ad ad

म्यागेजिन


चीनलाई चिनेका बीपी

चीनलाई चिनेका बीपी

चीन भ्रमणका क्रममा माओ चेतुङ नेतृत्वको चिनियाँ र बीपी नेतृत्वको नेपाली प्रतिनिधिमण्डलबीचको वार्ता


सीताराम बराल
साउन ६, २०७९ शुक्रबार १६:२६, काठमाडौँ

‘आज चीनसँग नेपालले एउटा सम्झौतामा हस्ताक्षर गर्यो। यो चीनसँग दौत्य सम्बन्धको सुरुवात मात्रै थिएन, नेपाली राजनीतिमा एउटा नयाँ पक्षको प्रवेश पनि थियो। यो चीनले प्रतिनिधित्व गर्ने विचारधाराका लागि ढोका खोल्ने काम पनि थियो। जे होस्, यस नयाँ सम्बन्धलाई नेपाली राजनीतिक वृत्तका सबै अवयवले स्वागत गरे।’

१७ साउन (२०१२) को आफ्नो दैनिक डायरीमा नेपाली कांग्रेसका नेता बीपी कोइरालाले उपरोक्त कुरा लेखेका थिए। त्यसैदिन नेपाल–चीनबीच कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो। 

सम्झौतामा नेपालको तर्फबाट परामर्शदात्री सरकारका प्रमुख सरदार गुञ्जमान सिंह तथा चीन सरकारका तर्फबाट जनरल युआन चुङ सियनले हस्ताक्षर गरेका थिए। 

बीपीले नेपाल–चीनबीच कूटनीतिक सम्बन्धको औपचारिक स्वागत मात्र गरेनन्, आफूले सरकारको नेतृत्व गरेका बेला होस् वा पार्टीको नेतृत्व गरेका बेला होस्, सदैव नेपाल–चीन सम्बन्धलाई बलियो बनाउन भूमिका निर्वाह गरे।  

काठमाडौँमा नेपाली कांग्रेसका नेताहरुसँगको कुराकानीमा होस् वा बेइजिङ पुगेका कांग्रेस नेताहरुसँगको भेटघाटमा– चिनियाँ नेताहरुले नेपाल र चीनबीचको सम्बन्धलाई उचाइमा पुर्याउन बीपीको योगदान उच्चस्तरको रहेको बताउँदै भविष्यमा पनि त्यस्तै भूमिकाको अपेक्षा गर्ने गरेका छन्। 

गत चैतमा नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यी हुन् वा २६–२९ मा आएका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागका प्रमुख लिउ चियन्छाओ– दुवै चिनियाँ नेताहरुले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटघाटमा नेपाल–चीन सम्बन्धलाई उचाइमा पुर्याउन बीपीले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका थिए।  

भूराजनीतिक स्वागत 
सो दैनिकीमा बीपीले कूटनीतिक सम्बन्ध स्थापनाको सम्झौताप्रति आफू खुसी रहेको स्पष्ट रुपमा उल्लेख गरेका छैनन्, सिर्फ राजनीतिक अवयवहरुले त्यसको ‘स्वागत गरेको’ उल्लेख गरेका छन्।

आजकल सामाजिक सञ्जालमा पोस्ट गरिने स्टाटसजस्तै निकै छोटो देखिन्छ, बीपीको त्यसदिनको डायरी पनि। तर, तत्कालीन भूराजनीतिक परिस्थिति र बीपीको त्यसदिनको दैनिकीमा व्यक्त शब्दावली हेर्यौँ भने, छोटो हुँदाहुँदै पनि त्यसले विशाल अर्थ बोकेको छ। 

त्यो बेला नेपालको आन्तरिक राजनीतिमा भारतीय दबदबा थियो। काठमाडौँ आउने भारतीय राजदूतहरु नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरिरहन्थे। 

२००७ मा नयाँदिल्लीमा भएको त्रिपक्षीय सम्झौतापछि नेपालले पनि बेलायत र भारतले अपनाएकै संसदीय राजनीतिक व्यवस्था अपनाएको थियो। कुनै मुलुकसँग कूटनीतिक सम्बन्ध स्थापना गर्नुपर्दा भारतको ‘अघोषित सम्मति’ को जरुरी पर्थ्यो। 

नेपालको उत्तरी सिमानामा भारतीय सैनिक सहितका चेकपोस्ट थिए। नेपाली सेनाको आधुनिकीकरण गर्ने नाममा भारतीय सेनाले नेपाली सेनाको संगठन आफूअनुकूल बनाउँदै थियो।  

नेपालमा भारतको यस्तो हैकम र दबदबाप्रति बीपी सन्तुष्ट थिएनन्। उनको आत्मवृत्तान्त, लेख–विचार, अन्तर्वार्ता र अन्य सामग्रीहरुको अध्ययन गर्ने जोकसैले भारतीय भूमिका र व्यवहारबाट बीपी कति असन्तुष्ट थिए भन्ने कुरा बुझ्न सक्छ।  

नेपालमा अर्काे यस्तो शक्तिको उपस्थितिको अपेक्षामा बीपी रहेछन्, जसले नेपालमा भारतको दबदबा र हैकमलाई सन्तुलन गर्न सकोस्। 

त्यसैले, नेपाल–चीनबीच स्थापना भएको कूटनीतिक सम्बन्धलाई बीपीले सिर्फ दौत्य (कूटनीतिक) सम्बन्धमा सीमित गर्न चाहेनन्, बरु यसले राजनीतिक र भू–राजनीतिक समेत कायम गर्ने अपेक्षासमेत गरे।

नेपाल–चीनबीचको कूटनीतिक सम्बन्ध स्थापनालाई बीपीले ‘नेपाली राजनीतिमा नयाँ पक्षको प्रवेश’ को रुपमा उल्लेख गर्नुको कारण यही थियो।  

त्यसदिनको डायरीमा उनले दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापनाबाट ‘चीनले प्रतिनिधित्व गर्ने विचारधाराका लागि ढोका खोल्ने काम गरेको’ पनि उल्लेख गरेका छन्। 

चीनसँग कूटनीतिक सम्बन्ध स्थापना भएका बेला नेपालमा नेकपामाथिको प्रतिबन्ध कायम थियो। दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापनाबाट नेकपामाथिको प्रतिबन्ध हट्ने आशा बीपीमा रहेको देखिन्छ। त्यसैले, उनले डायरीमा कूटनीतिक सम्बन्ध स्थापनाबाट ‘चीनले प्रतिनिधित्व गर्ने विचारधाराका लागि ढोका खोल्ने’ उल्लेख गरेका छन्।  

नभन्दै २००८ माघदेखि नेकपामाथि लागेको लगाइएको प्रतिबन्ध नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको अर्काे वर्ष नेपाल सरकारले फुकुवा गरेको थियो। 

‘नेपाल–चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाबाट राजनीतिक–कूटनीतिक र भूराजनीतिक सन्तुलन कायम हुन्छ भन्ने आशा र विश्वास बीपीमा देखिन्छ,’ झलनाथ खनाल प्रधानमन्त्री छँदा उनका विदेश मामिला सल्लाहकार एवं नेपाल–चीन सम्बन्धका जानकार मिलन तुलाधर भन्छन्, ‘नेपाली कांग्रेसको नेतृत्व गर्दा होस् वा प्रधानमन्त्रीको जिम्मेवारीमा रहँदा होस्, नेपाल–चीन सम्बन्धलाई थप मजबुत बनाउन उहाँको महत्वपूर्ण भूमिका रह्यो।’ 

बीपीको त्यो डायरी नेपाल–चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६८ वर्षपछि २०७८ मा सार्वजनिक (प्रकाशित) भएको हो। तर, दुई मुलुकबीचको सम्बन्धप्रति बीपी संवेदनशील छन् भन्ने चिनियाँ पक्षले उतिबेलै बुझेको तत्कालीन घटनाक्रमहरुले प्रस्ट्याउँछन्। 

चीन भ्रमणका क्रममा चिनियाँ प्रम चाउ एनलाइसँगै बीपी 

तत्कालीन चिनियाँ प्रधानमन्त्री चाउ एनलाइको नेपाल भ्रमण त्यसमध्येको एक उदाहरण  हो। 

टंकप्रसाद आचार्य प्रधानमन्त्री रहेका बेला २०१३ मा चिनियाँ प्रधानमन्त्री चाउले नेपाल भ्रमण गरिसकेका थिए। तर, त्यो भ्रमणको तीन वर्षपछि पनि उनी फेरि २०१७ वैशाखमा नेपाल भ्रमणमा आए। त्यसअघि उनले बीपीलाई पनि बेइजिङ निम्त्याएका थिए। 

गान्धीवादी बीपीको भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुसँग निकटको सम्बन्ध थियो। तर, चीन भ्रमणपछि बीपी नेहरुभन्दा चाउ एनलाइबाट बढी प्रभावित भए। आत्मवृत्तान्तमा बीपीले चाउ एनलाइ र नेहरुबीच रोचक तुलना गरेका छन्।  

‘चु एनलाइजस्तो सभ्य र सुसंस्कृत मान्छे जवाहरलाल नेहरुलाई देखेको छु,’ आत्मवृत्तान्तमा बीपीले भनेका छन्, ‘मलाई लाग्छ, दुवैलाई तुलना गर्नुपर्यो भने चु एनलाइ ज्यादा परिष्कृत मानिस लाग्छ।’ 

‘चीनको विदेश नीति निर्माणमा प्रधानमन्त्री चाउ एनलाइको भूमिका निर्णायक थियो, चाउ एनलाइसँग बीपीको निकटको मित्रता थियो,’ नेपाल–चीन कार्यकारी परिषदका अध्यक्ष अनुपरञ्जन भट्टराई भन्छन्, ‘दुई प्रधानमन्त्रीबीचको निकटताले पनि नेपाल–चीन सम्बन्धलाई उचाइमा पुर्याउन भूमिका निर्वाह गरेको थियो।’ 

जानकारहरुका भनाइमा विसं २०१६, चैतमा भएको भ्रमणका क्रममा बीपीले चिनियाँ पक्षबाट उच्च सम्मान प्राप्त गरेका थिए। तर,  त्यही मानमनितोका कारण बीपीले माओ चेतुङ, चाउ एनलाइ र चीनको प्रशंसा गरेका थिएनन्। 

भट्टराई भन्छन्, ‘नेपालको सार्वभौमिकताप्रति चिनियाँ सम्मान, भारत–चीनको बीचमा रहेको नेपालको भूराजनीतिक जटिलताप्रति चिनियाँ नेताहरुको समझदारी, आदिका कारण बीपीले उनीहरुको प्रशंसा गरेका हुन्।’    

पाँच स्मरणीय भूमिका 
महाशक्ति अमेरिका र सोभियत संघबीचको शीतयुद्ध चरमोत्कर्षमा पुग्दै गर्दा बीपी नेपालमा प्रधानमन्त्री निर्वाचित भएका थिए। 

हुन त त्यो बेला चीन सोभियत संघ नेतृत्वको सैन्य गठबन्धनमा सामेल थिएन। तर, चीन कम्युनिस्ट मुलुक भएकाले उसको अमेरिकासँग पनि सम्बन्ध थिएन। यही कारण संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको सदस्यता चीनले प्राप्त गरेको थिएन।  

चीन–भारतबीच पनि सम्बन्ध सुमधुर थिएन। बीपी प्रधानमन्त्री निर्वाचित हुँदा चीन–भारतबीच सीमा विवाद सुरु भइसकेको थियो। बीपी प्रधानमन्त्रीबाट अपदस्थ भएको अर्काे वर्ष यी दुई छिमेकीबीच सीमायुद्ध भइ पनि हाल्यो।

यो परिस्थितिमा भूराजनीतिक शक्तिहरु कसरी चीनविरुद्ध नेपाललाई पनि प्रयोग गर्न सकिन्छ, त्यस्तो उपायको खोजीमा लागिरहेका हुन्थे। नेपाल–चीनबीच सानो समस्या देखियो भने ‘तिललाई पहाड’ बनाउन खोज्थे।  

गैरकम्युनिस्ट भए पनि बीपीले कम्युनिस्टविरोधी भूराजनीतिक शक्तिहरुको प्रभावमा परेर नेपाल–चीन सम्बन्धलाई प्रभावित हुन दिएनन्। उनले नेपाल–चीन सम्बन्ध र देखिएका समस्यालाई विशुद्ध नेपाली आँखाबाट हेरे, सोही अनुरुपको चीननीति निर्माण गरी कार्यान्वयन गरे।  

जानकारहरुका भनाइमा बीपीकालमा भएको नेपाल–चीनबीच शान्ति तथा मैत्री सन्धि, सीमा सम्झौता, सगरमाथाको स्वामित्वको विवादको समाधान, सुवेदार बमप्रसादको मृत्यु प्रकरणको सुझबुझपूर्ण समाधान र चीनलाई संयुक्त राष्ट्रसंघको सदस्यता दिलाउन बीपीको ओजपूर्ण वकालत नेपाल–चीन सम्बन्धलाई उचाइमा पुर्याउन बीपीको तर्फबाट भएका योगदान हुन्।  

शान्ति तथा मैत्री सन्धि : बीपी प्रधानमन्त्री छँदा चिनियाँ प्रधानमन्त्री चाउ एनलाइ नेपाल भ्रमणमा आएका बेला नेपाल–चीनबीच १६ वैशाख २०१७ मा (२८ अप्रिल १९६०) शान्ति तथा मैत्री सन्धि सम्पन्न भयो। पञ्चशील र समानताको सिद्धान्तका आधारमा गरिएको सो सन्धिमा दुवै मुलुकको स्वतन्त्रता, सार्वभौमिकता र क्षेत्रीय अक्षुणताको सम्मान गर्ने उल्लेख छ। 

नेपाल–चीन शान्ति तथा मैत्री सन्धिमा हस्ताक्षर गर्दै बीपी र चाउ एनलाइ 

दुवै पक्षले समानता र पारस्परिक हित तथा एकअर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्त अंगीकार गरेको यो सन्धिले मैत्री र सहयोगको भावना राखी दुई देशबीच आर्थिक–सांस्कृतिक सम्बन्धहरु विकसित र सुदृढ तुल्याउने व्यवस्था गरेको छ।  

बीपीकालमा भएको यही सन्धिका कारण नेपाल–चीनबीचको सम्बन्ध त्यसयता समस्यारहित रहँदै आएको छ। दुई मुलुकबीचको सम्बन्धमा समस्या देखिएको अवस्थामा सन्धिको प्रावधान अनुसार छलफल र कूटनीतिक माध्यमबाट मतभेद र मतान्तर समाधान हुने गरेका छन्। 

सीमा सम्झौता : नेपाल–चीनबीचको सीमारेखा मोटामोटी रुपमा यकिन भए पनि वैज्ञानिक रुपमा सीमाङ्कन भने भएको थिएन। कतिपय स्थानमा राजा रणबहादुर शाहका पालादेखिका विवाद थिए। समस्या देखिएका स्थानमा स्थायी समाधानका साथै भविष्यमा विवाद हुन नदिन वैज्ञानिक सीमाङ्कनको आवस्यकता थियो।

बीपी प्रधानमन्त्री बनेपछि यो कार्यले मूर्तरुप प्राप्त गर्यो। बीपीको चीन भ्रमणको क्रममा ८ चैत २०१६ (२१ मार्च १९६०) मा नेपाल–चीनबीच सीमा निर्धारणको ‘मोडालिटी’ सहितको सीमा सम्झौता सम्पन्न भयो। सोही सम्झौता मातहत रहेर नेपाल–चीनबीच सीमाङ्कन कार्य भयो। 

बीपीका पालामा सुरु भएको सीमाङ्कन कार्यले २०१८ असोजमा पूर्णता प्राप्त गरेपछि १९ असोज २०१८ (५ अक्टोबर १९६१) मा नेपाल–चीनबीच सीमा सन्धि भएको थियो, जसमा नेपालको तर्फबाट राजा महेन्द्र र चीनको तर्फबाट राष्ट्रपति लिउ साओचीले हस्ताक्षर गरेका थिए। 

सीमा सम्झौताको तयारीका क्रममा पोखरा पुगेका बेला फेवा किनारमा बीपी र चाउ एनलाइ लगायतको टोली

बीपीले गरेको प्रयत्नकै कारण नेपाल–चीनबीचको सीमा समस्याविहीन रहँदै आएको छ। छिटपुट समस्या देखिँदा शान्ति तथा मैत्री सन्धि र बीपीले जग बसालिदिएको सीमा सन्धिका आधारमा दुवै मुलुकले समाधान खोज्दै आएका छन्। 

बमप्रसादको मृत्युको घटना : नेपाल–चीनबीच सीमाङ्कन कार्य सुरु हुन लागेकै बेला मुस्ताङ इलाकास्थित नेपाल–चीन सीमानामा रहेको ‘छोटेन मार्पाे’ भन्ने थानमा चिनियाँ सेनाको गोलीबाट नेपाली सेनाका सुवेदार बमप्रसादको २०१७ असार दोस्रो हप्ता निधन हुन पुग्यो। 

सीमाङ्कन कार्य भर्खर मात्र सुरु भएकाले त्यो स्थान कुन मुलुकतिर पर्छ, यकिन थिएन। सीमाङ्कन अवधिभर परम्परागत सिमानाभन्दा २० किमी वरै रहने सीमा सम्झौताको प्रावधान थियो। तर, दुवै पक्षका सेना सो प्रावधानको उल्लंघन गरी गस्तीका क्रममा सीमामा पुगेका थिए। 

चिनियाँ पक्षले खम्पा विद्रोही ठानी गोली चलाउँदा सो दुर्भाग्यपूर्ण दुर्घटना हुन पुगेको थियो। 

बीपीले दुर्घटना भएको स्थान नेपाली सीमाभित्र पर्छ भन्ने अडान लिए। बीपीको अडानकै कारण बमप्रसादको परिवारका लागि क्षतिपूर्तिवापत चीन सरकारले नेपाल सरकारलाई ५० हजार रुपैयाँसमेत प्रदान गर्यो। घटनालाई उछालेर नेपाललाई चीनविरुद्ध प्रयोग गर्न चाहने शक्तिहरुको चाहना बीपीले पुरा हुन दिएनन्। 

सगरमाथाको शिखर विवाद : विश्वको सर्वाेच्च शिखर भएको र सफल आरोहण समेत भइसकेकाले शिखरमा रहेको मानिस उभिन मिल्ने स्थान कुन मुलुकको भागमा पर्छ भन्ने विषयमा विश्वकै ध्यान तानिएको थियो। तर, सोही स्थान र विश्वको सर्वाेच्च शिखरको नामाकरणका सम्बन्धमा समेत दुई मुलुकबीच मतभेद थियो। 

सगरमाथाको विषयलाई लिएर बेलायत र अमेरिकाको भ्रमणमा रहेका राजा महेन्द्रलाई समेत चीनविरुद्ध भड्काउने प्रयास गरेका थिए। राजालाई समेत भड्काउने प्रयास गर्नेहरुले बीपीलाई समेत भड्काउने प्रयास नगर्ने कुरा थिएन। तर, सगरमाथाको सन्दर्भमा न बीपी विदेशी शक्तिहरुको भड्काउमा परे, न त सगरमाथा नेपालको हो भन्ने अडान नै छाडे। 

सगरमाथाको नक्सा अध्ययन गर्दै बीपी र चाउ एनलाइ 

बीपीको यही बुद्धिमत्ताका कारण सगरमाथा शिखरको सीमाङ्कन कार्य पनि विवादरहित रुपमा हुन सक्यो। ‘नेपाली कांग्रेसको इतिहास’ का लेखक एवं कांग्रेसका पुराना नेता पुरुषोत्तम बस्नेत भन्छन्, ‘प्रधानमन्त्री बीपी र चिनियाँ प्रधानमन्त्री चाउ एनलाइबीचको आपसी समझदारीमा सगरमाथा सम्बन्धी विवाद सौहाद्र्धपूर्ण रुपमा समाधान हुन पुगेको थियो।’

सगरमाथालाई आधार बनाएर चीनविरुद्ध नेपाललाई प्रयोग गर्ने भूराजनीतिक शक्तिहरुको प्रयास पनि सफल हुन पाएन। 

संयुक्त राष्ट्रसंघमा चीनको सदस्यता : त्यसो त २९ मंसिर २०१२ संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त गरेपछि नेपालले हरेक राष्ट्रसंघीय महासभामा ‘जनवादी गणतन्त्र चीन’ लाई संयुक्त राष्ट्रसंघको सदस्यता दिनुपर्ने माग गर्दै आएको हो। तर, राष्ट्रसंघीय महासभामा १४ असोज २०१७ मा सम्बोधनका क्रममा बीपीले चीनलाई राष्ट्रसंघको सदस्यताका लागि गरेको वकालत सबैभन्दा जोडदार रह्यो।   

बीपीको तर्क थियो, ‘बडापत्रमा राष्ट्रसंघ संयुक्त राष्ट्रका जनताको भएको उल्लेख छ। तर, चीनका (तत्कालीन) ६३ करोड जनता संयुक्त राष्ट्रसंघका धेरै किसिमका कारबाहीको लाभ र रचनात्मक अवसरबाट अहिलेसम्म बञ्चित छन्। यस्तो स्थिति रहुन्जेल राष्ट्रसंघले विश्वका जनताको पूर्ण प्रतिनिधित्व गर्न सक्दैन।’  

चीनले यथोचित भूमिका नपाउँदासम्म संयुक्त राष्ट्रसंघको चरित्र विश्वव्यापी हुन नसक्ने र राष्ट्रसंघले विश्व राजनीतिको वास्तविकता समेत प्रदर्शन गर्न नसक्ने दाबी बीपीको थियो। 

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका पूर्व उपकार्यकारी निर्देशक एवं नेपाल–चीन सम्बन्धका जानकार डा. रुपक सापकोटाका भनाइमा चीनलाई न्याय दिलाउन संयुक्त राष्ट्रसंघीय महासभामा बीपीले गरेको यो जोडदार वकालत पनि एउटा कारण हो, जसका कारण चिनियाँहरु बीपीलाई सदैव स्मरण गरिरहन्छन्। 

‘माओ चेतुङ र चाउ एनलाइले एकातिर बीपीलाई तेस्रो विश्वका शीर्ष नेताको कोटीमा राखेका थिए, अर्काेतिर बीपीजस्ता सुझबुझ भएका नेताले ‘एक चीन नीति’ प्रति दह्रो समर्थन जनाएका थिए,’ डा. सापकोटा भन्छन्, ‘यही कारण पनि चिनियाँहरुले बीपीलाई सदैव स्मरण गरिरहेका हुन्।’   

भारत प्रवास, चीनको प्रशंसा 
कांग्रेस नेता सुवर्ण शमशेरले १ पुस २०१७ को कदमविरुद्ध भारतीय भूमिबाट सशस्त्र संघर्ष सुरु गरेपछि राजा महेन्द्रलाई चीनतर्फ ढल्कनुपर्ने बाध्यता आइलाग्यो। त्यो बेलादेखिको चीन र दरबारबीचको मजबुत सम्बन्ध २०६५ मा नेपालमा गणतन्त्र स्थापना हुनुअघिसम्म कायम थियो।  

आफ्नो सरकार अपदस्थ हुनुमा बीपी कोइराला भारतको समेत भूमिका रहेको आशंका गर्थे। अमेरिकाले समेत राजाको अप्रजातान्त्रिक सत्तालाई समर्थन गरेको उनको गुनासो रहन्थ्यो। राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्केपछि उपचारका लागि अमेरिका पुगेका बेला अमेरिकी पत्रकारहरुसँगको कुराकानीमा समेत बीपीले अमेरिकी भूमिकाको आलोचना गरेका थिए।

२६ असारमा सीपीसी विदेश विभाग प्रमुख लिउ चियान्छाओ बीपी संग्रहालयमा

पञ्चायतकालमा दरबार र चीनबीच सुमधुर सम्बन्ध रहे पनि प्रधानमन्त्रीबाट आफू अपदस्थ हुनुमा चीनको भूमिका थियो भन्ने आशंका बीपीमा कहिल्यै रहेन। चीनको समर्थन सदैव नेपालको वैधानिक सत्तालाई रहन्छ र त्यही कारण दरबारसँग उसको सम्बन्ध रहेको हो भन्ने बीपीको बुझाइ थियो।   

चीन–बीपी सम्बन्धको सबैभन्दा रोचक प्रसंग हो, भारत प्रवासमै रहँदा सन् १९६२ को चीन–भारत सीमा युद्धबारे १९७५ मा बीपीले चीनलाई सहज हुने गरी दिएको अभिव्यक्ति। 

विसं २०३२ (सन् १९७५) को सुरुवातमा नेपाल–भारत जनसद्भावना समितिले गोखरपुर (भारत) मा एक प्रवचन कार्यक्रम आयोजना गरेको थियो, जहाँ प्रमुख वक्ताको रुपमा बीपी उपस्थित थिए। 

शैलजा आचार्यको सम्पादकत्वमा बनारसबाट प्रकासित हुने ‘तरुण’ को मई १९७५ (जेठ २०३२) मा प्रकासित पत्रकार–बीपीबीचको प्रश्नोत्तर सम्बन्धी सामाग्री (स्रोत : विश्वेश्वरप्रसाद कोइराला आधारभूत संकलन) का अनुसार, प्रवचनपछि पत्रकार सम्मेलन आयोजना भयो।    

पत्रकारहरुले बीपीसँग नेपालमा चिनियाँ प्रभावबारे प्रश्न गरे। बीपीले सुरुमा नेपालमा प्रजातन्त्रवादी (कांग्रेस) र ‘चीनवादी’ कम्युनिस्ट गरी दुई मात्र राजनीतिक शक्ति रहेको उल्लेख गरे। 

साथै, सैद्धान्तिक राजनीतिक संघर्षमा प्रजातान्त्रिक पक्ष शिथिल हुँदा चीनवादी कम्युनिस्ट पक्ष नेपालको प्रमुख राजनीतिक शक्ति बलियो हुने, त्यो स्थितिमा परोक्षरुपमा नेपालमा चीनको प्रभुता स्थापित हुने विश्लेषण प्रस्तुत गरे। 

भारतीय पत्रकारहरु बीपीले उल्लेख गरेको ‘परोक्ष प्रभुता’ बारे प्रष्ट हुन चाहे। बीपीले जवाफ दिए, ‘आफ्ना समर्थकहरुलाई मद्दत गरे पनि चीनले सामरिक हस्तक्षेपको नीति लिएको छैन। ऊ आफैँ कहिल्यै कसैविरुद्ध सैन्य रुपमा जाइलाग्दैन। उसका समर्थकहरुको राजनीतिक विजयलाई उसले आफ्नो विजय मान्छ। त्यसैले, मैले परोक्ष विजय भनेको हुँ।’ 

सन् १९६२ को युद्ध देखेका भारतीय पत्रकारहरुका लागि बीपीको यो जवाफ अप्रत्यासित र अरुचिकर लाग्नु स्वभाविक थियो। त्यसैले, उनीहरुले बीपीसँग प्रतिप्रश्न गरे, ‘चीनको सम्बन्धमा तपाईंहरुको यस्तो विचार हिन्दुस्तानको अनुभव भन्दा एकदम विपरीत छ। सन् १९६२ मा चीनले हिन्दूस्तानमाथि आक्रमण गर्यो, सीमा मिचेर भारतभित्र आफ्नो पल्टन पठायो...।’ 

बीपीले फेरि चीनको कुनै मुलुकमाथि सैनिक हस्तक्षेप गर्ने नीति नरहेको दोहोर्याए। बरु, भारतीय पत्रकारहरुले कोरिया युद्धमा चिनियाँ संलग्नताको प्रसङ्ग उप्काएका थिएनन्। बीपी आफैँले चिनियाँ सेना कोरिया युद्धमा संलग्न भएको स्मरण गराइदिए। 

अमेरिकाकै कारण कोरियाली युद्धमा चिनियाँ सेनाको संलग्नता रहेको प्रस्ट्याउन बीपीले कोरियाली युद्धको प्रसङ्ग अघि सारेका थिए। 

‘अमेरिकी पल्टनले उत्तर कोरियाको यालु नदी पार गर्न खोज्दा चीनले कोरियामा आफ्नो पल्टन पठाएको हो,’ यति स्पष्टीकरण दिएपछि फेरि चीन–भारत युद्धका विषयमा फर्कंदै बीपीले थपे, ‘हिन्दुस्तानको भूमिमा पल्टन पठाउने कामलाई चीनको विपथगमन (उल्टो बाटो) भन्न सकिन्छ। त्यही कारणले होला, चीनले जति अकस्मात भारतका विरुद्ध कारवाही सुरु गरेको थियो, त्यति नै अकस्मात किसिमले हिन्दूस्तानको सीमाभन्दा बाहिर ऊ फर्केर गयो र आफ्नो विपथगमनलाई ठीक पार्यो (अर्थात् सच्यायो)।’

चीन भ्रमणका क्रममा सांघाइमा बीपीको स्वागत  

बीपीले पाकिस्तानको विभाजन (अर्थात् बंगलादेशको स्वतन्त्रता) को समर्थन मात्र गरेका थिएनन्, बंगलादेशी स्वतन्त्रता संग्राममा आफ्नो तर्फबाट सशस्त्र सहयोग समेत गरेका थिए। नेपालमा सशस्त्र संघर्षका लागि जम्मा गरिएका हतियार बंगलादेशी स्वतन्त्रता संग्रामीहरुलाई प्रदान गरेका थिए। बंगलादेशीहरुलाई सशस्त्र तालिमका लागि कांग्रेसको मुक्ति सेनाका कर्णेल डिबी राईलाई पठाएका थिए।  

बंगलादेश निर्माणका बेला चीन र भारत फरक–फरक कित्तामा थिए। बंगलादेश स्वतन्त्रताका लागि भारतले पाकिस्तानविरुद्ध सेना नै पठाएको थियो। चीन भने पाकिस्तान विभाजनको विपक्षमा थियो। 

कुनै देशमाथि चीनले सैन्य हस्तक्षेप गर्दैन भन्ने पुष्ट्याइँका लागि सो पत्रकार सम्मेलनमा  बीपीले बंगलादेश निर्माणका बेला चिनियाँ र भारतीय भूमिकाबारे भारतीय पत्रकारहरुलाई स्मरण समेत गराए।  

‘पाकिस्तान टुक्रिँदा र बंगलादेशको स्वतन्त्रताका लागि भारतीय पल्टनको प्रयोग हुँदा पनि चीनले सामरिक हस्तक्षेप गरेन भन्ने हामीले बिर्सनु हुँदैन, उसले पाकिस्तानलाई जतिसुकै कूटनीतिक र अरु किसिमको सहयोग दिएको भए पनि पल्टनको प्रयोग गरेको छैन,’ बीपीले भनेका थिए, ‘पाकिस्तान चीनको एउटा ठूलो मित्र र सहायक (सहयोगी) भएपनि उसको मद्दतको लागि हातहतियार र पल्टन लिएर चीन पुगेको छैन।’ 

नेपालसँगको सम्बन्धका सन्दर्भमा चिनियाँहरुले बीपीको महत्व जति बुझेका थिए, नेपालका लागि चीनको महत्व सायद कांग्रेसको वर्तमान नेतृत्वले त्यसरी बुझेको छैन। सम्भवतः यही कारण पछिल्लो समय कांग्रेस नेतृत्वसँगको भेटघाटमा चिनियाँ नेताहरुले नेपाल–चीन सम्बन्धका सन्दर्भमा बीपीको भूमिकाको स्मरण गराइरहेका होलान्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .