म्यागेजिन


गायिका जुनु : गर्भमा बच्चा बोकेर सिक्किम, अस्ट्रेलिया र कतार गएँ

गायिका जुनु : गर्भमा बच्चा बोकेर सिक्किम, अस्ट्रेलिया र कतार गएँ

राधिका अधिकारी
भदौ ४ , काठमाडौँ

बुबाको अन्तिम बिदाइको धमिलो आकृति अहिले पनि दौडिरहन्छ उनको आँखामा। बुबाको मृत्यु हुँदा गायिका जुनु रिजाल तीन वर्षकी थिइन्। उनलाई अनौठो लागेको थियो। मानिसहरुले बोकेर लगेका बुबा हिँडेर घर फर्किन्छन् भन्ने आशामा धेरै दिन बाटो हेरिन्। त्यो सम्झना अब धमिलो भइसक्यो। तर, त्यसपछि आमाले गरेको संघर्ष उनको स्मृतिमा कहिल्यै धमिलो भएन। 

त्यतिबेला जुनुकी आमाको उमेर ३० वर्षको थियो। उनका दुई दाजु थिए। ओखलढुंगाबाट तीन छोराछोरी लिएर विराटनगर झर्दा उनकी आमाले एक्लै जीवनसँग संघर्ष गर्नुपर्ला भनेर सोचेकी थिइन्। तर, बुबाको मृत्युपछि आमाको जीवन कठिन भयो। त्यसको प्रभाव छोराछोरीको लालनपालनमा पनि पर्यो। 

आमालाई दुःखले कठोर बनायो। रोइरहेका छोराछोरी छोडेर काममा निस्कनु पर्ने उनको बाध्यता थियो। जुनु अहिले पनि सम्झन्छिन्, एउटा जवान विधवालाई समाजले राम्रो नजरले हेर्दैनथ्यो। केही समय जुनुले आमासँग छुट्टिएर बस्नु पर्यो। तीन छोराछोरी एक्लै धान्न गाह्रो भएपछि आमाले उनलाई मामाघर लगेर छोडेकी थिइन्। त्यो समय जुनु आमालाई सम्झिएर धेरै पटक रोइन्।  

बुबाको मृत्यु भएको ७ वर्षपछि आमा विराटनगरको आयल निगमकी जागिरे भइन्। त्यसपछि उनी आमासँगै आइन्। जुनु आफ्नो कपाल आफैँ कोर्न थालिन्। आफैँ नुहाउन थालिन्। साथीका आमा घरमै बसेको देख्दा जुनुलाई लाग्थ्यो, ‘मेरी आमा पनि घरमै बसिदिए हुन्थ्यो।’ आमाले कोरेको कपालको लामो समय उनलाई न्यास्रो लाग्यो। 

आमाको जागिरपछि उनीहरुको जीवन थोरै सहज भयो। 

पढाइमा कमजोर
बाल्यकाल कहिले पहाड घर, कहिले मामाघर त कहिले विराटनगर गरेर बित्यो। नजिकै बसेर तिमीलाई के पढ्न रमाइलो लाग्छ, तिम्रो गृहकार्य के छ, स्कुलमा कसरी पढाएका छन्, तिमीले पढाएको बुझेकी छौँ भनेर प्रश्न गरिदिने र सिकाइदिने कोही भएनन्। त्यसैले होला जुनुको ध्यान पढाइमा कम, खेल्नमा बढी गयो। उनकी आमाको आफ्नै बाध्यता थियो। आफ्नै उमेरका दाजुहरुलाई आफ्नै गृहकार्यको भारीले थिचेको हुन्थ्यो। 

आजभोलि थुप्रै अभिभावकले आफू मोबाइल चलाएर छोराछोरीलाई पढ भनिरहेको देखेकी छन्। ‘छोराछोरीलाई पढ भन्ने होइन, आमाबाबुले पढाउने हो,’ जुनु भन्छिन्। 

जुनुलाई सानैबाट प्यान्ट लगाउन मन पथ्र्यो। गाउँका केटाकेटीको अगुवा भएर हिँड्थिन्। गाउँलेका बारीमा पस्थिन्, सिजन अनुसारका फलफूल, तरकारी टिपेर खाइदिन्थिन्। उनकै भाषामा भन्ने हो भने उनी अराजक शैलीकी थिइन्। भन्छिन्, ‘त्यतिबेला मलाई सबैले केटाजस्ती भन्थे।’ स्कुल पढ्ने बेला उनको यही शैलीसँग डराएर केटाहरु परपर हुन्थे। 

स्कुलका दिन सम्झदै जुनु भन्छिन्, ‘एक त म पढ्नमा लद्दु, अर्को राम्री पनि थिइनँ, अर्को अराजक। मेरो स्कुलमा अफेयर चल्नै पाएन।’ 

त्यो समय सपक्क पारेर कपाल कोर्ने, कुर्ता सुरुवाल लाएर भान्छाको काम गर्ने केटीलाई संस्कारी भनिन्थ्यो। तर, उनी त्यस्ती थिइनन्। भन्छिन्, ‘रिजालकी छोरी भनेर कोही माग्न आए भने परैबाट त्यो त हुँदैन भनेर फर्किन्थे।’ 

स्कुल सकेर जुनु काठमाडौँ आइन्। काठमाडौंमा संगीत पढ्न थालिन्। त्यसपछि भने जुनुले थुप्रैले लेखेका प्रेमिल चिठी पढ्नु पर्यो। तर त्यो समय उनलाई प्रेममा अल्झिएर पढाइ बिगार्नु थिएन। उनलाई त संगीतमा आफ्नो नाम बनाउनु थियो। उनले आफ्ना नाममा आएका प्रेमपत्र अस्वीकार गरिन्। कति पढिन, जवाफ पठाइनन्। त्यो बेला उनलाई थुप्रैले ‘ढुंगाजस्तो मुटु भएकी केटी’ भनेर सम्बोधन गरे। त्यस्तो सम्बोधनले जुनुलाई खासै फरक पारेन। 

अनि रामचन्द्रतिर सोझियो मन
गीतसंगीतलाई निरन्तरता दिने क्रममा गायक रामचन्द्र काफ्लेसँग उनकोे भेट भयो। जुनुले भेट्दा रामचन्द्रले गायनमा आफ्नै पहिचान बनाइसकेका थिए। जुनुले रामचन्द्रसँग युगल गायन गरिन्। संगत बाक्लिँदै जाँदा उनलाई रामचन्द्र मन पर्यो। जुनु भन्छिन्, ‘समय बित्दै जाँदा आत्मियता झन् बढेर गयो। देख्न पाए पनि हुन्थ्यो, भेट्न पाए पनि हुन्थ्योजस्तो लाग्न थाल्यो।’

जुनु र राचन्द्रको स्वभाव भने विपरीत थियो। जुनुलाई बोलिरहनु पर्ने। रामचन्द्र बोल्दै नबोल्ने। उनी हत्तपत्त नरिसाउने पनि। रामचन्द्रको यही बानीसँग जुनुको झन धेरै प्रेम बस्यो। डेढ वर्षमा रामचन्द्र र जुनुको प्रेम झाङ्गियो। त्यसपछि यो जोडीले विवाह गर्यो। जुनुलाई अहिले पनि लामो समय प्रेम सम्बन्धमा रहन नपाएकोमा गुनासो छ। भन्छिन् ‘प्रेममा हुँदा जस्तो मोमेन्ट, देखिहाल्न, भेटिहाल्न पाए हुन्थ्यो भन्नेखालको पिरती विवाहपछि कहाँ हुनु! प्रेमको स्वर्णिम समय धेरै बाँच्न पाइएन।’

विवाह गर्दा रामचन्द्र चलेका गायक। जुनु संघर्ष गरिरहेकी गायिका। थुप्रै कार्यक्रममा रामचन्द्रको जोडी भएर हिँडिन्। सुरुमा रामचन्द्रले आयोजकलाई मनाउनु परेपनि अर्को पटक जुनुको स्वरले नै आयोजकलाई तान्थ्यो।  

पाँच वर्षपछि आमा
करिअर बलियो बनाउने दौडमा रहेका जुनु दम्पतीले बच्चा अलि पछि जन्माउने योजना बनाएका थिए। त्यसैले पाँच वर्ष बितिसकेको थियो। त्यसबेला पनि उनको आमा बन्ने योजना त थिएन। तर, उनी गर्भवती भइन्। बच्चा पाउने योजना नभए पनि आमा बन्ने रहर भने बलियो नै हुने रहेछ, जुनुले त्यहीबेला थाहा पाइन्। 

उनले गर्भवती हुनुअघि ‘बच्चा कहिले’ भन्ने प्रश्न सुन्नु परेन। तर उनलाई लिएर बजारमा चलेका हल्ला गर्भवती भएपछि सुन्नु पर्यो। भन्छिन्, ‘बजारमा त हाम्रो बच्चा हुँदैन भन्ने हल्ला चलेको रहेछ। गर्भवती हुँदा पनि धेरै डाक्टरलाई देखाएर नभएपछि टेस्ट्युब बेबीबाट जन्माउन लागेको भन्ने पनि कुरा चलेछ। हामी बजारको हल्ला सुनेर खुब हाँस्यौँ।’ 

गर्भावस्थाको तीन महिना रमाइलै बित्यो। उनका साथीहरु त्यो समय नाक लागेको, वाक्वाकी लागेको सुनाउँथे। उनलाई केही भएको थिएन। एकदिन गायिका निशा सुनार र कलाकार कुञ्जना घिमिरे उनको घर आएका थिए। उनीहरुसँग खाजा खाँदै जुनुले भनिन् ‘मलाई त नाक पनि लागेको छैन, बान्ता पनि भएको छैन्।’ कुञ्जना र निशा पनि खुसी भए। त्यही साँझबाट जुनुलाई वाक्वाकी सुरु भयो। भान्छामा पाक्ने हरेक चिज गनाउन थाले। यो क्रम तीन महिना जारी रह्यो। त्यसपछि उनी पुनः सामान्य अवस्थामा खानसक्ने भइन्। 

कतारको त्यो पीडा
जुनुले गर्भावस्थाको समयमा पनि कार्यक्रम छाडिनन्। गीत गाउन छोडिनन्। पहिलो गर्भावस्था, उनलाई धेरै कुरा थाहा थिएन। उनी स–सानै कुरामा डराउँथिन्। धेरै हिँड्न डराउँथिन्। पेट समातेर हिँड्थिन्।

गर्भ दुई महिनाको भएको थियो। कार्यक्रमका लागि कलाकारको जम्बो टोली कतार जाँदै थियो। त्यो टोलीमा जुनु पनि थिइन्। जुनुलाई पहिलेबाटै विमान चढ्न डर लाग्ने। यस पटक रामचन्द्र पनि साथमा थिएन। पेटमा हुर्किरहेको बच्चा उनलाई झन् धेरै डर लाग्यो। एयर होस्टेसलाई भनिन्, ‘मलाई डर लाग्छ, म प्रेगनेन्ट पनि छु। त्यही अनुसारको वाइन दिनुस्। लागेपछि म निदाउँछु। निदाएपछि आनन्द हुन्छ।’ 

एयर होस्टेसले भनिन्, ‘तिमी प्रेगनेन्ट रहिछौँ, धेरै नखाऊ।’ सँगै थिए कुञ्जना घिमिरे, सीताराम कट्टेललगायतका कलाकार। उनीहरुले ‘जुनु तिमीलाई डर लाग्छ’ भन्दै वाइनका बोत्तल दिए। एयर होस्टेस हेर्न आउँदा उनको अगाडि चार वटा वाइनका बोतल थिए। उनले गाली गर्दै भने, ‘प्रेगनेन्ट भन्छौ, यत्रो वाइन नखाऊ, तिमीलाई गाह्रो हुन्छ।’ जुनुले एरहोस्टेजले दिएको बाहेक अरु खाएकी थिइनन्।

कतारमा कार्यक्रम सुरु हुँदा पनि उनी निकै उत्साहित थिइन्। स्वरुपराज आचार्यले गीत गाए। उनी ब्याक स्टेजमा नाचिन्। त्यसको साँझ उनको रक्तस्राव भयो। जुनु धरधरी रोइन्। उनलाई लाग्यो, मेरो बच्चा खेर गयो। भन्छिन्, ‘मलाई चिटचिट पसिना आयो। ह्वाँह्वाँ रुन थालेँ।’ 

त्यसपछि उनलाई कतारकै अस्पतालमा इमर्जेन्सीमा लगियो। डाक्टरले जाँचपछि भने, ‘नआत्तिऊ, केही भएको छैन। नेपाल गएपछि एकपटक पुनः जँचाउनू। अहिले नर्मल छ।’ त्यसपछि उनको सास आयो। भोलिपल्ट जुनु नेपाल आइन्। 

नेपाल आएर जचाउँदा डाक्टरले भने, ‘प्रेगनेन्सीको समयमा अलिअलि गाढा रङको रगत जानु सामान्य हो। रातो गयो भने चाहिँ खराब अवस्था छ भनेर बुझ्नु पर्छ।’ त्यसपछि बल्ल जुनुलाई ढुक्क भयो। 

गर्भावस्थाकै समयमा उनी अस्ट्रेलिया गइन्। त्यसबेला पाँच महिनाकी गर्भवती थिइन्। अरुले पेट देख्लान भनेर गुन्यु, चोली र पटुकी बाँधेर स्टेजमा चढिन्। कसैले थाहा पाएनन्। थाहा पाउने नेपाली दिदीले एभोकाडो खान सल्लाह दिइन्। उनले खाइन् पनि। त्यसपछि भएको बान्ताका कारण उनले अहिलेसम्म एभोकाडो मुखमा हालेकी छैनन्। सम्झिँदै उनलाई बान्ता आउलाजस्तो हुन्छ।

आठ महिनाको गर्भावस्थामा उनी सिक्किम कार्यक्रममा गइन्। त्यहाँ जाँदा उनको पेट लुकाउन नमिल्ने भइसकेको थियो। 

अप्रेसन गर्न पाइयोस् भन्ने कामना
जुनुलाई केही मात्रामा एन्जाइटी थियो। सबैले भनिदिन्थे, ‘बच्चा जन्माउन गाह्रो हुन्छ। बच्चा जन्माउन त एकपटक मरेर बाँच्नु पर्छ।’ डेलिभरी डेट नजिकिँदै गर्दा जुनुको डरको बढेर गयो। पेट असाध्यै ठूलो। बस्न, उठ्न नसक्ने हुन थालिन्। सुत्दा कोल्टे फेर्न सहारा चाहिन थाल्यो। महिना भर्खर सुरु भएको थियो। पाटन अस्पतालमा चेकअपका लागि पुगेकी जुनुलाई डाक्टर मीरा हाडाले तिम्रो बेला भैसक्यो, अस्पताल भर्ना होऊ भनिन्। 

जुनुलाई थाइराइड थियो। नर्मल बच्चा जन्माउँदा हुने गाह्रो सुनेर मनमा पलाएको डर बेग्लै। उनी पेटमा भएको बच्चालाई भन्थिन्, ‘तिमी माथि आएर बस है।’ उनलाई सकभर अप्रेसन गर्न पाइयोस् भन्ने कामना भयो। नभन्दै उनलाई व्यथा नै लागेन। 

अस्पताल भर्ना गरेको १२ घण्टासम्म व्यथा नलागेपछि रामचन्द्रले सिनियर डाक्टरलाई भने। भिडियो एक्सरे गरेर हेर्दा उनको बच्चा माथि सरेको थियो। त्यसपछि उनको अप्रेसन हुने भयो। अप्रेसन गर्ने भनेपछि उनलाई आनन्द महसुस भयो। 

जुनुलाई एउटै बच्चामा चित्त बुझाउन मन थियो। उनलाई लाग्थ्यो छोरी भयो भने समाजले छोराको लागि दबाब दिन्छ। छोरा भइदिए अर्को बच्चा जन्माउनु पर्दैन। आनन्द हुन्थ्यो। तर पहिलो पटक उनकी छोरी जन्मिन्। 

छोरी देखेपछि अहो! कति राम्री भन्ने भयो। भन्छिन्, ‘मेरी छोरी गोरी, चटक्क परेकी, मुक्लुक्क फुलेकी कति राम्री पो थिइन् त। तर ४÷५ दिनपछि उसको रुपै उत्रियो।’ छोरीको रुप अर्कै हुँदै गएपनि जुनु भन्थिन्, ‘आरसी यो छोरी न तिमीजस्ती न मजस्ती, को जस्ती जन्मेकी होला है।’ रामचन्द्र मुस्कुराउँथे मात्रै।

छोरी जन्मिएको चार दिनमा जुनु घर फर्किन्। घर फर्किएकै दिन उनी एउटा बैठकमा सहभागी भइन्। हेटौँडामा ‘भीम विराग साहित्य प्रतिष्ठान’ले सम्मान गर्ने भएको थियो। प्रतिष्ठानका पदाधिकारी घरमा आए, उनको सुत्केरी अवस्था देखेर भने ‘अहो! कार्यक्रममा जान सक्नु हुन्छ त?’ जुनुले सक्छु भनिन्। 

छोरी जन्मिएको १७ दिनमा जुनु उक्त सम्मान थाप्न छोरी लिएर हेटौँडा गइन्। कार्यक्रममा उनले दुई वटा गीत पनि गाइन्। 

छोरी जन्मिएपछि पनि जुनुले स्टेज कार्यक्रम, गायन दुवै छोडिनन्। सानी छोरी छोडेर देशका थुप्रै कार्यक्रममा पुगेकी छिन्। दुई महिनाकी छोरी छोडेर जुनु युरोप कार्यक्रम गइन्। एक त यो समय बसेँ भने हराउँछु भन्ने थियो, अर्को जीवन व्यवस्थित गर्ने संघर्षमै थिए जुनु दम्पती। 

जुनुको जीवनको सबैभन्दा कठिन समय यही थियो। उनको दूध प्रशस्त आउँदैनथ्यो। थोरै आउने त्यही दूध पनि मिल्काउनु पथ्र्यो। छोरीले दूध खान पाइनन् भनेर जुनु रुन्थिन्। 

युरोपमा थिइन् रजनी दिदी। त्यो समय जुनलाई रजनीले निकै सम्झाइन्। थुप्रै नेपालीहरुले बाध्यतामा जन्मनेबित्तिकै छोडेर बच्चा हुर्किंदासम्म विदेशमै बिताउनु परेका उदाहरण दिइन्। तिमी एक महिनामा फर्किन्छौ भनेर हौसला दिइन्। दुई महिनाकी छोरी छोडेर एक महिना युरोप बसिन्। जुनुलाई त्यो एक महिना वर्षदिनभन्दा लामो लाग्यो। 

युरोपबाट फर्किएपछि पनि जुनु पश्चिम नेपालका थुप्रै कार्यक्रममा गइन्। त्यो समय उनीहरुको गाडीमा सानो–तिनो घर नै अटाएको हुन्थ्यो। छोरीका लागि सानो कोक्रो, डसना, कपडा बोक्नुपर्थ्यो। त्यही दुःखले जुनु भन्थिन्, ‘मैले अर्को बच्चा पाए भने दुई वर्षसम्म त म केही गर्दिन।’

जुनुले २३ महिनाकी छोरी मन्टेश्वरी भर्ना गरिदिइन्। सुरुको दिन छोरी खुसी भएर मन्टेस्वरी गइन्। जुनुलाई दिनभरि छोरी कतिबेला आउली भन्ने भइरह्यो। त्यो दिन पनि उनका लागि निकै लामो थियो। बेलुका छोरी हाँस्दै आइन।

जुनु खुसी भइन्। तर, तीनचार दिनपछि छोरी मन्टेश्वरी जाने बेला रुन थालिन्। जुनुले पठाउन सकिनन्। उनलाई छोरी खुसीले जान मानेको दिन मात्रै पठाउँछु भन्ने भयो। केही समय पछि उनकी छोरीले मन्टेश्वरी, त्यहाँका साथी मिस गर्न थालिन्। अनि फेरि पठाइन्।

अनि दोस्रो बच्चा
उनकी छोरी ७ वर्षकी हुँदै थिइन्। जुनु एउटै छोरीमा चित्त बुझाएर बस्ने मनसायमा थिइन्। छोरी पनि भाइ–बहिनी चाहिँदैन भन्थिन्। तर जुनुलाई छोराको रहर लाग्यो। 

जुनु भन्छिन्, ‘जसले जे भने पनि छोरी हुनेलाई छोराको, छोरा हुनेलाई छोरीको रहर हुन्छ। तर धेरैमा छोरी छ भने छोरै भए हुन्थ्यो भन्ने हुन्छ। मुखले नभनेका मात्रै हुन्। छोरा भए चाहिँ त्यति धेरै केयर गर्दैनन्, जे भए पनि ठिकै छ भन्ने हुन्छ।’ जुनुले पनि छोराको रहर गरेकै हुन्। उनलाई छोरी थिइन्, छोराको रहर लाग्यो भन्न अप्ठ्यारो लाग्दैन। 

छोरी हुर्कदै जाँदा जुनुलाई ‘भोलि छोरीले माइती भनेर जाने ठाउँ कहाँ’ भन्ने पनि लाग्न थाल्यो। त्यसपछि उनले दोस्रो पटक आमा बन्ने निधो गरिन्। उनलाई छोरा नै होस् भन्ने थियो। त्यो समय जुनुले युट्युब तथा गुगलमा छोरा जन्माउनका लागि भनिएका सबै उपाय हेरिन्। उनलाई लाग्यो, ‘जिन्दगी भनेकै प्रयोग त हो, यहाँ भनेको उपाय प्रयोग गरिहेरौँ। भए राम्रो भयो, नभए के बिग्रन्छ र?’ 

दोस्रो पटक उनको छोरा जन्मिए।

डेलिभरी डेट आउन २० दिन बाँकी नै थियो उनले डाक्टरलाई भनिन्, ‘जसरी पनि मेरो अप्रेसन नै गर्ने हो। बच्चा परिपक्व भयो भने अप्रेसन गरेर निकाल्दिनुहोस्।’ 

२० दिनअघि अप्रेसन भयो। तर उनको बच्चाको घाँटीमा नाल बेरिएको थियो, पेटमै बच्चाले दिसा खाइसकेको थियो। पर्खिएको भए के हुन्थ्यो होला भन्ने कुराले जुनुलाई पिरोल्थ्यो। 

जन्मिएपछि पाँच दिनसम्म उनले छोरासँग छुट्टिएर बस्नु पर्यो। छोरा एनआईसीयूमा, उनी वार्डमा। बेलाबेला छोरालाई दूध खुवाउन जान्थिन्। तारैतारले बेरेर राखिएको छोरो देख्दा उनको मन दुख्थ्यो। छोरा छोडेर रुँदै फर्किन्थिन्। नरमाइलो लाग्थ्यो। तर छोरा सामान्य छ भनेर डाक्टर भन्थे। उनी मन बुझाउँथिन्। ५ दिनपछि छोरा लिएर घर फर्किन्। 

अस्पतालमै उनकी छोरी उनलाई भेट्न आइन्। एनआईसीयूमा गएर भाइ हेरेर फर्किन् र भनिन्, ‘मामु भाइ त इत्रो रैछ।’ घर फर्र्किएपछि पनि छोरीले आमाको काखमा भाइ बसेको देखेर मन दुखाइन्। उनी भन्थिन्, ‘मामु मलाई यो बेडमा आउँदा त्यसै आँसु आउँछ।’ त्यसपछि पिलपिल रुन्थिन्। उनी मलाई माया गर्नु न भन्थिन् र आमाको नजिक आउँथिन्। उनकी छोरीलाई बानी पर्न समय लाग्यो। अहिले मलाई थाहा भैसक्यो मामु भन्छिन्। वास्ता गर्दिनन्। 

दोस्रो पटक गर्भावस्थाको समय भने जुनु कार्यक्रममा हिँडिनन्। उनी दोस्रो पटक पनि अप्रेसन गरेर बच्चा जन्माउने भन्नेमा ढुक्क थिइन्। त्यसैले उनले ग्रह, नक्षत्र हेराएर अप्रेसन गरिन्। दोस्रो सन्तान जन्मिएपछि भने जुन झण्डै तीन वर्ष बाहिर निस्किनन्। अहिले उनका छोरा ३ वर्षका भए। छोरी १० वर्ष लागिन्। छोराछोरीसँग जुनुको दैनिकै रमाइलोसँग बितिरहेको छ।

छोरो जन्मिएपछि जुनु पहिलोपटक बुधबार स्टेज चढिन्। उनी बेचैनजस्तै भएकी थिइन्। जुनुले आफ्नो जीवनमा थुप्रै गीत गाइन्। कति गीत लोकप्रिय पनि भए। तर आशा गरेका गीतले खासै चर्चा पाएनन्। छोराछोरी भएपछि जिम्मेवारीका हिसाबले पनि आर्थिक उपार्जनको बाटो रोज्नु पर्ने थियो। जुनु र रामचन्द्रले चितवनामा कृषि फार्म खोले। जुनुले सोचिन्, ‘रामचन्द्रजी गीत संगीतमै लाग्नु हुन्छ। म फार्म हेर्छु। आत्मसन्तुष्टिका लागि गाउने पाटो बेग्लै भयो।’ 

तर यही बेला १२ वर्ष अघि जुनुले गाएको गजल ‘न दोष तिम्रो, न दोष मेरो’ टिकटकमा भाइरल भयो। त्यसपछि उनका पुराना गीतको खोजी भयो। बिस्तारै उनका पुराना गीत चर्चामा आउँदै छन्। ‘गीत संगीतमा मेरो खासै ‘लक’ रहेनछ, रामचन्द्रजीकै गायिका भएर बस्छु’ भनेकी जुनुलाई अहिले आफ्नो समय पुनः सुरु भएको महसुस भइरहेको छ। 

अब उनलाई छोराछोरीका सपनाको सारथी भएर बाँच्नु छ। १० वर्षकी उनकी छोरी योजना बदलिरहन्छिन्। कहिले भन्छिन्, ‘मामु म डाक्टर बनेर हजुरको थाइराइड निको पार्छु।’ जुनुलाई खुसी लाग्छ। समग्रमा जुनुलाई गुनासो छैन्। छोडिआएका बाटाहरुसँग आशक्ति छैन। ठिकठाकसँग जीवन चलेको छ। 

भदौ ४, २०७९, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad