ad ad

म्यागेजिन


सिर्जना त्रिपाठीको मातृत्व अनुभवः आमा हुनुको पूर्ण अनुभूति गर्न पाइनँ

सिर्जना त्रिपाठीको मातृत्व अनुभवः आमा हुनुको पूर्ण अनुभूति गर्न पाइनँ

राधिका अधिकारी
पुस १७, २०७८ शनिबार ८:३२, काठमाडौँ

शिक्षित बुबा। राम्रो आर्थिक अवस्था। घरकी कान्छी छोरी सिर्जना त्रिपाठीको बाल्यकाल सुखसयलमै बित्यो। उनका बुबाले त्यतिबेलै आईए पास गरेका थिए। गाउँघरमा पढेलेखेका मान्छे निकै कम। सरकारी जागिरको प्रस्ताव आइरहन्थ्यो। तर, उनको बुबा ‘आफैँ उत्पादन गर्नुपर्छ’ भन्ने मान्यता राख्थे। त्यसैले बर्दियामै उनले राइस मिल र फिल्म हल सञ्चालन गरेका थिए। आम्दानी मनग्गे थियो।

सिर्जनाका दुई दिदी र दाजु जन्मिएपछि उनका बुबा परिवार नियोजन गर्न चाहन्थे। तर, तेस्रो सन्तानका रुपमा जन्मिएका सिर्जनाका दाजु लामो समय बोलेनन्। सिर्जनाकी हजुरआमाले भाकल र उपचार दुवै गरिन्। एकातिर नातिको बोली आएको छैन, अर्कोतिर छोरो परिवार नियोजन गर्छु भन्छ। उनले ढिपी गरिन्। चिना हेराइन्। ज्योतिषीले छोरो जन्मिन्छ भनिदियो। उनकै दबाबमा सिर्जनाका बुबाआमाले चौथो सन्तान जन्माए। तर, ज्योतिषीको विद्या झुठो ठहरियो, हजुरआमाको भाकल पुरा भएन। त्यसैले सिर्जना जन्मिनेबित्तिकै हजुरआमाले उनलाई जुठेल्नामा लगेर फालिदिइन्। 

आमाको मुखबाट आफ्नै जन्मकथा सुन्दा सिर्जना नौ वर्षकी थिइन्। त्यतिबेला उनलाई हेक्का भएन– त्यो समय कति दुख्यो होला आमाको मन। अहिले सम्झिँदा पनि उनलाई ऐठन हुन्छ।

सिर्जना जन्मेपछि पनि उनकी हजुरआमाको ढिपी थियो– अर्को छोरो चाहिन्छ। आजित भएर उनका बुबा परिवारबाट छुट्टिए। उनी कुखुरा पाल्थे। सुँगुर पाल्थे। घर वरपर थारु समुदायको बाहुल्य थियो। थारु परिवारका केटाकेटी उनको चुलाचौकोसम्मै पुग्थे। उनकी हजुरआलाई यो पटक्कै मन पर्दैनथ्यो। छोराको घरमा पानी पनि खाँदैनथिन्। उनका बुबा आफ्नै आमाबाट बहिष्करणमा परेका थिए। 

यो कुरा उनका बुबालाई नराम्रोसँग बिझाउँथ्यो। बुबाको त्यो दुखाइ हेर्दै हुर्किएकी सिर्जनालाई त्यतिबेलै लाग्थ्यो– बुबाले देखेको सपना पुरा गर्न म पनि सघाउँछु।

गाउँ छाडेको रात र बिझाउने सम्झना
०५८ सालको कुरा। त्यसबेला सिर्जना ८ कक्षामा पढ्दै थिइन्। उनको बुबालाई गिरफ्तार गर्न पक्राउ पुर्जी जारी भयो। सिर्जनाका काका प्रहरी थिए। उनैले बुबालाई गाउँ छाड्न भने। 

त्यतिबेला सिर्जनाका दिदीहरुको विवाह भइसकेको थियो। साथमा थिए उनका दाजु र सिर्जना। उनका बुबाले वरपरका छिमेकीदेखि आफन्त सबैलाई केही समय आफ्ना दुई सन्तानलाई संरक्षण गरिदिन आग्रह गरे। तर, सबैलाई सहयोग गर्न तयार हुने उनका बुबालाई सहयोग गर्न कोही तयार भएनन्। त्यसपछि उनका बुबा दुई छोराछोरी र श्रीमतीलाई लिएर मध्यरातमा गाउँ छोडेर निस्किए। उज्यालो हुँदा पोखरा पुगेकी सिर्जनाको संसार त्यहाँ निकै साँघुरो भयो। 

उनका अघिल्तिर खेल्ने आँगन थिएन। मन लागेजति खाने अन्न थिएन। गाउँ छोडेर हिँडेको उनको परिवार एउटा घरभित्र सीमित भयो। लामो समयसम्म उनीहरु घरबाहिर निस्किएनन्। स्कुल जाने साथी थिएनन्, स्कुल जाने वातावरण थिएन। 

बाल्यकालमा सिर्जना खेलाडी बन्न चाहन्थिन्। स्कुलमा उनले अनेक खेलमा पटकपटक मेडल जितेकी थिइन्। उनका बुबा चाहन्थे– छोरी शिक्षिका बनोस् र समाजमा चेतना बाँडोस्। 

तर, न बुबाको सपना पुरा भयो, न छोरीको। युद्धको बबण्डरमा ती सपना थाहै नपाई उडिगए। उनले कास्कीमै प्लस टु पास गरिन्।

विवाहका लागि प्रकाश दाहालसँग शर्त
कास्कीको हेम्जा बजारमा बस्थिन् सिर्जना। त्यही बजारमा थियो प्रकाश दाहालको मामाघर। सिर्जनाले प्रकाशलाई उतिसारो देखेकी थिइनन्। एकदिन प्रकाशका मामा भान्जाको बिहेको कुरा लिएर सिर्जनाको घरमा पुगे। पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाशसँग सिर्जनाको बिहे हुने पक्का भयो। 

हात माग्न आएका प्रकाशलाई सिर्जनाको पहिलो प्रस्ताव थियो, ‘मैले पढ्न पाउनु पर्छ।’ 

प्रकाशले भनेका थिए, ‘हामीले पढ्न पाएनौँ। तिमीले तिम्रो इच्छा मार्नु पर्दैन। मेरो छुटेको पढाइको सपना पनि म तिमीबाट पुरा गर्छु।’ 

उनले सिर्जनाको बुबाको सपना पुरा गर्न समेत सघाउने बताएका थिए।

उनी विवाहका लागि राजी भइन्।

विवाह गरेको तीन वर्ष बित्न थालेपछि परिवार र आफन्तले बारम्बार प्रश्न गर्न थाले– अब त बेला भएन? उनको उमेर कलिलै थियो। तैपनि सबैले प्रश्न गर्न थालेपछि उनलाई पनि लाग्न थाल्यो– ‘किन मेरो बच्चा भइरहेको छैन?’

उनले दुईतीन पटक जनमैत्री अस्पतालमा जाँच पनि गराइन्।

फेरि केही समयपछि उनलाई अलि फरक अनुभव हुन थाल्यो। खान मन लाग्दैनथ्यो। जिउ भारी भएर आउँथ्यो। महिनावारी रोकिएको थियो। छाती चर्किएर दुख्थ्यो। सिर्जनाले आमाजुलाई सुनाइन्। उनले जचाउन लिएर गइन्। प्रेगनेन्सी रिपोर्ट पोजिटिभ आयो। केही क्षणअघिसम्म आमा बन्ने रहर गरिरहेकी सिर्जनाको मन एक्कासि आत्तियो। डरसँगै मिसिएर आयो लाज। अस्पतालबाट घर आइन्। घरमा सासू सीता दाहाल मात्रै थिइन्। हजुरआमा बन्न लागेको खबरले सीताको अनुहार उज्यालियो। थोरै सकियो सिर्जनाको लाज। ससुरा र श्रीमान् पनि निक्कै खुसी भए। उनको डर हरायो।​

बच्चा पेटमा चल्दाको मिठो अनुभूति​ 
गर्भावस्थाको समय धेरैका लागि सजिलो हुँदैन। सिर्जनाको पनि दोस्रो महिनाबाट रक्तस्राव हुन थाल्यो। डाक्टरले पूर्ण रुपमा आराम गर्न भने। उनको परिवार भर्खर युद्ध छाडेर शान्तिपूर्ण राजनीतिमा आएको थियो। घरमा जतिबेला पनि आउजाउ गर्नेहरुको ठूलो भीड हुन्थ्यो। रातभरि बैठक चल्थे।

हल्लाखल्लाले सिर्जनालाई झिँजो लाग्थ्यो। घर आउनेहरुले प्रश्न गर्थे, ‘कहिले हो बच्चा जन्मिने?’ सिर्जना लाजले भुतुक्क हुन्थिन्। उनलाई बाहिर निस्कन नपरे पनि हुन्थ्यो जस्तो लाग्थ्यो। 

रक्तचाप पनि एकनासको भएन। कहिले ह्वात्तै बढ्ने त कहिले स्वात्तै घट्ने हुन्थ्यो। गर्भवतीका लागि यो राम्रो मानिँदैनथ्यो। उनको चिन्ता झन् बढ्थ्यो।

गर्भावस्थाभर उनले परिवारबाट राम्रो सहयोग पाइन्। उनका आमाजुहरु पालो गरेर उनीसँग साथी बस्थे। व्यस्त प्रकाशले धेरै समय दिन पाउँदैनथे। तर, उनी उत्साहित थिए। त्यसबेला साथ दिने आमाजुहरु आज पनि प्रिय लाग्छन् सिर्जनालाई। 

गर्भावस्थाका अप्ठ्यारा दिनमा सिर्जनाले आफ्नी आमालाई खुब धेरै सम्झना गरिन। पाँच सन्तान जन्माएकी उनकी आमाले भनेकी थिइन्, ‘मैले तिमीलाई धान गोड्दा गोड्दै पाएको।’

सिर्जनाकी आमाले अस्पतालको अनुहार नै नदेखी ५ सन्तान हुर्काइन्। उनलाई अस्पतालको सुविधा थियो। तर, आत्तिरहन्थ्यो सिर्जनको मन। उनी सोच्थिन्, ‘मेरी आमाले कुन हिम्मतले जन्माउनु भयो होला हामीलाई।’

आमा बारम्बार उनलाई सम्झाउथिन् ‘तिम्रो र मेरो समय फरक छ। तिमी सुरक्षित छौ।’

उनको मन थोरै शान्त हुन्थ्यो। 

‘आमाको बोलीले पनि ओखतीको काम गर्दो रहेछ,’ सिर्जनाले सुनाइन्।

सिर्जनाले सुनेकी थिइन्, गर्भवतीले मेवा खाए बच्चा खेर जान्छ। मेवा देख्दा पनि उनको मन डराउँथ्यो। पसलमा, ठेलामा मेवा देख्दा अर्कोतिर मुन्टो बटारेर हिँड्थिन्। कसैले भनिदियो– दही खाऊ, बच्चा गोरो हुन्छ। उनले निकै दही खाइन्।

बच्चा पेटमा चल्दाको मिठो अनुभूति उनले अझै बिर्सेकी छैनन्।

अस्पतालको त्यो सुन्दर क्षण
मंसिरको चिसो बिहान। साँझ सकुशल निदाएकी सिर्जना बिहान नहुँदै रगतमा डुबेकी थिइन। निदाइरहेकी श्रीमती रगताम्मे भएको देखेर त्यो समय प्रकाश निक्कै आत्तिएका थिए। उनैले उठाए, आमा र दिदीहरुलाई। हतारहतार उनलाई अस्पताल पुर्याइयो।

रगत धेरै बगिसकेको थियो। अस्पताल भर्ना भएको २/३ घन्टा बच्चा चलेन। अकस्मात अप्रेसनको निर्णय भयो।

अप्रेसन थिएटरमा पल्टिरहेकी थिइन् सिर्जना। डाक्टरले अप्रेसन गर्दै थिए। उनका आँखाबाट अनायासै आँसु झरेछन्।

डाक्टरले सोधे, ‘के भयो सिर्जना जी?’

उनले भनिन्, ‘मलाई भोक लाग्यो।’

डाक्टरहरु हाँसे। सिर्जना हाँस्न सकिनन्।

बच्चा निकालेपछि डाक्टरले भने, ‘यो त हजुरबुवा जस्तै छ। बाबु लालसलाम गर्दै जन्मियो।’ 

सिर्जनाले बच्चा देखाइमागिन्। त्यसपछि डाक्टरले छोरो देखाउँदै भने, ‘बाबु तपाईंजस्तो छैनन्। नाक त उसको हजुरबुवाको जस्तै छ।’ 

त्यसपछि हरायो सिर्जनाको चेतना। होसमा आउँदा छोरो प्रकाशको हातमा थियो। 

‘त्यो सबैभन्दा सुन्दर क्षण थियो,’ उनी भन्छिन्, ‘छोटो समयका लागि देखिने दृश्य भएर रहेछ, त्यति प्रिय लागेको।’ 

जन्मिएको भोलिपल्ट उनका छोरालाई जन्डिस भयो। सिर्जनाले छोरालाई दूध चुसाउन पाएकै थिइनन्। ११ दिनसम्म छोरो ‘एनआईसीयू’ बसे। त्यो उनका लागि अत्यन्त कष्टकर समय थियो। उनको स्वास्थ्य पनि सुधार भएन। रक्तचाप अस्थिर थियो।

प्रकाश साथमा थिएनन्, आमाजुको दुर्घटना भएकाले अरु सबै त्यता लागे। सिर्जना र बच्चाको हेरचाह सीता एक्लैले गरिन्। 

११ दिनमा अस्पतालबाट फर्केपछि बल्ल उनले सहज महसुस गरिन्। तर, उनलाई आज पनि लागिरहन्छ– ‘प्रसव पीडा महसुस गर्नै पाइनँ। मैले आमा हुँदाको अनुभव पुरा लिन पाइनँ कि!’

उनलाई लागेको थियो– आमा भएपछि सकिन्छन् जीवनका रहर। तर झन् बढ्ने रहेछ सपना र रहर। दूध प्रशस्त आएन। छोरोको पेट भर्न ल्याक्टोजिन खुवाउनु पर्यो। त्यो देख्दा उनको मन कुँडिन्थ्यो। दूध फुटाउँछ भनिएका जति सबैथोक खाइन उनले। तर, त्यसो भएन। 

बच्चालाई पटकपटक निमोनिया भयो। अस्पताल बस्नुपर्यो। त्यसबाहेक उनको बच्चाको हुर्काइ सुखद् भएको उनको ठम्याइ छ।

उनलाई ठूलो पिर त त्यसबेला भयो, जुनबेला छोरालाई मन्टेश्वरीको ढोकामा छाडेर फर्किइन्। उनी स्कुलबाट रुँदै घर जान्थिन्। 

त्यसबेलासम्म उनको जीवनमा निकै ठूलो उतारचढाव आइसकेको थियो। पतिसँग सम्बन्ध टुटेको थियो। 

‘छोरो नभएको भए म हुन्नथेँ’
मसिंर १ गते सिर्जनाले छोराको जन्मदिन मनाइन्। छोरा ९ वर्षको भएका थिए। तर, त्यसको भोलिपल्ट प्रकाश दाहालको निधन भयो। सधैँका लागि खोसियो उनका छोराको ‘बुबा’ भन्ने अधिकार। त्यो पीडाको क्षणले हरेक पल पछ्याइरहन्छ सिर्जनालाई। त्यसपछि आफ्नै जीवनप्रतिको मोह पनि हरायो। कयौँ पटक सिर्जनालाई आफ्नै जीवन मेट्न मन लाग्थ्यो। तर, उनी छोरालाई सम्झेर आफूलाई थुम्थुम्याउँथिन्।

‘बुबा भन्ने अधिकार गुमाएको मेरो छोराले गुमाउनु हुँदैन आमा भन्ने अधिकार। मैले मेरो छोरालाई बुबाको अभाव पनि हुन दिनु हुँदैन,’ उनी भन्छिन्, ‘सन्तान भन्नु त संकटका ओखती रहेछन्।’ 

आफ्नो जन्मदिनको भोलिपल्ट बुबा गुमाएका सिर्जनाका छोरा हिजोआज आमालाई भन्छन्, ‘मामु तपाईंलाई पीडा हुन्छ, मेरो जन्मदिन नमनाऊँ।’ 

उनका छोरा ठ्याक्कै प्रकाश जस्तै छन्। छोरालाई हेरेर सिर्जना मात्रै होइन उनका हजुरबुवा प्रचण्ड पनि प्रकाशको न्यास्रो मेट्छन्। प्रचण्ड नातिका गतिविधि हेरेर छोरा सम्झँदै धेरै पटक रोएका छन्। वृद्ध हुँदै गएका ससुराको आँखामा आँसु देख्दा सिर्जनाको मन झन् बोझिलो हुन्छ।

तर, जब उनका छोरा प्रचण्डसँग हाँस्दै बात मारिरहेको र प्रचण्डले पनि नातिलाई मिल्ने साथीको जस्तो व्यवहार गरेको देख्छिन्, उनको अनुहार उज्यालिन्छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .