म्यागेजिन


मेरा बुबा चाङ मिनको रोमाञ्चकारी चीन–नेपाल सीमांकन डायरी

मेरा बुबा चाङ मिनको रोमाञ्चकारी चीन–नेपाल सीमांकन डायरी

चाङ मिङ (बायाँबाट दोस्रो) नेपाली सीमा निर्धारण टोलीसँग छलफल गर्दै र, अक्टोबर १९६१ मा चीनमा राजा महेन्द्रसँग चाउ एनलाइ (अरनिकोप्रोजेक्ट)


चाङ यिपिङ
साउन ५ ,

अक्टोबर १९५९ मा एक नेपाली पाहुनाले चीन र नेपालबीचको सीमा सम्झौताका बारेमा सोध्दा प्रधानमन्त्री चाउ एनलाइले भनेका थिए, ‘चीन र नेपालबीचको मित्रता प्रदर्शन गर्न र एसियामा उदाहरण कायम गर्न नेपाली सरकारसँगको सहमतिमा सीमा मुद्दामा तत्काल वार्ता सुरु गर्न र सर्वेपछि सीमांकन गर्न हामी तयार छौँ।’

२१ मार्च १९६० मा प्रधानमन्त्री चाउ एनलाइ र श्री ५ को सरकारका अधिकारप्राप्त प्रतिनिधि प्रधानमन्त्री बीपी कोइरालाले ‘दुई देशबीचको सीमा मुद्दामा जनवादी गणतन्त्र चीन सरकार र नेपालको श्री ५ को सरकारबीचको सम्झौता’मा बेइजिङमा हस्ताक्षर गरे। सो सीमा सम्झौतामा चीन र नेपालबीचको समग्र सीमा वैज्ञानिक ढंगले कोरिनुपर्ने र मित्रवत् परामर्शका माध्यमबाट परम्परादेखि चलिआएको सीमालाई आधार मानी सीमांकन हुनुपर्ने उल्लेख थियो। हस्ताक्षर गर्ने दुवै पक्षले सीमाबारे संयुक्त समिति गठन गर्ने निर्णय गरे, जसमा दुवैतिरबाट बराबरी सदस्य रहने तय भयो। दुवै पक्षले आयोगलाई चीन र नेपालबीचको सीमामा रहेका खास मुद्दाहरुमा छलफल गरेर समाधान गर्न निर्देशन दिए।

अतीतबाट बाहिर निस्केका तस्बिर र डायरी
११ अगस्ट १९६० मा चीन–नेपाल संयुक्त सीमा समिति स्थापना भयो। जसमा तिब्बत स्वायत्त क्षेत्रको जनसरकार, तिब्बत मिलिट्री डिस्ट्रिक्ट तथा सर्वे र नक्सांकन प्रशासन पनि सामेल थियो।

मेरा बुबा चाङ मिन त्यतिबेला तिब्बत मिलिट्री डिस्ट्रिक्टका राजनीतिक विभाग प्रमुख थिए। १९६० देखि १९६३ सम्म उनी चीन र नेपालबीचको सीमा सर्वेसम्बन्धी समग्र प्रक्रियामा सहभागी भए।

१९६० को दशकको सुरुवातमा मेरी दिदीले एउटा समाचारको व्याख्या गरेर मलाई सुनाएकी थिइन्। समाचारमा चीन र नेपालबीचको हिमाली सीमामा स्तम्भ खडा गर्न मेरो बुबाले शिलान्यास गर्दै गरेको देखाइएको थियो। मैले आमाबाट के पनि सुनेकी थिएँ भने दुई मुलुकबीचको सीमा सर्वेमा मेरा बुबा सहभागी हुनुभएको थियो। घरमा एउटा पुरानो सुटकेसमा चीन–नेपाल सीमा सर्वेका समयको मेरा बुबाका तस्बिरहरु अझै पुरानो रङले चम्किरहेका छन्। र, मेरा बुबाको डायरीमा चीन–नेपाल सीमा सर्वेको अवस्था विस्तृत रुपमा उल्लेख छ। यी सबै कुराले दशकौँसम्म चीन–नेपाल सीमांकनसम्बन्धी थप जान्ने उत्सुकता पैदा गरिरह्यो। त्यसैले मैले नक्सा हेरेर थप जानकारी हासिल गर्ने कोसिस गरेँ। आखिरमा चीन–नेपाल सीमामा मेरो बुबाको पदचिन्ह स्पष्ट भइछाड्यो।​​​​

चाङ मिनले आफ्नो डायरीमा चीन–नेपाल सीमा निर्धारण गर्दाको कथा विस्तृतमा उल्लेख गरेका छन्

चाङ मिङको डायरीमा चीन–नेपाल सीमांकन
१९ नोभेम्बर १९६० मा बुबाले आफ्नो डायरीमा रसुवा पुल (मितेरी पुल)स्थित चीन–नेपाल सीमा समितिको संयुक्त सर्वे टोलीमा रहेका प्रमुख कर्मचारीहरुको नामावली टिपेका थिए। जसअनुसार चिनियाँ प्रतिनिधिहरुमा चाङ पाओहुवा, टोली प्रमुख लेफ्टिनेन्ट कर्णेल चाङ मिङ, टोली उपप्रमुख चाङ चुची, गार्ड क्याप्टेन सेङ योङसेन, प्राविधिक निर्देशकहरु याङ सिङकुआङ, चाउ चिचिङ, तियान रोङचाङ, सचिव लु च्याङहुवा र सम्पर्क अधिकृत लेफ्टिनेन्ट च्याङ फुयी थिए। त्यस्तै नेपाली प्रतिनिधिहरुमा मेजर आदित्य शमशेर, टोली प्रमुख लेफ्टिनेन्ट कर्णेल पशुपति शमशेर, टोली उपप्रमुख लेफ्टिनेन्ट सच्चित, प्राविधिक अधिकृतहरु अल्चेनबहादुर बस्नेत, गुणनिधि नेपाल, सहायक प्राविधिक हरिमान र तिब्बती अनुवादक फुबु थिए। (नेपाल–चीन संयुक्त सीमा समितिमा भने नेपाली टोलीको अध्यक्षता मेजर जनरल पदमबहादुर खत्रीले गरेका थिए। जसमा चित्तरञ्जन नेपाली सदस्य सचिव, मोहनबहादुर सिंह, मेजर आदित्य शमशेर र मेजर भरतकेशर सिंह सदस्य थिए।)

२० नोभेम्बर १९६० मा चीन–नेपाल संयुक्त सीमा समितिको सर्वे टोली ल्हासाबाट केरुङ काउन्टीमा पर्ने रसुवा पुलतर्फ हिँड्यो।

१९६० देखि संयुक्त सीमा सर्वेका लागि यातायात, बासस्थान, जलवायु, खोलानदी, भूगोल, मानव बस्ती र सुरक्षाका विषयमा सूचना दिन चीन र नेपालले आआफ्नो क्षेत्रमा सीमा रेखाको सर्वे सुरु गरेका थिए।

मेरो बुबा र उनका कमरेडहरु औसत ४ हजार मिटरको उचाइमा रहेको सीमाक्षेत्रमा काम गरिरहेका थिए। मेरो बुबाले छन्दुमा रहेका आफ्ना चार बच्चाको खबर त परै छाडौँ, ल्हासामा काम गरिरहेकी मेरी आमाको हालखबर पनि थाहा पाएका थिएनन्।

त्यतिबेला तिब्बत मिलिट्री डिस्ट्रिक्टको बन्दोबस्त विभागका सहायक तथा पछि ७८ अस्पतालका निर्देशक चु किक्सीले आफ्नो मस्तिष्कमा निकै लामो समयदेखि पुरिएको स्मृति खोजीमेली गरे। सीमा सर्वेका लागि निकै टाढा जानुपर्थ्यो। हिमाल, घना जंगल, भिर, अत्यन्त खराब र खतरनाक बाटो भएको क्षेत्रमा एकदम कम मानिस भेटिन्थे। शिविरमा हिमाली बँदेल, ढेडु, खरायो र कहिलेकाहीँ सर्प, बिच्छीले पनि हमला गर्थे। सीमांकनकर्ताहरुको काम गराइ र बसाइ एकदमै कठिन थियो।

चिनियाँ टोलीमा सबै बराबर थिए। उनीहरु सबै पाल टाँगेर बस्थे र हरेक दिन उही खाना खान्थे। सुकाइएका तरकारी, डिब्बाका खाना र भात। कहिलेकाहीँ सुकाइएका तरकारी पाइँदैनथे। त्यस्तो बेला उनीहरुले खुर्सानी र भात खानुपर्ने हुन्थ्यो। छुट्टीको दिन सबै जना दाउरा खोज्न डाँडातिर जान्थे, गोबर जम्मा गर्थे र घाँस काट्थे। यसविपरीत सीमांकन टोलीमा रहेका नेपाली अधिकृतहरुमा भने अलगअलग पदवी थियो। सबैका एकएक भरिया थिए। उनीहरुलाई नदी तार्न पनि सहयोगीको आवश्यकता पर्थ्यो।

१९६१ को नयाँवर्षको पूर्वसन्ध्यामा चिनियाँ सीमांकन टोलीका सदस्यहरु बसेको डाँडा हिँउले पुरिएको थियो। चारैतिर सेताम्मे भएको थियो। मेरा बुबाले सबैका लागि एउटा सानो जमघट आयोजना गरे। जहाँ उनले माओ चेतुङको ‘हिउँ’ कविता वाचनको अगुवाइ गरे। न्यानोपन जगाउन र सबैको संघर्षशील मिजासलाई प्रेरित गर्न उनले कविता पढेका थिए। त्यस्तै यसले उनको जीवनप्रतिको दार्शनिक दृष्टिलाई पनि प्रष्ट पार्थ्यो।

त्यसलगत्तै मेरो बुबालाई ल्हासा फर्किने निर्देशन प्राप्त भयो।​​

८ नोभेम्बर १९६० मा रसुवागढी–केरुङस्थित मितेरी पुल नजिक चीन–नेपाल संयुक्त सीमा निर्धारण टोली। अगाडिको लाइनमा बायाँबाट चाङ मिन (दोस्रो), पशुपति शमशेर (तेस्रो), चाङ बोहुवा (चौथो) र, आदित्य शमशेर (पाँचौँ)  (तस्बिरः चाओ मिनजुन)

वार्ता, मतभेद, मित्रता र भौगोलिक अखण्डताको रक्षा
अप्रिल १९६१ मा प्रचीन तिब्बती सहरलाई वसन्तको हावाको झोँक्काले नरम तरिकाले स्पर्श गर्यो। तिब्बत स्वायत्त क्षेत्रको सरकार र तिब्बत मिलिट्री डिस्ट्रिक्टले चीन–नेपाल संयुक्त सीमा सर्वे टोलीलाई स्वागत गर्न सेनाको सभाघरमा भव्य बैठक राख्यो। चिनियाँ सीमांकन टोलीले यति गौरवशाली र कठिन जिम्मेवारी उठाएको थियो। उनीहरुलाई पाँच सर्वे टोलीमा विभाजन गरिएको थियो। र, उनीहरु चिफङ ब्रान्डको कारमा चढेर सीमांकनको कामका लागि लामो यात्रामा निस्किएका थिए।

८ मे १९६१ मा बुबाले आफ्नो डायरीमा चीन–नेपाल संयुक्त सीमा समितिको पाँचौँ संयुक्त सर्वे टोलीमा रहेका चिनियाँ अधिकृतहरुको नाम उल्लेख गरेका छन्। जसमा टोली प्रमुख लुओ सिसेङ, टोली उपप्रमुख चाङ मिङ, टोली उपप्रमुख तथा प्राविधिक निर्देशक सी चिची, कर्मचारी चु चेन्छी, सचिव चेन रायली र गार्ड क्याप्टेन वाङ चियानयिङ थिए। पहिलो टोली प्रमुख लेइ पाओथाओ, दोस्रो टोली प्रमुख याङ सिसी, तेस्रो टोली प्रमुख वु तोङ र चौथो टोलीका प्रमुख ली चिया थिए। खगोलीय टोलीका नेता सुन चिन्कान, सम्पर्क अधिकारी चाङ काइचोङ र फोटो पत्रकार चाओ मिनचुन, आदि थिए। नेपाली टोलीमा लेफ्टिनेन्ट कर्णेल गुबाकरजी, टोली उपप्रमुख क्याप्टेन अनाना, सर्वेक्षक बुलातुओलगायत थिए।

उबडखाबड बाटोमा कारमा सिगात्से र ग्यान्सी हुँदै बुबा पाँचौँ सर्वे टोलीको साथमा चीन, नेपाल र सिक्किमको सीमाविन्दुनेर हाम्रो क्षेत्रमा पुगे। यहीँनेर सडक टुंगियो। त्यसपछि सीमांकन गर्ने ठाउँ चिमाताङ पुग्न कम्तीमा दुई दिन हिँड्नुपर्ने हुन्थ्यो। पहिलो दिन बुबा र उनका कमरेडहरु दिनभरि हिँड्दा धुलोले छपक्कै छोपिएर अत्यन्त क्लान्त अवस्थामा हिमालयको काखमा बास बसे। भोलिपल्ट सर्वे टोलीका सदस्यहरु सारा औजारउपकरण र दैनिक आवश्यकताका सामान बोकेर हिमाली शिखर पार गरी पश्चिमतिर लागे। त्यो ठाउँ ५ हजार ५ सय मिटरको उचाइमा थियो।

हिमाल चढ्दै गर्दा हिँड्न एकदमै कठिन भयो। टाउको दुख्यो, छाती ढक्क फुल्यो, सास छोटोछोटो भयो र श्वास नलीमा चिरा पर्यो। शिखरमा सबैभन्दा पहिले पुग्नेमा बुबा र नक्सा प्राविधिक ली चेङसुवेइ थिए। तेस्रो दिन पनि सर्वे टोलीले यात्रा जारी राख्यो र हिमालबाट ओर्लिन थाल्यो। उनीहरुले साँघुरो काठे पुल तरे। घाम पश्चिमतिर ढल्किँदै गर्दा उपत्यकामा कुहिरो लाग्दै गयो। अन्ततः टोली चिमाताङ पुग्यो। चिमाताङको सीमामा एउटा नदी छ। जहाँबाट पूर्वतिर चीन हो भने पश्चिमतिर नेपाल। नेपाली सीमांकन टोली पनि सो ठाउँमा समयमै आइपुग्यो। परम्परागत सीमारेखालाई पछ्याउँदै दुवै पक्षले एक सय मिटरको दुरीमा पाल टाँगे र आआफ्नो मुलुकमा शिविर खडा गरे।

जिमाङथानमा आफ्नो शिविरमा संयुक्त सीमा निर्धारण टोलीको चिनियाँ पक्ष (तस्बिरः चाओ मिनजुन)
‘सीमा सम्झौता’ले चीन र नेपालबीच सीमा निर्धारणका लागि निश्चित विधि तोकेको थियो। सीमानामा फरकफरक अवस्था विद्यमान थिएः दुवै पक्षको नक्सा दुई मुलुकबीचको सीमासँग मेल खाने अवस्था, दुई मुलुकको नक्सामा रहेको सीमा रेखा मेल नखाए पनि दुवै पक्षको क्षेत्राधिकार निर्विवाद रहेको अवस्था, र दुवै पक्षको नक्सा पनि मेल नखाने र वास्तविक क्षेत्राधिकारका विषयमा पनि दुवै पक्षको अलगअलग धारणा रहेको अवस्था।

बुबाले चीन–नेपाल सीमाको अनुसन्धान गर्दै गर्दा दुई पक्षबीच अनेक पटक सीमा वार्ता गर्नुपरेको थियो। सामान्यतः चीन र नेपालले दुवै पक्षका विदेश मन्त्रालयबीच सहमति भएको स्थान र समयमा वार्ता गरे। त्यस्तै, सीमांकनको काममा आइपरेको वास्तविक परिस्थितिका आधारमा तत्काल वार्ताहरु पनि भए। कुराकानीको केन्द्रमा थियो– सगरमाथाको स्वामित्व। त्यस्तै, दुई मुलुकका सीमामा रहेका अनेकौँ हिमाली नाकाका विषयमा पनि वार्ता जारी थियो।

वार्ताका क्रममा बुबाले आफ्नो डायरीमा समानता, मित्रता र आपसी समायोजनको सिद्धान्त पालना गर्दै त्यसैका आधारमा हामीले जुनसुकै मूल्यमा राष्ट्रिय हितको रक्षा गर्नुपर्ने र मातृभूमिको भौगोलिक अखण्डता कायम राख्नुपर्ने उल्लेख गरेका छन्। वार्ता कठिन थियो, यो कुरा बुबाको डायरीबाट पनि स्पष्ट हुन्छ। चीन र नेपालले सर्वेका कुनै खास विषयमा दोहोर्याएर छलफल गरेका थिए। कतिपय विषयमा त उनीहरु अल्झिएका पनि थिए। जसका कारण निर्णय गर्न झन् कठिन भएको थियो। एक पटक एक नेपाली प्रतिनिधिले वार्ताको टेबलमा भएको बिस्कुट देखाएर बुबासँग मोलमोलाइ गरे। उनको तर्क थियो, जमिनको अर्को टुक्रामा दाबी गर्नु भनेको थप अर्को बिस्कुट माग्नुजस्तै हो, जसले समग्र परिस्थितिलाई खास असर गर्दैन। बुबाले राष्ट्रिय हितलाई मनमा राखेर सम्बन्धित सम्झौता र मार्गनिर्देशनहरुलाई चीन–नेपाल मित्रता प्रबद्र्धनमा लगाए। उनले तथ्यबाट सत्यको खोजी गरे, न्यायको सिद्धान्तलाई अवलम्बन गरे, धैर्यपूर्वक नेपाली अधिकारीहरुलाई सम्झाए र अन्ततः मतभेदलाई उचित तरिकाले समाधान गरे।

चीन–नेपाल सीमा सर्वेमा सहभागी भएका स्टेट एड्मिनिस्ट्रेसन अफ सर्वेइङ एन्ड म्यापिङका सदस्य याङ छियान्ताले सम्झिएः त्यतिबेला कोरला नाकाको दक्षिणी भाग पहाडले घेरिएको थियो भने उत्तरी हिस्सा हिमाच्छादित पहाड र हिमनदीले घेरिएको थियो। बीचमा भने करिब १५ सय मिटर फराकिलो र कयौँ किलोमिटर लामो घाँस उम्रिएको बगर थियो। बरफ र हिउँ पग्लेर सो बगरमा अनेक खोल्सीहरु बनेका थिए। परम्परागत रुपमा खोल्साहरुको मध्य भागलाई सीमारेखा मानिनुपर्ने थियो। तर, जब एक मिटरभन्दा साँघुरा ससाना खोल्सीहरु पनि नक्सामा कोरियो, तब नेपाली टोलीका अधिकारीहरुले मध्य भागबाट चीनतर्फ पर्ने खोल्सीलाई सीमा मान्नुपर्ने दाबी गरे। यसमा दुई पक्षबीच मतभेद जन्मियो र काम रोकियो।

चिनियाँ पक्षले यो विषयमा प्रधानमन्त्री चाउ एनलाइसँग निर्देशन माग्यो। प्रधानमन्त्री चाउले टेलिग्राममार्फत जवाफ पठाएः जमिन अलिकति पनि छाडिने छैन र हाम्रो देशको भौगोलिक अखण्डता सुनिश्चित गरिनेछ। त्यसपछि चिनियाँ पक्षले नेपाली पक्षसँग सञ्चार सम्पर्क बढायो र नेपाली पक्षका लागि एउटा भोज आयोजना गर्नुका साथै सामाजिक गतिविधि बढाएर मित्रता वृद्धि गर्यो। अन्ततः नेपाली पक्ष आफ्नो अनुचित मागबाट पछि हट्यो। यसरी दिनरात सँगै रहेर चीन र नेपालका सीमांकन अधिकारीहरुले बलियो आपसी मित्रता कायम गरे।​​

मे १९६१ मा संयुक्त सीमा निर्धारण टोली (तस्बिरः चाओ मिनजुन)

चीन–नेपाल मित्रताका साक्षी सीमा चिह्न र स्तम्भ
५ अक्टोबर १९६१ मा चिनियाँ राष्ट्रपति ल्यु साओची र नेपालका राजा महेन्द्रले बेइजिङमा जनवादी गणतन्त्र चीन र नेपाल अधिराज्यबीचको सीमा सन्धिमा हस्ताक्षर गरे।

अनेक चरणको वार्ता र परामर्शपछि १९६२ मा चीन र नेपाल सहमतिमा पुगे। यसअघिका सर्वेमा कोरिएको नक्साका आधारमा चीन र नेपालबीचको सीमानाको लम्बाइ १४१४.८८ किलोमिटर थियो। त्यसैका आधारमा सीमाको अवस्थिति निर्धारण गरियो। नेपालसँगको सीमामा ७९ वटा मुख्य सीमा चिह्न राखिएका थिए।

बुबाले आफ्नो डायरीमा उल्लेख गरेअनुसार चीन र नेपालबीचको सीमामा सर्वे र नक्सांकनको धेरैजसो काम चिनियाँ पक्षले गरेको थियो। नेपाली पक्षले भने त्यसलाई सच्याउने वा सर्वेमा सहभागी हुने काम गरेको थियो। चीन–नेपाल सीमा सर्वे तथा नक्सांकनको काममा भाग लिएका सर्वे तथा नक्सा प्राविधिक ली चेनस्यु अहिले सान्सी प्रान्तस्थित हाचिन नगर पार्टी कमिटीमा काम गर्छन्। उनलाई उतिबेलाको सर्वेको थुप्रै विवरण अझै याद छ। त्यतिबेला हिमालय क्षेत्र चीनको राष्ट्रिय भूगणितीय नियन्त्रण सञ्जालमा जोडिएको थिएन। त्यसैले यो सम्पूर्ण क्षेत्र नक्सांकनका हिसाबले खाली थियो। जहाँको कुनै तथ्यांक उपलब्ध थिएन। न जीपीएस थियो, न फार इन्फ्रारेड रेन्जिङ नै। त्यसैले सर्वेको काम खगोलीय मापन र ब्यारोमेट्रिक उचाइ मापनको माध्यमले मात्र सम्भव थियो। सीमा सर्वे स्थलगत काम थियो। जहाँको अवस्था सामान्य थियो। तर, हिमाली क्षेत्रमा कहिलेकाहीँ विद्रोहीहरुले गतिविधि गर्थे। त्यसैले ली चेनस्युले रोमाञ्चकारी क्षणको अनुभव लिन पाए।

कठिन मेहनतपछि चीन र नेपालले सीमाचिह्न राख्ने काम सफलतापूर्वक सम्पन्न गरे। २० जनवरी १९६३ मा चीनको प्रतिनिधित्व गर्दै उपप्रधानमन्त्री तथा विदेशमन्त्री चेन यी र नेपालको प्रतिनिधित्व गर्दै तुलसी गिरीले जनवादी गणतन्त्र चीनको सरकार र श्री ५ को सरकारबीच सीमा प्रोटोकलमा बेइजिङमा हस्ताक्षर गरे। त्यसपछि चीन र नेपालबीचको सीमा औपचारिक रुपमा अंकित भयो।

स्मृति मानव सभ्यताको महत्वपूर्ण सम्पत्ति हो। त्यतिबेला तिब्बत स्वायत्त क्षेत्रको विदेश मामिला कार्यालयस्थित सीमा कार्याकाल उपनिर्देशक चाङ चुची तीन वर्षसम्म सीमांकन टोलीमा मेरो बुबासँगै रहे। उनीहरु एउटै पालमा बस्थे। आजको दिनसम्म पनि उनले बुबाको हास्य बिर्सेका छैनन्। नयाँ वर्षको पूर्वसन्ध्यामा आयोजित जमघटको हाँसो चाङ चुची अझै सम्झिरहन्छन्। वार्ताको टेबलमा मेरो बुबाले कसरी कुराकानी सुरु गरे र टुंग्याए, टोलीमा रहेका तिब्बती चाङ लुओलाई उनी कति स्नेह गर्थे, सबै उनलाई सम्झना छ। सर्वेमा संलग्न मानिसहरुको खोजी र अन्तर्वार्तामा महिनौँ गुजारेपछि मैले उनीहरुका माध्यमबाट चीन–नेपाल सीमा सर्वेको समयका बुबालाई स्मरण गरेँ। ५० वर्षभन्दा पहिलेको चीन–नेपाल सीमा सर्वेमा सहभागी हुँदा बुबाको जीवन र कामलाई नजिकबाट नियाल्न पाएँ। उनका अनुभवहरुले म प्रभावित भएँ।

सन् १९३८ मा मेरो बुबा नयाँ चौथो सेनाअन्तर्गत चौथो डिभिजनमा भर्ना भएर दोस्रो चीन–जापान युद्धको मोर्चामा गए। १९५० मा उनी १८ औँ सेनासँगै तिब्बत गए। १९७० मा उनलाई छन्दु सैन्य क्षेत्रमा सरुवा गरियो। यी वर्षमा उनमा हिमाली क्षेत्र र तिब्बतीहरुप्रति गहिरो प्रेम पैदा भएको थियो। मेरा बुबा सधैँ भद्र व्यवहार, स्वअध्ययन र मितव्ययिताका माध्यमबाट नैतिकताको विकास गर्नुपर्छ भन्ने वकालत गर्थे। विगतलाई उनले बेवास्ता गरे र कहिल्यै पनि संस्मरण लेख्न चाहेनन्।

९ मे २०१४ मा ९४ वर्षीय मेरा बुबाको शान्तिपूर्वक देहान्त भयो।

आधा शताब्दीअघि बुबाले गरेका काम इतिहासको पन्नामा दर्ज भएको छ। चीन–नेपाल सीमा सर्वेको तीन वर्षमा बुबा र उनका कमरेडहरुले मिसन सफल पारे। उनीहरुले चीन र नेपालबीचको १४ सय किलोमिटरभन्दा बढी सीमारेखा मातृभूमिप्रतिको जिम्मेवारीका साथ कोरे।

अक्टोबर १९६१ मा सेन्ट्रल न्युज फिल्म स्टुडिओले ‘मित्रवत् सीमा’ नामक डकुमेन्ट्रीको छायांकन सम्पन्न गर्यो। जसले चीन–नेपाल सीमा सर्वेको स्मृतिलाई मूल्यवान तस्बिरका साथ अभिलेख गरेको थियो। साथै, त्यसले मेरो बुबा चाङ मिङ तिब्बतमा रहँदाको घटनाक्रम पनि वर्णन गरेको छ।

(चिनियाँ भाषामा २०१९–०८–०१ मा प्रकाशित यो आलेख अरनिको प्रोजेक्टका लागि सुनिभा चित्रकारले अंग्रेजीमा अनुवाद गरेकी हुन्)

 

साउन ५, २०७९, बिहीबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad