ad ad

म्यागेजिन


काठमाडौंमा मौलायो बेलारुसमा रोपेको माया

काठमाडौंमा मौलायो बेलारुसमा रोपेको माया

सन्तोष न्यौपाने
फागुन २, २०७६ शुक्रबार ७:१२,

बेलारुसको पोलोट्स स्टेट युनिभर्सिटी भव्य थियो। त्यो बेलाको शक्तिशाली रुसको एक स्टेट थियो बेलारुस।

युरोपका मात्र होइन, विभिन्न देशका विद्यार्थी जान्थे त्यस विश्वविद्यालयमा। झण्डै ३२ वर्षअघि एक नेपाली ठिटो त्यही भव्य विश्वविद्यालयमा छिर्यो, इन्जिनियरिङ पढ्न।

सपना थियो, एक राम्रो इन्जिनियर बन्ने। त्यही सपनालाई साकार पार्न ताराप्रसाद पोख्रेल बेलारुसको भव्य विश्वविद्यालयमा छिरेका थिए।

स्कुलबाट कलेज छिर्दा भीडको बीचमा एक्लो हुन्छ विद्यार्थी। अझ त्यसमाथि विदेशको कलेज।

सुरुका केही दिन त्यस्तै अनुभव भयो उनलाई। विस्तारै साथीहरुसँग चिनजान बढ्दै गयो। सँगै पढ्ने, सँगै हिंड्ने साथीहरु बन्न थाले।

एक दिन उनको भेट ओल्गा मिखाइलोभ्नासँग भयो। उनी पनि त्यही कलेजको इन्जिनियरिङ विद्यार्थी थिइन्।

पोख्रेलले परिचयको लागि हात बढाए। आफ्नो परिचय दिए, ‘नेपालबाट आएको। माउन्ट एभरेष्टको देश।’

‘म ओल्गा मिखाइलोभ्ना’, उनले पनि आफ्नो परिचय दिइन्। उनी बेलारुसकै थिइन। रुसको बासिन्दा उनको लागि परिचय थियो।

झन्डै ३२ वर्षअघिको ओल्गासँगको त्यो जम्काभेट सम्झिए व्यवसायी ताराप्रसाद पोख्रेलले। अग्नी सिमेन्ट प्रबन्धनिर्देशक पोख्रेल आज नेपाली सिमेन्ट उद्योगको एक परिचित नाम हो।

काठमाडौं, कुलेश्वरको उनकै कार्यालयमा बिहीबार गफिँदै गर्दा पोख्रेलले कलेजका ती दिन सम्झिए। भैरहवादेखि बेलारुससम्मको यात्रा सम्झिए र ओल्गासँगको भेटपछिका काठमाडौंका संघर्ष सम्झिए।

Tara2

दुई आँखाको देखादेख भएको त्यो दिनपछि एकअर्कालाई भुल्न सकेनन् उनीहरुले। भेटहरु बाक्लिँदै गए।

कलेजमा विभिन्न कार्यक्रम हुन्थे। डान्स प्रतियोगिता हुन्थ्यो। ती हरेक कार्यक्रममा भेट हुनथाल्यो। प्रायः सँगै बस्थे उनीहरु।

भेट नभएको दिन बेचैन हुन्थ्यो। आँखाले कता-कता एकअर्कालाई खोजिरहन्थे। दिनको एक पटक, दुई पटक हुँदाहुँदै सँगसँगै दिनहरु बित्न थाले।

माया बस्न ठूलो कुरा केही चाहिँदो रहेनछ। बस्, मान्छेको मिठो बोली र व्यवहार।

ओल्गासँग भेटेदेखि नै एक अर्काको बानी व्यवहार मन पर्न थालेको थयो। पोख्रेल आफैं ‘हेन्डसम’ थिए। अग्लो जिउडाल, खैरेको जस्तो गोरो अनुहार। मिठो बोली। पढ्नमा पनि ट्यालेन्ट।

बानी व्यवहोरा पनि उस्तै। मिजासिलो स्वभावका पोख्रेलको बानीलाई ओल्गाले मन पराइन्।

यता एक सुन्दर रसियन केटी पोख्रेलको आँखामा बसिसकेकी थिइन्। चुलबुले बानी। उनका हरेक बानी व्यहोरा पोख्रेललाई मन पर्न थाल्यो।

एक गरिब देशबाट गएको केटो। त्यो बेलाको शक्तीशाली रुसको बेलारुसकी केटी। माया बस्ने र बिहे गर्ने कुरालाई देशको सीमा रेखाले रोक्न सकेन।

‘एक अर्कालाई देखेपछि विस्तारै माहोल बन्दै गयो,’ पोख्रेल कलेजका ती दिन सम्झिन्छन्, ‘कुन देश भन्ने मतलब हुँदो रहेनछ। बानी व्यहोरा र आचरण ठूलो कुरा रहेछ।’

बाबुआमा चिन्नु, ‘फ्याम्ली ब्याकग्राउन्ड’ हेर्नु दोस्रो कुरा हुँदो रहेछ प्रेममा। केटा र केटीको आँखा आँखैले सहमति भइसकेको थियो। अनुहारले सबै बताइरहेको थियो।

बाँकी औपचारिकता थियो। पोख्रेलले त्यही औपचारिकता अपनाए र ओल्गालाई प्रेम प्रस्ताव राखे। पहिले नै हृदयले स्वीकारिसकेको मायालाई ‘हस्ताक्षर’ गर्ने काम भयो। दुवै जना बिहे गर्न राजी भए।

उनी ओल्गाको घर गए। बाबुआमासँग परिचय गरे।

जागिर खाने, घर बनाउने, धनसम्पत्ति जोडेर बिहे गर्छु भन्ने सोच राखेनन्।

‘सबै कुरा सँगसँगै जाने हो। बिहे गर्ने, रमाइलो पनि गर्ने अनि पढाइ र काम पनि सँगै गर्ने हो,’ पोख्रेल त्यो बेलाको क्षण सम्झिन्छन्, ‘संघर्ष गर्दै जाने, सँगै घर बनाउने भन्ने सोच थियो।’ 

सन् १९८८ मा बिहे भयो।

बिहेले पढाइ बिग्रिन्छ भन्ने भनाइ छ। तर त्यस्तो होइन रहेछ। दुवै जनाले आफ्नो पढाइलाई निरन्तरता दिए। यि सबैले उनलाई कुनै पनि ‘ह्याम्पर’ गरेन। जहिले पनि ९५ प्रतिशत अंक आइरहन्थ्यो पोख्रेलको।

‘बिहेपछि मेरो पढाइ झन् राम्रो भयो,’ उनी भन्छन्, ‘माइन्ड विचलित भएन, आफ्नै छ, भन्ने पनि भयो।’

झन् पढाइ राम्रो भयो। दुई वर्षपछि बच्चा भए। दुई छोरी जुम्ल्याहाका रुपमा।

tara4

भैरहवादेखि बेलारुससम्म
नेपालीहरु खेतीपाती गर्न बर्मा जाने बेलाको कुरा होा। उनका बाबुआमा बर्मा गएका थिए। तर, बर्मा बसाइ भने लामो भएन। उनी सानो छँदै, परिवार नेपाल फर्कियो।

भैरहवाको श्री पाँच इन्द्रराज्य माध्यमिक विद्यालयमा भर्ना भए।

विद्यालयमा सबैभन्दा जेहेन्दार विद्यार्थीमा गनिन्थे। पढाइमा सबै अब्बल।

‘कहिले प्रथम त कहिले दोस्रो,’ पोख्रेल भन्छन्, ‘सरकारी स्कुल भए पनि अहिले जस्तो लापरबाही थिएन।’

स्कुलको वातावरण राम्रो थियो, शिक्षक पनि उस्तै राम्रा।

घरमा वातावरण त्यस्तै।

‘घरमा पढ्नुपर्छ भन्ने वातावरण थियो,’ पोख्रेल त्यो बेलाको कुरा सम्झिन्छन्, ‘दाजु, दिदीहरुले पढ्नुपर्छ भनिरहनुहुन्थ्यो।’

भैरहवा ठूलो गाउँ जस्तै थियो। सडक भर्खर पक्की हुँदै थिए। स्वच्छ वातावरण। जनसंख्या पनि कम। खासै समस्या थिएन। साधारण जीवन थियो। २०३४/०३५ सालमा उनले एसएलसी दिए। फर्स्ट डिभिजनमा उत्तीर्ण भए।

पढाइमा अब्बल, राम्रो प्रतिशत ल्याएका भएर उनलाई इन्जिनियरिङतर्फ आकर्षण बढ्यो। परिवारको चाहना पनि त्यही थियो। उनी काठमाडौं आए। पुल्चोक इन्जिनियरिङ क्याम्पसमा ओभरसियरमा छात्रवृत्ति पाए।

झन्डै दुई महिनासम्म साथीसँग कोठा लिएर बस्न थाले। कोठा खोज्न अहिले जस्तो समस्या थिएन। काठमाडौं सानो, घर पनि थोरै थिए। जनसंख्या पनि कम।

दुई महिनासम्मको कोठाको बसाइपछि उनी होस्टलमा गए। त्यसपछि उनलाई अरु केहीको चिन्ता भएन। मात्र पढाइ।

तर, मुलुकको वातावरण बिग्रिँदै गयो। राजनीतिले काठमाडौंलाई छपक्कै छोप्यो। २०३६ सालको कुरा हो। भुट्टो काण्डले काठमाडौंलाई तताउन थाल्यो। पाकिस्तानमा जुल्फिकर अली भुट्टोलाई सैनिक सरकारले मृत्युदण्ड दियो। सो मृत्युदण्डको विश्वव्यापी रुपमा त्यसको विरोध भएको थियो। मानवअधिकारको कुरा उठिरहेको थियो। त्यो कुराले काठमाडौंलाई पनि ततायो।

tara5

काठमाडौंका सबै कलेजमा आन्दोलन सुरु भयो। त्यसले अर्कै रुप लिँदै गयो। आन्दोलनहरु चर्किंदै गए।

‘सरकारले सबै कलेज बन्द गरायो,’ उनी सम्झन्छन्, ‘झन्डै ४ महिनासम्म कलेज बन्द भयो।’

उक्त आन्दोलनले शैक्षिक सत्रलाई नै पर धकेल्यो। २ वर्षमा सकाउनुपर्ने कलेज ३ वर्षमा पुग्यो।

ओभरसियरको पढाइ सकेपछि उनी नेपाल सरकारको जागिरे भए। भैरहवामा उनले जिल्ला कार्यालयअन्तर्गत सार्वजनिक निर्माण शाखामा २ वर्ष काम गरे।

उनलाई पढाइको रस पसिसकेको थियो। पढाइलाई अगाडि बढाउन उनको इच्छा थियो। त्यही इच्छालाई सहयोग पुग्ने गरी उनले शिक्षा मन्त्रालयबाट सरकारी छात्रवृत्ति पाए। पुल्चोकमा पाएका अंक र अन्तर्वार्ताका आधारमा उनी रुसको इन्जिनियरिङ पढ्न सन् १९९५ मा छनोट भए।

उनले ६ वर्ष मास्टर डिग्री पढे। त्यसपछि पीएचडी गरे। त्यसलाई ४ वर्ष लाग्यो। १० वर्षको पढाइले उनलाई इन्जिनियरिङको विज्ञ बनाइसकेको थियो।

tara6

पोख्रेलले छोडे, राजेश हमालले अभिनय गरे
रुसमा दश वर्षको बसाइको क्रममा उनी बीच बीचमा नेपाल आइरहन्थे। नेपाल आउँदा विभिन्न खालका अफर आउँथे। बिजनेसका अफर आइरहन्थे।

दुई वर्षपछि ढेड महिनाको विदामा उनी नेपाल आएका थिए। त्यो बेला उनलाई एक महत्वपूर्ण अफर आयो, फिल्म खेल्ने।

अग्लो कदको जिउडाल, गोरो २४ वर्षको ठिटो। झट्ट हेर्दा विदेशी गोरे जस्तो। उनी हिरो बने भने फिल्म चल्छ भन्ने निर्देशकलाई थियो सायद।

फेरि, त्यो बेला नेपाली फिल्म बन्ने लहर चलेको थियो। महोल बनाइरहेको थियो।

उनकै साथीबाट उनलाई फिल्म खेल्ने अफर आयो। त्यो चर्चित फिल्म ‘युगदेखि युगसम्म’ थियो।

स्कुलमा हुँदा केही अभिनय गर्थे उनी। कार्यक्रममा डान्स गर्ने, नाच्ने पनि गर्थे। स्कुलमा हुँदाको यो गतिविधीले पनि उनलाई फिल्म खेल्ने विश्वास थियो। उनी फिल्म खेल्न तयार भए तर उनीसँग जम्मा डेढ महिनाको समय थियो।

‘यो समयमा खेल्न भ्याइन्छ भने ठिक छ खेल्छु,’ उनले भने।

काठमाडौं न्युरोड, पीपलबोटको फोटो कन्सर्नमा उनको फोटो सेसन भयो। ‘फिल्म खेल्न शरीर फिट छ,’ फोटोग्राफरले भने, ‘ओके डान।’

फिल्मको सुटिङ तयारी हुँदै थियो।

समयले भने साथ दिएन। उनले भनेको समयमा फिल्म सुटिङ नसकिने भयो। फिल्मभन्दा इन्जिनियरिङ पढाइको चिन्ता थियो उनलाई। फिल्मले भन्दा इन्जिनियरिङले नै आकर्षण गर्यो।

पोख्रेलले छोडेको त्यही फिल्ममा राजेश हमालले अभिनय गरे। युगदेखि युगसम्मको त्यही अभियनपछि राजेश हमाल चर्चामा आएका थिए।

उनी बेलारुस फर्किए। पढाइलाई निरन्तरता दिए।

फिल्मको रहरले उनलाई पछिसम्म छोडेको थिएन। सन् २००० मा नेपाल फर्केर आएपछि त्यो रहरलाई पूरा गरे।

फिल्म खेल्नुभन्दा पहिला उनी निर्माता बने। २००१ मा ‘मोहनी लाग्ला’ भन्ने फिल्ममा लगानी गरे।

पछि केही फिल्ममा अभिनय समेत गरे।

‘नयाँ जीवन रेखामा मैले अभिनय गरेँ,’ उनी सम्झन्छन्।

यस फिल्ममा उनको भूमिका एक व्यापारीको छ। एक जर्मनी व्यापारी भएर खेलेका छन्।

त्यसपछि उनले ‘पापी मान्छे’मा अभिनिय गरे। यो फिल्ममा उनी कलेजको प्रिन्सिपल बनेका छन्। उनको तेस्रो फिल्म थियो, ‘मिसन फोर ट्वान्टी’। यसमा उनको भूमिका एक डाक्टरको रुपमा छ।

‘त्यो बेला हामीले फिल्म उद्योगमा लगानी गर्ने सोच पनि राखेका थियौं,’ उनले भने, ‘एक राम्रो थिएटर बनाउने लक्ष्य पनि थियो।’

फिल्मको बजार कस्तो छ भनेर उनले राम्रोसँग अध्ययन गरे। साँच्चिकै प्रतिफल आउनमा उनीहरुलाई शंका भयो। उनको सोच बदलियो– ‘लगानी अब नथप्ने।’

Tara3

नेपाल फर्किने निर्णय
बेलारुसमै १० वर्ष बित्यो। विवाह भयो र परिवार पनि बन्यो। त्यहाँ बस्नलाई कुनै गाह्रो थिएन। अझ ससुराली अर्थात् एउटा अर्को घर नै त्यहीँ थियो।

त्यो अवस्थामा नेपाल फर्किने निर्णय लिन निकै गाह्रो थियो।

‘हामीसँग दुईवटा घर थिए, एउटा बेलारुस र अर्को नेपालमा,’ पोख्रेलले भने, ‘नेपाल मन परेन भने फर्काैँला नि भन्ने हाम्रो सोच थियो।’

नेपालमा स्थायी रुपम बस्न आउनुअघि पनि धेरै पटक उनको जोडी नेपाल आइसकेका थियो। बिहेपछि उनीहरु पहिलो पटक सन् १९९१ मा नेपाल आएका थिए। त्यसपछि आउने जाने क्रम चलिरह्यो।

नेपाली केटाहरू युरोपका केटी बिहे गर्न मरिहत्ते गर्छन्। बिहेको उद्देश्य युरोपकै पीआर बनाउने र उतै बस्ने हुन्छ।

पोख्रेलको मनमा यस्तो सोच केहिल्यै आएन। उनीसँग रुस मात्र होइन, क्यानडा, अष्ट्रेलियाको भिसा थियो। उतै गएर बस्न सक्थ्यो यो जोडी।

तर विदेश बस्ने बारे न त पोख्रेलले सोचे, न त ओल्गाले नै। दुवैको रोजाइ काठमाडौं बन्यो। काठमाडौंमै संघर्ष गर्ने उनीहरुको निर्णय भयो।

सन् २००० उनीहरु नेपालमै बस्ने गरी यहाँ आए। यो जोडी उदाहरणीय बन्यो, युरोपमा बिहे गरेर काठमाडौं बस्ने।

युरोपको त्यो भव्य सहरबाट काठमाडौं आउँदा धेरै कुरा नयाँ थिए ओल्गा मिखाइलोभ्ना पोख्रेलका लागि। यहाँको रहनसहन, कला संस्कृति धेरै मन पर्यो उनलाई।

‘विभिन्न जातजातैको भेषभूषा, काठमाडौंका नेवारको कला संस्कृति एकदमै मन पर्यो मलाई,’ ओल्गा भन्छिन्, ‘अहिले पनि यस्तो संस्कृतिमा म रमाउँछु।’

माटाका घर उनको लागि रुचिकर विषय थिए। त्यसैले त उनी भक्तपुर, वसन्तपुरका क्षेत्रहरुमा रुचिका साथ घुम्न जान्छिन्।

यस्तो राम्रो सहरमा उनलाई सधैं नराम्रो लाग्ने विषय भनेको यहाँको फोहोर हो। आफैं बस्ने ठाउँमा आफैं फोहोर गरिरहेका छन् यहाँका मान्छेहरु। सरकार छ, त्यसका विभिन्न निकायहरु छन्। तर, तिनले केही गर्न सकेका छैनन।

‘जसले पनि फोहोर बाहिर फालेको छ,’ उनी भन्छिन्, ‘अनुशासन भन्ने छैन।’

यहाँको वातावरणमा भिज्न केही समय लाग्यो उनलाई।

नेपाल फर्किंदा अर्को ठूलो समस्या भनेको माओवादी द्वन्द्व थियो। द्वन्द्व चर्केको बेलाको एकदमै गाह्रो परिस्थिति थियो।

यो एक संक्रमणकाल हो। पछि ठीक भइहाल्छ भन्ने पोख्रेललाई लागेको थियो। रुसमा पनि त्यस्तै राजनीतिक परिस्थितिबाट गुज्रिएको अवस्था थियो। उनले रुसको त्यतिबेलाको अवस्थासँग नेपाललाई दाँजेर हेरे। टुक्रिने अवस्थामा पुगेको थियो रुस। कम्तीमा नेपालमा त त्यस्तो अवस्था छैन।

पछि राम्रो हुन्छ भन्ने आशामा थिए।

बच्चाहरूलाई डिप्लोम्याटिक स्कुलमा भर्ना गरिदिए। जो सजिलै यहाँको वातावरणमा घुलमिल हुनथाले। बच्चाहरुलाई राम्रो पढाइ होला कि नहोला भन्ने उनीहरुको पहिलो डर थियो।

उनीहरुलाई त्यस कुरामा चित्त बुझ्यो।

‘हामीलाई बच्चाको पढाइको चिन्ता थियो, त्यसमा हामीलाई सन्तुष्ट मिल्यो,’ पोख्रेल भन्छन्, ‘त्यसपछि हामीले पूर्णरुपमा यहीं बस्ने निर्णय गर्यौँ।’

काठमाडौंमा उनका लागि धेरै अवसरहरु थिए। त्यसमाथि उनी आफैं इन्जिनियर। उनीसँग केही न केही गरिन्छ भन्ने आत्मविश्वास थियो।

पोख्रेलको पहिलो पाइला कान्तिपुर इन्जिनियरिङबाट सुरु भयो। उनी र साथीहरु मिलेर त्यो कलेज चलाएका छन्। कलेजका अध्यक्ष हुन् पोख्रेल। त्यससँगै एक्मी इन्जिनियरिङ कलेज खोले।

कन्स्ट्रक्सन कम्पनीमा पनि उनले हात हाले। बज्रगुरु कन्स्ट्रक्सन कम्पनी खोलेका उनले मैलुङखोला हाइड्रोपावरमा पनि लगानी गरेका छन्।

२००६ मा उनले अग्नी सिमेन्ट इन्डष्ट्री खोले। यस कम्पनीको प्रबन्ध निर्देशक हुन् पोख्रेल। त्यसपछि लगातार उनी यही उद्योगमा लागि रहेका छन्। यस कम्पनीअन्तर्गत अग्नि सिमेन्ट, अल्फा सिमेन्ट, त्रिदेव सिमेन्ट, ओरियन्ट सिमेन्ट जस्ता ब्रान्डका सिमेन्ट उत्पादन हुन्छन्।

त्यस्तै, २०१३ मा उनले अर्को कम्पनी खोले शुभश्री अग्नि सिमेन्ट। त्यसबाट पछिल्लो पटक प्युठान सिमेन्ट उत्पादन गरेका छन्। ६ महिना पहिले यसको सुरुवात भयो।

नेपालको एक सफल व्यवसायी व्यक्तित्व बनाएका पोख्रेल अहिल नेपाल सिमेन्ट उत्पादक संघका उपाध्यक्ष भएका छन्। आफ्नो व्यवसायसँगै विभिन्न कार्यक्रममा सहभागी हुनुपर्दा उनको व्यस्तता निकै बढेको छ।

नेपालका एक जना सफल व्यवसायीको छवि बनाएका पोख्रेललाई बेलारुसका अनेक अवसर छाडेर स्वदेश फर्किएकोमा कुनै पछूतो छैन। बरु गर्व छ। नेपालमै केही गर्न सफल भएका छन्। नाम कमाएका छन्।

बेलारुसमा लगाएको रुसी केटीसँगको माया काठमाडौंमा फैलिरहेको छ। ओल्गा खुसी छिन्। परिवारको त्यही साथले ताराप्रसाद पोख्रेललाई व्यवसायको उचाइमा पुर्याएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .