कक्षा चलिरहेको छ
सिमाना अनि क्षेत्रफलबारे,
अध्यावधिक छैन यो मन,
त्यही पनि जबर्जस्त दौडाइरहेछु पाठ।
राजनीतिक घटनाक्रमको समयरेखामा
आन्दोलनका श्रृंखला, मृत्यु र दुर्घटना बाहेक
उपलब्धिका सुनौला रेखाहरु छैनन्
तर पनि अनुत्तरित हुँदै लतारिरहेछु एकाइ।
आर्थिक गतिविधिको शिक्षणमा
दातृ निकायका नामहरुको फेहरिस्तबारे
सोच्दै कुदाउँछु पाठ्यांश।
जडिबुटी, जमिन, जलविद्युत, जनशक्ति जहाँ–जहाँ
आउछन् यस्ता शब्दावलीहरु
त्यहाँ, कयौं सबालहरुलाई छिपाउँदै दगुराउँछु कक्षा।
देशभक्ति र राष्ट्रवादबारे बक्तृत्वको लागि
तयार पार्नुु पर्छ पटकपटक,
चर्को शब्दहरुमा राष्ट्रियता अनि स्वाभिमानका
कुरा बोल्न सक्ने यान्त्रिक चेला।
एउटा विद्यार्थी जब पढ्छ 'मुनामदन',
जब पढ्छ 'बहुलाकाजीको सपना',
अनि प्रश्न गर्छ–
सर ! मदनहरुको संख्या बढेर किन चालीस लाख पुग्यो?
सपनाका हत्याराहरु किन सर्वत्र भए?
प्रश्नहरुको चांगले चिट्चिटाहट छुटाउछ अचेल।
उफ् !
प्रतिशत र कमिसनका हिसाब आयो कि विद्यार्थीहरु
राजनीति, ठेकेदारी र दादागिरीको
उदाहरण खोजेर हैरान बनाउँछन्।
इच्छाधीन रुपमा कोरियन र हिब्रो भाषा किन नपढ्ने सर?
प्रश्न आउँछ जवाफ निस्कँदैन।
व्यवस्थाको मात्र कति चिन्ता? कति पढ्ने?
हाम्रो ब्यथाको पढाइ हुँदैन सर?
नाजवाफ यस्ता सबालहरुको जवाफ खोजेर
दह्रो गरेर कक्षामा उभिन
एउटा शिक्षकले अब कति तयारी गर्नुपर्छ, सरकार?
Shares
प्रतिक्रिया