धम्मावतीले भनिन्, ‘तर, समय र बर्मेली जनताको माग उनले टार्न सकिनन्, राजनीतिमा सरिक भइन्। खासमा बाध्यताका कारण उनी राजनीतिमा आइन्। नत्र राजनीति गर्ने स्वभाव उनको होइन।’

आन्दोलन सशक्त हुँदै जाँदा आन्दोलनकारीले सुकीको नेतृत्वमा नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) पार्टी स्थापना गरे, २७ सेप्टेम्बर १९८८ मा। १९९० मा भएको पहिलो आम निर्वाचनमा संसदका ४९२ सिटमध्ये एनएलडीले ३९२ वटा जित्यो। ८० प्रतिशत सिट जितेको एनएलडीले ५९ प्रतिशत मत पाएको थियो। नजरबन्दकै अवस्थामा रहेर सुकीले निर्वाचन जितेकी थिइन्।

निर्वाचनमा विजय हासिल गरे पनि सैनिक सरकारले सुकीलाई सत्ता हस्तान्तरण गरेन। बरु निर्वाचित संसद नै विघटन गरिदियो, सुकीको नजरबन्द जीवन लम्ब्याइरह्यो। सन् १९८९ देखि सन् २०१० सम्म २१ वर्षको अवधिमा सुकीले राजधानी रङगुनको युनिभर्सिटी एभेन्युस्थित आफ्नै निवासमा १५ वर्ष नजरबन्दमा बिताइन्।

सुकी बर्मामा नजरबन्दमा रहेकै बेला सन् १९९९ मा लन्डनमा पति माइकल एरिसको निधन भयो। उनले बिरामी पतिलाई अन्तिम अवस्थामा समेत भेट्न पाइनन्। शान्तिपूर्ण संघर्ष र परिवर्तनमा योगदानका कारण उनले सन् १९९१ मा ‘नोबेल शान्ति पुरस्कार’ पाइन्। छोराहरू अलेक्जेन्डर र किमले नै आमाका तर्फबाट पुरस्कार ग्रहण गरे।

नजरबन्द यति कडा थियो कि सुकीको परिवारका कुनै सदस्यले उनलाई भेट्न पाउँदैनथे। नजरबन्दबाट मुक्त हुनुअघिसम्म उनलाई विदेशीले भेट्न पाउनु त झन् कल्पनाबाहिरको कुरा थियो।

काठमाडौंकी धम्मावतीलगायत ९ जना यस्ता भाग्यमानी नेपाली भिक्षुणी हुन्, जसले कडा नजरबन्दका बेलासमेत सुकीकै निवासमा पुगेर उनीसँग भेटघाट र कुराकानी गर्न पाए। नजरबन्दमै रहेका बेला ११ वर्ष अघि विं सं. २०६४–०६५ ताका सुकीसँग उनीहरूको भेट भएको थियो।

Suki Nepal1

त्यो बेला धम्मावती आफ्ना अनुयायी भिक्षुणीका साथ बर्माको मार्मिन सहरको खेमारामास्थित गुम्बामा थिइन्। धम्मावती त्यहाँ रहेको जानकारी जब नजरबन्दमा रहेकी सुकीले पाइन्, बौद्ध भिक्षुहरूमार्फत त्यो विहारका प्रमुखलाई खबर पठाइन्, ‘सम्भव भए गुरुमा धम्मावतीलाई यहाँ पठाइदिनुपर्यो, म उहाँलाई भेट्न चाहन्छु।’

विहारका गुरु (प्रमुख भिक्षु) ले जब यो कुरा धम्मावतीलाई सुनाए, उनले जवाफ दिइन्, ‘सुकीलाई राखेको ठाउँमा हामी जान हुँदैन होला। अप्ठेरो पर्ला। नजाऊँ क्यारे!’

तर गुरुले सुकीलाई भेट्न जाँदा अप्ठेरो नपर्ने बताए।

‘तिमीसँग भेट्ने इच्छा भएकाले सुकीले बोलाएकी हुन्,’ गुरुले धम्मावतीलाई सुझाए, ‘राजनीतिक कुरा नगर। धर्मको कुरा गरेर, पूजापाठ गरेर, खाना खाएर आऊ, कुनै अप्ठेरो पर्दैन।’

धम्मावतीले रेलको टिकट काटिन्। रातारात रङ्गुन पुगिन् र सुकीसँग भेट गरिन्।

‘सत्ता हातमा लिएका बर्माका सैनिक शासकहरू पनि बौद्धमार्गी हुन्,’ धम्मावतीले अहिले त्यसबारे प्रस्ट्याइन्, ‘त्यसैले, राजनीतिक कुराकानी नगर्ने सर्तमा हामीसँग भेट्ने अनुमति दिइएको होला।’

त्यो भेटमा धम्मावतीलगायतका भिक्षुणी करिब एक घण्टा सुकी निवासमा रहे। सुकीले सँगै राखेर उनीहरूलाई खाना खुवाइन्। त्यतिबेला खिचिएको फोटोबाट देखिन्छ, धम्मावतीलगायत नेपाली महिला भिक्षु टोलीलाई खुवाइएको खाना नेपाली प्रकृतिकै थियो। अर्थात् सुकी निवासमा उनीहरूका लागि दालभात तरकारी पाकेको थियो।

Suki Nepal5

धम्मावती र सुकीले एकअर्काको स्वास्थ्य स्थिति सोधे।

धम्मावतीले सुकीलाई सोधिन्, ‘दिन बिताउन कत्तिको गाह्रो हुन्छ? यसरी घरमै बसिरहनु पर्दा अप्ठेरो भइरहेको त छैन?’

सुकीले काठमाडौंमा धम्मावतीसँगै रहँदा पाएको शिक्षा नजरबन्दमा रहँदा काम लागेको सुनाइन्।

‘तनाव हुन नदिने र मनलाई कसरी शान्त राख्ने भन्नेबारे उतिबेला तपाईंले काठमाडौंमा दिनुभएको शिक्षा अहिले उपयोगी भएको छ,’ सुकीले धम्मावतीसँग भनिन्, ‘तपाईंले सुनाउनुभएका बुद्धका सूत्र सम्झन्छु, ध्यान गर्छु, किताब पढ्छु। त्यसैले, खासै अप्ठेरो भएको छैन। स्वस्थ छु, चिन्ता नलिनुभए हुन्छ।’

त्यो भेटका तस्बिर हेर्यौं भने सुकीले धम्मावतीसँग आफ्नो स्वास्थ्यबारे गरेको दाबी सही लाग्छ। उनको मुहार कान्तिमय देखिन्छ, सामान्य क्यामाराले खिचेको फोटोमा समेत उनको अनुहार उज्यालो छ। अनुहारमा असन्तुष्टि र तनावको कुनै संकेत छैन।

राजनीतिक कुराकानी गर्न बन्देज थियो। आडैमा बर्मेली सरकारले खटाएका सुरक्षाकर्मी थिए। राजनीतिक कुराकानी गर्दा पर्ने अप्ठेरो सुकीलाई थाहा नहुने कुरा भएन, यो कुरा धम्मावतीले पनि बुझ्थिन्।

राजनीतिक पार्टीविरुद्ध प्रतिबन्ध र दमन, नजरबन्द जीवन आदिका कारण सुकीलाई तत्काल बर्मामा लोकतन्त्र पुनर्बहाली होला भन्ने विश्वास थिएन, त्यसबेला। हदै भए राजनीति नगर्ने सर्तमा नजरबन्दबाट चाहिँ मुक्त गर्लान् कि भन्ने झिनो आशा मात्र थियो।

‘यदि नजरबन्दबाट मुक्त भएँ भने यहाँ (बर्मा) बस्न मन छैन, नेपालमै सानो घर बनाएर बाँकी जीवन शान्तिपूर्वक बिताउन चाहन्छु,’ छुट्ने बेला सुकीले धम्मावतीसँग भनेकी थिइन्।

‘उनले आफ्नो मनको भित्री इच्छा खोलेकी हुन्, त्यसैले मलाई नेपालमै शान्त प्रकृतिको कुनै ठाउँ खोजिदिन पनि भनेकी थिइन्,’ धम्मावतीले थपिन्, ‘सैनिक सत्ताले गर्दा बाध्यतावश सुकी राजनीतिमा सक्रिय हुनैपर्ने परिस्थिति बनेको हो। नत्र त उनलाई अहिले पनि राजनीति छाडेर शान्तपूर्वक बसौं भन्ने चाहना छ।’

सुकीले धम्मावतीलाई भेटेको केही समयपछि बर्माको राजनीतिक परिस्थिति खुकुलो हुँदै गयो। केही समयपछि उनी नजरबन्दबाट मुक्त भइन्।

बर्मामा राजनीतिक वातावरण खुकुलो बन्दै जाँदा नेपालमा संविधान सभा चुनाव सम्पन्न भई संविधान निर्माण आरम्भ भएको थियो। २०७० मा दोस्रो संविधान सभा निर्वाचन भयो। निर्वाचनपछि कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा कांग्रेस–एमालेको सरकार बन्यो। सरकार प्रमुखको हैसियतमा प्रधानमन्त्री कोइराला बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका मुलुकहरूको प्रयास (बिमस्टेक) तेस्रो सम्मेलनमा सहभागी हुन २०७० फागुन तेस्रो साता बर्माको राजधानी न्यापित पुगे।

त्यही वर्ष नेपाली कांग्रेसले बीपी कोइरालाको शतवार्षिकी भव्य रूपमा मनाउने योजना बनाउँदै थियो। विं सं. २००६ देखि नै नेपाली कांग्रेस र सुकीका पिता जनरल आङ सानले गठन गरेको बर्मा सोसलिस्ट पार्टीबीच सम्बन्ध थियो। 

Suki Nepal4

बिमस्टेक सम्मेलनका लागि बर्मा जाँदा प्रधानमन्त्री कोइराला बीपी मेमोरियल ट्रस्टका अध्यक्षको जिम्मेवारीमा पनि थिए। बर्मा जान लागेका कोइरालालाई ट्रस्टका पदाधिकारीले सुझाव दिए, ‘बीपीको शतवार्षिकीका अवसरमा आयोजना हुने कार्यक्रममा सुकीलाई उपस्थिति गराउन सके यसको महत्व अझ बढ्नेछ।’

कोइराला बर्मा पुग्दा सुकी नजरबन्दबाट मुक्त भइसकेकी थिइन्। शासनमा भने सेनाकै बोलवाला थियो। सुकी राजधानी न्यापितको इन्यालेकस्थित निवासमा थिइन्। कोइरालाले सुकीसँग भेट्ने प्रबन्ध मिलाइदिन बर्मेली अधिकारीहरूसँग अनुरोध गरे। मन लागी नलागी सैनिक शासकले भेट्ने अनुमति दिए।

प्रधानमन्त्री कोइरालासँगको भेटमा सुकीले नेपाली कांग्रेस र आफ्नो पिताले गठन गरेको बर्माको समाजवादी पार्टीको सम्बन्धबारे चर्चा गरिन्। निरंकुश शासनकालमा आफ्नो र कोइराला परिवारले भोग्नुपरेको नियति केलाइन्।

सुकीले भनेकी थिइन्, ‘लोकतन्त्रका लागि लड्दा नेपालमा कोइराला परिवारले निकै दुःख पायो, यता मलाई पनि लामो समय नजरबन्दमा राखियो। त्यसैले, देश फरक भए पनि हामीबीच धेरै कुरामा समानता छ।’

सुकीको भनाइबाट कोइराला पनि भावुक बने। उनले बीपी शतवार्षिकी कार्यक्रममा भाग लिन नेपाल आउने निम्तो दिए। सुकीले हार्दिकतासाथ स्वीकारिन्। नेपाल आउने वचन दिइन्।

८ वैशाख (२०७१) मा सुकीको सचिवालयले खबर पठायो, ‘जेठ (२०७१) अन्तिममा काठमाडौं आउने समय तय गरिएको छ, सोहीअनुसार सुकी उपस्थित हुने कार्यक्रम बनाउँदा राम्रो होला।’

चारदिने भ्रमण कार्यक्रम बनाएर सुकी ३० जेठ (२०७१) मा काठमाडौं ओर्लिन्। र, ३१ जेठमा बीपी स्मृति कोषले बौद्धस्थित हायात रिजेन्सी होटलमा आयोजना गरेको अन्तर्राष्ट्रिय समाजवादी सम्मेलनमा उनी प्रमुख अतिथिका रूपमा सहभागी भइन्। १ असारमा बुद्धको जन्मस्थल लुम्बिनी गइन्। त्यही साँझ जंगी अड्डास्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा पनि सहभागी भइन्। २ असारमा उनी बर्मा प्रस्थान गरिन्।

Suki Nepal8

काठमाडौंमा दौडधूप र व्यस्तताबीच पनि सुकीले धम्मावतीलाई बिर्सिनन्। बर्मा फर्कनु अघिल्लो दिन १ असार दिउँसो उनी धर्मकीर्ति विहार पुगिन्, धम्मावतीलाई भेटिन्, सञ्चोबिसञ्चो सोधिन्। करिब आधा घण्टा धम्मावतीसँग बिताएर ‘म फेरि तपाईंलाई भेट्न आउँला है गुरुमा’ भन्दै बिदा भइन्।

‘भेटघाटका लागि फेरि धर्मकीर्ति विहार आउने’ सुकीको त्यो भनाइ औपचारिकताका लागि मात्र थिएन भन्ने कुरा त्यतिबेला पुष्टि भयो, जतिबेला बिमस्टेकको चौथो सम्मेलन (१४–१५ भदौ २०७५) मा भाग लिन उनी काठमाडौं आइन्। २०७१ जेठ–असारमा काठमाडौं आउँदा उनी कुनै राजकीय पदमा थिइनन्। बर्माको सर्वोच्च राजकीय जिम्मेवारी ‘स्टेट काउन्सिलर’ मात्र थिइन्। ‘विदेशीसँग बिहे गरेकी बर्मेली महिला राष्ट्रपति बन्न नपाउने’ प्रावधान भएकाले सुकीका लागि यो पद सिर्जना गरिएको थियो।

सरकार प्रमुखको जिम्मेवारीमा रहेकाले काठमाडौंमा सुकीका लागि उच्च सुरक्षा व्यवस्था थियो। नःघलस्थित धर्मकीर्ति विहार वरिपरिका सडकमार्ग आवतजावतका लागि बन्द गरिएका थिए। सुकी धर्मकीर्ति विहारमा धम्मावतीसँग भेटघाटमा रहँदा पुरै समय हेलिकोप्टरले हवाई गस्ती गरेको थियो।

हेलिकोप्टरको चर्को आवाजका कारण सुकी र धम्मावती एकअर्काले बोलेको सहज रूपमा सुन्न नसक्ने स्थिति बन्यो। आफ्ना कुरा सुनाउन काननजिकै गएर बोल्नुपथ्र्यो। उनीहरू केहीबेर त्यसरी नै गफिए।

‘पहिले आउँदा पनि म तपाईंलाई सँगै बर्मा लैजान चाहन्थेँ, तर त्यो बेला सम्भव थिएन,’ यसपटक सँगै बर्मा लैजान सक्ने बताउँदै सुकीले धम्मावतीलाई भनिन्, ‘अहिले आफ्नै (सरकारी) जहाजमा आएकी छु, लैजान गाह्रो छैन। चाहनुहुन्छ भने सँगै बर्मा जाऊँ।’

‘अब यो उमेरमा त्यहाँ गएर के गर्ने? जान सक्दिनँ भनेँ,’ आफूले दिएको जवाफ धम्मावतीले सुनाइन्, ‘त्यहाँ गएर पनि कतै जानसक्ने होइन, घुम्न पनि सक्दिनँ, तिमीहरूलाई दुःख दिन मात्रै किन जानू भनेँ।’

खासमा सुकी त्यसदिन धम्मावतीसँग अलिक लामै कुराकानी गर्न चाहन्थिन्।

‘यसपटक आउँदा उनी अलि फुर्सदिली देखिन्थिन्, अलिकबेर बसेर कुराकानी गर्ने उनको योजना रहेछ,’ धम्मावतीले सुनाइन्, ‘तर, मैले नै उनलाई आज यहाँ धेरै समय नबस भनेँ।’

किन?

‘किनभने यहाँ माथि आकाशमा हेलिकोप्टर घुमेको घुम्यै थियो। हेलिकोप्टरको हल्लाले बोलेको केही सुनिने होइन। कानमा गएर बोल्नुपर्ने। वरिपरि हिँड्ने बाटो पनि सेना–पुलिसले थुनिदियो, बाटामा मानिसहरूलाई हिँड्नै दिएन,’ उनले उत्तर दिइन्, ‘त्यसैले मैले सुकीलाई तिमी यहाँ आएका कारण मानिसले धेरै दुःख पाए, पछि (सत्ताबाट हटेर) अलिक स्वतन्त्र भएपछि मज्जासँग बस्ने गरी आउनू, अहिलेचाहिँ धेरै नबस भनेँ।’

धम्मावतीले नै त्यसो भनेपछि सुकी निस्कने तरखरमा लागिन्। हिँड्ने बेला भनिन्, ‘यसपटक धेरै कुराकानी गर्न पाइएन। फेरि नेपाल आएका बेला तपाईंलाई भेट्न आउनेछु, त्यो बेला मज्जासँग कुराकानी गरौँला।’

Suki Nepal10

‘नेपाल भ्रमण वर्ष २०२०’ का अवसरमा सरकारले उनलाई नेपाल भ्रमणको निम्तो दिएको थियो। ३५ वर्षअघि विदेशीहरूलाई नेपाल घुम्न उत्प्रेरित गर्दै ‘नेपाल घुमौँ’ (लेट्स भिजिट नेपाल) पुस्तक लेखेकी सुकीले भ्रमण वर्ष अवधिमा नेपाल भ्रमणमा आउने वचन पनि दिएकी थिइन्। सुकी पक्कै नेपाल आउने थिइन्, यदि कोरोना महामारी सुरु नभइदिएको भए। तर महामारीकै कारण ‘नेपाल भ्रमण वर्ष २०२०’ नै सम्भव भएन।

कोरोना प्रभाव कमजोर हुँदै छ। स्थिति बिस्तारै सहज बन्दै छ। तर, दुःखको कुरा, बर्मेली सेनाले निर्वाचित संसद् भंग गरेर सत्ता हातमा लिएको छ, सुकीलगायत शीर्ष नेताहरूलाई फेरि नजरबन्दमा राखेको छ। नेपालको राजनीति पनि उस्तै छ। दुवैतिर सहज स्थिति सिर्जना भएर सुकी नेपाल आउने स्थिति बन्ला वा नबन्ला, अहिल्यै कसैले भन्न सक्ने अवस्था छैन।

सुकी बौद्ध धर्मावलम्बी हुन्, अनि त्यहाँका सैनिक शासक पनि। राजनीतिक प्रतिद्वन्द्वका बाबजुद पहिला नजरबन्दकालमा सुकीसँग नेपाली बौद्ध भिक्षुहरूलाई भेट्न दिनुले देखाउँछ कि धर्मसँग चाहिँ सैनिक शासक पनि डराउँदा रहेछन्। तर पनि अहिंसामा विश्वास गर्ने र बौद्धधर्मप्रति अगाध आस्था भएकी सुकीलाई त्यहाँको सेनाले पटकपटक किन दुःख दिइरहेको होला?

धार्मिक कारण आफूहरूलाई सुकी भेट्न दिएको बताउने धम्मावतीले सुकी र सैनिक शासक दुबै बौद्धमार्गी भए पनि राजनीतिक कारण उनीप्रति सैनिक शासक कठोर भएको जवाफ दिइन्।

‘यो हुकुम (शक्ति) को सवाल हो। उनी (सैनिक शासक) हरू बुद्धिष्ट भए पनि हुकुम त सबैलाई चाहिन्छ नै,’ धम्मावतीले भनिन्, ‘बुद्धिष्ट र हिन्दू जो भए पनि शासकले हुकुम खोज्छन्। त्यही भएर यस्तो भएको हो।’

सत्तारुढ नेकपामा भइरहेको विभाजन र राजनीतिक मारमुङ्ग्रीप्रति संकेत गर्दै उनले थपिन्, ‘नेपालमा के भइरहेको छ, देख्नुभएकै छ। हुकुमले एउटै धर्म मान्ने हौँ भन्दैन, एउटै पार्टीका हौँ पनि भन्दैन।’

यसपटक भएको निर्वाचनमा पनि सुकीको दलले दुईतिहाइ स्थानमा विजय हासिल गरेको थियो। आफूसमर्थक दलको पराजय भएको कुरा त्यहाँको सेनालाई रुचेन। सेना प्रमुखले सुकीको दल एनएलडीले धाँधली गरेर विजय हासिल गरेको आरोप लगाए, जबकि अन्तर्राष्ट्रिय पर्यवेक्षकले निर्वाचन स्वतन्त्र र निष्पक्ष भएको बताएका छन्। धम्मावतीले भनेजस्तै फेरि सुकीकै दलले सरकार बनाउँदा आफ्नो ‘हुकुम’ नचल्ने देखेर सेना प्रमुख मिङ ओङ लाइङले रातारात ‘कु’ गरे।

धम्मावतीको भनाइमा निर्वाचनमा सुकी नेतृत्वको दलले बहुमत नल्याएको भए सैनिक शासक यो हदसम्म जाने थिएनन्।

‘सुकी आएपछि प्रजातन्त्र हुन्छ, किनकि उनी जनताको भोट पाएर आएकी हुन्,’ उनले थपिन्, ‘प्रजातन्त्रले देश बिगार्यो रे। सुकीले देश बिगारेको हो र? कसले बिगारेको हो भन्ने त सबैलाई थाहा छ नि?’

धम्मावतीको चाहना छ– सुकीसहित बर्माका राजनीतिक दल र सेना मिलेर अघि बढुन्।

Suki Nepal9

‘सुकीले बर्मामा प्रजातन्त्र ल्याइन्, उनले जे गरेकी छन्, त्यो देशका लागि हो। देश बनाउने हो भने सेनाले सुकीसँगै मिलेर बनाउँदा हुन्छ,’ उनले भनिन्, ‘देश बनाउन खोज्ने मान्छेलाई यसरी बन्धनमा राख्न हुँदैन।’

८७ वर्षीया धम्मावती ७५ वर्षीया सुकीको मुक्त जीवनको आशामा छिन्। उनको भनाइमा सुकीलाई यतिबेला दुई किसिमको मुक्ति आवश्यक छ। पहिलो हो, नजरबन्दबाट छुटकारा। उनले संकेत गरेको अर्को ‘मुक्ति’चाहिँ के होला?

‘राजनीतिक जीवनबाटै मुक्ति। बर्माको आवश्यकताका कारण एउटी सोझी र असल केटी राजनीतिमा आउन बाध्य भइन्। तर, राजनीतिकै कारण धेरै दुःख पाइन्। उनको भाग्यबाट दुःख अझै हराएको छैन,’ धम्मावतीले जवाफ दिइन्, ‘त्यो दुःखबाट मुक्ति पाउने भनेको राजनीति नै छाडेर हो।’

अन्तमा धम्मावतीले थपिन्, ‘अब भेटेँ भने भन्नेछु– सुकी ! राजनीति छाडेर नेपालमै बस्न आऊ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .