ad ad

म्यागेजिन


गायिका शान्तिश्रीको मातृत्व अनुभव : आमा बन्नुअघि छोरी बन्ने संघर्षमा बिते १० वर्ष

गायिका शान्तिश्रीको मातृत्व अनुभव : आमा बन्नुअघि छोरी बन्ने संघर्षमा बिते १० वर्ष

राधिका अधिकारी
माघ २२, २०७९ आइतबार २१:३१, काठमाडौँ

आँखाले हेरेर नभ्याउने पाखोबारी, तर त्यहाँ भएको उब्जनीले केही महिना धान्न पनि मुस्किल हुन्थ्यो। रोल्पामा जन्मिएकी शान्तिश्री परियारको बाल्यकाल अभावमा बित्यो। बा–आमा निरक्षर थिए, चरम गरिबीमा पिल्सिएका शान्तिका बुबा ज्यामी काम गर्न सदरमुकाम लिवाङ झर्थे। 

तीन छोरा, चार छोरीको जिम्मेवारी उठाउन ज्यामी काम गरेका बुबाले आफ्ना छोराछोरीलाई पढाउन सकेनन्। आमा खेतबारीको काममा व्यस्त हुन्थिन्। माइली छोरी शान्तिको बाल्यकालको धेरै समय भाइबहिनीको रेखदेखमा बित्यो। भन्छिन्, ‘अहिले पो एकदुई जना बच्चा हुन्छन्। उनीहरुका लागि भनेर समय छुट्टाइन्छ। त्यो बेला धेरै बच्चा, घरको अवस्था पनि त्यस्तै। हुर्किएका हामीले हामीभन्दा सानाको जिम्मेवार बहन गर्नु पर्थ्यो। मैले पनि गरेँ।’

बुबाले एकदिन निधो गरे, ‘परिवार सहित सदरमुकाम नै बस्छु।’ गाउँको घर छाडेर सदरमुकाममा डेरा सरेपछि बुबाले शान्तिलाई स्कुल भर्ना गरिदिए। शान्तिले ७ वर्षको उमेरमा स्कुल टेकेकी हुन्। 

जेहेन्दार विद्यार्थी थिइन्। तर उनले घरको अवस्थाका कारण उच्च शिक्षा हासिल गर्न पाइनन्। पढ्ने इच्छा हुँदाहुँदै पनि पढ्न नपाउँदाको पीडा अहिले सम्झिनु छैन उनलाई। भन्छिन्, ‘अवस्थाले नदिएर नपाएका अवसरहरुसँग गुनासो गरेर पो के गर्नु?’

आमाभित्र के क्षमता थियो होला, के रहर थियो होला, रहर खुम्चाएर बाँचिरहँदा उनकी आमाको मन दुख्यो कि दुखेन, शान्तिलाई हेक्कै भएन। आमा तिहारका बेला माइतीको आँगनमा दिदी र बहिनीसँग भाका मिसाउँथिन्। शान्तिकी सानिमा भने गाउन पोख्त, शान्तिलाई गीत गाउन उक्साइरहन्थिन्। एकदिन आँगनमा बसेर मकैका खोसेला नङ्ग्याइरहेकी उनकी सानिमाले दोहोरी सुरु गरेर फर्काउन भनिन्। शान्तिले त्यो दिन सानिमासँग निकै समय दोहोरीका टुक्कामा सवाल–जवाफ गरिन्। वरिपरिका सबैले भने, ‘यति सानो मान्छेले कति राम्रो गाएको! यो त पछि गाएर गायिका हुन्छे।’ 

यो सदरमुकाम झर्नुअघिकै कुरा थियो।

सदरमुकाम आएर स्कुल भर्ना भएको अर्को वर्ष बालदिवसमा शान्तिले गीत गाउने अवसर पाइन्। शान्तिकी हजुरआमा सानैमा बितिन्। उनका बुबा सौतेनी आमाको दकसमा हुर्किए। शान्तिका बुबा बेलाबेला आफ्नो दुःखको कथा छोराछोरीलाई सुनाइरहेका हुन्थे। शान्तिले त्यही कथा गीतमा उनेर गाइन्। उनी प्रथम भइन्। गीत गाउन जाँदा फित्तावाल चप्पल पड्काउँदै गएकी उनले जुत्ता–मोजा पुरस्कार जितिन्। उनका लागि त्यो बहुमूल्य थियो। 

त्यसपछि उनका स्कुलका सरहरुले भने, ‘यो केटी भविष्यमा गाएर खाने मान्छे हो।’ ८/९ वर्षकी शान्तिले सरले भनेको कुरा बुझिनन्। तर, त्यसपछि स्कुलमा हुने हरेक कार्यक्रममा शान्तिले गीत गाउन थालिन। स्कुलमा चाहिने कापी, कलम, किताबमा उनका बुबाले लगानी गर्नु परेन। 

लगातार ४ वर्ष शान्तिले अन्तरस्कुलस्तरीय गायन प्रतियोगिता जितिन्। सबैले कति राम्रो गाएको भनेर हौसला दिए। शान्तिलाई लाग्यो, संसारमा गीत गाउँदा जति आनन्द अरु केही गरेर आउँदैन होला। ५ कक्षामा पढ्दै गर्दा उनले एउटा जिल्लास्तरी प्रतियोगितामा भाग लिइन्। जहाँ शिक्षकदेखि प्रहरीसम्म सहभागी थिए। तर, सबैभन्दा सानी शान्तिले प्रथम स्थान हासिल गरिन्। त्यसपछि उनको लोकप्रियता चुलियो। शान्तिलाई त्यतिबेला लागेको थियो, ‘यो भन्दा त के चाहियो र!’

प्रहरी बन्ने सपना
जिल्लास्तरीय प्रतियोगिता जितेपछि शान्ति क्षेत्रीयस्तरका प्रतियोगितामा भाग लिन थालिन्। त्यो समय उनका मिल्ने साथी थिए, सविना सुबेदी र लक्ष्मी सुबेदी। शान्ति क्षेत्रीय स्तरको गायन प्रतियोगितामा भाग लिन प्युठान पुगेका बेला सविना र लक्ष्मी माओवादी सेनामा गए। उनीहरु नभएपछि शान्तिले एक्लो महसुस गरिन्। उनलाई साथीहरु भविष्य बनाउन गए, मेरो भविष्य अन्यौलमा पर्ने भयो भन्ने लाग्यो। उनले पनि साथीहरुसँगै माओवादीमा जाने मन गरिन्। तर उनकी आमाले भनिन्, ‘त्यहाँ त मारिदिन्छन् अरे छोरी जानु हुँदैन।’ 

गायनका थुप्रै कार्यक्रममा भाग लिदा शान्तिले प्रहरीले गरेको सेवा देखेकी थिइन्। उनलाई राम्रो भनेकै प्रहरी हो भन्ने छाप परेको थियो। रोल्पाका तत्कालीन डीएसपी शरदकुमार खत्री, सेनाका कर्णेल लवकुमार रायमाझी शान्तिलाई निकै माया गर्थे। उनले गीत गाएको तस्बिर खिचेर, धुलाएर उनका बुबा–आमालाई दिन्थे। शान्ति उनीहरुबाट प्रेरित भइन्। गाउँदा गाउँदैको सपना परिवर्तन गरिन् र प्रहरी बन्ने सपना देखिन्। त्यतिबेला प्रहरीमा जागिर खुलेको पनि थियो। शरदकुमारले सहयोग गर्छु पनि भनेकै हुन्। तर शान्तिको उमेर १५ वर्षको मात्रै थियो। उनको नागरिकता समेत बनेको थिएन। शान्तिको प्रहरी बन्ने सपना पुरा हुन सकेन।

५ सय रुपैयाँ र एकजोर कुर्ता सुरुवाल बोकेर काठमाडौं
१६ वर्षको उमेरमा शान्ति ५ सय रुपैयाँ र एकजोर कुर्ता सुरुवाल जेब्रा झोलामा बोकेर काठमाडौं आइन्। उनलाई काठमाडौं आएर गायिका बन्नु थियो। शान्तिको साथमा थिए प्रकाश जिसी। पहिलो पटक काठमाडौं छिरेकी शान्तिका लागि यहाँको बाटो बिरानो थियो। बास र गाँसको टुङ्गो थिएन। आफन्त कोही थिएन। त्यो समय सबै कुराको व्यवस्था प्रकाशले नै गरिदिए। शान्ति आज सफलताको माथिल्लो सिँढीमा पुगेकी छिन्। र, पनि पुराना दिन बिर्सिन सक्दिनन्। भन्छिन्, ‘प्रकाश दाइ र म यो जन्ममा एउटै कोखबाट जन्मिन पाएनौँ। तर उहाँले मेरो जीवनमा दिएको साथ आफ्नै दाजुको भन्दा कम थिएन।’ 

काठमाडौंै आएपछि गीता खड्कासँग प्रकाशले चिनजान गराइदिए। गीता त्यतिबेला डेरामा मिलेर बस्ने साथीको खोजीमा थिइन। शान्ति केही समय सरकारीधारामा गीताकी रुम पार्टनर भएर बसिन्। 

काठमाडौंमा आउँदा शान्तिको एउटै सपना थियो गायिका बन्ने। उनले दोहोरी साँझमा काम गर्न थालिन्। ‘त्रिवेणी त्रिशुली’नामको दोहोरी साँझबाट शान्तिको जागिरे जीवन सुरु भयो। त्यो नचलेको दोहोरी रहेछ। शान्तिहरु गीत गाउँथे। मनिसहरु आउँदैनथे। उनले त्यहाँ १६ दिन काम गरिन्। दुई दिन केही मानिस आए। दोहोरीमा मानिस आउँदा शान्तिलाई घरमा पाहुना आएको जस्तो महसुस भयो। शान्तिलाई लाग्थ्यो, ‘दोहोरी साँझ भनेकै यही होला।’

‘तर होइन रहेछ, त्यहाँ त हेर्ने, खाने मान्छे आउनु पर्ने रहेछ। दोहोरी साँझमा आएका मानिसहरुको फर्माइसमा गाउनु पर्ने रहेछ। यो कुरा अर्को दोहोरी साँझमा काम गर्न थालेपछि थाहा पाएँ,’ उनले सुनाइन्।

‘त्रिवेणी त्रिशुली’मा काम गरेको १६ दिनको दिन शान्तिलाई अर्को राम्रो दोहोरीबाट अफर आयो। त्यो दिन गाउन उनकी साथी अनिता खड्कालाई बोलाइएको थियो। अनिताले भनिन्, ‘म जान्नँ। तिमी नयाँ छौँ, तिम्रो गीत मन परेर साहुले त्यहाँ राख्यो भने राम्रो हुन्छ, तिमी जाऊ।’ शान्तिले गएर गीत गाइन्। त्यहाँको माहौल अर्कै थियो। मानिसहरुको भीड ज्यादा। शान्तिले दंग परेर गाइन्। नभन्दै दोहोरीका सञ्चालक यम श्रेष्ठले शान्तिलाई जागिरको अफर गरे। 

शान्तिले भनिन्, ‘उता धोका दिएको जस्तो हुन्छ होला!’

यमले सोधे, ‘त्यहाँ तिमीलाई कति तलब दिन्छ?’ उताका साहुसँग शान्तिको पारिश्रमिकको विषयमा कुरा भएकै थिएन। उनीसँग दोहोरी गाउँदा लागाउने गुन्यूचोली पनि थिएन। उनीसँग जम्मा दुई वटा कुर्ता सुरुवाल थिए। त्यही पालो गरेर लगाउँथिन्। तर शान्तिले भनिन्, ‘४ हजार दिन्छ।’ 

शान्ति भन्छिन्, ‘मैले आफ्ना लागि बोलेको यो झुट सधैँ सम्झिन्छु।’ 

यमले अविश्वास गरे। शान्तिले मसिनो स्वरमा भनिन्, ‘विश्वास नलागे गएर सोध्नु न।’ थापा उनलाई ४ हजार तलब पदन तयार भए। शान्ति खुसी भएर त्यो ‘रमाइलो चौतारी दोहोरी साँझ’मा काम गर्न थालिन्। शान्तिले त्यहाँ २ वर्ष काम गरिन्। भन्छिन्, ‘यो दुई वर्षमा मेरो जीवनमा थुप्रै परिवर्तन भए। थुप्रै कुरा सिकेँ।’

दोहोरीमै भेटिए नारायण
शान्तिले ‘रमाइलो चौतारी दोहोरी साँझ’मा काम गर्न थालेको केही दिन भएको थियो। दोहोरीमा नारायण भुजेल पुगे। त्यतिबेला नारायण थापाथलीमा एक चाइनिज रेस्टुँरामा काम गर्थे। नरायणको रुचि गायनमा थियो। त्यो दिन नारायणले शान्तिकी साथीसँग गीत गाए। उनले गाएको गीतमा सूर–ताल केही थिएन। शान्तिलाई लाग्यो, ‘यो मान्छेले कस्तो बेसुरा गीत गाएको!’ 

शान्तिलाई के थाहा थियो र त्यही बेसुरा गीत गाउँने मान्छे उनको जीवनको सुर समात्न आइपुग्छ भनेर। 

अर्को दिन नारायणले शान्तिसँगै गीत गाए। त्यतिबेला नारायण आफ्ना बाबुको बरखी बारेर बसेका थिए। नारायणले त्यही पीडा गीतमा गाए। शान्तिले के–के तुक्का फर्काइन् याद छैन। शान्तिले फर्काएको त्यही तुक्काले यी दुईको मित्रता गाँसियो। त्यसपछि शान्ति र नारायणले लगातार १ वर्ष फोनमा कुरा गरे। तर शान्तिलाई आज याद छैन, त्यो समय उनीहरुले फोनमा के कुरा गरे। 

काठमाडौं, थापाथलीस्थित रेस्टुरेन्टमा कार्यरत धादिङका नारायण भुजेलसँग शान्तिको माया बस्यो। शान्ति त्यतिबेला संघर्षको पहिलो चरणमा थिइन्। नारायणले उनलाई साथ दिए, माया दिए। ४ वर्षको प्रेमलाई नारायण र शान्तिले विवाह गरे। शान्ति खुसी सुनिन्छिन्, ‘हामी एक–अर्कालाई अथाह प्रेम गर्थ्यौं अहिले पनि गर्छौै र सधैँ गरिरहन्छौँ।’

विवाहपछि गीत रेकर्ड
शान्तिले गाएको देखेर गायनमा उनको उज्यालो आगतको धेरैले कल्पना गरेका थिए। यो सम्भावनाको सपना नारायणले पनि देखेका थिए। त्यसैले विवाह गरेकै वर्ष उनले शान्तिको आवाजमा गीत रेकर्ड गराए। नारायणले त्यतिबेला शान्तिको गीत निकाल्न ५० हजार ऋण काढेका थिए। शान्तिले पहिलोपटक ‘घर छ तीन तले’बोलको गीत गाइन्। गीत चलेन। नारायणले सघाउन गर्न छाडेनन्। शान्तिले गाउन र गायनमै सपना बनाउन छाडिनन्। 

२०६९ मा निकालेको ‘एकतर्फी माया’ले शान्तिलाई गायनमा चिनायो। उनी व्यस्त गायिका बनिन्। उनले गाएका गीत औसतमा चले। शान्तिलाई ‘बोल माया’ले हिट बनायो। ‘गलबन्दी च्यातियो’बोलको गीतले त उनलाई दोहोरी क्षेत्रकी नम्बर वान गायिका बनायो। तर यो नम्बर वानको ट्याग भिर्न भने उनी तयार छैनन्। 

भन्छिन्, ‘म सामान्य मान्छे हुँ। गाउन जन्मेको मान्छे। योभन्दा अघि पनि म कामको हिसाबले व्यस्त थिएँ। कमले चिन्नुहुन्थ्यो त्यो अर्कै कुरा। पपुलारिटीको पनि त आफ्नै समय हुन्छ। यो लोकप्रियता कम भएको दिन पनि म गायनमै हुनेछु।’

विवाहको १० वर्षपछि आमा
शान्तिलाई सधैँ लाग्थ्यो, ‘मेरो लागि त गर्छु जीवनमा।’ उनलाई आफूलाई भन्दा पहिला बुबा–आमाका लागि गर्नु थियो। बुबाआमाको आफ्नो घर थिएन। बुबाले साना छोराछोरी बोकेर कति ठाउँमा डेरा सारे, त्यसको हिसाब छैन। शान्तिको सबैभन्दा ठूलो सपना बुबा–आमालाई आफ्नै छानोमुनि राख्नु थियो। नारायणका बाबुआमा दुवै बितिसकेका थिए। उनले पनि भने, ‘मेरा बुबा आमा हुनुहुन्न, मैले चाहेर पनि केही गर्न सक्दिनँ। तर तिम्रो त हुनुहुन्छ, उहाँहरुको लागि सकेको गर्नु पर्छ।’ 

त्यसपछि शान्तिले नारायणको कमाइ पनि भाइबहिनीको पढाईमा लगानी गरिन्। भन्छिन्, ‘दसैँ मान्ने खर्च र वैशाखमा भाइबहिनीलाई स्कुल भर्ना गर्ने, नयाँ किताब र ड्रेस किन्ने पैसा मसँग हुनुपर्थ्यो।’ यसमा उनलाई नारायणले साथ दिए। 

शान्तिको सपना आफ्नो लागि महल थिएन। चलेपछि शान्ति धेरै त यात्रामै हुन्थिन्। उनी भगवानसँग कामना गर्थिन्, ‘हे भगवान म त धेरै यात्रामा हुन्छु। कुनै दिन म बाटोमै मर्न पनि सक्छु। त्यो भन्दा अगाडि म मेरो बुबाआमाको लागि केही गर्न सकौं।’ उनको त्यो गरिन् पनि। अहिले लिवाङमा उनका बुबाआमा आफ्नै घरमा बस्छन्। आफ्नै खेतमा उब्जिएको खान्छन्। त्यसपछि बल्ल शान्तिले आफू आमा बन्ने योजना बनाइन्। भन्छिन्, ‘म आमा बन्नुभन्दा पहिला छोरी बन्नु थियो। छोरी बन्ने संघर्षमा मैले १० वर्ष बिताएँ।’

यो १० वर्षमा शान्तिका कानमा अनेक पटक ‘बच्चा कहिले’ भन्ने प्रश्न ठोक्कियो। कहिले साथीले, कहिले आफन्तले बारम्बार प्रश्न गर्दा शान्तिको मन कति पटक गाँठो पर्यो र फुट्यो।  उनकी आमाले पनि भन्थिन्, ‘छोरी अब विचार गर् है। छोरी तँलाई आफ्नो बच्चा र आफू सराबरीको भएर हिँड्न रहर लाग्दैन?’ तर उनले ‘त्यो रहर किन लागेको छैन’ भनेर आमालाई कहिल्यै सुनाइनन्। मनमनै भन्थिन् ‘आमा त्यो भन्दाअघि मलाई एउटा जिम्मेवार छोरी त हुन दिनु न।’

योजना बनाउनासाथ गर्भवती
बच्चाको योजना बनाएको छोटो समयमै शान्ति गर्भवती भइन्। नारायण र शान्तिले आमा–बुबा बन्ने निधो गरेपछि शान्ति निकै उत्साहित थिइन्। कुरा गरिरहन्थिन्। एकाएक शान्तिलाई आफू परिवर्तन भएको महसुस भयो। शान्तिलाई लाग्यो ‘अब म आमा बन्दै छु।’ यो शंका उनले नारायणलाई सुनाइन्। उनले सुने र टारिदिए। शान्तिलाई चित्त दुख्यो। उनलाई लाग्यो, ‘किन यो विषयमा कुरै गर्न नचाहेको होला?’

एकदिन आफूमा आएको परिवर्तन गायिका जमुना सनमलाई सुनाइन्। उनले पनि हो भनेपछि मेडिकलमा गएर ‘प्रेगनेन्सी किट’ किनेर ल्याइन्। आफैंले चेकअप गरिन। रिपोर्ट पोजिटिभ आयो। कोरोनाकाल थियो। बाहिरको काम थिएन। नारायण घरकै केही सामान लिन बाहिर गएका थिए। घर आएपछि शान्तिले रिपोर्टको फोटो देखाइन्। नरायणले उनलाई जुरुक्क बोकेर घुमे। चुम्बन गरे। अनि शान्तिले प्रश्न गरिन्, ‘यति खुसी हुने मान्छेले किन चासै नदिएको त?’ नारायणले भने, ‘लामो समयपछिको प्लानिङ, तिम्रो उत्साहले गर्दा म डराएको थिएँ। तत्काल भैहालेन भने तिमीले नराम्रो मान्ने होला भनेर केही कुरा नगरेको।’

गर्भावस्थाका सुरुवाती केही दिन शान्तिका लागि निकै कष्टकर भए। खाना खान भएन। उनलाई जे खाए पनि टाउकोमा पुगेको जस्तो महसुस हुन्थ्यो। टाउको उठाउन सक्दिनथिन्। एकदिन गीत गाउन स्टुडियो गएकी थिइन्। कोरोनाको समय थियो। बाहिरको खाने कुरा खान सक्ने अवस्था थिएन। घरबाटै भाइले टिफिनमा फलफूल काटेर हालिदिएका थिए। काँक्रो खाएपछि टाउकोमा गएर बसेको महसुस भयो। गीत गाएर घर फर्किएपछि निकैबेर बान्ता गरिन। त्यतिबेला शान्तिले खाना नखाएको ४ दिन भएको थियो। नारायणले ‘सागमा झोल हालेर भात पकाइदिम्’ भने। खै किन हो, शान्तिको मन हरर भयो। उनले ‘हुन्छ’ भनिन्। त्यो साँझ साग र भात पेटभरि खाइन्। त्यसपछि उनलाई बान्ता भएन। शान्ति भन्छिन्, ‘मलाई त गर्भावस्थाको बेलामा निकै रमाइलो लाग्थ्यो।’ तर उनले गर्भावस्थाभरि काँक्रो भने खान सकिनन्। 

उनलाई त्यो बेला पोलेको मकै निकै मन पर्थ्यो। नरायण कहीँ मकै पालेको देखे बोकेर आउँथे। जमुना सनम त्यसै गर्थिन्। नारायण उनले खाएको देखेर खुसी हुन्थे। राम्रो ख्याल गर्थे। शान्तिले गीत गाउन छोडिनन्। गर्भावस्थाको बेलामा पनि उनले दिनको २/३ वटा गीत गाइन्। एकदिन शान्ति निकै उत्साहित थिइन्। साथीले भनिन्, ‘मलाई बच्चा हुनेबेला डिप्रेसन नै भएको थियो, तँलाई पनि पक्का हुन्छ।’ शान्ति रिसाइन। यस्तो हुनसक्छ नआत्तिनु भन्नु पर्ने ठाउँमा पक्का हुन्छ भनेर डर देखाउने भनेर गाली गरिन्। तर उनी आफूभित्र भने केही डराइन्। यो कुराबाट बाहिर निस्कन उनलाई समय लाग्यो। उनी गर्भवती भएका बेला देश लकडाउनमा थियो। कयौं कलाकार काम नपाएको पीडामा थिए। शान्ति भने दिनकै तीनचार वटा गीत गाउँथिन्। त्यसैले पनि उनले धेरै सोच्ने समय पाइनन्। 

शान्तिले गर्भावस्थाका बेलामा गाएको गीत ‘हातैको पैजाले’ हिट भयो। यतिबेला शान्तिको गर्भमा ७ महिनाको बच्चा थियो। हाइ रेन्जको गीत गाउँदागाउँदै शान्तिलाई बच्चा कोखाबाट निस्कियो जस्तो भएको थियो। उनले पेटमा हात राखेर भनिन्, ‘मैले तिमीलाई दुःख दिएँ नि बाबा।’ केहीबेर रोकिएर उनी फेरि गाउँथिन्। त्यो समय नारायणले गरेको हेरचाह शान्तिका लागि जिन्दगीको सबैभन्दा सुन्दर पक्ष थियो। भन्छिन्, ‘मैले पेटमा बच्चा बोकेँ, अरु सबै श्रीमानले गर्दिनुहुन्थ्यो।’

छोरीको जन्म
शान्तिलाई बिनाअप्रेसन आमा बन्ने रहर थियो। उनकी आमाले त्यति धेरै बच्चा कसरी जन्माइन् होला, महसुस गर्नु थियो। उनकी बहिनी भन्थिन्, ‘त्यस्तो कुरा नगर्नु दिदी, कस्तो गाह्रो हुन्छ होला।’ 

उनी भन्थिन्, ‘सजिलोसँग त के बच्चा पाउनु।’ 

बैनी, ‘सक्नुहुन्न होला।’

‘सक्छु नि।’ 

तर, नर्मल तरिकाले बच्चा पाउने उनको रहर पुरा भएन। अन्तिम जाँचका लागि जाँदा डाक्टर बच्चाको घाँटीमा नाल बेरिएको सुनाए। अलिकति गाह्रो हुनेबित्तिकै अस्पताल आउन भनिन्। उनले त्यतिबेला डाक्टरलाई सोधिन्, ‘नर्मल बच्चा पाउन के गर्नु पर्छ होला?’ डाक्टरले रुखो स्वरमा भने, ‘नर्मल भनेको कस्तो?’ शान्तिको मन कुँडियो। उनी घर गइन्। 

त्यसको केही दिनपछि शान्तिलाई डेलिभरीको समय आयो भन्ने भयो। डाक्टरले अप्रेसन गर्नुपर्छ भनेका थिए। अप्रेसन गरेपछि धेरै दिन मन लागेको खानेकुरा पाइँदैन भन्ने भयो। उनले नारायणलाई कोरियन खाना खान मन लागेको सुनाइन्। नरायणले लिएर गए। त्यही साँझ चितवनको तास खान मन लाग्यो। भोलिपल्ट बिहानबाट उनको बच्चा चलेन। उनको आफ्नै शरीर पनि शिथिल भएको थियो। हरेकदिन बिहान शान्तिले पानी खाँदा बच्चा बुर्लुक्क चल्थ्यो। त्यो दिन पानी खाइन् बच्चा चलेन। खाना खाइन् बच्चा चलेन। नारायण काम विशेषले बाहिर निस्केका थिए, फोन गरिन्। उनी घर फर्किए। उनी बेस्मारी रोइन्। भनिन् ‘बच्चा चलेन।’ उनले अस्पताल लिएर गए। अस्पतालको गेटमा पुगेपछि उनको बच्चा चल्यो। नरायणलाई च्याप्प समातेर भनिन्, ‘बच्चा चल्यो घर जाम।’ नारायण मानेनन्। त्यही दिन उनी अस्पताल भर्ना भइन्।

डाक्टरले त्यो दिन पनि उनलाई रुखो वचन लगाए। उनले भनेकी थिइन्, ‘मेरो बच्चा अहिले त राम्रोसँग चलेकै छ, म जान्छु।’ डाक्टरले भने, ‘आउनु म एउटा पेपर दिन्छु, त्यसमा सिग्नेचर गरेर आफ्नै रिस्कमा जानुस्।’ शान्ति झसंग भइन्। डराइन्। मन पनि दुख्यो। नरायणले सम्झाए, ‘एक रात बसेर के भयो त।’ उनी अस्पताल भर्ना भएर बसिन्। नारायणले त्यही राति घर गएर शान्तिका लुगा लिएर आए। शान्ति त्यतिबेला पनि भनिरहेकी थिइन्, ‘म भोलि घर जाने हो, किन यति धेरै लुगा ल्याएको।’ डाक्टरले उनलाई एउटा कागज दिएर भनेका थिए, ‘बच्चा जतिपटक चल्छ त्यतिपटक यो कागज च्यात्नु है।’ उनले बिहानसम्म त्यो कागजको चारवटा माला बनाइसकेकी थिइन। 

भोलिपल्ट बिहानै डाक्टरले आएर रेडी हुन भने। उनलाई थाहै थिएन केको लागि तयार हुन् भनेका हुन्। उनले सोधिन्। डाक्टरले अप्रेसनका लागि भनेपछि उनी पुनः डराइन्। उनले अप्रेसनमा जानुअघि अस्पतालको गाउन लगाएर सेल्फी खिचिन्। उनीसँगै अस्पतालका नर्सहरु पनि रमाए। अप्रेसन पस्नुअघि शान्तिले श्रीमानलाई चुम्बन गरिन्। नारायणले पनि उनको निधारमा चुमे। शान्तिका आँखाबाट आँसु झरे, नारायण रुन सकेनन्। त्यही दिन शान्तिले अप्रेसन मार्फत छोरीलाई जन्म दिइन्। 

अप्रेसन गर्दा उनी एकोहोरो बोलिरहिन्। अर्धचेत अवस्थामा उनले के के बोलिन त्यति याद छैन। तर उनले डाक्टरसँग कुरा गरिरहिन। उनलाई अहिले पनि सम्झना छ, डाक्टरले अब नबोल्नु है अब बोल्यो भने टाँका खुस्कन्छ भनेका थिए। 

अप्रेसन गरेको भोलिपल्ट सायद शान्तिको पूर्ण होस आइसकेको थिएन। उनी उठिन्। उठेपछि एकैपटक अन्धकार भएर आयो। उनले मेरो छोरी मात्रै भनेकी थिइन्। नारायण र उनकी भान्जी भएर बोकेर बेडमा लगे। अप्रेसनपछि उनी निकै कमजोर भइन्। भन्छिन्, ‘अप्रेसन त कसैको गर्नु नपरोस् भन्ने लाग्छ तर के गर्नु समय यस्तो छ।’ 

उनकी आमा पनि भोलिपल्ट अस्पताल आइन्। आमालाई देखेर उनका ओठ बोले, आवाज आएन। आँखाबाट आँसु आयो, बोली आएन। आमा छोरी केही नबोली रोइरहे।

शान्ति ४ दिनमा घर फर्किन्।

४० दिनमा काममा फर्किइन्
शान्ति छोरी जन्मिएको ४० दिनपछि गायनमा फर्किन्। उनको घाउ दुख्न छोडेकै थिएन।  एक घण्टा उभिएर गीत गाइन्। ‘लाउन्न दाजै पीरती’ शान्तिले ४० दिनकी छोरी बोकेर गाएको गीत हो। छोरी जन्मिएपछि उनले गाएका तर चर्चामा नआएका पुराना गीत हिट भए।

शान्ति भन्छिन्, ‘छोरी मेरो लागि निकै शुभ छिन्।’ छोरी हुर्कंदैछिन्। उनकी छोरी २ वर्षकी भइन्। शान्ति गीत/संगीतमै व्यस्त छिन्। उनलाई बेलाबेला घरमा सासूससुरा नहुँदा बच्चाको हुर्काइमा कमी भयो भन्ने लाग्छ। उनले एकदिन नारायणलाई भनिन्, ‘अरुको देख्दा कस्तो रमाइलो लाग्छ। हाम्रो पनि आमा भएको भए कस्तो हुन्थ्यो होला है।’ नारायणले भने ‘यस्तै अगाभीसँग परिस्।’ शान्तिले त्यसपछि कहिल्यै यो कुरा कोट्याएकी छैनन्। शान्ति हिजोआज छोरीसँग विभिन्न पाठ सिकिरहेकी हुन्छिन्। भन्छिन्, ‘केटाकेटी सिकाइको ठूलो पाठशाला हुने रहेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .