ad ad

म्यागेजिन


चुनाव

चुनाव

राजेन्द्र पौडेल
मंसिर १४, २०७६ शनिबार १०:३०,

भर्खरै सकिएको छ चुनाव र
खसाएर आएको छु मैले मतपत्र
भर्खरै सकिएको छ चुनाव र
देखाएर आएको छु मैले मेरो शक्ति।

अहो कत्रो शक्ति महसुस भएथ्यो भोट हाल्दै गर्दा
जोडजोडले उफ्रिरहेथ्यो मुटु
नजिकै बसिरहेथ्यो छिमेकी ठेकेदार
सूर्ती च्यापेर ओठमा बेचैनीपूर्वक
पिच्च थुकदैथ्यो भूइँमा र
आँखा तरेर मलाई सन्काउँदैथ्यो आँखा अर्कैतिर
अहो कस्तो सिरिङ्ग भएको जिउ
कतै त्यसले मेरो भोट सूर्ती जस्तै चपाइदिने त हैन!
अहो कस्तो निरीह महसुस गरिरहेछु म आफैं
भर्खरै सकिएको छ चुनाव र
हराएर आएको छु मैंले मेरो शक्ति।

भर्खरै सकिएको छ चुनाव र
प्रयोग गरेको छु मैले मेरो सार्वभौमसत्ता
तपाईंले जस्तै मैले पनि
हाम्रो भोटले चुनिनेछ कुनै उमेदवार र
बन्नेछ विधायक या कार्यकारी
उसले बनाउनेछ कानुन र
घोषणा गर्नेछ करको
मान्दिनँ भन्न पाइने छैन कानुन
तिर्दिनँ भन्न पाइने छैन कर
किनकि भर्खरै सकिएको छ चुनाव र
गुमाएर आएका छौं हामीले हाम्रो सार्वभौमसत्ता।

भर्खरै सकिएको छ चुनाव र
विजेता बनेको छ मेरै छिमेकको नेता
विजय उल्लासमा मेरै काँधमाथि चढेर
गरिरहेछ ऊ अभिवादन
मेरा बलिष्ठ पाखुराहरुको सस्तो मूल्य उल्लेख गर्दै
अब छिट्टै आव्हान गर्नेछ उसले कर्पोरेट दुनियाँलाई र
निम्तो दिनेछ लगानीको
उसको आव्हानमा आउनेछन् बहुराष्ट्रिय कम्पनीहरु
र बेदखल गर्नेछन् मलाई मेरै घरबारीबाट
केही गर्न सक्नेछैन मैले त्यतिबेला
किनकि भर्खरै सकिएको छ चुनाव र
बुझाएर आएको छु मैले मेरोे हाम्रो सार्वभौमसत्ता।

भर्खरै सकिएको छ चुनाव र
गुमााएर आएको छु मैले मेरोे स्वतन्त्रता।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .