ad ad

म्यागेजिन


नेपालको अदालतले भारतीय प्रधानमन्त्री र गृहमन्त्रीलाई बयान दिन बोलाएको त्यो सुपुर्दगी मुद्दा

सुच्चा सिंह नेपालमा पक्राउ परेपछि नेपाल र भारतबीच निम्तिएको बबण्डर
नेपालको अदालतले भारतीय प्रधानमन्त्री र गृहमन्त्रीलाई बयान दिन बोलाएको त्यो सुपुर्दगी मुद्दा

भारत भ्रमणमा रहेका प्रधानमन्त्री बीपी कोइरालाका साथ पञ्जाबका पूर्वमुख्यमन्त्री प्रतापसिंह कैरोँ (बायाँबाट तेस्रो)


सीताराम बराल
माघ २४, २०७९ मंगलबार ८:५०, काठमाडौँ

भारतको हरियाणास्थित अम्बाला केन्द्रीय कारागारमा लामो समयदेखि बन्दी जीवन बिताइरहेका एक व्यक्तिलाई १४ कात्तिक २०२९ (३० अक्टोबर १९७२) मा फाँसी दिइयो। मृत्युदण्डलगत्तै ती व्यक्तिको शव उनको जन्मस्थान पञ्जाब, जालन्धर जिल्लाको वीर बासियान गाउँ पुर्याइयो। जहाँ मृत शरीर जलाइनुअघि सयौँ आफन्तजन र गाउँलेहरुले उनको अन्तिम विदाई गरे।   

सो हत्याकाण्डका सम्बन्धमा गहिरो अध्ययन गरेका अभिवक्ता नरिन्दर बर्माले ‘असासिनेसन अफ कैरोँ’ (कैरोँ हत्याकाण्ड) मा उल्लेख गरेअनुसार उनको अन्तिम विदाईका लागि बासियान गाउँ नै उर्लेर अन्त्येष्टिस्थल पुगेको थियो। अम्बाला जेलका बन्दीहरु पनि शोकमा डुबेका थिए। अधिकांशका आँखा आँसुले भिजेका थिए। 

मृत्युदण्ड दिइएका व्यक्ति सुच्चा सिंह थिए। सुच्चा सिंहमाथि ६ फेब्रुअरी १९६५ (२४ माघ २०२१) मा हरियाणा प्रदेश सोनिपत जिल्लाको रसोइगाउँस्थित जीटी रोडमा पञ्जाबका पूर्व मुख्यमन्त्री प्रतापसिंह कैरोँको हत्या गरेको आरोप थियो। कैरोँ हत्याको आरोपमा त्यसैदिन सोही जेलमा नहर सिंह र बलदेव सिंह नामका व्यक्तिहरुलाई पनि मृत्युदण्ड दिइएको थियो। 

हत्या गरिएका शीर्ष भारतीय राजनीतिक व्यक्तित्वमध्ये महात्मा गान्धी, इन्दिरा गान्धी र राजीव गान्धीपछि कैरोँ चौथो स्थानमा पर्छन्। २३ जनवरी १९५६ देखि २१ जुन १९६४ (९ माघ २०१२– ८ असार २०२१) सम्म मुख्यमन्त्री रहेका कैरोँ पञ्जावमा आधुनिकताको जग बसाल्ने व्यक्ति मानिन्छन्। 

प्रधानमन्त्रीका रुपमा विसं २०१६ मा भारत भ्रमण गरेका बीपी कोइरालाले मुख्यमन्त्री कैरोँसँगको भेटको सन्दर्भ पनि आत्मवृत्तान्तमा समेत उल्लेख गरेका छन्।  

हत्या गरिएका प्रतापसिंह कैरोँ भारतीय राजनीतिज्ञ थिए। उनको हत्या भारतीय भूमिमा भएको थियो। हत्यारा भारतीय थिए। हत्यारालाई मृत्युदण्डको फैसला भारतीय अदालतले सुनाएको हो। मृत्युदण्ड कार्यान्वयन पनि भारतीय भूमि (जेल) मै भएको थियो। 

तपाईंहरुलाई लाग्ला, सबै घटना भारतीय नागरिक र भारतीय भूमिसँग सम्बन्धित थिए भने नेपाली पत्रकारिताले ५०–६० वर्ष पुरानो घटनालाई किन यति धेरै महत्व दिनुपर्यो?  

हो, हत्या गरिएका व्यक्ति भारतीय थिए, हत्याराहरु पनि भारतीय थिए। कैरोँको हत्या र हत्यारालाई मृत्युदण्ड पनि भारतीय भूमिमै दिइएको थियो। यति हुँदाहुँदै पनि यो घटनाको सम्बन्ध नेपालसँग गहिरो गरी जोडिएको थियो। 

किनभने मृत्युदण्ड दिइएका सुच्चा सिंह नेपाली भूमिमा पक्राउ परेका थिए। पक्राउ परेका उनलाई ९ महिना लामो अदालती प्रक्रियापछि भारत समक्ष सुपुर्द गरिएको थियो। अझ रोचक त के भने सुच्चा सिंहलाई पक्रने क्रममा भारतीय प्रहरीका डीआईजीसहितको टोलीसमेत नेपालमा पक्राउ परेको थियो।

र, यो प्रकरणले नेपाल–भारत सम्बन्धमा उतिबेला निकै ठूलो हलचल सिर्जना गरेको थियो। 

अनधिकृत नेपाल प्रवेश, सनसनीपूर्ण पक्राउ
नौ वर्ष पञ्जाबको मुख्यमन्त्री रहेका कैरोँ आफ्नै पार्टीभित्रको किचलोका कारण विसं २०२१ असारमा पदबाट हटे। ६ पुस २०२१ मा उनी नयाँदिल्लीबाट पञ्जाब जाँदै थिए। तर, हरियाणा प्रदेश अन्तर्गत पर्ने सोनिपत जिल्लाको रसोई गाउँमा मारिए। 

मुख्यमन्त्रीको हत्या कसले गर्यो, स्थानीयवासीले पनि अनुमान लगाउन सकेनन्। हत्याराहरुले स्थानीयवासीलाई भनेका थिए, ‘हामी भारतीय प्रहरीका अफिसर हौँ। लागूऔषधको कारोबारमा संलग्न एउटा ठूलो ग्याङ यही बाटो हुँदै आउँदैछ। उनीहरुमाथि विशेष कारबाहीको जिम्मेवारी लिएर आएका हौँ। हाम्रो काममा अवरोध सिर्जना नगर्नु होला। जसले हाम्रो काममा अवरोध सिर्जना गर्छ, त्यसमाथि एक्सन हुनेछ।’ 

प्रहरी ठानेर स्थानीयवासीहरुले ती व्यक्तिहरुमाथि शंका र निगरानी गरेनन्। ड्रमको अवरोध राखिएका कारण कैरोँ सवार जिप आएर रोकियो। हत्याराहरुले कैरोँ र उनका ड्राइभरलाई जिपभित्रै गोली हानेर मारे। जिपबाहिर निस्केका कैरोँका सुरक्षाकर्मी पनि घटनास्थलमै मारिए।

हत्यारा को थिए, भारतीय प्रहरीले लामो समयसम्म अनुमान गर्न सकेन। 

सम्भावित हत्यारा खोज्ने क्रममा प्रहरीले कैरोँ मुख्यमन्त्री छँदा भएका महत्वपूर्ण कारबाहीका घटना केलायो। ती कारबाहीबाट असर परेका व्यक्तिहरुबारे सूक्ष्म विश्लेषण गर्यो। त्यसक्रममा के पत्ता लाग्यो भने उचपिण्ड गाउँमा एउटा घरायसी विवादमा रन्जित सिंह नामका युवक मारिएका थिए। त्यो हत्याकाण्डमा संलग्न रहेको आरोपमा अदालतले वीर सिंह, सुरजित सिंह र अजित सिंह नामका युवकहरुले मृत्युदण्डको सजाय पाए।  

रन्जित सिंह हत्याकाण्डमा प्रहरीले सुच्चा सिंहको नामसमेत मुछ्यो। एक जमानामा भारतमा नामुद कुस्ती खेलाडीसमेत रहेका सुच्चा सिंहले सन् १९५६ मा लण्डनमा भएको एउटा कुस्ती प्रतियोगितामा स्वर्ण पदक जितेका थिए। कुस्ती खेलबाट अवकाशपछि उनी गाउँ फर्के। 

प्रतापसिंह कैरोँको हत्यास्थल र मृत सुरक्षाकर्मीको शव

अधिवक्ता वर्माले उपरोक्त पुस्तकमा उल्लेख गरेअनुसार गाउँमा सामान्य जीवन बिताइरहेका सुच्चा सिंह गाउँको उन्नतिमा पनि सक्रिय थिए। उनले भारतका सर्वाधिक सम्मानित सहिद भगत सिंहको स्मृतिमा आफ्नो बासियानमा सहिद भगतसिंह स्मृति पुस्तकालयसमेत स्थापना गरेका थिए। 

यसरी समाजसेवासहित गाउँमा सामान्य जीवन बिताइरहेका सुच्चालाई प्रहरीले रन्जित सिंह हत्याकाण्डमा मुछिदियो। उनी गाउँबाट फरार भए। उनको नाम प्रहरीले भगौडाको सूचीमा राख्यो। यो घटनापछि उनी भूमिगत भए। उनको निष्कर्ष के रह्यो भने आफ्ना साथीहरुलाई मृत्युदण्डको फैसला गराउनमा मुख्यमन्त्री कैरोँको दबाबले काम गरेको छ। आफूलाई पनि पक्राउ गर्ने र मृत्युदण्डको सजाय दिलाउने प्रयासमा मुख्यमन्त्री कैरोँ लागेका छन्। त्यसैले, आफ्नो पक्राउ र मृत्युदण्डअघि नै कैरोँलाई सिध्याउनुपर्छ भन्ने निष्कर्षमा सुच्चा पुगेका थिए। 

उपरोक्त विश्लेषणका आधारमा प्रहरीले निष्कर्ष निकाल्यो, यिनै कारणले गर्दा कैरोँ हत्याकाण्डमा सुच्चा सिंहको मुख्य भूमिका छ। प्रहरीले कैरोँ हत्याकाण्डमा सुच्चा सिंहको संलग्नताको ‘सबुत’ पनि जुटायो। 

तर, सुच्चा सिंह भूमिगत थिए। उनी गाउँमा थिएनन्। उनी कहिले भारतका खुंखार डकैतहरुसँग बसिरहेको हल्ला चल्थ्यो, कहिले विदेश भासिइसके भन्ने सूचना प्रहरीले पाउँथ्यो। 

सुच्चा सिंहलाई पिछा गरिरहेको प्रहरीले विसं २०२१ चैत पहिलो हप्ता निशान सिंह नाम गरेका एक यस्ता व्यक्तिलाई उत्तर प्रदेशको बरेलीबाट पक्राउ गर्यो, जो सुच्चा सिंहका सहयोगी थिए। र, सुच्चाको बसोबास र सुरक्षाको चाँजोपाँजो मिलाउँथे। सुच्चा सिंहका लागि परिवारसँग पैसा लिन पञ्जाब जाँदै गर्दा निशान सिंह पक्राउ परेका थिए। 

पक्राउ परेका निशान सिंह प्रहरीको यातनासामु टिक्न सकेनन्। उनले सुच्चा सिंह कहाँ लुकिबसेका छन्, सबै जानकारी प्रहरीलाई दिए। 

‘भेष बदलेर सुच्चा सिंह नेपालको महेन्द्रनगर (कन्चनपुर) मा बसेका छन्। पर्याप्त खर्चको व्यवस्था भएपछि नजिकैको धनगढीबाट जहाज चढेर काठमाडौँ जाँदैछन्,’ प्रहरीले उनीबाट जानकारी पायो, ‘खर्चको आवश्यक बन्दोबस्तपछि काठमाडौँ र त्यहाँबाट पाकिस्तान वा अन्य कुनै मुलुक जाने उनको योजना छ।’ 

पञ्जाब प्रहरीले सुच्चा सिंहलाई पक्रन डीआईजी अश्विनी कुमारको नेतृत्वमा विशेष प्रहरी टोली खटाएको थियो। भारतको पहिलो आम निर्वाचन (१९५१) बिथोल्न सौराष्ट्र क्षेत्रमा व्यापक आतंक मच्चाएका कुख्यात डाँकु भूपत सिंहको हर्कतको दमन गरेर उनले भारतीय प्रहरी सेवामा ख्याति कमाइसकेका थिए। खुंखार अपराधी पक्राउमा उनलाई पोख्त मानिन्थ्यो। 

सुच्चा सिंहको नयाँ ठेगानाबारे जानकारी प्राप्त गरेपछि डीआईजी अश्विनीकुमार नेतृत्वको टोली ९ चैत २०२१ को मध्यरात नेपाल–भारत सिमाना पार गरी महेन्द्रनगर आइपुग्यो। महाकाली अञ्चलका तत्कालीन सहअञ्चलाधीश ताराप्रसाद घिमिरे (९० वर्ष) का भनाइमा सो टोलीमा डीआईजी अश्विनीकुमारका अलावा ८ जना इन्स्पेक्टर, ४ जना डीएसपी, २ जना एसपी र १ जना एसएसपी, एकजना ड्राइभर र एकजना सुराकी थिए।  

सुराकीको रुपमा सुच्चा सिंहका साथी निशान सिंह पनि यो टोलीको साथमा थिए। बर्दीसहित नेपाल प्रवेश गर्दा अवरोध सिर्जना हुने भएकाले बनबासा पुगेपछि उनीहरुले बर्दी बदले, केही हतियार साथमा राखेर साँझपख शारदा ब्यारेजस्थित नेपाल–भारत सिमानातर्फ अघि बढे।

रातको समय भएकाले शारदा ब्यारेजस्थित भारतीय सीमा प्रहरीले सादा पोसाकको यो टोलीलाई नेपाल प्रवेश गर्न दिएनन्। यो टोलीलाई कसैगरी महेन्द्रनगर पुग्नैपर्ने थियो, आफ्नो परिचय पनि लुकाउनुपर्ने थियो। त्यसैले, जिपमा सवार अन्यले सीमा प्रहरीसमक्ष अश्विनीकुमारको परिचय चिकित्सकका रुपमा गराए। 

‘नेपालभित्र एकजना विरामी जीवनमरणको दोसाँधमा छन्, समयमै नपुग्ने हो भने उनको प्राण जान सक्छ,’ उनीहरुले भने, ‘त्यसैले बिरामी बचाउनका लागि डाक्टर सा’बलाई जान दिनुपर्यो।’  

सीमा प्रहरीले उनीहरुको यो अनुनय सुनेन। त्यसपछि यो टोलीले भारतीय प्रहरीलाई घुस दिएर नेपालतर्फ प्रवेश गर्ने योजना बनायो। 

‘एक सय ५० भारतीय रुपियाँ आफ्नो हातमा परेपछि मात्र सीमास्थित भारतीय प्रहरीले उनीहरुलाई अघि बढ्ने अनुमति दिए,’ वर्माले लेखेका छन्, ‘सीमास्थित नेपाल प्रहरी भने इमान्दार देखियो। बिरामीको प्राण बचाउन आएको डाक्टरहरुको टोली भनेपछि नेपालका प्रहरीहरुले सहजरुपमा उनीहरु सवार जिपलाई अघि बढ्न अनुमति दिए।’  

समय मध्यरातर्फ लम्कँदै थियो। शारदा ब्यारेजदेखि महेन्द्रनगरसम्म धुलाम्मे सडकको दुवैतिर घना जंगल थियो। यस्तो मार्गबाट अघि बढ्दै गरेका उनीहरु सवार जिप बीच बाटोमा बिग्रियो। ढिलाइ गर्दा सुच्चा सिंह उम्कन सक्थे। त्यसैले, बिग्रेको गाडी सडकमै छाडेर निशान सिंहका साथ टर्च बाल्दै उनीहरु जंगलले घेरिएको मार्गबाट अघि बढे। 

महेन्द्रनगर पुग्नै लाग्दा सडक छेउको एउटा भवनबाट ‘हल्ट’ (रोकिनू) भन्ने आवाज आयो। खासमा त्यो स्थानीय प्रहरी चौकीको सेन्ट्रीको आदेश थियो। नेपाली प्रहरीहरु उनीहरुतर्फ हतियार सोझ्याएर उभिएका थिए। ‘हतियारधारी डाँका समूह’ भन्ने ठानेर महेन्द्रनगरको प्रहरी चौकी उच्च सतर्कतामा बसिसकेको थियो। 

अटेर गरेर सबैजना अघि बढ्दा गोली चल्न सक्थ्यो, खुनखराबा हुन सक्थ्यो। सुच्चा सिंह पक्रन आएका अश्विनीकुमार यस्तो होस् भन्ने चाहदैनथे। विसं २०७६ मा प्रकाशित आफ्नो आत्मकथा ‘आयाम’ मा तत्कालीन सहअञ्चलाधीश घिमिरेले उल्लेख गरे अनुसार, सेन्ट्रीले ‘हल्ट’ भन्दै रोकिन आदेश गरेपछि उनीहरु आफूसँग भएको हतियार भुइँँमा बिसाएर घोप्टो परी सुतेका थिए।

ताराप्रसाद घिमिरेको आत्मकथा ‘आयाम’, जहाँ सुच्चा सिंह कसरी पक्राउ परेका थिए भन्ने जीवन्त विवरण छ

‘त्यसमध्ये एकजनाले समर्पणको फौजी शैली अनुसार आफ्नो हात माथि उठाएर टुक्रुक्क बसी हामीहरु एक जना अभियुक्तको पिछा गर्दै आएका भारतीय पुलिस हौँ,’ आफूले स्थानीय प्रहरीबाट प्राप्त गरेको जानकारी उल्लेख गर्दै घिमिरेले लेखेका छन्, ‘अभियुक्तको एउटा साथीलाई हामीले सुराकी बनाएर ल्याएका छौँ भनी जानकारी दियो।’ 

घिमिरेका भनाइमा ती व्यक्तिले साथमा सुराकीका रुपमा ल्याएका व्यक्ति (निशान सिंह) लाई देखाए र केही प्रहरीलाई सुराकीको साथ अघि बढ्ने अनुमति दिन आग्रह गरे। उनको भनाइ थियो, ‘त्यो मानिसलाई नियन्त्रणमा लिएपछि यिनीहरु फर्केर यहीँ बस्नेछन्। त्यतिन्जेलसम्म हामी पनि तपाईंहरुकै नियन्त्रणमा बस्नेछौँ।’ 

यति भनी भ्याइनसक्दै बलिष्ठ ज्यानका चारजना इन्स्पेक्टर निशान सिंहलाई साथ लगाएर अघि बढे। उनीहरु अघि बढेपछि चौकीका एकजना प्रहरीले उनलाई पछ्याए। निशान सिंहले प्रहरी टोलीलाई त्यही घरमा पुर्याए, जहाँ सुच्चा सिंह भेष बदलेर लुकी बसेका थिए। खासमा त्यो खेतबाली कुर्न बनाइएको घर थियो। 

सुच्चा बसेको घरसम्म भारतीय प्रहरीलाई पछ्याएका ती प्रहरी जवानले सुच्चा सिंहलाई भारतीय प्रहरीहरुले कसरी पक्राउ गरेका थिए, त्यसको विवरण घिमिरेलाई दिएका थिए।  

घरको ढोकामा पुगेपछि निशान सिंहले सुच्चा सिंहलाई बोलाएका थिए। (घिमिरेले भारतीय प्रहरीले सुराकीको रुपमा प्रयोग गरेका व्यक्ति उल्लास सिंह रहेको उल्लेख गरेका छन्। तर, उनको नाम निशान सिंह थियो।)

‘म तिम्रा लागि पैसा ल्याइदिन तिम्रो घर (पञ्जाव) तर्फ जाँदै थिएँ, तर उत्तर प्रदेशको प्रहरीले तिमीलाई पक्रिन सक्रियता बढाएको खबर पाएँ। त्यही खबर दिन म फर्केर आएँ,’ घरभित्र रहेका सुच्चा सिंहलाई प्रहरी आफ्नो साथमा आएको शंका नहुने गरी निशान सिंहले भने, ‘तिमी यहाँ पनि सुरक्षित छैनौ। अब तत्काल अर्काे ठाउँमा जानुपर्छ। निस्की हाल।’ 

आफ्नो भूमिगत जीवनको व्यवस्थापन गर्दै आएको साथीको कुरा सुच्चा सिंहले विश्वास नगर्ने कुरा थिएन। उठेर आँखा मिच्दै आएर उनले चुकुल के खोल्न लागेका थिए, चार जना इन्स्पेक्टरहरुले उनलाई झम्टिहाले। प्रहरीले यसरी झम्टेपछि उनी पछिल्तिरको झ्यालबाट उम्कने प्रयासमा लागे।  

‘झ्याल फोरेर शरीरको आधा भाग निकाल्नै लागेको बेला चारै जनाले उसको खुट्टा समाती भित्र निकालेछन्,’ घिमिरे लेख्छन्, ‘त्यसपछि उसले अचानक नजिकै रहेको बञ्चरो लिई पुलिसमाथि प्रहार गर्न खोजेछ। दुई जनाले हात समाई बञ्चरो बाहिर फ्याँक्न भ्याएछन्। यस्ता पहलमान सरहका चारजना इन्स्पपेक्टरहरुसँग ऊ एक्लैले लडेछ र अन्त्यमा उसलाई पक्रन उनीहरु सफल भएछन्।’ 

सुच्चा सिंहको पक्राउमा संलग्न प्रहरी अधिकारीहरुसँगको कुराकानीका आधारमा अधिवक्ता नरिन्दर वर्माले ‘असासिनेसन अफ कैरोँ’ पुस्तकमा रोचक विवरण दिएका छन्।  

बर्माका भनाइमा घरको ढोका नजिकै पुगेर जब निशान सिंहले सुच्चा सिंहलाई बोलाए, साथीको आवाज सुनेपछि सुच्चा सिंह बोले। सुच्चा सिंहको आवाज सुनेपछि उनी त्यही घरमा बसिरहेका रहेछन् भन्ने पक्का भयो। 

वर्माका भनाइमा सुच्चा सिंहले तत्काल ढोका भने खोलेनन्। नखोलेपछि इन्स्पेक्टर दया सिंहले जोडले हानेर ढोका फुटाए। माथिल्लो तलामा रहेका सुच्चा सिंह तल्लो तलामा झरे। त्यतिबेलासम्म निशान सिंहले प्रहरी लिएर आएका होलान् भन्ने कल्पना सुच्चा सिंहले गरेका थिएनन्। 

आफ्नो अगाडि पर्नासाथ दया सिंहले सुच्चा सिंहको आँखामा टर्च लाइट बाले। अर्काे हातले कञ्चटमा पिस्तोल ताके। तर सुच्चा सिंह डराएनन्। भिडन्त गरेर भए पनि उम्कने मुडमा उनी देखिए। 

‘उनी निडर थिए। त्यहीँ रहेको बञ्चरो समातेर उज्याए, तर इन्स्पेक्टर दया सिंहले सुच्चा सिंहको प्रयासलाई तत्काल असफल पारे,’ बर्मा लेख्छन्, ‘इन्स्पेक्टर सिंहले तत्काल आफ्नो हातबाट पिस्तोल र टर्च फ्याँके। त्यसपछि एउटा हातले सुच्चा सिंहको लामो जगल्टा (कपाल) समाए, अर्काे हातले उनको हातबाट बञ्चरो खोसे।’ 

चार–चारजना बलिया इन्स्पेक्टरहरुका अगाडि ५० वर्ष नाघिसकेका सुच्चा सिंहको के लाग्थ्यो! केहीबेरको यो झडपपछि सुच्चा सिंह भारतीय प्रहरीको नियन्त्रणमा परे। उनको हात पछिल्तिर लगेर बाँधियो। र, पुर्याइयो नजिकैको नेपाली प्रहरी चौकी, जहाँ नेपाल प्रहरीले डीआइजी अश्विनीकुमार सहित अन्य अधिकारीहरुलाई आफ्नो नियन्त्रणमा राखेको थियो।   

हतियारसहित अश्विनीकुमारको टोलीलाई प्रहरी चौकीले नियन्त्रणमा राखेको खबर केही परको अञ्चलाधीश कार्यालय पुगिसकेको थियो। यो खबरपछि अञ्चलाधीश पद्मचन्द्र श्रेष्ठले सह–अञ्चलाधीश घिमिरेलाई प्रहरी चौकी पठाए। 

अश्विनीकुमारसहितको भारतीय प्रहरी टोलीसँग कुरा गरिरहेका बेला चार इन्स्पेक्टरसहितको टोलीले हात बाँधिएका सुच्चा सिंहलाई प्रहरी चौकी पुर्याएको थियो। चौकीमा आइपुगेका इन्स्पेक्टरहरुले सुच्चा सिंहको पक्राउ–घटनाको बेलिविस्तार अश्विनीकुमारलाई लगाए। 

जब सुच्चा सिंहसहित इन्स्पेक्टरहरुको टोली आइपुग्यो, चौकीमा घिमिरेसँग कुरा गरिरहेका ती व्यक्तिले सुच्चा सिंहलाई देखाउँदै घिमिरेलाई भने, ‘यो (सुच्चा सिंह) आफ्नो जमानाको भारतको अब्बल बक्सर थियो। त्यसैले, यस्ता हट्टाकट्टा युवकले समेत नियन्त्रणमा लिन मुस्किल पर्यो।’

प्रहरी हिरासतमा सुच्चा र डीआईजीको टोली
सुच्चालाई ल्याएपछि प्रहरी चौकीको माहोलै अर्काे भयो। सहअञ्चलाधीश घिमिरेसँग कुराकानी गरिरहेका ती प्रहरी अधिकारी उनीसँग थप खुल्न थाले। कैरोँको हत्यापछि सुच्चा सिंह भेष बदलेर कहाँ र कसरी बसेका थिए, सुच्चा सिंहका विभिन्न भेषका तस्बिरहरु घिमिरेलाई देखाए।

त्यसपछि मात्र उनले आफ्नो परिचय दिए, ‘मेरो नाम अश्विनी कुमार हो। म कास्मिरी ब्राम्हण हुँ। हाल पञ्जाब पुलिसमा डीआईजी पदमा कार्यरत छु।’  

अश्विनीकुमारले आफ्नो मात्र परिचय दिएनन्, साथमा आएका सबै प्रहरी अधिकृतहरुको पनि परिचय गराए। टोलीमा एसएसपी तहका एक यस्ता वृद्ध प्रहरी अधिकारी पनि थिए, जसलाई गाडी बिग्रेपछि अन्य प्रहरीहरुले बोकेर महेन्द्रनगरसम्म ल्याइपुर्याएका थिए। कान र आँखा दुवै कमजोर रहेका उनी अभियुक्त पक्राउ कलामा पारंगत थिए। त्यसैले, यो टोलीमा उनलाई सामेल गरिएको थियो।  

डीआईजी नेतृत्वको प्रहरी टोलीको बनावटबाट देखिन्थ्यो, सुच्चा सिंह पक्राउ अभियानलाई पञ्जाब प्रहरीले कति महत्वपूर्ण मिसन मानेको रहेछ! 

सुच्चा सिंह कति महत्वपूर्ण अभियुक्त रहेछन् भन्ने त भइहाल्यो। सुच्चा सिंहलाई आफ्नै अगाडि देखेपछि सह–अञ्चलाधीश घिमिरेलाई अझ बढी आश्चर्यमा अर्काे एक कुराले पार्यो। 

भारतीय प्रहरीले खुंखार अपराधी ठानेर पक्राउ गरेका सुच्चा सिंह त दुई दिनअघि आफ्नो कार्यालयमा आफूले सहयोग लिएका व्यक्ति पो रहेछन्!  

महाकाली अञ्चलाधीश कार्यालय २०२१ मंसिरमा मात्र डडेलधुराबाट महेन्द्रनगर सरेको थियो। नयाँ कार्यालयका लागि भवन बनाइँदै थिए। फर्निचरहरु खरिद गर्ने र तिनलाई उपयुक्त स्थानमा राख्ने काम जारी थियो। 

त्यो बेला महेन्द्रनगरले सहरको रुप धारण गरिसकेको थिएन, गाउँकै रुपमा थियो। अञ्चलाधीश कार्यालयलाई आवश्यक पर्ने फर्निचर महेन्द्रनगरमा उपलब्ध थिएनन्। त्यसैले, दुई दिनअघि मात्र बरेली (उत्तर प्रदेश, भारत) बाट आवश्यक फर्निचर ल्याइएका थिए।   

ती टेबुल, दराज, सोफा यति गह्रौँ थिए कि नेपाली कामदारहरुले तिनलाई ट्रकबाट झारेर तोकिएको कोठासम्म पुर्याउन हम्मे पर्यो। ट्रकबाट समेत निकाल्न नसकेपछि उनीहरु हैरानीमा थिए। त्यसैबेला बलियो र ठूलो जीउका दुई पञ्जाबी अञ्चलाधीस कार्यालयमा झुल्किए।   

त्यसमध्येको एकजनाले सहअञ्चलाधीश घिमिरेसँग भने, ‘कञ्चनपुरमा प्रशस्त खेतीयोग्य जग्गा रहेको सुनेकाले जग्गाको खोजीमा यहाँसम्म आइपुगेको हुँ। त्यस्तो जग्गा पाए एक महिनाभित्र अरु साथीहरुलाई पनि बोलाउने योजना बनाएको छु।’ 

‘त्यसपछि त्यो व्यक्तिले ‘इजाजत दिनुहुन्छ भने यी सामान बोक्न म सहयोग गरिदिउँला’ भन्यो, मैले पनि सहयोग गर्न के इजाजत चाहिन्छ र? भनेर स्वीकृति दिएँ,’ घिमिरे भन्छन्, ‘दराजहरु बोक्दा सबैलाई एकातिर बोक्न लगायो र अर्काेतिर ऊ एक्लैले बोकेर ट्रकबाट उतार्दै भनेको भनेको ठाउँमा राखिदियो। त्यति गह्रौँ टेबुलसमेत एक्लैले पिठ्यूँमा बोकेर राखिदिएको थियो।’ 

उनी थप्छन्, ‘उसको अद्भूत शारीरिक क्षमता देखेर म त्यतिबेला आश्चर्यमा परेको थिएँ। त्यसबेला मलाई उसको नाम थाहा थिएन। त्यही व्यक्ति सुच्चा सिंह रहेछ भन्ने आज थाहा पाएँ। यो कुरा सुनेपछि अञ्चलाधीश पनि निकै अचम्मित हुनुभयो।’ 

पक्राउ परेका सुच्चा सिंहले अस्तिसम्म आफूहरुलाई सघाइरहेको घटना जति रोचक थियो, त्यत्तिकै रोचक थियो– पक्राउका बेला इन्स्पेक्टर दया सिंह र चौकीमा आइपुगेपछि अश्विनीकुमारसँगको सुच्चा सिंहबीचको संवाद पनि।

उर्दू भाषामा प्रकाशित हुने पत्रिका ‘वीर प्रताप’ ले सिलसिलेवर रुपमा सुच्चा सिंहको पक्राउ घटनाबारे ‘स्टोरी’ प्रकाशित गरेको थियो। त्यसमा उल्लेख भए अनुसार, पक्राउका बेला सुच्चा सिंहसँग आफूले खेल जीवनमा उनले प्राप्त गरेका प्रमाणपत्रहरु सँगै थिए। 

जब उनी पक्राउ परे, उनी रहेको घरको खानतलासी गरियो। त्यसक्रममा सुच्चा सिंहले इन्स्पेक्टर दया सिंहलाई आफ्ना प्रमाणपत्रहरु देखाउँदै भनेका थिए, ‘बुझ्यौ इन्स्पेक्टर! तिमीजस्तै तिमीले पक्राउ गरेको व्यक्तिपनि चानचुने मानिस होइन। नपत्याए यी प्रमाणपत्रहरु राम्रोसँग हेर। मान्छेलाई मान्छेजस्तो व्यवहार गर्न सिक।’ 

पक्राउपछि डीआईजी अश्विनीकुमार र सुच्चा सिंहबीचको कुराकानी अझ रोचक थियो। बर्माको पुस्तकमा उल्लेख भए अनुसार, सुच्चा सिंहमा कैरोँप्रतिको घृणा कायमै थियो। आफ्नो कर्मप्रति उनमा पछुतो पनि थिएन। 

तर डीआइजी अश्विनीकुमारप्रति भने उनमा उच्च सम्मान थियो। अभियुक्त पक्राउ र दमनमा अश्विनीकुमारले ‘च्याम्पियनसिप’ प्राप्त गरिसकेका थिए। तिनै ‘च्याम्पियन’ प्रहरी अधिकृत रहेको प्रहरी चौकीमा जब हात बाँधिएका सुच्चा सिंह पुगे, उनले परैबाट डीआईजी अश्विनीकुमारलाई बधाई दिए। 

‘अश्विनीकुमार! तिमीलाई बधाई छ। तिमी पनि च्याम्पियन हौ। तिमीले आज चानचुने व्यक्ति पक्राउ गरेका छैनौ। अर्काे च्याम्पियनलाई पक्रन सफलता हासिल गरेका छौ। एउटा च्याम्पियनले अर्काे च्याम्पियनलाई पक्रन सक्नु ठूलो कुरा हो।’ 

डीआईजी अश्विनीकुमारप्रति भर्खर यतिविघ्न सम्मान प्रकट गरेका सुच्चा सिंहले एकछिनमै उनलाई ‘बेबकुफ’ ठहर्याउन पनि बाँकी राखेनन्। यो स्थिति त्यतिखेर आयो, जब डीआईजी अश्विनीकुमारले नजिकै बोलाएर सुच्चा सिंहसँग सोधे, ‘तेरो कसरी–कहाँ जाने योजना थियो?’

घिमिरेका भनाइमा, यो जवाफ दिनुअघि सुच्चा सिंह घिमिरेतर्फ फर्के, घिमिरेलाई नमस्कार गरे। फेरि अश्विनीकुमारतर्फ फर्के। त्यसपछि भन्न थाले, ‘मैले आजसम्म तँलाई बुद्धिमान प्रहरी अफिसरको रुपमा लिएको थिएँ। तर तँ त बेबकुफ पो रहेछस्। त्यही भएर तँ यस्तो प्रश्न सोध्दैछस्। कसैले आफ्नो गोप्य योजना अर्काे व्यक्तिलाई बताउँछ?’ 

‘हिन्दूस्तानमा तँबाहेक अर्काे पुलिस अफिसर थिएन र आफ्नै साथीलाई पक्रेर जेल हाल्न आइस्?’ अश्विनीकुमारको प्रश्नले आक्रोशित सुच्चा सिंहले थप गाली गर्दै भने, ‘तँ अब मेरो साथी रहिनस्। साथीको नाममा कलंक भइस्।’ 

सुच्चा सिंहको गालीपछि डीआईजी अश्विनीकुमार प्रतिरक्षात्मक देखिए। घिमिरेका भनाइमा, ‘डीआईजी अश्विनीकुमारले आफ्नो कर्तव्य र बाध्यताबारे सुच्चा सिंहलाई बताए। तर, सुच्चा सिंह उनको जवाफबाट सन्तुष्ट भएनन्।’ 

अपराधी पक्रने नाममा भारतीय प्रहरीहरु नेपाली भूमिका हतियारसहित प्रवेश गरेका थिए। यो अन्तर्राष्ट्रिय कानुन र नेपालको सार्वभौमिकता विरुद्धको कार्य थियो। त्यसैले, डीआईजी अश्विनीकुमारसहितको टोली नेपाल प्रहरीको नियन्त्रणमा रह्यो। उनीहरुका हतियारहरु सेनाको ब्यारेकमा लगी राखिए। 

उनीहरुको ‘सुरक्षा’ को नाममा सैनिक टोलीसमेत खटाइयो। सुच्चा सिंहका साथ डीआईजी अश्विनीकुमारहरु करिब एक हप्ता नेपाल प्रहरीको हिरासतमा रहे। 

अर्थात्, सुच्चा सिंह भारतीय प्रहरीको नियन्त्रणमा थिए। तर, उनलाई नियन्त्रणमा लिने भारतीय प्रहरी टोली भने नेपाली सेना र नेपाल प्रहरीको नियन्त्रणमा पर्यो। यो स्थिति ४ दिन रह्यो। 

अदालत लगिँदै गरेका सुच्चा सिंह र डीआईजी अश्विनीकुमार 

लेखक वर्माका भनाइमा, जब एक हप्ता डीआईजी सिंहको टोली र सुच्चा सिंह सँगै हिरासतमा रहे, त्यो बेला पनि यी दुईबीच रोचक संवाद जारी रह्यो। उनी अश्विनीकुमारलाई जिस्क्याउदै भन्ने गर्थे, ‘बुझ्यौ, तिमीहरुको दृष्टिमा म अपराधी हुँला। तर, नेपाल प्रहरीको दृष्टिमा तिमीहरु पनि अपराधी हौ। त्यसैले त तिमीहरुलाई उनीहरुले हिरासतमा राखेका छन्।’  

पक्राउ परेका सुच्चा सिंहसहित प्रहरी टोली महेन्द्रनगरमा नेपाल प्रहरीको नियन्त्रणमा परेको कुरा तत्कालीन भारतीय राजदूत श्रीमन नारायणले नयाँदिल्लीस्थित भारतीय विदेश मन्त्रालयबाट पाइसकेका थिए। राजदूत नारायणले तत्काल उनीहरुको रिहाइको पहल थाले। आफ्ना प्रहरी रिहा गर्न नयाँदिल्लीबाटै प्रधानमन्त्री लालबहादुर शास्त्रीले मन्त्रिरिषदका अध्यक्ष सूर्यबहादुर थापासँग अनुरोध गरेका थिए। 

‘भारतीय प्रहरी हतियारसहित नेपाली सीमाभित्र प्रवेश गरेको घटनाप्रति मैले गहिरो खेद प्रकट गरेँ, यो घटना नेपालको सार्वभौमिकता हनन् गर्ने नियतका साथ नभएको विषय पनि मैले प्रष्ट पारेँ,’ घटनाको पाँच वर्षपछि सन् १९७० मा प्रकाशित संस्मरणात्मक पुस्तक ‘इन्डिया एन्ड नेपाल : एन एक्सरसाइज इन ओपन डिप्लोमेसी’ (पेज १०१) मा राजदूत नारायणले लेखेका छन्, ‘मैले आश्वस्त गराएपछि अर्काेदिन भारतीय प्रहरी टोलीलाई रिहा गर्ने आदेश जारी भयो।’

घिमिरेका भनाइमा गृह मन्त्रालयले पक्राउ परेका भारतीय प्रहरी, तिनका हतियार र गाडी रिहा गर्न मात्र आदेश दिएको थियो। सुच्चा सिंहलाई उच्च सुरक्षासहित हवाईजहाजबाट काठमाडौँ ल्याउन भनिएको थियो। 

गृह मन्त्रालयको यो आदेश अनुसार १२ चैत (२०२२) मा महेन्द्रनगरबाट धनगढी ल्याइएका अश्विनीकुमार १३ चैतमा महेन्द्रनगर फर्काइए। त्यसैदिन सम्पूर्ण हतियारसहित उनीहरुलाई रिहा गरियो। सुच्चा सिंहलाई सँगै लैजान नपाएका उनी आफ्ना सहकर्मीहरुका साथ भारी मनले बनबासातर्फ लागे। 

गत भदौमा विमोचित मन्त्रिपरिषदका तत्कालीन अध्यक्ष (प्रधानमन्त्री) सूर्यबहादुर थापाको आत्मकथामा उल्लेख भए अनुसार सुच्चा सिंहलाई हेलिकोप्टरमार्फत् काठमाडौँ ल्याइयो। 

खासमा नेपाल–भारतबीचको सम्बन्ध तनावपूर्ण रहेको बेलाको घटना थियो यो। राजा महेन्द्रले प्रधानमन्त्री बीपी कोइरालालाई अपदस्थ गरेको भर्खर चार वर्ष बित्दै थियो। पञ्चायतविरुद्धको सुवर्ण शमशेरको सशस्त्र संघर्ष दुई वर्षअघि मात्र स्थगित भएको थियो। आफूविरुद्धको सशस्त्र संघर्षका लागि भूमि प्रयोग गर्न दिएकोमा राजा महेन्द्र भारतसँग आक्रोशित थिए। 

भित्री प्रयास भइरहे पनि राजा महेन्द्र–भारतबीचको सम्बन्धमा सुधार आइसकेको थिएन। भारतसँग सम्बन्ध बिग्रँदा राजा महेन्द्र चीनतिर ढल्किएको बुझाइ भारतीय संस्थापनको थियो। राजा महेन्द्रसँग सम्बन्ध सुधार गर्न नयाँदिल्लीले भारतीय राष्ट्रिय कांग्रेसका महासचिव रहिसकेका श्रीमन नारायणलाई नेपालको राजदूत बनाएर काठमाडौँ पठाएको थियो। 

काठमाडौँ आएलगत्तै राजदूत नारायणले राजा महेन्द्रसँग निकट सम्बन्ध राखे। हतियारसहित नेपाली भूमिमा पक्राउ परेका डीआईजी अश्विनीकुमारलाई छिट्टै रिहा गराउन प्राप्त सफलतामा राजा महेन्द्रसँग उनको निकट सम्बन्धको मुख्य भूमिका थियो। तर, सुच्चा सिंहलाई अश्विनीकुमारहरुको साथ भारत लैजाने व्यवस्था मिलाउन भने उनले सफलता प्राप्त गरेनन्। 

खासमा दरबार सुच्चा सिंहलाई ‘बार्गेनिङ चिप्स’ को रुपमा प्रयोग गर्न चाहन्थ्यो। नेपालको सार्वभौमिकतालाई चुनौती दिँदै हतियारसहित प्रवेश गरेका अधिकारीहरुलाई रिहा गरिँदा सुच्चा सिंहलाई यतै राखिनुको भित्री कारण यही थियो।

भरत शमशेरको आशमा सुच्चाको सुपुर्दगी
सुच्चा सिंहको गिरफ्तारी अघि र त्यसपछि पक्राउ परेका दर्जनौँ अभियुक्त–अपराधीहरुलाई नेपाल–भारतले एक अर्काेलाई गुपचुप हस्तान्तरण गर्दै आएका छन्। सुच्चा सिंहलाई पनि त्यसैगरी नयाँदिल्ली लैजाने भारतीय पक्षको योजना थियो। 

यसका लागि भारतीय राजदूतदेखि प्रधानमन्त्रीसम्मले दबाब सिर्जना गरे। दबाबको खुलासा तत्कालीन महान्यायाधिवक्ता शम्भुप्रसाद ज्ञवाली (पछि कानुनमन्त्री) र मन्त्रिपरिषदका अध्यक्ष सूर्यबहादुर थापाले आ–आफ्नो आत्मकथामा गरेका छन्। 

‘सुच्चा सिंहलाई भारतीय अधिकारीवर्ग समक्ष ठाडै बुझाइदिन दबाब आयो, मन्त्रिपरिषदका अध्यक्ष थापाले मलाई सोध्नुभयो,’ २०५५ मा प्रकाशित आत्मकथा ‘व्यक्ति र विचार’ मा ज्ञवालीले भनेका छन्, ‘मैले सुपुर्दगी सन्धि र ऐन अनुसार कारवाही नगरी त्यसै बुझाउन मिल्दैन भनेँ। सुच्चा सिंहलाई काठमाडौँ ल्याई थुनामा राखियो, भारतले नागरिकता र अपराधको प्रमाण प्रस्तुत गरेपछि कारबाही चलाइयो।’ (पेज ८१–८२) 

मन्त्रिपरिषदका तत्कालीन अध्यक्ष थापाका भनाइमा पक्राउ परेका सुच्चा सिंहलाई काठमाडौँ ल्याइनुअघि कन्चनपुरबाटै आफ्ना अधिकारीसमक्ष जिम्मा लगाउन भारतीय पक्षले उनीसँग अनुरोध गरेको थियो। 

तर, राजा महेन्द्र अध्यक्ष थापाभन्दा शक्तिशाली थिए। एकातिर महान्यायाधिवक्ता ज्ञवाली लगायत अन्य सरकारी निकायहरु पनि सुच्चा सिंहलाई हस्तान्तरण गर्ने कुराको विपक्षमा थिए। दरबार पनि सुच्चा सिंहलाई भारत समक्ष बुझाउने कुराको विपक्षमा थियो। 

यस्तो स्थितिमा एक्लै निर्णय गर्नसक्ने स्थितिमा अध्यक्ष थापा थिएनन्। त्यसपछि सम्बद्ध प्रशासनलाई ‘तत्काल नबुझाउनू’ भन्ने आदेश दिएको आत्मकथामा थापाले उल्लेख गरेका छन्।  

‘त्यसपछि अलि तनाव भयो, भारतीयहरुले दबाब दिन थाले,’ ११ भदौ (२०७९) मा सार्वजनिक आत्मकथामा थापाले भनेका छन्, ‘उता भारतीय प्रधानमन्त्रीबाटै सहयोग गर्न आग्रह आयो। हामीले भन्यौँ– हामीले सहयोग गर्न नचाहेको होइन। तर कानुनी प्रक्रिया नपुर्याइकन हामी दिँदैनौँ।’ 

सुच्चा सिंहको हकमा ‘कानुनी प्रक्रिया’ खोजिनुको मुख्य कारण थियो– दरबार र नयाँदिल्लीबीचको तीतो सम्बन्ध, जुन राजा महेन्द्रको १ पुुस २०१७ को ‘कू’ र त्यसविरुद्ध नेपाली कांग्रेसले भारतीय भूमिबाट सञ्चालन गरेको सशस्त्र संघर्षका कारण सिर्जना भएको थियो।  

पृष्ठभूमिमा उपरोक्त कुरा छँदै थिए, अश्विनीकुमार नयाँदिल्ली फर्केलगत्तै विकसित तीन घटनाक्रमले नेपाल–भारत, दरवार–नयाँदिल्लीबीचको सम्बन्धमा थप दरार सिर्जना गरिदियो। जसको असर सुच्चा सिंहको सुपुर्दगीमा पर्यो।    

एक, डीआईजी अश्विनीकुमारले नेपाली भूमिभित्र पसेर भए पनि सुच्चा सिंहलाई पक्राउ गरेको भन्दै नयाँदिल्लीमा उनको भव्य स्वागत भयो। अपराधी पक्रने निहुँमा अर्काे मुलुकमा अनधिकृतरुपमा प्रवेश गर्नेहरुले नयाँदिल्लीमा स्वागत पाउँदा रहेछन् भन्ने कुराले नेपाली पक्षलाई आक्रोशित बनायो। 

दुई, नयाँदिल्ली पुगेपछि अश्विनीकुमारले पत्रकार सम्मेलनमार्फत् आफूलाई पक्राउ गरेर नेपाली सेना–प्रहरीले दुर्व्यवहार गरेको दाबी गरे। सुच्चा सिंहलाई भारत ल्याउन नदिएर नेपाली पक्षले अपराधीलाई संरक्षण गर्ने नियत देखाएको आरोप पनि लगाए। 

तीन, अश्विनीकुमारको पत्रकार सम्मेलनलगत्तै भारतीय सञ्चारमाध्यमहरुले राजा महेन्द्रको नाम सुच्चा सिंहसँग जोडिदिए। राजदूत नारायणले आफ्नो आत्मकथामा उल्लेख गरेअनुसार, ‘धेरै भारतीय दैनिकहरुले सुच्चा सिंह राजा महेन्द्रको मित्र रहेको समाचार प्रकाशित गरेका थिए। यस्ता समाचार टिप्पणीहरुले गर्दा नेपालभर भारतप्रति रोष सिर्जना भयो।’

डीआईजी अश्विनीकुमारप्रति नेपाली पक्ष कति आक्रोशित थियो, १९ चैत (२०२२) को गोर्खापत्र हेर्दा प्रष्ट हुन्छ। 

‘नेपालमा प्राप्त स्थानीय सुविधाहरुको उपयोग गरे पनि नराम्रो व्यवहार गरियो भनेर ती पुलिस अधिकारीले कसरी भन्न सकेका हुन्?’ ‘सौजन्यको अनुचित लाभ’ शीर्षकमा प्रकाशित गोर्खापत्रको समाचार सामग्रीमा भनिएको थियो, ‘गैरकानुनी रुपले यस्तो तथा उत्तरदायी भइकन पनि अनुत्तरदायी काम गर्नेहरुको स्वागत हुनु पनि आश्चर्यजनक कुरो मानिएको छ।’

सुच्चा सिंहलाई राजा महेन्द्रसँग जोडेर प्रचार गरिएकोप्रति दरबारले विज्ञप्तिमार्फत् निन्दासमेत गरेको थियो। राजा महेन्द्रको सचिवालयद्वारा १८ कात्तिकमा जारी विज्ञप्तिमा भनिएको थियो, ‘उक्त समाचार बिलकुलै झुठो र निराधार हुनुको साथै अत्यन्त उपद्रवी समेत छ भन्ने कुरा हामी स्पष्ट गर्न चाहन्छौँ। केही भारतीय अखबारहरुले जुन बेजिम्मेवारी तरिकाले छिमेकी मित्रराष्ट्र नेपालका राष्ट्रनायकको बदनाम गर्ने प्रयास गरेका छन्, सो निन्दनीय छ।’ (गोर्खापत्र, २०२२ चैत १९ पेज १)

१३ चैत (२०२२) मा अश्विनीकुमारलाई यत्तिकै रिहा गर्दा नेपाल सरकारले ‘सुच्चा सिंहलाई भने सुपुर्दगी सम्बन्धी कानुन अनुसार रिहा गरिनेछ’ भनेको थियो। तर, जब डीआईजी अश्विनीकुमारले पत्रकार सम्मेलन गरे र ‘राजा महेन्द्र कैरोँका हत्यारा सुच्चा सिंहका साथी हुन्’ भन्दै भारतीय पत्रिकाहरुमा टिप्पणी प्रकाशित भयो, सुच्चा सिंहको सुपुर्दगीका लागि भारत सरकारले औपचारिक माग गर्दै पत्र पठाउनुपर्ने र त्यो माग नेपाल–भारतबीच सम्पन्न सुपुर्दगी सन्धि अनुकूल छ–छैन, त्यसको निर्क्यौल अदालतबाट हुने निर्णय गर्यो। 

अर्थात्, नेपाल–भारतबीचको सुपुर्दगी सन्धिका प्रावधान अनुसार अदालतले सुपुर्दगीको सिफारिस गरे भारतसमक्ष हस्तान्तरण गरिने भयो। नभए सुच्चा सिंह त्यत्तिकै रिहा हुने भए।  

नेपाल सरकारको यो निर्णयपछि सुच्चा सिंहको विषय काठमाडौँ जिल्ला अदालतले हेर्ने भयो। मुद्दा हेर्न तत्कालीन चिसापानी (मकवानपुर) इलाका अदालतबाट न्यायाधीश जनकमान श्रेष्ठ काठमाडौँ सरुवा गरिए। 

काठमाडौँ नगरपालिकाको प्रथम कम्युनिस्ट मेयर (२००९–२०११) समेत रहेका श्रेष्ठ तिनै न्यायाधीश हुन्, जसले मृत्युदण्डको माग गरिएका बीपी कोइरालालाई २०३५ मा निर्दाेष सावित गरेका थिए।  

न्यायाधीश श्रेष्ठको इजलासलाई २ अक्टोबर १९५३ (१६ असोज २०१०) को नेपाल–भारत सुपुर्दगी सन्धि अनुसार सुच्चा सिंहलाई सुपुर्दगी गर्नुपर्छ कि पर्दैन, त्यससम्बन्धी फैसला (सरकारलाई सिफारिस पनि) गर्ने जिम्मेवारी थियो। 

सो सन्धिको धारा ३ मा विभिन्न १७ अपराध गर्ने अर्काे देशको अपराधी सम्बन्धित मुलुकलाई सुपुर्दगी गर्नुपर्ने व्यवस्था छ। तर, धारा ४ मा राजनीतिक प्रकृतिको अपराध हो भने त्यस्तो व्यक्तिलाई सुपुर्दगी गर्न बाध्य नहुने व्यवस्था पनि त्यसमा छ।  

श्रेष्ठको इजलासमा मुद्दा सुरु भयो। त्यसक्रममा सुच्चा सिंहले आफू अपराधी नभई पञ्जाबको अकाली दलको सदस्य भएको दाबी गरे। त्यहीकारण प्रधानमन्त्री र गृहमन्त्रीले राजनीतिक पूर्वाग्रहस्वरुप कैरोँ हत्याकाण्डमा आफूलाई फसाउन खोजेको आरोप पनि लगाए। 

आफ्नो आत्मकथा ‘हराएको इतिहास’ (विसं २०७६) मा न्यायाधीश स्व. श्रेष्ठले उल्लेख गरे अनुसार, सुच्चा सिंहले बयानका क्रममा भारतीय प्रधानमन्त्री र गृहमन्त्रीको समेत नाम मुछे । त्यसैले न्यायाधीश श्रेष्ठले भारतीय प्रधानमन्त्री र गृहमन्त्रीलाई पनि बयान दिन आउन आदेश जारी गरिदिए। 

यस्तो आदेशले निकै ठूलो खलबली मच्चायो। सबैभन्दा अप्ठेरोमा मन्त्रिपरिषद् अध्यक्ष थापा परे, जसको भारतीय पक्षसँग सुमधुर सम्बन्ध थियो। सो आदेशका सम्बन्धमा कुरा गर्न थापाले न्यायाधीश श्रेष्ठलाई आफ्नै निवास बोलाए। 

श्रेष्ठको आत्मकथामा उल्लेख भए अनुसार उनी अध्यक्ष थापा निवासमा पुग्दा महान्यायाधिवक्ता ज्ञवाली र कानुन मन्त्रालयका तत्कालीन सहसचिव विश्वनाथ उपाध्याय (पछि प्रधानन्यायाधीश) त्यहीँ थिए। 

‘ए, जनकमानजी! त्यत्रो ठूलो भारतसित हाम्रोजस्तो सानो मुलुकले जोरी खोज्ने ‘पोलिटिक्स’ खेल्नुहुन्छ र? प्रधानमन्त्री, गृहमन्त्री समेतलाई अदालतमा बोलाहट गरी बयान लिने समेत के नचाहिदो आदेश दिनुभएको तपाईंले?’ थापाको भनाई उद्धृत गर्दै श्रेष्ठले लेखेका छन्, ‘बयान लिइसकेपछि खुरुक्क सुच्चा सिंहलाई सुपुर्दगी दिने निर्णय गरिदिए पुग्ने। यस्तो नचाहिने झञ्झट नगर्नुस्।’ 

श्रेष्ठका भनाइमा अध्यक्ष थापाले ३–४ पटक बोलाएर यस्तै दबाब दिइरहे। पटक–पटकको दबाबपछि श्रेष्ठले पनि भरत शमशेरलाई नेपाल समक्ष सुपुर्द गर्न नेपालले दायर गरेको मुद्दालाई बेवास्ता गरेको जवाफ फर्काए।   

भरत शमशेर 

‘हाम्रो मुलुकको तर्फबाट सुपुर्दगी सन्धि (सन् १९५३) र सुपुर्दगी ऐन (विसं २०२०) अन्तर्गत दायर गरेको भरत शमशेर विरुद्धको मुद्दा दायर भएको झण्डै वर्षदिन पुग्न लागिसक्यो, यसबारे एकपल्ट भारतीय  अदालतमा सुनुवाई भएको छैन,’ आफूले अध्यक्ष थापालाई दिएको जवाफ न्यायाधीश श्रेष्ठले ‘हराएको इतिहास’ मा यसरी उल्लेख गरेका छन्, ‘कमसेकम हाम्रो अदालतमा चलेको सुच्चा सिंहको सुपुर्दगी पाऊँ भनी दायर गरेको मुद्दामा तारिफयोग्य ढंगले कारबाही चलिरहेको छ।’  

न्यायाधीश श्रेष्ठको यो जवाफपछि थापा चुप लागे। तर, सो आदेश जारी गरेको एक हप्ता पनि नबित्दै राजा महेन्द्रले श्रेष्ठलाई नारायणहिटी बोलाए। ‘सुच्चा सिंहको मुद्दा के भइरहेको छ’ भन्दै सोधखोज गरे। श्रेष्ठले सबै वृत्तान्त बताइदिए। 

उनले नेपाल स्वतन्त्र मुलुक भएको उल्लेख गर्दै न्यायाधीश श्रेष्ठले लिएको अडानको प्रशंसा गरे। भारतलाई लक्षित गर्दै ‘कुनै दबाबसामु नझुक्न’ श्रेष्ठसँग आग्रह पनि गरे। 

‘भारतीय दबाब समक्ष नझुक्न’ न्यायाधीश श्रेष्ठलाई उनले ‘आडभरोसा’ दिए पनि भित्रभित्रै नयाँदिल्ली र दरबारबीच सुलहको प्रयास जारी थियो। यसैक्रममा उनको भारतको अनौपचारिक भ्रमण तय भयो। नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित (सम्पादक– सत्यमोहन जोशी) ‘महेन्द्र स्मृति ग्रन्थ (२०२९) मा उल्लेख भए अनुसार, १ कात्तिक (२०२३) देखि उनले भारत, स्पेन, इरान, फ्रान्स र बेलायतको अनौपचारिक भ्रमण गरेका थिए। 

राजा महेन्द्रको अनौपचारिक भारत भ्रमण सम्पन्न भएपछि २५ पुस (२०२३) मा सुच्चा सिंहको मुद्दाको फैसला भयो। अकाली दलले सुच्चा सिंह आफ्नो सदस्य नभएको जानकारी गराएको, कैरोँ हत्याकाण्डमा संलग्नता पुष्टि भएको उल्लेख गर्दै न्यायाधीश श्रेष्ठले सुच्चा सिंहलाई भारतसमक्ष सुपुर्द गर्नुपर्ने फैसला (सिफारिस) सुनाएका थिए।  

बाहिर देखाउन कानुनी (अदालती) पुरा गरेर नेपाल–भारतबीचको सुपुर्दगी सन्धि अनुसार सुच्चा सिंहलाई भारत समक्ष सुपुर्द गरिएकोे बताइयो। तर, सुच्चा सिंहलाई छिट्टै सुपुर्द गर्ने फैसला गराउन राजा महेन्द्रको दबाबको भूमिका थियो। 

यो कुराको खुलासा तत्कालीन राजदूत श्रीमन् नारायणले आफ्नो त्यही आत्मकथा ‘नेपाल एन्ड इन्डिया ः एन एक्सरसाइज इन ओपन डिप्लोमेसी’ मा गरेका छन्। 

‘भारतीय विदेशमन्त्री सिंहले जसरी पनि सुच्चा सिंहलाई सुपुर्द गराउने वातावरण निर्माण गर्न मलाई भन्नु भएको थियो। तर सुच्चा सिंहको पक्राउपछि नेपाल–भारतबीच जुन अनिच्छित घटना विकसित भयो, त्यो स्थितिमा सुच्चा सिंहलाई सुपुर्दगी गर्नुपर्ने निर्णय काठमाडौँ जिल्ला अदालतबाट गराउनु सजिलो कुरा थिएन,’ आफ्नो आत्मकथामा राजदूत नारायण लेख्छन्, ‘मैले राजा महेन्द्रलाई सुच्चा सिंहको सुपुर्दगीका लागि लगातार अनुरोध गरिरहेँ। नेपाल–भारतबीचका फराकिला स्वार्थहरुको स्मरण गराएँ। मेरो लगातारको अनुरोधपछि उनीहरु सुच्चा सिंहलाई भारत पठाउन राजी भए। यसका लागि म राजा महेन्द्रलाई हार्दिक धन्यवाद दिन चाहन्छु।’ 

सम्भवतः राजा महेन्द्रले चाहे बमोजिम कांग्रेस नेता भरत शमशेरलाई पनि नेपाल समक्ष सुम्पने भारतको ‘वचन’ पछिमात्रै सुच्चा सिंहलाई सुपुर्द गर्ने फैसला भएको थियो। राजदूत नारायणले आत्मकथामा प्रष्टरुपमा यसबारे उल्लेख गरेका छैनन्। तर, यो फैसलाका लागि भित्री लेनदेन भएको संकेत भने आत्मकथाका थप केही पंक्तिहरुले गर्छन्।   

जस्तो कि, राजदूत नारायण लेख्छन्, ‘राजा महेन्द्रले हस्तक्षेप नगरेको भए सुच्चा सिंहको सुपुर्दगी त्यति चाँडो हुने थिएन। तर, नेपाल सरकारले भारत सरकार समक्ष सुपुर्द गर्न आग्रह गरेअनुसारका ‘अपराधी’ हरुलाई भारतीय अदालतमा अझै विचाराधीन रहेको कुरा जानकारी पाउँदा भने मलाई दुःख लाग्यो। नेपालका परराष्ट्रमन्त्रीले विनम्रतापूर्वक यी तथ्य मलाई सुनाएपछि यस विषयमा मैले मेरो सरकारलाई ध्यानाकर्षण गराएको थिएँ।’  

राजदूत नारायणको यो पुस्तक ११ फेब्रुअरी १९७० (२९ माघ २०२६) का प्रकाशित भएको थियो, जतिबेला राजा महेन्द्र जीवितै थिए। तर, राजा महेन्द्रका कारण सुच्चा सिंहबारे त्यो फैसला भएको खण्डन दरबारले गरेन। 

रोमाञ्चक अन्तिम इच्छा, फरक सन्देश
न्यायाधीश श्रेष्ठले गरेको फैसलाको करिब एक महिनापछि सुच्चा सिंहलाई भारत समक्ष सुपुर्दगी गरियो, २० माघ २०२३ मा। २१ माघ (२०२३) को गोर्खापत्रका अनुसार, गौचर विमानस्थलमा नेपाल प्रहरीका तत्कालीन एसपी खड्कजीत बरालले पञ्जाब प्रहरीका डीआईजी (अश्विनीकुमार) समक्ष उनलाई सुपुर्द गरेका थिए। त्यसैदिन जहाजमार्फत् उनलाई नयाँदिल्ली पुर्याइयो। 

कैरोँ हत्याको ५५ वर्षपछि उनका कान्छा छोरा गुरिन्दरसिंह कैरोँले ‘प्रतापसिंह कैरोँ : अ भिजिनरी’ सन् २०२० मा प्रकाशित गरे। इतिहासकारद्वय मीता राजीवलोचन र एम. राजीवलोचनसँग मिली लेखिएको सो पुस्तकमा पुत्र गुरिन्दरसिंह कैरोँले आफ्नो पिताको हत्या राजनीतिक कारणले भएको बताएका छन्। 

हत्यामा पञ्जाब कांग्रेसका तत्कालीन कांग्रेस नेता चौधरी देवीलाल (पछि उपप्रधानमन्त्री) सँगको प्रतिद्वन्दिताको प्रमुख भूमिका रहेको दाबी गरिएको छ। प्रतापसिंह–देवीलालबीचको प्रतिद्वन्दिता र कैरोँ हत्यामा संलग्नलाई माफी दिलाउन चौधरी देवीलालले गरेको प्रयासलाई उनले आधार बनाएका थिए। 

कैरोँ हत्याकाण्ड सम्बन्धी उपरोक्त पुस्तकमा लेखक वर्माले उल्लेख गरे अनुसार नेपाल र भारतका अदालतमा आफूविरुद्ध मुद्दाका क्रममा सुच्चा सिंहले पनि प्रतापसिंह कैरोँको हत्यामा आफ्नो संलग्नता रहेको कहिल्यै स्वीकार गरेनन्। यद्यपि, उनले यो पनि लेखेका छन्, ‘मृत्युदण्डअघि जेलमा रहँदा यससम्बन्धमा चर्चा चल्दा कैरोँको हत्यामा आफ्नो संलग्नता रहेको कुरा अस्वीकार गरेनन्।’ 

रोचक चाहिँ के देखियो भने राजा महेन्द्रको ‘हस्तक्षेप’ पछि न्यायाधीश श्रेष्ठले निकै छिटो सुच्चा सिंहको सुपुर्दगी सम्बन्धी मुद्दा टुङ्ग्याइदिए। तर, सुच्चा सिंहविरुद्ध आफ्नै अदालतमा चलेको मुद्दा टुङ्ग्याउन भारतलाई थप ६ वर्ष लाग्यो। 

मुद्दाको अन्तिम किनारा लागेपछि हरियाणास्थित अम्बाला केन्द्रीय काराकारमा सुच्चा सिंहलाई ३० अक्टोबर १९७२ (१४ कात्तिक २०२९) मा फाँसीमा लट्काएर मृत्युदण्ड दिइयो। 

मृत्युदण्ड कार्यान्वयन हुनेबेलासम्म पनि उनी प्रहरीले आफूलाई फसाएको बताइरहेका थिए। त्यसैले, लेखक वर्माले उल्लेख गरेअनुसार मृत्युदण्डअघि उनले भनेका थिए, ‘मेरो सहादत (मृत्युदण्ड) पछि प्रहरीलाई मेरो शरीर छुनै नदिनू।’   

खेलजीवनबाट अवकाशपछि गाउँमा शान्त जीवन जिउने आफ्नो इच्छा भएपनि त्यसलाई प्रहरीले खल्बलाइदिएको बताउँदै उनले आफ्नो शरीर कुनै पनि प्रहरीले छुन नपाउने उल्लेख गरेका थिए।

महेन्द्रनगरमा रहेका बेला डीआईजी अश्विनीकुमारले सहअञ्चलाधीश घिमिरेलाई सुच्चा सिंहबारे जे भनेका थिए, त्यसले पनि सुच्चा सिंह कस्ता व्यक्ति थिए भन्ने अनुमान गर्न सकिन्छ।

‘विद्यालयमा हुँदा पढाइमा यो निकै तेज विद्यार्थीमा गनिन्थ्यो, पहलमान भए पनि साथीभाइरुहसँग अत्यन्त मिलनसार थियो र सहयोगी थियो,’ डीआईजी अश्विनीकुमारले आफूलाई त्यो बेला भनेका कुरा घिमिरेले पुस्तकमा यसरी उल्लेख गरेका छन्, ‘पछि आएर यसमा एकाएक विद्रोही भावना जाग्यो। आखिर मुख्यमन्त्रीको हत्या गर्नेसम्मको अपराधमा यो अग्रसर भयो।’

प्रख्यात कुस्तीबाज भए पनि ‘उच्छपिण्ड हत्याकाण्ड’ अघिसम्म सुच्चा सिंह शान्त प्रकृतिका मानिस थिए। खेल जीवनबाट अवकाशपछि गाउँ फर्केर उनी समाजसेवामा सक्रिय थिए। उनकै पहलमा अंग्रेजविरोधी आन्दोलनका क्रममा मृत्युदण्ड दिइएका सहिद भगत सिंहको स्मृतिमा पुस्तकालयसमेत स्थापना भएको थियो। 

अब लागौँ– सुच्चा सिंह फाँसीमा लट्कनुअघिको दृश्यतर्फ, जसले खासमा उनी कस्ता प्रकृतिका मानिस थिए भन्ने देखाउँथ्यो। 

फाँसी दिने मिति नजिकिँदै गर्दा उनले आफ्ना दुवै आँखा दान गर्ने घोषणा गरे। आफू मरेर गएपछि अरुले दृष्टि पाउन् भनेर आँखा दानको यस्तो घोषणा गरेका थिए। यो अहिलेको होइन, ५० वर्षअघिको कुरा हो। 

औपचारिकताकै लागि सही, फाँसीको तख्तामा चढनुअघि जेल प्रशासनले सुच्चा सिंहसँग ‘अन्तिम इच्छा’ सोधेको थियो। आफ्नो ‘अन्तिम इच्छा’ उनले लेख्न चाहे। उनलाई कापी–कलम दिइयो। 

अन्तिम इच्छा लेख्नुअघि कापीमा उनले एउटा कविता लेखे, जसमा कैरोँ हत्याकाण्डमा संलग्नताको आरोपमा आफूसँगै झुण्ड्याइन लागेका दुई साथीहरु बलदेव सिंह र नहर सिंहको उच्चा प्रशंसा गरिएको थियो। कवितामा उनले भनेका थिए, ‘हामी दमनको विरुद्ध आवाज उठाइरहेका छौँ। त्यही कारण गौरवपूर्ण सहादतका लागि योग्य छौँ।’

त्यसपछि उनले आफ्नो ‘अन्तिम इच्छा’ लेख्न सुरु गरे। कापीमा उनले ‘अन्तिम इच्छा’ भनेर जे–जे लेखे, वर्माका भनाइमा त्यो भावुक वातावरणमा कापीमा लेखेको ‘अन्तिम इच्छा’ घटनास्थलमा उपस्थितहरुलाई  ‘रोमान्चित’ गराउने खालको थियो।   

‘आफ्नो जीवनको यो अन्तिम आज म आज धुमधामसँग मनाउन चाहन्छु। यसका लागि मलाई फाँसीमा चढाइनुअघि सँगै जेलमा रहेका मेरा साथीहरुलाई मेरो तर्फबाट चिया खुवाउन दिइयोस्, उनीहरुलाई लड्डुपनि बाँड्न पाऊँ,’ उनले लेखेका थिए, ‘सहादतमार्फत् म कीर्तिमान कायम गर्न गइरहेको छु। यो खुसीयालीस्वरुप जेलभित्र तोरण टाँगियोस् र यो खुसीयाली आफूले देख्न पाऊँ।’

उनको ‘अन्तिम इच्छा’ थप निम्न कुरा पनि थिए, ‘म भारतको पूर्वखेलाडी पनि हुँ। त्यसैले, मेरो कीर्तिमान (सहादत, फाँसी) अघि संगीतका साधनहरुमार्फत् धुमधामसँग ब्यान्डबाजा बजाइयोस्। म मरेर जाँदैछु। तर, अन्य कुनै खेलाडीहरुमाथि दमनकारी शासकहरुले यसरी दमनचक्र चलाउन नपाऊन्।’ 

सायद आफ्नो मृत्युका बेला ब्यान्डबाजा बजाइयोस् भन्ने आग्रह उनले आफ्ना परिवारजनसँग पहिल्यै गरिसकेका थिए। त्यसैले, उनको गाउँ बान्सियानबाट आएको गाउँलेहरुको एउटा ठूलो समूहले बिहान ५ बजेदेखि नै जेलबाहिर ब्यान्डबाजा बजाइरहेको थियो।   

‘अन्तिम इच्छा’ मा मृत्युपछि पनि आफूमा ‘शक्ति’ र ‘धैर्यता’ प्राप्त होस् भन्ने चाहना व्यक्त गरेका थिए। ‘मलाई शेर (सिंह) सँग लड्नसक्ने शक्ति प्राप्त होस्,’ त्यसैकारण अन्तिम इच्छामा उनले लेखेका थिए, ‘छत्तीस घण्टासम्म पानीमा उभिएर रहनसक्ने धैर्यता प्राप्त होस्।’ 

त्यसपछि सुच्चा सिंहले जेल अधिकारीलाई ‘अन्तिम इच्छा’ पत्र हस्तान्तरण गरे। मृत्युदण्डका लागि निर्धारित समय ७ बज्नै लागेको थियो। त्यसैले, उनका ‘अन्तिम इच्छा’ पुरा गर्न नसकिने जानकारी जेल अधिकारीले सुच्चा सिंहलाई गराए।

मृत्युदण्डपछि सुच्चा सिंहले दान गरेका आँखा निकालिँदै 

यसप्रति सुच्चा सिंहले कुनै गुनासो गरेनन्। नजिकै फाँसीको तख्ता तयार थियो। तख्तामाथि डोरी झुण्डिरहेको थियो।

बर्मा लेख्छन्, ‘सुच्चा सिंह आफैँले त्यो डोरी आफ्नो घाँटीमा कसे। त्यसपछि सबैले सुन्नेगरी चर्काे स्वरमा एउटा कविता वाचन गरे।’

अन्तिम क्षणमा उनले वाचन गरेको कविता त्यही थियो, जुन उनले आफूसँगै मृत्युदण्ड दिइन लागेका दुई साथीहरुको वीरताको प्रशंसामा केही मिनेटअघि मात्र लेखेका थिए। 

मृत्युदण्ड कार्यान्वयनको जिम्मा पाएको मान्छेले उनी झुण्डिने गरी डोरी तानिदियो। उनी झुण्डिए। प्राणपखेरु उड्न थप केही मिनेट लाग्यो। तर, फाँसीको तख्तामा झुण्डिएपछि मृत्यु हुँदासम्मको अवधिमा निकै शान्त देखिए, उनी कत्ति चल्मलाएनन्। 

‘शान्त जीवन’ बिताउन चाहँदाचाहँदै ‘उच्छापिण्ड हत्याकाण्ड’ पछि आफ्नो जीवन अशान्त हुन पुगेको गुनासो गरिरहन्थे उनी। त्यसैले होला, घाँटीमा पासो कसिएपछिको पीडाका बीच पनि उनले शान्त देखिनु नै उपयुक्त हुने ठाने। 

सुच्चा सिंहलाई झुण्ड्याइएलगत्तै बाँकी दुईजना बलदेब सिंह र नहर सिंहलाई झुण्ड्याएर मृत्युदण्ड दिइयो।

सुच्चा सिंहको मृत्युपछि उनको शव खटियामा राखियो। उनले दान गरेका दुबै आँखाहरु निकालिए। उनको शव दाजु गुरमित सिंहलाई हस्तान्तरण गरियो। कत्ति ढिलाइ नगरी परिवार र शुभेच्छुकहरुले सुच्चा सिंहको शव ट्रकमा राखेर वीर बासियान गाउँ पुर्याए।  

‘सुच्चा सिंहको प्राणविहीन शरीर चितामा राखिएको थियो, आगो सल्काएपछि एकैक्षणमा उनको शरीर जलेर खरानी भयो। जे होस्, एउटा ‘खुंखार अपराधी’ को जीवन समाप्त भएको थियो,’ वर्माले आफनो पुस्तकमा लेखेका छन्, ‘तर, उनका दुई आँखा भने जीवितै थिए। सायद ती आँखामार्फत् सुच्चा सिंह आफूसँगै मृत्युदण्ड दिइएका दुई साथी (बलदेव सिंह र नहर सिंह) को अन्तिम नियति के हुँदैछ भन्ने हेर्न चाहन्थे।’ 

यो त भारतीय लेखकको कथन भयो। मलाई लाग्छ– सुच्चा सिंह दान गरिएका आँखामार्फत् नेपाली शासकहरुको ‘दोगला चरित्रको राष्ट्रवाद’ नियालिरहन चाहन्थे, जो बाहिर–बाहिर भारतसँग झुक्नु हुँदैन भन्थे। भित्रभित्रै भने भारतीय शासकहरुसँग मोलमोलाइ गरेर स्वार्थसिद्ध गर्न पछि पर्दैनथे।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .