म्यागेजिन

Tata MotorsTata Motors

संस्मरण

भक्तराजको जिब्रो काटिनुको रहस्य


बालिका थपलिया
काठमाडौं, साउन ३

उनी भन्दै गए, ‘रक्सी र गीत नारायणगोपालको अनिवार्य नशा र सिर्जना शक्ति थिए।’ अनि विराग उनका रक्सी पार्टनर। राप्ती नदीको सुसेली सँगसँगै सुसाएको दुई जनाको रक्सी र गीतको किस्सा घतलाग्दो लाग्यो।

फूलै–फूल मात्र पनि हैन रै’छ जीवन
काँडा बीच फुल्ने फूल रै’छ जीवन ।

जब यो गीत मेरो कानसम्म गुञ्जदै आइपुग्छ तब मलाई भीम विरागको यादले सताउन थाल्छ। उनीसँग बिताएको क्षणले मर्माहत बनाउँछ। भावविभोर मनसँगै आँखा सजल भइदिन्छन्। लाग्छ उनी यतै कतै छन्।

भीम विरागसँग मेरो पहिलो भेट काठमाडौंमा भएको थियो। उनी हेटौँडाबाट आएको थाहा पाएपछि कसैबाट नम्बर मागेर मैले उनलाई फोन गरेकी थिएँ, ‘म फलानो, के हामी भेट्न सक्छौँ?’ उनले मेरो प्रस्ताव स्वीकारे।

मेरो मुख्य उद्देश्य उनीसँग भेट्नु नै थियो। त्यसपछि भेटका क्रममा एउटा उपहार टक्राउनु पनि थियो। उनलाई आफ्नै हातले लेखेको एउटा गीत उपहार दिनु थियो। अनि थोरै गफगाफ गर्नु त छँदै थियो।
अर्को दिन ती महान् ब्यक्तिलाई भेट्ने नयाँ उमंगका साथ लम्किएँ। २०६६ सालमा कोटेश्वरमा हाम्रो भेट भयो। अनि केही क्षण गफगाफ। त्यसपछि मैले आफ्नो झोलाबाट एउटा कागज निकालेँ। कागजमा कालो अक्षरले कोरिएका थिए गीतका केही लाइनहरु। जुन उनका लागि मेरो सुन्दर उपहार थियो ।

गीत यस्तो थियोः
फूल हेर्ने तिम्रो मेरो नजर एउटै रहेछ,
काँडाले म्वाई खाएको अधर एउटै रहेछ ।

अनायासै लत्रेर झर्छ यो जीवनको गुलाब
त्यही घाउ बल्झाउन रामवाण हुन्छ सराब,
आँसु सल्केर डढेको सगर एउटै रहेछ,
काँडाले म्वाई खाएको अधर एउटै रहेछ ।

मनकै चाबी चाहिन्छ मन खोलेर भित्र पस्न
उदार बनिदेउ तिमी रुमानी यादमा बस्न,
चोटै चोटसँग खेल्ने रहर एउटै रहेछ,
काँडाले म्वाई खाएको अधर एउटै रहेछ ।

उनी गीत पढेर आह्लादित भए। हामीले धेरैबेर गफ गर्यौँ। श्रीमतीको देहान्तपछि उनी त्यहाँ छोरी आभासँग बस्न थालेका रहेछन्। गफगाफका क्रममा दिन ढल्किएको पत्तै भएन। माघको चिसोले अलि बढी नै प्रेम गर्दै थियो क्यारे।

माघको २ गते, मेरो जन्मदिन। बिदा माग्नुअघि मैले विरागलाई सुनाएँ। उनले उपहारस्वरुप मलाई एउटा गजल सुनाए।

कोपिला गुलाब तिम्रा यी आँखाहरु
प्रश्न र जवाफ तिम्रा यी आँखाहरु।

देखे कसैले न देख्ने छन् कहिले
यस्तो छ लाजवाब तिम्रा यी आँखाहरु।

साह्रै साँघुरो भयो मानिसको मन,
खुल्ला खुल्ला किताब तिम्रा यी आँखाहरु।

गहिरो सागरको पनि छ हिसाब
गहिराई बेहिसाब तिम्रा यी आँखाहरु।

घाइते छ रे यहाँ सिंगो शहर नै
खञ्जर हुन कि सराब तिम्रा यी आँखाहरु?

‘तपाईको गीतको प्रत्युत्तर हो यो’ चाउरिएको मुहारमा मुस्कुराहट खासै सुहाएन। तर, मलाई उनको मुस्कान मीठो लाग्यो। उनले सुनाएको गजलजस्तै।
०००
त्यसपछि त हाम्रो भेटघाट बाक्लिन थाल्यो। २० दिनपछि दोस्रो भेट भइहाल्यो। भेटमा उनले ‘फूलैफूल मात्र पनि’ गीतको रहस्य खुलाए– उहिले हामी जंगलमै शौच गथ्र्यौँ। त्यही छेउमा रातो गुलाबको झ्याङ थियो। बैशालु भएर गुलाब फुलेको देख्दा मेरो मन लोभियो। टिपौँ–टिपौँजस्तो लाग्यो र नजिक गएँ। टिप्न खोज्दा काँडाले घोच्यो अनि तरर रगत बग्यो। मेरो मनमा अनेक कुरा खेल्न थाले। दिमागमा गीतको दुई लाइन जन्मियो। घर गएर कपीमा लेखिहाले ‘फूलैफूल मात्र पनि होइनरहेछ जीवन, काँडाबीच फुल्ने फूल रहेछ जीवन।’ मैले पछि यो गीतलाई पूरा गरेँ। गीत लेख्छु भनेर जर्बजस्तीमा नहुने रहेछ। जीवनसँग प्रसंगहरु जोडिनुपर्दो रहेछ।

कति संवेदनशील रहेछ उनको चर्चित गीतको रचनागर्भ। उनकै मुखबाट एउटा रहस्य सुन्दा मन प्रफुल्ल भयो। सोचे उत्कृष्ट रचनागर्भले कृति पनि अब्बल नै जन्माउँदो रहेछ। त्यसपछि त भेटेर उनका मीठा कुरा सुन्ने, उनीबारे केही जान्ने–बुझ्ने लालच झन् बढेर गयो।

फलस्वरुप लगत्तै हाम्रो तेस्रो भेट भयो। यो भेटमा उनले नारायण गोपालसँगको आफ्नो दोस्तांगी सुनाउन थाले। रक्सीका किस्सा सुनाए। नारायणगोपालकी श्रीमती पेमाले उनले रक्सी धेरै पिएका कारण पीर मान्ने गरेको कुरा बताए। उनी भन्दै गए, ‘रक्सी र गीत नारायणगोपालको अनिवार्य नशा र सिर्जना शक्ति थिए।’ अनि विराग उनका रक्सी पार्टनर। राप्ती नदीको सुसेली सँगसँगै सुसाएको दुई जनाको रक्सी र गीतको किस्सा घतलाग्दो लाग्यो। नारायण गोपालसँग राप्ती नदी छेउमा बिजुलीपानी पिएर गफ गर्दै थुप्रै गीत लेखेका रहेछन् उनले।

उनले लेखेको र नारायणगोेपालले गाएको ‘आजभोलि हरेक साँझ मात्तिन थालेछ, जिन्दगीदेखि जिन्दगी आत्तिन थालेछ’ गीत निकै चर्चित भएको थियो। ‘नबोलाउ कसैलाई यहाँ राति राति, होशमा हुँदैन यहाँ कोही राति राति’ पनि श्रोताको मनमा बस्न सफल भएको थियो। गजल गीतमा भीम विरागले प्रयोग गरेको शब्दशिल्पी अदभ्त थियो। विराग हाँस्दै सुनाउँथे, बिजुलीपानीको कमाल!

मलाई उनको कुरा जति रोचक लागिरहेको थियो उनलाई पनि सुनाउन त्यति नै आनन्द आइरहेको मैले महसुस गरिरहेकी थिएँ। त्यसैले त उनले नारायणगोपालपछि भक्तराज आचार्य, अम्बर गुरुङसम्मलाई सुनाउन थाले।

भक्तराज आचार्य मीठो स्वर भएका गायक। उनले भजन शिरोमणिको पनि उपाधि पाएका छन्। तर, उनी आजभोलि गाउन सक्दैनन्। २०५० सालमा किन उनको जिब्रो काटियो? बाहिर भनिएजस्तै क्यान्सर नै भएको थियो त? मेरो मनमा जिज्ञासा थियो। सुमधुर स्वर उनीबाट टाढा भएकोमा दुःख पनि लाग्थ्यो।

मैले यो प्रश्न नगर्दै भीम विरागले मेरो कौतुहल मेटिदिए। भक्तराज आचार्यको जिब्रो काटिएको रहस्य खुलाए। ‘भक्तराज आचार्य आफ्नो मीठो स्वरका कारण दिन प्रतिदिन चर्चित हुँदै थिए। फ्यानहरु बढ्ने क्रम जारी थियो।

एकदिन भक्तराज भट्टीमा छिरे। उनका केही साथीहरु पनि भेला भए। सबै रक्सी पिएपछि एकएक गर्दै फुत्तफुत्त बाहिर निस्किए। रक्सीको बिल निकै पुगेको थियो। उनीसँग पैसा थिएन। उनलाई दशा आइलाग्यो। तिरौैँ भने पुग्ने पैसा छैन, नतिरौँ उम्किन पाइन्न। अर्को कुनै उपाय पनि थिएन। पैसा नतिरेपछि रिसाएर होटल मालिकले ‘तेरो राम्रो गाउने जिब्रो यही होइन’ भनेर टुप्पो काटिदिए। त्यसपछि उनलाई जिब्रोको क्यान्सर भयो र गाउन सकेनन्। यो प्रसंग सुन्दा नरमाइलो लाग्यो। आफूलाई पनि मनपर्ने गायकले भोगेको दुःखद् घटनाको बारेमा पनि जानकारी पाइयो। तर, यो कुरा सत्य हो होइन अहिलेसम्म कसैले मुख खोलेका छैनन्। राम्रो गीत गाउने गायकलाई चिनिसकेपछि त्यसो नगर्नु पर्ने भन्ने प्रश्न अहिले पनि मनमा खेल्छ। तर, अर्कोतर्फबाट हेर्ने हो भने बाहुनको छोरो भएका कारण भट्टीमा जातीयता लाधियो कि भन्ने पनि लाग्छ। जे होस्, विरागले यति संवेदनशील कुरामा मजाक नगर्नु पर्ने हो। मेरो आत्माले यही भन्छ।

०००
म तारिखझै धाउन थाले विरागकोमा। बृद्धावस्थाले गर्दा उनी दिन प्रतिदिन कमजोर बनिरहेका थिए। ढाडको करङको भाग उठेको थियो। १२ वर्षको उमेरमै कुप्रोपन भोगेका विरागले जीवनमा धेरै दुःख–कष्ट भोगेका थिए। २४ वर्षको हुँदा त दुई हात घुँडामा राखेर हिँड्नुपर्ने बाध्यता थियो। उनले प्रेम भने धेरैसँग गरे। तर, प्रेमिकाबाट सहानुभूतिबाहेक प्रेमको बदला प्रेम पाएनन्।

मलाई आफ्नो विगत सुनाउन पाउँदा उनको खुसी मुहारबाटै प्रस्ट झल्किन्थ्यो। साथै मप्रति विश्वास पनि बढ्न थालेको थियो। एकपटक उनले ‘अरुलाई पनि दिनु’ भनेर १५ प्रति मोहभंग (महाकाव्य–२०५९) मेरो हातमा थमाइदिएका थिए।

एकदिन मैले उनलाई साधेकीँ थिएँ, ‘तपाईं यति मीठा गीतहरु कसरी गाउनुहुन्छ?’

उनले भनेका थिए, ‘यी मेरा गीतमात्र होइनन्, मेरो मुटुको कर्णन हुन्।’ अर्थात, उनी आफ्ना गीतलाई आफ्नै अनुभूतिबाट सृजित भाव भन्थे।

एकपटक उनले मलाई राजा महेन्द्रले आफूलाई उपचारका लागि कलकत्ता पठाएको कुरा सुनाएका थिए। त्यसपछि उनी सदैव पञ्चायतको पक्षमा समर्पित भएको कुरा गर्थे।

उमेरमा मभन्दा पाको भए तापनि उनी मलाई आफ्नो मित्र मान्थे। विषय र परिस्थिति अनुसारकै हुँदोरहेछ संगत पनि। विस्तारै म विरागसँग नजिक भएको कुरा साहित्य तथा संगीत जगतमा फैलँदै गयो।
गायक आनन्द कार्कीले उनीसँग भेट्ने मौका पाएका रहेनछन्। म उनीहरुको भेटको माध्यम बनेँ। गीतकार र गायकको भेट गराउन पाउँदा आनन्द आयो। भेटका क्रममा आनन्दले विरागको ‘कोपिला गुलाब तिम्रा यी आँखाहरु’ गाउँछु भने। त्यतिबेला विरागको स्वास्थ्य अवस्था खस्कदो अवस्थामा थियो। उनी पहिलाजस्तो कुरा गर्न सक्दैनथे। निमोनिया र मेनिन्जाइटिसबाट ग्रसित थिए उनी। आनन्दसँग पनि धेरै बोल्न सकेनन्। तर, गीत भने गाउन दिने भए।

०००
२०६८ सालम घरायसी कारणले केही समयका लागि इलाम आएँ। काठमाडौँ फर्किएपछि इलामको चियारंग बोकेर उनलाई भेट्न गएँ। तर, उनी हेटौडा फर्किसकेका रहेछन् । मेरो मन खिन्न भयो । उदास मन लिएर फर्किएँ। त्यसपछि उनीसँग कहिलेकाहीँ फोनमा कुरा हुन्थ्यो। भेट्ने अबसर जुरेको थिएन।

उनीसँग कुरा नभएको साताभन्दा बढी भइसकेको थियो। एकदिन काम विशेषले गोरखापत्र संस्थान गएकी थिएँ। त्यहाँ विरागको निधन भएको र आर्यघाटमा लगेको खबर सुनेँ। हतार–हतार त्यतैबाट निराश भएर पशुपतितर्फ लागेँ। उनलाई जलाउने तरखर हुँदैरहेछ। स्वास्थ्य अवस्था बिग्रिएर केहीदिन अघिमात्र उपचारका लागि काठमाडौं ल्याएको छोरीबाट थाहा पाएँ। खबर नगरेकोमा छोरीसँग गुनासो पोखेँ। शोकमा डुबेकी छोरीले भनिन् ‘बुबाले तपाईंलाई सम्झिरहनुहुन्थ्योे तर, बोलाउने अवस्था नै मिलेन।’ मलाई भाउन्न भयो। रोक्दा रोक्दै आँसु चिहिहाल्यो।

अझ रहस्यपूर्ण कुरा त के थियो भने आभा विरागकी आफ्नै श्रीमतीको कोखबाट जन्मिएकी सन्तान थिइनन्। जुन कुरा लामो समय आभालाई समेत पत्तो थिएन। ‘आभालाई मैले ग्रहण गरेको कुरा अरुलाई नभुन्नु है, अझ आभालाई त भन्दै नभन्नु’ उनी मलाई पटक–पटक भन्थे। तर, मलाई लाग्छ त्यतिबेलासम्म आभाले यो कुरा थाहा पाइसकेकी थिइन्। म देख्थेँ, उनले विरागको स्याहार–सुसारमा कुनै कमी हुन दिएकी थिइनन्। सायद मेरा आँसु उनीप्रतिको सहानुभूति पनि थिए होला।

उता, ७७ वर्षको उमेरमा विरागको शरीर जलिरहेको थियो। यता, जवानीमै मेरो मन गलिरहेको थियो। पुतपुताइरहेको धुँवा अनि क्षणभरमै उनको पार्थिव शरीर खरानी बनेको वास्तविकता मलाई सत्य लागिरहेको थिएन।

उनको सम्झनामा म अहिले पनि कहिलेकाहीँ एउटा हिन्दी गीत गुनगुनाउने गर्छुः

आते–जाते खुबसुरत आवारा सडकोपे
कभी–कभी इत्तफाकसे
कितने अंजाने लोग मिलजाते हे
उनमे से कुछ लोग भुलजाते हे
कुछ याद आते हे।

साउन ३, २०७६, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors