ad ad

म्यागेजिन


गायिका जानकीको मातृत्व अनुभव : बाँच्दिनँजस्तो लागेर श्रीमानसँग अन्तिम सेल्फी खिचेँ

गायिका जानकीको मातृत्व अनुभव : बाँच्दिनँजस्तो लागेर श्रीमानसँग अन्तिम सेल्फी खिचेँ

अहिलेकी चर्चित गायिका जानकी तारमी मगरको बाल्यकाल सुर्खेतको लगम गाउँमा बित्यो


राधिका अधिकारी
पुस ३०, २०७९ शनिबार १०:२४, काठमाडौँ

अहिलेकी चर्चित गायिका जानकी तारमी मगरको बाल्यकाल सुर्खेतको लगम गाउँमा बित्यो। खेतीपाती गर्ने जानकीका बुबा अरु बेला पैसा कमाउन भारत पस्थे। उनका बुबाको काँधमा ७ जना छोराछोरीकी जिम्मेवारी थियो। द्वन्द्वको समय, बुबा घरमा नहुँदा जानकी धेरै डराउँथिन्। उनका दाजुदिदी रातको समयमा आँगनमा बज्ने पदचापसँग पिताको आश गर्थे, जानकी भने डरले लुगलुग काँप्थिन्। 

जानकी ७ दाजुदिदीकी कान्छी बहिनी हुन्। उनकी आमाले १२ सन्तानलाई जन्म दिइन्। ५ सन्तानलाई हुर्काउन पाइनन्। जानकी जन्मिएपछि उनकी आमाको महिनावारी रोकियो र उनले अन्य सन्तान जन्मउन मृत्युसँग संघर्ष गर्नु परेन। जानकीलाई उनकी आमाले ४५ वर्षको उमेरमा जन्माएकी हुन्। नचिन्नेहरुले आमालाई सोध्थे, ‘हजुरकी नातिनी हो?’ यही प्रश्नले गर्दा जानकी आमासँग हिँड्न लजाउँथिन्। अहिले सम्झिँदा आफ्नो त्यो अवोधपनाले आमाको मन कति दुखायो होला भन्ने लाग्छ। आफैँ आमा भएपछि भने बाल्यकालका कतिपय घटनाक्रम सम्झिएर जानकीलाई आमाको झन् धेरै माया लागेर आउँछ। 

गाउँमा खेतबारी प्रशस्त थियो। अन्नको दुःख थिएन। अहिलेजस्तो त्यतिबेला आफ्नो खेतबारीमा उब्जेको अन्नबाली बेचेर आर्थिक उपार्जन गर्ने चलन थिएन। घरमा पैसाको दुःख हुन्थ्यो। उनका बुबा वर्षेनि पैसा कमाउन भारत जान्थे। आमा मेलापातमा आफ्नै लयमा श्रीमानको सम्झना गाउँथिन्। आमाले लुकेर गाएका ती भाकाहरुमा जानकीले बुबाप्रतिको अगाध प्रेम देखेकी थिइन्। सायद यही प्रेमले होला जानकीको मनले सानैबाट गीत/संगीतलाई प्रेम गर्यो। 

उनका दाजु–दिदी पनि गीत गुन्गुनाइरहन्थे। जानकीलाई अहिले पनि दाजुदिदीको स्वर निकै सुरिलो र मिठो लाग्छ। तर उनीहरुले जानकीले झैं गायनलाई परिचय बनाउन पाएनन्। जानकीकी आमा र दिदीहरुको स्वर वनपाखामा गुञ्जियो, त्यहीँ बिलायो। आफूले आज बनाएको गायिकाको पहिचानका पछाडि यो सांगीतिक माहौलले ठूलो काम गरेको थियो भन्ने जानकीलाई थाहा छ। जानकी हिजोआज सोच्छिन् ‘मेरी आमाको छातीभित्र त्यही स्वर जस्तै कति क्षमता दबिएर मरे होला?’

छोरीको सपनासँग हारेका बाबु
बुबाको सपना थियो कान्छी छोरी सरकारी अधिकृत भएको हेर्ने। तर जानकीको सपना बनिदियो गायन। छोरीको सपनाका अगाडि उनका बुबाको केही लागेन। २०६७ साल जेठ १२ गते १० हजार रुपैयाँ दिएर गायिका बन्ने बाटोमा छाडिदिए। जेब्रा झोलामा केही जोर कपडा र मनमा गायिका बन्ने सपना बोकेर सुर्खेत छोडेकी जानकीले आजको पहिचान बनाउन थुप्रै संघर्ष गर्नु पर्यो। बुटवलको दोहोरी साँझबाट सुरु भएको जानकीको गायन यात्राले चितवन हुँदै काठमाडौंको यात्रा तय गर्यो।

यो यात्रा पनि उनका लागि त्यति सहज थिएन। कयौं ठाउँमा कतिपय कुराले जानकीकोे स्वाभिमानमा चोट पुर्याए। कति ठाउँमा श्रमशोषण भयो, काम गरेको पैसा पाइनन्, कयौं ठाउँमा विभिन्न खालका हेलाहोचो र विभेद सहनु पर्यो त्यसको लामै सूची छ जानकीसँग। तर त्यो समय गायिका बन्ने आफ्नो सपना पुरा गर्नका लागि दोहोरी साँझमा काम गर्नुको विकल्प थिएन। भोग्दै, सिक्दै अगाडि बढेकी जानकीलाई हिजोआज ती दोहोरी साँझ आफ्नो जीवनको विश्वविद्यालय थिए भन्ने लाग्छ। भन्छिन्, ‘स्कुलमा सिक्न नपाएका धेरै कुरा दोहोरी साँझमा सिक्ने मौका पाएँ।’

जानकीले पहिलो एल्बम बुबासँग ५० हजार सापटी मागेर निकालिन्। बुबाको यो ऋण तिर्न जानकीले दोरीको भर पर्नु पर्यो। गीत खासै चलेनन्। त्यसपछि पनि उनले ‘जता हावा उतै चल्छ हुरी’ लगायतका थुप्रै गीत गाइन्। केही ठिकै चले, केही चलेनन्। जानकीले हार मानिनन्।

२०७० सालमा गायक पशुपति शर्मासँग मिलेर तीज गीत ‘मोटर साइकल झ्याउ भो माया कार किनेर ल्याऊ’ गाइन्। उक्त गीत त्यो वर्षको सबैभन्दा हिट गीत बन्न पुग्यो। त्यसपछि जानकी मेला–महोत्सवदेखि स्टुडियोसम्म व्यस्त भइन्। त्यसयता उनका थुप्रै गीत हिट भएका छन्। 

भगवानसँगको भेट
जानकी त्यतिबेला काठमाडौंको नयाँ बजारमा बस्थिन्। नजिकै बस्थे गोरखाका भगवान थापा। त्यतिबेला थापा नयाँबजार युवा क्लबमा आवद्ध थिए। क्लबमार्फत विभिन्न युवा लक्षित कार्यक्रम गर्थे। जानकीलाई पनि गीत गाउन बोलाउँथे। जानकी भगवानलाई दाइ भन्थिन्, भगवान जानकीलाई बहिनी भनेर बोलाउँथे। उनीहरुको उमेर अन्तर फराकिलो थियो। 

तर जानकी र भगवानको भेटलाई लिएर उनीहरुका शुभचिन्तकले जानकीलाई घुमाउँरो शैलीमा भन्थे ‘भगवानको त बिहे भएको छैन नि, ऊ निक्कै राम्रो मान्छे हो।’ आफन्तीका भाव बुझेर पनि जानकी केही बोल्दिनथिन्। २०७१ सालमा जानकी सवारी सवारी दुर्घटनामा परिन्। उनको खुट्टा भाँचियो। २ महिना जानकीले बिएन्डबी अस्पतालमा बिताइन्। जानकी अस्पतामै हुँदा भगवानले भाइबरमा स्वास्थ्य लाभको कामना सहित म्यासेज पठाए। जानकीले सामान्य कुराकानी गरिन्। 

त्यो सवारी दुर्घटनापछि जानकीले लामो बेडरेस्ट गर्नु पर्यो। नयाँ बजारको बसाइ, दिनहुँ बिएन्डबी अस्पताल थेरापीका लागि जानु पथ्र्यो। आउजाउमा दैनिक २ हजार खर्च हुन्थ्यो। उनलाई भगवानले भनेका थिए, ‘बहिनी केही परे भन्नु है म सहयोग गर्छु।’ जानकीले भनिन्, ‘मलाई अस्पताल पुर्याइदिनु हुन्छ?’ भगवान जानकीलाई लिएर अस्पताल जान थाले। यसपछि जानकीले भगवानमा आफ्नो मन बसेको थाहा पाइन्। भन्छिन्, ‘निको हुन ७/८ महिना लाग्यो। त्यसपछि उहाँसँग बोलिरहन मन लाग्ने, भेट्न, देख्न मन लाग्ने भयो। कतिखेर माया बस्यो थाहै भएन।’

भगवान त्यतिबेला अस्ट्रेलिया जान तयार भएर बसेका थिए। तर जानकीसँग मन अल्झिएपछि उनी जान सकेनन्। प्रेममा परेको थाहा पाएपछि जानकी र भगवानले २ वर्ष भन्दा धेरै समय प्रेमी–प्रेमिकाकै रुपमा बिताए। २०७३ सालमा विवाह गर्दा उनीहरुको प्रेम फस्टाइसकेको थियो। 

घर–माइती दुवैतिरका आफन्तको चाहना आफ्ना छोराछोरीले आफ्नै जातमा बिहे गरे हुन्थ्यो भन्ने थियो। उनीहरुले पनि बीचमा छुट्ने कोसिस नगरेका होइनन्। जानकी त्यो बेला मनमा अनेक कुरा खेलाउँथिन्। तर उनीहरुको प्रेमका अगाडि दुवैका परिवारले सहमति जनाए। जानकी र भगवानको प्रेम विवाहमा परिणत भयो। 

दुई वर्षपछि आमा
विवाहपछि जानकीको सांगीतिक यात्रा केही कठिन बन्यो। मगरकी छोरीले क्षेत्रीको छोरासँग विवाह गरेको भनेर मगर संघ लगायतका संस्थाले जानकीलाई प्रतिबन्ध लगाए। उनको विरोध गरे। गीतसंगीतका कार्यक्रममा बोलाएनन्। मन मिलेर जोडिएको सम्बन्धका पछाडि लागेको जातको तगारोले जानकी नराम्रोसँग दुखिन्। तर हार खाइनन्। 

विवाह गरेको वर्ष जानकी करिअरको उत्कर्षमा थिइन। उनका गीत चलेका थिए। केही संघ संस्थाले जे गरे पनि उनलाई माया गर्ने स्रोता देश तथा विदेशमा थुप्रै थिए। करिअरका लागि केही समय आमा नबन्ने निधो गरिन्। भगवानले पनि सहमति जनाए। 

२०७४ सालको दशैं मान्न जानकी घर गएकी थिइन्। काठमाडौंबाट गोरखासम्म र मनकामना पनि मोटरसाइकलमै गइन्। त्यही बेला उनलाई असजिलो महसुस भयो। भान्सामा पाकेको मासुको बास्ना गन्हाउन थाल्यो। तर उनलाई आफू गर्भवती भएको थाहा भएन्। उनी बाइकमै काठमाडौं फर्किन्। काठमाडौं आएपछि रक्तस्राव भयो। उनले सोचिन्, महिनावारी भयो। तर अघिल्ला महिनावारीमा जस्तो भएन। थोरै रक्तस्राव, धेरै दुखाइ, जानकीले सहन सकिनन्। केही खान मन लागेन, जे देख्यो त्यो गन्हाउन थाल्यो। उनले श्रीमानलाई भनिन्। त्यसपछि चेकअप गराउँदा उनी गर्भवती भएको थाहा भयो। आफू आमा बन्न लागेको खबरले मनमा के आयो उनलाई थाहा छैन, तर आँखामा आँसु आयो। उनी डाँको छोडेर रोइन्। भन्छिन्, ‘सायद खुसीको आँसु मन शुन्य भएर बग्दो रहेछ।’ 

गर्भावस्थामा छुट्टै महसुस
करिअरको उकालो गति, पेटमा हुर्कँदो सन्तान, शरीर र मनले फेरिरहने प्रतिक्रिया जानकीले गर्भावस्थाको कुनै समय दुःखका आँसु पनि बगाइन्। गर्भावस्थाको सुरुवाती चरणमा लामो यात्रा बाइकमा गरेकाले उनले थुप्रै किसिमका उतारचढाव बेहोर्नु पर्यो। त्यही कारण गर्भावस्थाको समयभरी औषधि खानु पर्यो। बेडरेस्ट गर्नु पर्यो। अहिले सम्झिँदा जानकीलाई लाग्छ, ‘त्यो समय डिप्रेसन भएको रहेछ।’ 

५ महिनाको गर्भ भएपछि जानकी कार्यक्रममा हिँड्न सकिनन्। पेट ठूलो हुँदै गयो। उठ्नबस्न बिस्तारै असहज हुँदै गयो। श्रीमानको रेस्टुँरा थियो, उतै व्यस्त भए। व्यस्त दैनिकीमा दौडिरहेकी जानकी एकाएक खाली भइन्। धेरै कुरा सोच्ने समय भयो। त्यही खालीपनाले एक्लो महसुस गरायो। भन्छिन्, ‘फेसबुक हेर्थेँ, साथीहरु कार्यक्रममा गएर फोटो हालिरहेका हुन्थे। मलाई मेरो जिन्दगी सकिएछ जस्तो लाग्थ्यो।’ अहिले पछाडि फर्किएर हेर्दा जानकीलाई त्यो समय आफूमा आएका सबै भावना र गरेका व्यवहारप्रति नराम्रो लाग्छ। उनी अहिले आत्तिन्छिन्, ‘त्यो बेलाको मेरो गलत सोचाइको असर मेरी छोरीमा परेको भए!’ 

गर्भावस्थाको समयमा श्रीमानलाई ज्यादा सताएछु भन्ने पनि उनलाई हिजोआज महसुस हुन्छ। खनेकुरा, बस्ने कुरा हरेकमा उनले श्रीमानलाई सताइन्। कहिले सानै कुरामा रोएर, कहिले रिसाएर, घुर्काएर भगवानलाई दुःख दिइन्। तर भगवानले कहिल्यै गुनासो गरेनन्। कहिलेकाहीँ भन्थे, ‘कसैले नजन्माएको बच्चा तिमीले जन्माउन लागेकी रहिछौ।’ हिजोआज जानकी त्यो क्षण सम्झिँदै भन्छिन्, ‘श्रीमानको त्यति मिठो साथ, सहयोग र हेरचाह हुँदाहुँदै म त्यो समय डिप्रेसनमा गएको रहेछु। श्रीमानको साथ नपाउने, नबुझ्ने परिवार हुने महिलाहरुले कसरी त्यो समय गुजार्नुहुन्छ होला?’

२०७५ साल जेठमा जानकी काठमाडौं नर्सिङ भ्याली अस्पताल भर्ना भइन्। डाक्टर बच्चा निकै ठूलो भएकाले अप्रेसन गर्नुपर्छ भनेका थिए। उनलाई डर लागेको थियो। तर उनले नर्मल सुत्केरी भएका दिदी, भाउजूहरुका पीडा नजिकबाट देखेकी थिइन्। त्यसैले उनलाई बच्चा जन्माउन सक्छु भन्ने हिम्मत थिएन। डाक्टरले जेठ २२ लाई डेट दिएका थिए। त्यो दिन मंगलबार पथ्र्यो। जेठमा जेठो सन्तान, त्यो पनि सबैभन्दा खरो मानिएको बार उनलाई बच्चा जन्माउन मन लागेन। एकदिन कुरेर जानकीले बुधबार अप्रेसन गर्न भनिन्। अप्रेसन थिएटरमा पस्दै गर्दा जानकीलाई बाँचेर फर्किन्छु भन्ने आश थिएन। उनले भगवानलाई भनिन्, ‘बुढा म बाँचेर फर्किन्छु कि फर्किन्नँ, आउनु, एउटा सेल्फी खिचौँ।’

अप्रेसन थिएटरमा पसेपछि जानकीको मन झन् धेरै आत्तियो। अँध्यारो कोठा, अप्रेसनका औजार। जति सताए पनि माया गर्ने श्रीमान थिएनन्। भन्छिन्, ‘त्यो बेला चाहिँ बच्चा नर्मल नै जन्माउनु पर्ने रहेछ भन्ने लाग्यो।’ उनको अप्रेसन भयो। पहिलो पटक उनी छोरीकी आमा भइन्। त्यो क्षणको खुसी जानकी शब्दमा व्यक्त गर्न सक्दिनन्। 

छोरी होस् भनेर प्रार्थना
जानकीले गर्भावस्थाको समय छोरी जन्मियोस् भनेर प्राथना गरेकी थिइन्। डाक्टरले पनि उनको गर्भमा छोरी नै छिन् भनेका थिए। अप्रेसन गरेर बच्चा निकालेपछि उनकी छोरी रोइन्। त्यो बेला जानकी अर्धचेत अवस्थामा थिइन्। उनले छोरीको आवाज निकै मोटो सुनिन्। उनलाई लाग्यो, ‘यति मोटो आवाज छोराको हो।’ छोरो जन्मियो भनेर उनी दुःखी भइन्। 

अप्रेसनपछि होसमा आएपछि जानकी श्रीमानलाई अंगालो मारेर निकैबेर रोइन। उनीसँगै भगवानले पनि खुसीको आँसु खसाले। ३ दिन अस्पताल बसेर जानकी घर फर्किन्। 

छोरी हुर्काउन जानकीलाई सहज भएन। उनीहरुका अभिभावक काठमाडौंमा भएनन्। बच्चा स्याहार गर्ने तौरतरिका जानकीलाई थाहा थिएन। 

३ महिनाकी छोरी छाडेर कार्यक्रममा
छोरी जन्मिएपछि पनि जानकी झन् धेरै डिप्रेस्ड भइन्। उनकी छोरी दिनभरि सुत्थिन्, रातभरि रुन्थिन्। जानकीको निद्रा पुग्दैनथ्यो। मनमा अनेक तर्कना आउँथे। उनलाई त्यो पीडाबाट बाहिर निस्कनु थियो। उनलाई लाग्थ्यो, ‘कहिले कार्यक्रम होला र बाहिर गएर आनन्दले सुत्नु।’ ३ महिनाकी छोरी छोडेर कार्यक्रममा गइन्। छोरी छोडेर पहिलो पटक उनी दिल्ली कार्यक्रममा गइन्। 

तर छोरी छोडेर हिँडेपछि उनको आकलझुकल आउने निद्रा पनि हरायो। स्टेजमा चढेर गीत गाउन पनि उनलाई निकै गाह्रो भयो। स्टेज चढेपछि गीत बिर्सिए जस्तो, ट्रयाक फुस्किए जस्तो भयो। भन्छिन्, ‘दिमागमा छोरी मात्रै आउने, धन्न ओठले गीत गुनगुनाएको हुने रहेछ।’ त्यसपछि उनी त्यति धेरै कार्यक्रममा हिँडिनन्। 

छोरी हुर्कने क्रममा उनलाई हरेक कुराको आतुरी हुन्थ्यो। भन्छिन्, ‘छोरी कहिले कोल्टे फेर्ली भन्ने आतुरी, कहिले बामे सर्ली भन्ने आतुरी, कहिले बोल्ली भन्ने आतुरी, कहिले हिँड्ली भन्ने आतुरी। समय त आतुरीमै बित्ने रहेछ।’ छोरी हुर्कदै गएपछि छोरी छोड्न झन धेरै गाह्रो भयो। भन्छिन्, ‘बच्चा बोल्न थालेपछि झन धेरै माया लाग्ने हुँदो रहेछ नि त।’

जानकी सानैबाट छोरीलाई छोडेर कार्यक्रममा हिँडिन्, उनकी छोरी बाबुसँगै हुर्किन्। हिजोआज उनका श्रीमान् र छोरी साथी जस्तै छन्। बुबा पाएपछि आमा पनि चाहिँदैन। भन्छिन्, ‘बाउ छोरीको बन्डिङ देखेर कहिलेकाहीँ त डाह पनि लाग्छ।’ 

छोरी हुर्किदैछिन्। स्कुल जान्छिन्। उनको हुर्कने आफ्नै लय छ। जानकीले गायनले पनि पुरानै लय पक्रिसक्यो। उनकी छोरी अक्षर चिन्ने दौडमा छिन्, जानकी गायनको थप उचाइको दौडमा। हिजोआज जानकीका आमाछोरी आ–आफ्नै दौडमा मस्त छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .