ad ad

म्यागेजिन


यशोदा तिम्सिनाको मातृत्व अनुभव : छोराछोरी र करिअर सँगै हुर्काएँ

यशोदा तिम्सिनाको मातृत्व अनुभव : छोराछोरी र करिअर सँगै हुर्काएँ

राधिका अधिकारी
माघ १, २०७८ शनिबार १४:५१, काठमाडौँ

समाज अहिलेभन्दा निकै पछाडि थियो। त्यसमाथि गाउँको जीवन झनै पिछाडिएको थियो। घरहरु पातला थिए। एक घरबाट अर्को घरसम्म जाने फराकिलो बाटो थिएन। टुकीको उज्यालोले अँध्यारो चिर्नुपर्ने समय चेतनाका हिसाबले पनि धेरै पछि थियो। त्यो समय एसएलसी पास गर्न पाउने छोरी निकै भाग्यमानी मानिन्थे। धेरै छोरीहरुको ८/९ पढ्दै गर्दा विवाह भइसक्थ्यो। कतिले ५/६ कक्षा पढ्दाताकै घरजम गरिसक्थे।

अहिलेको पुस्तालाई सुन्दा कथा जस्तो लाग्छ। तर, यही युग बाँचेर आएकी हुन् पुरानो पुस्ताकी सञ्चारकर्मी यशोदा तिम्सिना।  

छोरीले आफ्नै सपना बनाएर स्कुल जाने समय थिएन त्यो। त्यही समय यशोदाले आफ्नै सपना बनाइन्। उनको जीवनको सबैभन्दा पहिलो सपना थियो– एसएलसी दिएपछि विवाह नहोस्। थाहा हुँदो हो त उनी भाकल पनि गर्थिन्। थाहा थिएन, कामना गरिन। उनले एसएलसी दिने बेलासम्म उनका सहपाठी कति आमा बनिसकेका थिए, कति बेहुली बनेर अन्मिदै थिए। कतिपय साथीका वैवाहिक दुःखका खबर उनको कानमा ठोक्किरहन्थे।

उनलाई लाग्थ्यो, ‘दुःखको यो महासागरमा म किन थपुँ दुःखकै अर्को कहानी!’

एसएलसीपछि उनको घरमा पनि कोही आयो कुटुम्ब बनेर। उनका बुबाले केटाको खानदान बुझे र काठमाडौंमा रहेका छोरालाई खबर पठाए, ‘बहिनीलाई राम्रो घरानाबाट माग्न आएका छन्। बिहे गर्दिन आउनू।’

यशोदाका दाजुले काठमाडौबाट खबर फर्काए ‘बहिनीको पढाइ राम्रो छ यतै पढ्न पठाउनू।’ 

दाजुको यही एउटा जवाफले यशोदाको काठमाडौंको यात्रा तय गरिदियो। त्यतिबेला यशोदाले कामना गरेकी थिइन्, ‘हरेक बहिनीहरुका मेराजस्तै दाजु हुन्।’

यसरी टुट्यो नर्स बन्ने सपना
छोरीलाई सपना देख्ने छुट नै नभएको समाजमा एउटी छोरीले देखेको जीवनकै पहिलो सपना पुरा हुँदै थियो। यशोदाको मन फुरुङ्ग थियो। घर, खेले–हुर्केको आँगन, बा–आमाको साथ छोडेर हिँड्नुपर्दा अर्कोतिर मन बेचैन थियो। उनी पनि बा–आमाको प्यारो काख छोड्न तयार भइन् र समातिन् काठमाडौंको रात्रीबस। जीवनमै बस चढेको पहिलो अनुभव थियो त्यो।

काठमाडौं आउँदै उनले अर्को सपना बुनिन्। यशोदाको दोस्रो सपना थियो नर्स बनेर बिरामीको सेवा गर्ने। तर त्यतिबेला नर्सिङ पढ्न ९/१० मा स्वास्थ्य शिक्षा लिएर पढ्नुपर्ने रहेछ। उनले पढेकी थिइनन्। यहीँ सकियो यशोदाको नर्स बन्ने सपना। त्यसपछि उनले प्राइभेट पढेर आईए र बीए पास गरिन्। समाजशास्त्रमा मास्टर्स गर्दा मात्रै हो उनी त्रिचन्द्र भर्ना भएको। 

काठमाडौंमै उनका दाजुको ‘ल फर्म’ थियो। दिनभरि यशोदा त्यहीँ बस्थिन्। आइपरेको काम गर्थिन्। त्यहीँ बस्दाबस्दै यशोदाले वकिल बन्ने सपना पनि बनाएकी थिइन्। त्यसताका पत्रिकामा गोरखापत्रको युग थियो। यशोदा गोरखापत्रका प्रत्येक हरफ नबिराई पढ्थिन्। एकदिन त्यही पत्रिकामा ‘मिडिया प्वाइन्ट’को विज्ञापन छापिएको थियो। पत्रकारिता सिक्न चाहनेलाई अवसर भनेर छापेको विज्ञापनले मोडिदियो यशोदाको सपनाको बाटो। २०५३ मा ‘मिडिया प्वाइन्ट’ले पहिलो पटक पत्रकारिता तालिम खोलेको थियो। यशोदा पहिलो ब्याचको विद्यार्थी हुन्। 

पत्रकारिताको तालिम सकिएलगत्तै ‘महानगर’पत्रिकामा रिपोर्टर मागको विज्ञापन छापियो। यो विज्ञापनले यशोदाको जागिरे जीवन सुरु गरिदियो। पहिलो महिनाको तलब ३३ सय थियो। 

अहिलेका पनि समाचारकक्ष महिलामैत्री नभएको आवाज बारम्बार उठिरहन्छ। उबेला त झन् हुने कुरै भएन। न्युजरुममा एक्लो महिला थिइन् यशोदा। अलग्गै शौचालय, प्रोत्साहन, सम्मान भन्ने त कल्पना पनि गर्न सकिँदैनथ्यो। थुप्रै नमिठा अनुभव छन् यशोदासँग। 

‘महानगर’पछि यशोदाले कान्तिपुर पब्लिकेसन्सको नेपाल म्यागेजिनमा लामो समय काम गरिन्। रेडियो नेपालमा समाचार भनिन्। समाचार पढेर राति घर फर्किदै गर्दा वल्ला–पल्ला घरकाले शंकालु आँखाले हेर्थे। आमा–बुबाले यति धेरै पढेर पनि कस्तो रातिसम्म काम गर्नु पर्ने जागिर खाएकी भनेर प्रश्न गर्थे। 

यावत् प्रश्नहरुको सामना गरेरै उनले थुप्रै देशसम्मको बाटो तय गरिन्। पत्रकार महासंघको उपाध्यक्ष भइन्। राष्ट्रिय सूचना आयोगको आयुक्त भएर काम गरिन्। अहिले भन्नेहरुले सजिलै भनिदिन्छन्, ‘यसको भाग्य राम्रो थियो।’ यहाँसम्म आइपुग्न गरेको दुःखको लामो कथा छ।​​​​

महानगरले जुराएको जोडी
१२/१५ की छोरी अन्माउने समाज। ‘बिहेबारी २० वर्षपारि’ भनेर सूचना बजाइरहने रेडियो। त्यही उमेर पनि पार गरेकी यशोदा। उनलाई फुर्सद थिएन समाजका कुरा सुनेर बस्ने। तर पनि नेपथ्यबाट गुञ्जिरहन्थ्यो, ‘बिहे गर्न ढिला भएन?’ उनी आफैंसँग संवाद गर्थिन्, ‘विवाह गर्नै पर्छ र?’ आफन्त भन्थे ‘गर्नैपर्छ।’ त्यही समय उनका साथी लेखनाथ अधिकारी बिहेको प्रस्ताव लिएर आए। यशोदा र लेखनाथ महानगरबाटै सहकर्मी भएका थिए। जागिरे जीवनका सहकर्मी उनीहरु गृहस्थी जीवनका सहयात्री भए।

विवाह गरेको केही समयपछि उनी आमा बन्ने भइन्। गर्भवती भएपछि यशोदाले एक निजी क्लिनिकमा नियमित चेकअप सुरु गरेकी थिइन्। गर्भावस्थाको सुरुबाटै असजिलो हुन्थ्यो। गर्भावस्थाअघि ४३ किलोकी उनी ७३ किलोकी भइन्। डाक्टरले शरीरमा पानीको मात्रा अत्याधिक रहेको बताउँथे। ६ महिनापछि प्राइभेट क्लिनिकले थापाथली प्रसुती अस्पतालमा नियमित चेकअप गराउन भन्यो। 

खनामा समस्या थिएन्। त्यतिबेला उनका साथीहरुले भन्थे, ‘घरमा सासूससुरा छैनन् तँलाई आनन्द छ।’

हुँदाको आनन्द के हो त्यो थाहा छैन उनलाई। तर नहुँदाका असहजता भने थुप्रै पटक भोग्नु पर्यो जीवनमा। आमा र भाउजू नजिकै भएकाले गर्भावस्थाको समय केही​ सहज भयो। आफन्त उनको पेट हेर्थे र छोराछोरीको लख काट्थे। के मन पर्छ भनेर प्रश्न गर्थे र तिमी छोरीकी आमा हुन्छौ भनिदिन्थे। उनको भने चेतनाले छोराछोरी होइन् असल सन्तान होस् मात्रै भन्थ्यो। अझै छोरी भए त आफूले पुरा गर्न नपाएका थुप्रै रहर छोरीमा पुरा गर्छु भन्ने सोच पलाउँथ्यो। आफ्ना रहर छोरीमा पुरा गर्ने सोच हुर्कंदै गर्दा यशोदालाई लाग्यो, ‘आमा पनि निस्वार्थ नहुँदा रहेनछन्। म पनि स्वार्थी आमा हुँ।’ 

अप्रेसन थिएटमा बजाइयो गीत 
गर्भावस्थाको ८ महिना पुरा हुनै लागेको थियो। आपतकालीन अप्रेसन गर्नु पर्यो। अरुलाई सुई लगाएको देख्दा पनि रिंगटा लाग्ने यशोदा अप्रेसन थिएटरमा पुगिन्। अप्रेसनका लागि एनेस्थेसिया (लट्याउँने औषधि) चलाइयो। डरले उनको शरीरबाट खलखली पसिना आयो। डाक्टरले अप्रेसन थिएटरमा गीत बजाइदिए। त्यसताका बद्री पंगेनी र सिन्धु मल्लले गाएको ससुरालीमा बोलको गीत निकै हिट थियो। यही गीत बजेपछि यशोदाको शरीर लठ्ठियो। त्यसपछि उनको अप्रेसन सुरु गरियो। उनी छोराकी आमा भइन्। छोरो देखेपछिको त्यो अर्को लोक हिजोआज कल्पना गर्दा पनि आउँदैन उनको आँखामा। 

अप्रेसनको दोस्रो दिन। उठ्न पनि अरुको सहारा लिनु पर्ने अवस्था। मन हुँदा पनि आफ्नै छोरो बोक्न नसक्नुको पीडा। अस्पतालको बेडमा कागजको चिर्कटो बोकेर बाबुको नाम सोध्दै आएका नर्स। अहो! आमाको नामै नखोज्ने व्यवस्था। त्यतिबेला उनलाई आफैँ बाँचिरहेको समाजसँग चित्त दुखेको थियो।

उनले तत्काल जवाफ दिएकी थिइन्, ‘बच्चाको बाको बारेमा मलाई धेरै थाहा छैन। आमाको नाम लेख्दा हुँदैन? यसलाई त मैले जन्माएको हो नि!’

नर्स अध्याँरो भइन्। भनिन्, ‘यहाँ त्यस्तै लेख्न भनेको छ।’ 

आखिर बाको मात्रै नाम लेखियो। 

बच्चा हेरेपछि भुल्न सकिन्छ सबै समस्या 
अप्रेसन गरेको शरीर। घाउ पाक्छ भनेर धेरै कुरा खान दिइँदैनथ्यो। जन्मिएको केही दिनमा आमा र बच्चा दुवैमा जन्डिसको केही मात्रा देखियो। त्यसपछि खानेकुरामा अझै बन्देज लगाइयो। सुरुका दिनमा प्रशस्त दूध आएन। दूध आएपछि पनि कयौं दिन राम्रोसँग बच्चालाई चुसाउने तरिका थाहा भएन। निकै दिन दूध गानियो। अप्रेसन गर्नु पर्छ भनेर धेरैले अत्याए। त्यो समय उनले धेरै पटक दूध निचोरेर फालेकी छिन्। 

अप्रेसनको पाँचौँ दिनमा छोरा लिएर यशोदा घर फर्किन्। बच्चापछि दिनचर्या पहिलाको जस्तो सहज थिएन। केही समयमा शरीर त सहज हुँदै गयो। दिनचर्या सहज हुन वर्षौँ लाग्यो। अहिले शब्दमा व्यक्त गर्नै नसक्ने अप्ठ्यारा खुड्किला आए जीवनमा।

‘ती सबै असहजतालाई बच्चा हेरेपछि भुल्न सक्ने विशेष क्षमता महिलालाई प्रकृतिले प्रदान गरेको हुने रहेछ,’ यशोदा भन्छिन्।​

बच्चा जन्मिएको दुई महिनापछि काममा
त्यतिबेला महिलाहरु घर बाहिर काममा निस्कने प्रचलन त्यतिधेरै थिएन। त्यसैले सुत्केरी बिदा अथवा अन्य सुविधाका बारेमा बहस नै सुरु भएको थिएन। यशोदा पनि छोरो जन्मिएको दुई महिनापछि काममा फर्किन्। अफिस नजिकै डेरा सारिएको थियो। घरमा उनैलाई हुर्काएर जवान बनाउने आमाको काखमा हुन्थे उनका छोरा। घरमा काम सघाउने सहयोगी पनि राखिएको थियो। तैपनि अफिसबाट बारम्बार मन दौडिरहन्थ्यो डेरातिर। कम्प्युटरमा बसेर काम गर्दा गर्दै तर्कना आउँथ्यो मनमा छोरो ओछ्यानबाट लडेको। उनी दौडिँदै डेरा पुग्थिन्। छोरालाई च्याप्प अंगालो मार्थिन्। म्वाई खान्थिन्। दूध चुसाउँथिन् र अफिस आएर काम पुरा गर्थिन्। 

बाबुआमानै जागिरे भएका कारण उनका छोराले बाल्यकालको पूर्ण समय घरमै बिताउन पाएनन्। उनलाई १८ महिना पुरा भएपछि स्कुल भर्ना गरियो। सानोमा यशोदालाई थाहै हुँदैनथ्यो आफ्नै छोराका कयौं आनीबानी। घरभन्दा धेरै स्कुलमा बिताउने भएकाले उनका छोराको स्वभावका बारेमा स्कुलका सरहरुले सुनाउँथे। नरमाइलो लाग्थ्यो। छोरो हुर्किंदै गर्दा उनलाई बारम्बार लाग्यो ‘हामीले हाम्रो छोराको बालापन खोसिदियौँ।’ यही पछुतोले उनले छोरीको पालामा १० महिना अफिसमा बिदा लिइन्। ३ वर्षकी भएपछि मात्रै स्कुल भर्ना गरिन्। 

५ वर्षसम्म उनका छोरा निकै बिरामी पर्थे। यशोदालाई लाग्थ्यो, ‘मैले बच्चाको राम्रो स्याहार गर्न सकिनँ।’

उच्च ज्वरो आएर छोरा बेहोस हुन्थे। छोरासँगै उनी पनि बेहोस हुन्थिन्। छोरा बेहोस हुँदा सम्हालिएर ख्याल गर्नुपर्छ भनेर आफूलाई सम्हाल्न यशोदालाई लामो समय लाग्यो। ५ वर्षपछि यो क्रम भने रोकियो। 

सानैमा छोरालाई छोडेर उनले देश तथा विदेशका विभिन्न स्थानको भ्रमण गरिन्। दूध खाँदाखाँदैको छोरो घरमा छोडेर हिँड्दा थुप्रै पटक दूध निचोरेर फालेको नमिठो अनुभूति छ उनीसँग। तर आफ्नो छोराबाट खोसिएको समय यो समाज र देशका लागि लगानी गरिरहेछु भनेर चित्त बुझाइन्।

भन्छिन्, ‘हिजो ममतामै अल्झिएर बसेको भए आजको म कहाँ हुन्थे होला र?’

त्यतिबेलै उनकी आमाले प्रश्न गर्थिन् ‘यो कलिलो बच्चा छोडेर कति हिडेको?’

उनी भन्थिन् ‘मेरो बच्चालाई तपाईले समय दिनु भएको छ। मैले समाजको लागि। हाम्रो जीवनमा लेनादेनाको सिलसिला चलिरहेछ आमा।’​

८ वर्षमा दोस्रो बच्चा
पहिलो सन्तान पेटमा आएपछि नै सुरु भएको अप्ठ्यारोपन। बच्चालाई हुर्काउने क्रममा बिताएका कयौं अनिँदो रात। बच्चा छोडेर काममा निस्कनु पर्दाको दुखाइ। यशोदा दम्पतीलाई दोस्रो बच्चा जन्माउने हिम्मत आएकै थिएन। तर यशोदाको मनको भित्री कुनामा छोरीको रहर छँदैथियो। सायद यही रहरले जित्यो, उनी दोस्रो पटक गर्भवती भइन्। तर जन्माउने कि नजन्माउने भन्ने बहस भयो। बहसमा नजन्माउने तर्क अब्बल ठहरिएपछि उनीहरु गर्भपतनका लागि अस्पताल पुगे। डा. मीरा हाडालाई देखाए। त्यो दिन रिसाएकी डाक्टरको अनुहार, उनका श्रीमानलाई हातै हालौँला जसरी गरेको गाली आज पनि बिर्सेकी छैनन् यशोदाले। डाक्टरको त्यही गालीले यशोदालाई दोस्रो सन्तानकी आमा बनायो। दोस्रो पटक उनकी छोरी जन्मिइन्। 

छोरी हुर्काउन भने उनलाई अलि सहज भयो। दोस्रो पटक भएकाले धेरै कुरा आफैंले जानिसकेकी थिइन्। शारीरिक कष्ट भने छोराको पालामा भन्दा अझ धेरै भयो। अप्रेसन गरेको घाउ पाक्यो। खानामा उस्तै बन्देज थियो। तर छोरी हेरेर घाउको दुखाइ भुल्नुको विकल्प थिएन उनीसँग। सजिलो छैन काम छाड्छु भनेको भए पनि नछोड भन्ने को थियो र? तर उनले बच्चा र करिअर सँगसँगै हुर्काउने हिम्मत गरिन्। उनको यो हिम्मतमा श्रीमानले पनि साथ दिए। छोरी जन्मिएपछि यशोदा सूचना आयोगमा आयुक्त भइन्। लेखनाथले आफ्नो काम नै छोडेर बच्चा र उनको करिअरमा साथ दिए। 

अहिले उनीहरुका छोराछोरी हुर्किसके। बाबुआमाको कामप्रतिको लगाव हेर्दै हुर्किएका छोराछोरीले कहिल्यै गुनासो गरेका छैनन्, हामीलाई समय दिनु भएन भनेर। बरु यशोदा थुप्रै कार्यक्रममा छोराछोरी लिएर पुग्छिन्। सजिलो त थिएन तर छोराछोरी र करिअर सँगै हुर्कियो।

पछिल्लो समयका कामकाजी महिलाले उनलाई प्रश्न गर्छन्, ‘दिदी कसरी गर्नु भयो? म त बिहे नगरी बसेको छु।’ 

उनी प्रश्न गर्छिन्, ‘किन नगरेको?’

उनीहरुको सहज जवाफ, ‘बिहे गरेपछि बच्चा जन्माउनु पर्छ। हुर्काउनु पर्यो। करिअर त्यहीँ सकिन्छ।’

उनीहरुलाई यशोदाको सुझाव छ, ‘कर्तव्यबाट भागेर कहीँ पुगिँदैन। किनभने महिलालाई प्रकृतिले विशेष रुपमा बच्चाको निम्ति नै बनाएको हो। पुरुषले त यो सुखभोग चाहेर पनि गर्न पाउँदैनन्। आफूले पाएको विशेष अधिकारको उपभोग गर्नु पर्छ।’​

नयाँ आमालाई यशोदाको सुझाव
दुई छोराछोरीकी आमा यशोदाले दुवै सन्तानको पालामा अप्रेसन गर्नु पर्यो। एक त प्रसवको व्याथाको पीडा कस्तो हुन्थ्यो, त्यो उनले अनुभव गर्न पाइनन्। अर्को आफ्नै शरीरको ख्याल गर्न सकिनन्। अप्रेसन गरेको घाउ पाक्छ भन्ने डरले सुत्केरीले खाने खानेकुरा खान पाइनन्। तेल लगाउन पाइनन्।

हिजोआज उनलाई लाग्छ सुत्केरीमा लगाइने तोरीको तेलले जिन्दगीभर शक्ति दिने रहेछ महिलालाई। हिजोआज त धेरै सुत्केरीहरुले तेल लगाउन झिजो मान्ने गरेका छन्।

उनी भन्छिन् ‘तेलमा धेरै शक्ति हुन्छ। लगाउनुहोस्।’

सुत्केरी भेट्न जाँदा उनी भन्छिन्, ‘हरेक चिज थोरैथोरै खानु।’

घरका सानातिना काम गर्दै गर्भावस्थाको समय गुजार्न यशोदाको सुझाव छ। भन्छिन्, ‘जसले प्राकृतिक रुपमा सुत्केरी हुन सहज गराउँछ।’

बच्चा हुर्काउने क्रममा यशोदालाई यो पनि थाहा भयो, ‘बच्चाको उमेर अन्तर धेरै राख्नु राम्रो होइन।’ 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .