ad ad

म्यागेजिन


चार दशकको मेहनतले डलर अर्बपति बन्दैछन् चन्द्र ढकाल

परिवार पाल्न काठमाडौँ पसेका ढकालले यसरी खडा गरे व्यावसायिक साम्राज्य
चार दशकको मेहनतले डलर अर्बपति बन्दैछन् चन्द्र ढकाल

आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल (तस्बिर : सरोज नेपाल)


सम्झना घिमिरे
चैत २२, २०७९ बुधबार १९:११, काठमाडौँ

भनिन्छ– जहाँ संघर्ष हुन्छ, त्यहाँ केही पाउने अठोट हुन्छ। 

चर्चित लगानीकर्ता वारेन बफेट हुन् कि अर्का इन्टरनेट उद्यमी मार्क जुकरबर्ग, दुवै त्यो अठोट र संघर्षका पर्याय हुन्। 

बफेटले धनी हुने पहिलो कदम ११ वर्षमै चाले भने जुकरबर्गले १९ वर्षकै उमेरमा फेसबुक सुरु गरे। अहिले दुवैलाई संसारले ठूला अर्बपतिको रुपमा चिन्छ। 

हुन त दुवै अमेरिकी नागरिक भएकाले ‘विकसित राष्ट्रका विकसित नागरिक’को सफलतालाई सामान्य मानेर सोधिन सक्छ– नेपालमा पनि सामान्य परिवारबाट उठेर छोटो समयमा धनाढ्य हुन सम्भव छ? 

छैन।

यो पुष्टि गर्न कहीँ पुग्नुपर्दैन, पैसा कमाउन देश छोड्दै गरेका युवाको भीडलाई हेरे हुन्छ। अनि उनीहरुको निराशापूर्ण कुरा सुने पुग्छ। यो क्रम ४ दशकदेखि उस्तै छ। 

तर, नेपालमा पनि त्यस्ता व्यक्ति छन् जो देश छोड्नेहरुले बिताएकै ४ दशकमा शून्यबाट अर्बौं सम्पत्तिको मालिक बन्न सफल भए। 

अझ भनौँ ठुल्ठूला घरानालाई पछि पार्दै व्यावसायिक साम्राज्य खडा गर्दै छन्। व्यवसायीका पनि अभिभावक बन्दै छन्।

उनी हुन् चन्द्र ढकाल, जो ७ वटा क्षेत्रमा १४ वटा ठूला कम्पनी हाँकिरहेका छन्। ती कम्पनीहरुको सम्पत्ति मात्रै करिब ६० करोड अमेरिकी डलरभन्दा माथि छ। 

आईएमई ग्रुप र सो ग्रुपको ठूलो सेयर रहेको ५७ अर्ब रुपैयाँ पुँजीको ग्लोबल आइएमई बैंक, चन्द्रागिरि हिल्स, माउन्टेन इनर्जी, हिमालयन पावर पार्टनर, पूर्वाधार विकास बैंक (निफ्रा), डिस मिडिया नेटवर्कलगायतका कम्पनीहरुमा उनको लगानी छ। 

ढकाल मालिक रहेका कम्पनीहरु धमाधम पब्लिक कम्पनीमा रुपान्तरण हुँदै छन्। 

अहिलेसम्म ४ वटा कम्पनी पब्लिक कम्पनीमा गई सार्वजनिक सेयर निष्काशन गरिसकेका छन् भने आईएमई लिमिटेड, डिस मिडिया नेटवर्क र आईएमई रेमिट पनि पब्लिक कम्पनी बनाएर पुँजी बढाउने तरखरमा छन्।

यी कम्पनीको पनि सार्वजनिक सेयर निष्काशनमा आउँदा नेपालको अर्को डलर अर्बपति बन्न सक्नेछन् ढकाल।  

ढकाललाई नजिकबाट चिन्नेहरुको भनाइ छ– परिस्थिति अहिलेकै रफ्तारमा अघि बढ्दा महासंघको अध्यक्ष कार्यकाल सकिँदासम्म अर्थात् तीन वर्षभित्र सम्पत्ति बढेर विनोद चौधरीपछि अर्का डलर अर्बपतिको रुपमा चन्द्र ढकाल अगाडि आउने छन्। 

पुँजी जुटाउन प्राइभेट कम्पनीलाई धमाधम पब्लिक कम्पनीमा रुपान्तरण गर्ने रणनीतिले उनलाई निकट भविष्यमै डलर अर्बपतिमा उकाल्ने छ।   

पहिलोपटक पढ्ने र कमाउने हुटहुटी बोकेर १७ वर्षको उमेरमै घर छाडेका उनी ३८ वर्षको संघर्षपछि नेपालमा व्यावसायिक साम्राज्य खडा गर्न सफल भएका छन्।

१७ वर्षमा पलाएको त्यो हुटहुटीलाई ५५ वर्षीय ढकाल आफूले पाएको सफलताको पहिलो सुरुवात मान्छन्। 

सानै छँदा उनले बुबा गुमाउनु पर्यो। जीवनको बाटो पहिल्याइदिने संरक्षक गुमाउनुको पीडासँगै आमा र भाइबहिनीप्रतिको जिम्मेवारी थपियो। त्यसपछि कलिलो उमेरमै काठमाडौं हानिएका थिए ढकाल। 

‘आफूमाथि जिम्मेवारी नआएसम्म सपनाको पछाडि नदौडिने रहेछौँ’, २०४१ तिर फर्किँदै ढकाल भन्छन्, ‘१७ वर्षको उमेरमै परिवारको जिम्मेवारी ममा आएपछि कमाउन काठमाडौँ पसेको थिएँ।’

३८ वर्षअगाडि बाग्लुङको अमलाचौरमा रहेका उनीभित्र घरको दैलो नाघेर पैसा कमाउने हुटहुटी आएको थियो। नआएको हुँदो हो त अहिले नामले ‘चन्द्र ढकाल’ बने पनि कामले ७ ठूला व्यवसायका मालिक सायदै हुने थिए। 

तिनै ढकाल यतिबेला उद्योगीहरुको संरक्षक बन्दै छन्। अर्थात् नेपालका उद्योगीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष हुँदै छन्। 

व्यावसायिक घरानामै हुर्केका व्यवसायीमाझ उदाएका उनी महासंघको अध्यक्ष हुने पहिलो त्यस्ता व्यक्ति बन्दै छन् जो आफैँमा एउटा मध्यमवर्गीय परिवारको प्रतिनिधि हुन्। 

३५ सय बन्यो जीवनको टर्निङ प्वाइन्ट 
घरबाट कमाउने सपना बोकेर २०४१ सालमा काठमाडौ हानिँदै गर्दा उनको गोजीमा ३५ सय मात्र थियो।

ढकाल भन्छन्, ‘त्यति रकमले काठमाडौंमा केही दिन बस्न सक्छु, जागिर खोजेर बाँकी टारौँला भनेर हिँडेको थिएँ।’

काठमाडौंमा उनले ६ सय रुपैयाँ मासिक पारिश्रमिकमा केही महिना अन्तर्राष्ट्रिय कम्पनी पेप्सीमा सहायकको रुपमा काम गरे। ५ वर्ष राष्ट्रिय वाणिज्य बैंकमा खरिदार तहको अनुभव संगाले।  

वाणिज्य बैंकमा काम गर्दा घरको आर्थिक अवस्था केही सहज भयो तर ढकाल सन्तुष्ट हुनसकेनन्। जागिर कहिलेसम्म? यो प्रश्नले उनको मन बिझाउन थाल्यो। 

बैंकमा व्यवसायका लागि ऋण लिन आउनेहरु दिनहुँ देखेका उनी व्यवसायतिर लोभिँदै गए। 

‘त्यतिबेला ऋण लिन आउनेहरुको व्यवसायले मलाई तान्थ्यो,’ उनी सम्झिन्छन्, ‘म उनीहरुको कुरा ध्यान दिएर सुन्थेँ।’

व्यवसायतिर आकर्षण बढ्दै गएपछि ग्राहक व्यवसायीसँग सम्बन्ध बढाउन थालेको उनको भनाइ छ।  

तर विडम्बना बचतको नाममा सुक्को नहुँदा जागिर छोडेर व्यवसाय गर्नु पनि ठूलै जोखिम लिनुबराबर थियो। ढकाल त्यो जोखिम उठाउन डराइरहेका थिए।

‘जागिर गर्दागर्दै मैले कार्गोको व्यवसाय सुरु गरेको थिएँ, त्यो निकै सानो थियो’, उनले सुनाए। 

जागिर र व्यवसाय दुवै सम्हाल्नु उति सहज थिएन। व्यवसाय गरौँ, तलब आउनेजति पैसा नाफा गर्छु भन्ने आत्मविश्वास थिएन। नगरौँ, जागिर मात्रैले घर धान्नै मुस्किल! जुक्ति निस्कियो– आफैँले काम गरेको बैंकबाट ऋण लिने। कसो नपत्याउला भन्ने उनलाई लाग्यो।  

यसै पनि उनी आफैँ व्यवसाय देखाएर आउने ग्राहकलाई ऋण दिनका लागि कागजात मिलाउने गर्थे। त्यही कारण पनि ऋण पाइनेमा शंका थिएन।त्यसैले उनी ऋण निकालेर व्यवसाय बढाउँछु भन्नेमा पुगे। 

तर व्यवसाय देखाएर ऋण लिने कुरा उनका हाकिमलाई पचेन। ढकालका अनुसार ती हाकिमले जागिर र व्यवसाय सँगसँगै गर्न नहुने तर्क गरे। ऋण पाउनका लागि जागिर छोड्नुपर्ने भयो। 

ढकाल भन्छन्, ‘त्यसबेला बैंकमा काम गर्ने कर्मचारीलाई व्यवसाय गर्न ऋण दिइँदैनथ्यो, मलाई ऋण पाउन जागिर छोड्नुपर्छ भन्ने आदेश आएपछि जोखिम मोलेरै जागिर छोडेँ।’

वाणिज्य बैंकबाट ऋण नपाएको झोँकमा जागिर छोडेका उनै ढकाल झण्डै ४ दशकपछि नेपालको निजी वाणिज्य बैंकहरुमध्ये ७५ अर्ब रुपैयाँसहित सबैभन्दा ठूलो पुँजी भएको बैंक ग्लोबल आईएमईका अध्यक्ष छन्।

आईएमईबाट भाग्योदय 
राष्ट्रिय वाणिज्य बैंक विशालनगर शाखामा खरिदारसरहको जागिर खाने एक ठिटो ३८ वर्षमै सयभन्दा धेरै शाखा भएको निजी वाणिज्य बैंकका मालिक र सातभन्दा बढी कम्पनीका मालिक बन्नु आफैँमा सामान्य कुरा होइन। 

ढकालले एकैपटक ठूलो लगानी जुटाएर  व्यवसाय थालेका होइनन्। उनले पहिलो व्यवसाय कार्गोको गरेका थिए। बैंकको जागिरसँगै ठमेलमा कार्गो र मनी एक्सचेन्ज खोलेर व्यावसायिक जीवनमा प्रवेश गरेका उनी त्यही मनी एक्स्चेन्जबाट नेपालका अर्बपति व्यवसायीमा समेटिन पुगेका हुन्।  

छोटो समयमा नै सफल व्यवसायी बन्नुको श्रेय आफूले गरेको अनवरत संघर्षलाई नै दिन्छन् उनी।

भन्छन्, ‘हामी सबैमा जीवनमा केही ठूलो काम गर्ने हुटहुटी हुनुपर्छ, ममा पनि सानैमा पैसा कमाउने हुटहुटी थियो। सायद त्यही हुटहुटीले अहिले म यहाँ छु।’

हुन त ढकालको सफलतासँगै जोडिन्छन् उनका भाइ हेमराज ढकाल। जसले आईएमई ग्रुपलाई अगाडि बढाउन अहम् भूमिका खेल्दै आएका छन्।

ढकाल आफैँ पनि हेमराजको सहयोगले व्यावसायिक उडान भर्न सकेको बताउने गर्छन्। भाइ हेमराज मनि एक्स्चेन्ज स्थापनाकालबाट दाजु चन्द्रसँग जोडिँदै आएका थिए।

नेपालको पहिलो मनी एक्स्चेन्ज खोलेका ढकाल विदेशमा आफूले देखेको दुःखलाई नेपालमा व्यवसायको रूप दिएको बताउँछन्। कार्गो व्यापारकै सिलसिलामा अमेरिका हिँडेका उनी जापानमा १० महिना अड्किन पुगेका थिए।

भन्छन्, ‘जापानमा बस्दा काम गरेर यहाँको वातावरण पनि बुझौँ न भन्ने लाग्यो।’

जापानमा रहँदा किताब कारखानामा काम गरेको उनी बताउँछन्।

त्यस समय अधिकांश नेपालीहरुको उस्तै समस्या हुन्थ्यो– आफूले कमाएको पैसा सजिलो गरी नेपाल कसरी पठाउने? त्यति बेलासम्म रेमिट्यान्समा निजी क्षेत्रको प्रवेश भइसकेको थिएन। 

२०५६ सालमा जापानबाट फर्केपछि ढकालको ध्यान रेमिटले तान्यो। जतिबेला उनी आफैँ मनी एक्सचेन्जको व्यवसाय गरिरहेका थिए। 

त्योसँगै २०५७ सालमा उनले मनी ट्रान्सफर सुरु गरे। नेपालबाट विदेशमा रोजगारीमा जानेको संख्या बढिरहेको समय। त्यसले कम्पनीलाई फैलाउन थप मद्दत गर्यो। 

ढकालका इष्टमित्रहरु पनि उनको भाग्योदय नै यहीँबाट भएको बताउँछन्। 

पछि एक्सचेन्जलाई एक्सप्रेस बनाएर खोलिएको आईएमई नेपालकै पहिलो रेमिट्यान्स कम्पनी बन्न पुग्यो।

त्यसपछि निरन्तर व्यवसायमा संघर्षरत ढकालले अहिलेसम्म आइपुग्दा बैंकिङ, हाइड्रोपावर, इन्भेष्टमेन्ट तथा सर्भिस सेक्टरमा व्यावसायिक उडान भरिरहेका छन्। 

उनले आईएमई ग्रुपअन्तर्गत नै आइएमई रेमिट, ग्लोबल आईएमई बैंक, हाथवे इन्भेष्टमेन्ट, आईएमई कोअपरेटिभ, ग्लोबल आईएमई क्यापिटल, आईएमई पेलगायतका कम्पनी सञ्चालन गरिरहेका छन्।

घरका कारण झन् चर्चामा 
एक सफल व्यवसायीका रुपमा ढकाल चर्चामा छँदैथिए, २०६५ सालमा डा. रामवरण यादव राष्ट्रपति चुनिएसँगै झन् चर्चामा आए उनी। जब राष्ट्रपति उनकै निवासमा बस्न गए तब घरकै कारण उनको चर्चा थप चुलिन पुग्यो।

नेपालको पहिलो राष्ट्रपति निर्वाचित भएपछि सरकारी निवास तयार नभएसम्मका नौ महिना यादव काठमाडौंको धापासीस्थित ढकालको घरमा बसेका थिए।

अहिले त व्यवसायीहरुमाझकै राजनीतिक पकड बलियो रहेको व्यक्तिका रुपमा चन्द्र ढकाललाई लिइन्छ।

ढकालको संघर्ष र सफलतालाई लिएर सर्वसाधारण मात्रै होइन स्वयं समकक्षी व्यवसायीहरु पनि उनलाई आइडलको रुपमा हेर्छन्। 

नरम स्वभावका उनी हत्तपत्त विवादमा आउँदैनन्। यद्यपि गएको वर्ष सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिँदा केही विवादित बन्न पुगे ढकाल।

धितोपत्र बोर्डमा सूचीकृत कम्पनीका अध्यक्ष र सञ्चालक रहेका ढकाल आफैँ धितोपत्र बोर्डको सञ्चालकमा बसेपछि विवादमा तानिए। 

बुक बिल्डिङ प्रक्रियाबाट प्राथमिक सेयर निष्काशनको तयारीमा रहेको सर्वोत्तम सिमेन्टको सेयर भाइ हेमराज ढकालको नाममा पनि खरिद भएको देखिएपछि विवादित बनेका चन्द्र ढकालले बोर्डको सञ्चालक पदबाट राजीनामा दिएका थिए।

(नेपालखबरमा प्रकाशित रिपोर्ट कपी गरेर पुनप्रकाशन वा साभार गरेको वा अडिओ/भिडिओ बनाएर प्रशारण गरेको पाइएमा तत्काल कानुनी कारबाही अगाडि बढाइने छ– सम्पादक)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .