ad ad

म्यागेजिन


अधिवक्ता राधिकाको मातृत्व अनुभव : कामकाजी आमाले धेरै सन्तान सोच्न सक्दैनन्

अधिवक्ता राधिकाको मातृत्व अनुभव : कामकाजी आमाले धेरै सन्तान सोच्न सक्दैनन्

अधिवक्ता राधिका खतिवडा (तस्बिर : नेपालखबर)


राधिका अधिकारी
पुस १६, २०७९ शनिबार ८:१०, काठमाडौँ

त्यतिबेला राधिका सातआठ कक्षाकी विद्यार्थी थिइन्। नेपाल टेलिभिजनमा ‘प्रतिद्वन्द्वी’ टेलिसिरियल आउँथ्यो। सिरियलमा वकिलको भूमिकामा देखिने युवतीले तानिरहन्थ्यो उनको मन। उनका साथीहरु डाक्टर, इन्जिनियर बन्ने सपना सुनाउँथे।

राधिका भन्थिन्, ‘म वकिल बन्ने हो।’

उनलाई सिरियल हेर्दा लागेको थियो, समाजको सबैभन्दा सुन्दर मान्छे अरुका लागि बोल्ने मान्छे हो। उनका बुबा भने छोरी मास्टर्नी होस् भन्ने चाहन्थे।

राधिका बुबा–आमाकी जेठी छोरी हुन्। सर्लाहीको भक्तिपुर गाविस (हाल ईश्वरपुर)मा राधिकाको बाल्यकाल सामान्य हिसाबले बित्यो। कान्छो भाइ राधिका आफैंले जिम्मेवारी लिएर हुर्काइन्।

भाइ बोकेर हिँड्दै गर्दा राधिकालाई लाग्थ्यो, ‘मलाई यसरी कसले हुर्कायो होला?’

बुबा–आमा खेतबारीको काममा व्यस्त हुन्थे। छोराछोरीका लागि भनेर बुबा–आमाले घरमा बस्न पाएको उनलाई सम्झना छैन। बोटबिरुवा, बस्तुभाउ र छोरीछोरी एक साथ कसरी धाने, अहिले सम्झिँदा पनि गह्रौँ हुन्छ राधिकाको मन।

उनका धेरै साथीले ८ पास गरेपछि विवाह गरे। एसएलसीसम्म आइपुग्दा छात्राको संख्या औँलामा गन्ने भइसकेको थियो। राधिकालाई पनि ८ कक्षा पढ्दै गर्दा नै कुटुम्ब माग्न आएका हुन्।

उनका बुबाले भनिदिए, ‘म मेरी छोरी आफ्नै खुट्टमा उभिने भएपछि मात्रै बिहे गरिदिन्छु।’

सामान्य पढालेखा उनका बुबालाई छोरीलाई के पढाउने, के बनाउने भन्ने थाहा थिएन। उनले गाउँघरमा शिक्षक देखेका थिए। छोरी पनि शिक्षिका होस् भन्ने चाहन्थे।

भनिरहन्थे, ‘राम्रोसँग पढ, पछि यही स्कुलमा आएर पढाउनु पर्छ।’

उदाहरणमा पनि राम्रो नाम बनाएका शिक्षकको दिन्थे। त्यसैले राधिकाले क्याम्पसमा शिक्षाशास्त्र पढिन्। काठमाडौँको ताहाचल क्याम्पसबाट बीएड सकेपछि कानुन पढ्न भर्ना भइन्। यही सिलसिलामा भेटिए दोलखाका शिवराज बुढाथोकी। 

कानुन पढ्न सुरु गर्दा राधिका विद्यार्थी राजनीतिमा लागिसकेकी थिइन्। सायद त्यसैले पनि उनलाई हरेक कुरामा छलफल गर्नुपथ्र्यो। एकदिन कक्षा कोठामा न्यायाधीशको पोसाकका बारेमा पढाइ हुँदै थियो। न्यायाधीशको पोसाकमा दौरा, सुरुवाल, टोपी र कोट उल्लेख गरिएको थियो।

राधिकाले उठेर प्रश्न गरिन्, ‘महिला न्यायाधीश भएको खण्डमा पोसाक कस्तो हुन्छ?’

यो विषयमा कक्षा कोठामा त्यति लामो छलफल त भएन। तर यही बहसपछि शिवराज र राधिकाको दोस्ती बढ्यो। शिवराजले त्यतिबेला नेपाल प्रहरीको जागिर सुरु गरिसकेका थिए।

शिवराज नियमित कलेज आउन भ्याउँदैनथे। परीक्षा फारम खुलेको, मिति तोकिएको, परीक्षा केन्द्र आदिको जानकारी उनी राधिकासँगै लिन्थे। राधिका र शिवराजको मित्रता चार वर्षसम्म कायम रह्यो। उनीहरुले यो मित्रतालाई २०७४ सालमा विवाहमा परिणत गर्ने निधो गरे। दुवैका परिवारले साथ दिए।

विवाहको १५ महिनामा आमा
राधिकाको महिनावारी नियमित थिएन। कहिले ढिलो, कहिले चाँडो भैरहन्थ्यो। त्यसपटक पनि उनको महिनावारी नभएको दुई महिना नाघिसकेको थियो। उनलाई सधैंको जस्तो होला भन्ने भयो। दुई महिना नाघेपछि भने उनले चेकअप गराइन्। प्रेगनेन्सी रिपोर्ट पोजेटिभ आयो। रिपोर्टले राधिका दम्पतीलाई खुसी दियो। 

राधिकाको व्यवसायिक जीवन भर्खर उकालो लाग्दै थियो। शिवराज त्यतिबेला हेटौँडामा थिए। गर्भावस्थाको सुरुवातका दिनमा राधिका एक्लै बस्नु पर्यो। शिवराज काठमाडौं आइरहन बिदा नमिल्ने, राधिका हेटौँडा जान नसक्ने। त्यसैले शिवराजले काठमाडौं सरुवा मिलाए। राधिकाले गर्भावस्थाका बेलामा पाउनु पर्ने भावनात्मक र भौतिक दुवै साथ पाइन्। 

गर्भावस्थाको समय उनको स्वास्थ्यमा खासै समस्या देखिएन। गर्भावस्थालाई लिएर निर्माण गरिएका भिडिओ, लेखिएका लेख, पुस्तक राधिकाले निकै हेरिन्। आफ्नो दैनिकी परिवर्तन गरिन्।

मुद्दाको चाप
गर्भावस्थाको समयमा राधिकाले थुप्रै मुद्दामाथि बहस गरिन्। उनको दैनिकी निकै व्यस्त थियो। दुई जिउकी छु भनेर उनले काम पनि छोडिनन्। राधिका ५ महिनाकी गर्भवती थिइन्। उनलाई एउटा मुद्दाको सिलसिलामा बिहानै निस्किन पर्यो। बजारमा निस्केर बदामको जुस खाइन्। उनलाई पाटन अदालत पुग्नु पर्ने थियो। त्यो दिन बाटोमा भएको गाह्रो सम्झिँदा उनलाई अहिले पनि असजिलो महसुस हुन्छ। करिअर र बच्चा सँगै लैजाने सोचेर दौडिरहेकी राधिकालाई त्यो दिन भने काम छोडेर नबसेर आफैँलाई कष्ट दिइरहेकी छु भन्ने खालको निराशा पनि आयो। तर यो निराशाको समय लामो भएन। 

वकिलको काम, सधैँ मानसिक प्रेसरमा दौडनु पर्ने। सधैं आफ्ना क्लाइन्ट आफू अनुकूल पनि हुँदैनन्। कयौं मुद्दामा थुनामा रहेका मानिहरुका पक्षमा बहस गर्नु पथ्र्यो। कतिपय अवस्थामा आफूले बहस गरेको मानिस धरौटीमा छुट्दा धरौटी बुझाउने पैसा नभएर घर जान पाउँदैनथे। विषय हेरेर हरेक दिन उनको दिमागमा विविध खाले समस्या चलिरहन्थे।

बेलाबेला लाग्थ्यो, ‘मसँग त बेबी हुर्किरहेको छ। मैले मानसिक रुपमा लिएको प्रेसरले उसलाई असर गर्छ। मैले यति धेरै तनाव लिनुहुँदैन।’

तर कामको दौरानमा फेरि सबै बिर्सिन्थिन्। 

सजिलोका हिसाबले सुरुमा राधिकाले काठमाडौं मोडल अस्पतालमा नियमित चेकअप गराइन्। बुझ्दै जाँदा डेलिभरीका लागि थापाथली अस्पताल राम्रो छ भन्ने थाहा पाइन्।

उनलाई लाग्यो, ‘सरकारी अस्पतालको सेवा सुविधा लिनु पर्छ।’

उनको कमाइ राम्रै थियो।

त्यतिबेला राधिकालाई धेरैले भनेका थिए, ‘तपाईं जत्तिको मान्छे पनि किन थापाथली अस्पताल? त्यहाँ भिड हुन्छ, लाइन लाग्नु पर्छ।’

थापाथली अस्पतालमा सुत्केरी
त्यो दिन बिहानैबाट उनलाई असजिलो महसुस भैरहेको थियो। त्यही दिन साँझ अस्पताल पुगिन्। रातभरि व्यथा लाग्ने र छोड्ने क्रम चलिरह्यो। भोलिपल्ट दिनभरि प्राकृतिक रुपमा बच्चा जन्माउने प्रयास गर्दा पनि बच्चा जन्मिन सकेन। 

अस्पतालमा अत्यधिक चाप थियो। उनीजस्तै आमा हुने तयारीमा थिए थुप्रै महिला। कोही पहिलो पटक प्रसव पीडा सहेर आमा बन्ने तयारीमा थिए। कति दोस्रो, तेस्रो पटक आमा बन्ने तयारीमा थिए। अस्पतालको चाप, बिरामीको चिच्याहट र डाक्टरको व्यस्तता हेर्दा राधिका हिजो आफन्तले भनेको सम्झिन्थिन्। उनलाई निजी अस्पताल छोडेर सरकारी अस्पताल गएकोमा थकथक लाग्थ्यो। फेरि कसैका बच्चा च्याहाँ... गरेर रुन्थ्यो, सबै बिर्सन्थिन्। 

अस्पताल भर्ना भएको भोलिपल्ट साँझसम्म पनि राधिका भने आमा बन्न सकिनन्। अस्पतालले सकेसम्म नर्मल डेलिभरी गराउने प्रयत्न गर्यो। अन्ततः उनको अप्रेसन गर्नु पर्ने भयो। अप्रेसन भनेपछि राधिका डराइन। उनी थरर काँपिन्।

डाक्टरले भने, ‘किन डराउनु भएको? केही हुँदैन।’

नभन्दै उनीसँग कुरा गर्दागर्दै डाक्टरले बच्चा निकाले। त्यसपछि होसमा आउँदा उनी नर्मल वार्डमा थिइन। वरिपरि आफ्ना मान्छे थिए।

उनलाई लाग्यो, ‘म त बाँचेर फर्किएछु।’

बच्चा भएपछि गाह्रो
सामान्यतया दुईतीन दिनमा अस्पतालले डिस्चार्ज गर्नु पर्ने हो। राधिका भने ९ दिन अस्पताल बसिन्। बच्चालाई इन्फेक्सन देखियो। नर्मल डेलिभरी गराउने क्रममा चलाएको औषधिको असर जन्मिएपछि बच्चामा देखियो। जसले गर्दा अस्पतालको बसाइ लम्बियो। 

अप्रेसन गरेको आफ्नो घाउले भन्दा धेरै दुख्थ्यो राधिकालाई छोरो बिरामी छ भन्ने भावले।

भन्छिन्, ‘छोरो रोए पनि पीर लाग्थ्यो, नरोए पनि के भयो कि भन्ने डर लाग्थ्यो। बेलाबेला उसको नाकमा औँला राखेर सास फेरेको छ कि छैन भनेर चेक गर्थें।’ 

आफैं अप्रेसन गरेको बिरामी, धेरै जरकमरक गर्न सक्दिथिन्। छोरो बोकिरहन मन लाग्थ्यो, काखमा राम्रोसँग लिन सक्ने अवस्था थिएन। परैबाट छोरालाई टुलुटुलु हेरिहन्थिन्। ९ दिनमा छोरो लिएर घर फर्किन्। 

४ महिना राधिकाले छोरालाई आफ्नो दूध मात्रै खुवाइन्। दूध पनि प्रशस्त आउँथ्यो। चार महिनापछि भने छोरालाई आफ्नो दूधसँगै ल्याक्टोजिन खुवाउन थालिन्। पुस १० गतेको कुरा हो, विशेष अदालतमा उनले बहस गर्नु पर्ने थियो। घरमा राधिकाकी आमा थिइन्।

‘आफैंलाई हुर्काएकी आमाको विश्वास आफ्नो भन्दा ज्यादा हुँदो रहेछ। बाबुले पनि ल्याक्टोजिन खान थालिहाल्यो, केही नहोला भनेर काममा फर्किएँ। बाबुलाई त केही भएन, मलाई गाह्रो भयो,’ राधिकाले पुराना दिन सम्झँदै भनिन्। 

घरमा बच्चा छोडेर काममा फर्किंदा पहिला जस्तो सहज मानसिक र शारीरिक दुवै हिसाबले भएन। समयसमयमा दूध गानिन्थ्यो। बग्थ्यो। कालो कोटले दूधले भिजेको कुर्ता छोप्ने प्रयत्न गर्थिन्। बाथरुममा गएर दुध निचोरेर फाल्थिन्, स्तनबाट दूध र आँखाबाट आँसु सँगै झथ्र्यो।

भन्छिन्, ‘मेरो छोराको मुखमा पर्नु पर्ने दूध खेर गैरहेको छ। मलाई जस्तै गाह्रो त उसलाई पनि भयो होला, उसले कसरी व्यक्त गरोस्। काममा निस्किएपछि घर नसम्झिने, काममा केन्द्रित हुन मलाई समय लाग्यो।’

अरु आमाहरु दूध आओस् भनेर पोसिलो खानेकुरा खान्थे। राधिका भने दूध सुकोस् भनेर रुख्खा–सुख्खा खाएर हिँड्थिन्। राधिकाको काम अफिस सकेर घर जाँदा सकेर जाने भन्ने हुँदैनथ्यो। कतिपय मुद्दाका अध्ययन घरमा पनि गर्नु पथ्र्यो, लेख्नु पथ्र्यो, पढ्नु पथ्र्यो। छोरालाई दिनु पर्ने जति समय दिन सकिनन्। उनका श्रीमान सहयोगी, १०–५ को अफिस, धेरै छोराको हेरचाह उनैले गरे। 

छोरो जन्मिनु भन्दाअघि राधिकाकी आमा बेलाबेला आज यस्तो पकाएको छ खान आइज भनिरहन्थिन। राधिकालाई फुर्सद हुँदैनथ्यो। हिजोआज छोराले सबै मिठो चिज खाओस्, उसले पहिला खाओस् भन्ने हुन्छ अनि आमाले बोलाउँदा उतिबेला जान नसकेकोमा पछुतो हुन्छ।

भन्छिन्, ‘आमाले पनि त मलाई त्यसैगरी सोच्नु भएको थियो होला नि भन्ने हुने रहेछ।’

कामकाजी आमाले धेरै सन्तान सोच्न सक्दैनन् 
राधिकाका छोरा ५ वर्षका भए। हजुरआमा–हजुरबुबासँग हुर्किए। हिजोआज स्कुल जान्छन्। आमासँग त राति सुत्ने मात्रै हुन्छ। काममा छोरालाई छोडेर निस्कनेबेला झगडा गर्छन्, नराम्रो लाग्छ।

राधिकालाई थाहा छ, ‘म आमा भएर पनि मेरो छोराले मेरो काखमा लुटपुटिँदै हुर्किन पाएन।’

दुखेपनि आमा मन, आमाहरुले सन्तान हुर्काउन मात्रै भनेर करिअर छोडेर बस्नु हुँदैन।

भन्छिन्, ‘धेरै राम्रो सम्भावना भएका महिलाहरु पनि यही कारणले गर्दा पलायन भएका छन्।’ 

राधिकाका छोरा हुर्किंदै छन्। स्कुल जान थाले। राधिका आफ्नो क्षेत्रमा स्थापित भएकी छिन्। धेरैले भन्न थालेका छन् छोरालाई साथी चाहिन्छ। राधिकालाई पनि अर्को सन्तानको रहर नभएको होइन। तर काम, आफूले बनाएको स्थान, खर्चिलो बन्दै गएको समय सबै कुराले गर्दा अर्को बच्चा जन्माउने आँट गर्न सकेकी छैनन्।

भन्छिन्, ‘अहिले सबै घटनाक्रम यति छिट्टै परिवर्तन हुन्छन्। अब अर्को बच्चा जन्माएर काममा फर्किंदा करिअर कहाँ स्थिर रहिदिन्छ, समयले कहाँ फड्को मारिसक्छ भन्ने थाहा हुँदैन। त्यसैले रहर हुँदाहुँदै पनि कामकाजी महिलाले धेरै सन्तानका विषयमा सोच्न नसक्ने रहेछन्।’

छोरो ढिला बोल्दाको पीडा
घरमा अरु केटाकेटी थिएनन्। हजुरबुबा हजुरआमासँग हुर्किएका छोरासँग राधिका दम्पतीले पनि धेरै कुरा गर्ने समय पाउँदैनथे। उनीहरु घर पुग्दा छोराको सुत्ने समय हुन्थ्यो। सायद त्यसैले होला उनका छोराले ३ वर्षसम्म दोहोरो संवाद गरेनन्। आफ्नो छोरा सरहका अरु केटाकेटी फटाफट बोल्थे, उनका छोरा बोल्दैनथे। छोरा नबोल्दा उनलाई निकै पीडा हुन्थ्यो। 

भाकल, भगवानमा उति साह्रै विश्वास राख्ने मान्छे होइनन् राधिका। तर समयले मान्छेलाई फरक बनाउँदो रहेछ। धेरैले बटुक भैरव लगेर कानमा पिटेपछि बच्चा बोल्छ भनिदिए। उनका भाइले मन्दिरमा लगेर कानमा पिटेर ल्याए। छोरा निकै कम बोलेपछि उनले चाँडै स्कुल भर्ना गरिदिइन्। स्कुल जान थालेपछि भने बिस्तारै बोलीको विकास भयो। अहिले उनका छोरासँग गफ गरेर उनले जित्न सक्दिनन्। 

छोराको बन्डिङ आमासँग भन्दा बाबुसँग राम्रो छ। बाबाले लगाइदिएको मन पराउँछन्। बाबाले ख्वाइदिँदा रमाउँछन्।

राधिका भन्छिन्, ‘त्यस्तो चाहिँ किन पनि भयो होला भने बुबाले उसलाई खेलाएर बस्न पाउनु हुन्छ। अर्को, मेरो घरमा गएपछि पनि पढ्ने, लेख्ने, डकुमेन्ट खोज्ने काम हुन्छन्। उसलाई समय दिनु भन्दा उसलाई मोबाइल दिएर अलमल्याउनु पर्छ। मसँग उसलाई दिने समय हुँदैन। त्यसैले पनि बाबासँग धेरै झ्याम्मिएको हो जस्तो लाग्छ।’

जे भए पनि राधिकालाई जीवनप्रति गुनासो छैन। कतिपय अवस्थामा भावनात्मक रुपमा गाह्रो हुन्छ, व्यावहारिक रुपमा पनि बच्चासँगै करिअर दौडाउन निक्कै गाह्रो छ। तर गाह्रो छ भनेर चुप लागेर बस्ने पक्षमा राधिका छैनन्।

भन्छिन्, ‘धेरै महिलाले बच्चा जन्माउने भनेकै करिअरका लागि मेहनत गर्नु पर्ने समयमा हो। पढाइ सकेर विवाह गर्यो। विवाह गर्दा उमेर परिपक्व भैसकेको हुन्छ। बच्चा जन्माउनु परिहाल्यो। भर्खर करिअर सुरु गर्दा बच्चा हुन्छ। बच्चा हुर्किपछि करिअरमा फर्किन्छु भनेर बस्यो भने त्यसपछि आफ्नो करिअरलाई विकास गर्न गाह्रो हुन्छ। बच्चा हेर्ने घरमा अर्को कोही छैन भने फरक कुरा भयो। अन्यथा काम गर्छु, स्वावलम्बी बन्छु भन्ने सोचको महिलाले बच्चा मात्रै भनेर बस्नु हुँदैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .