ad ad

म्यागेजिन


सुगारिकाको मातृत्व अनुभवः आमा भएपछि थाक्ने छुट हुँदैन

सुगारिकाको मातृत्व अनुभवः आमा भएपछि थाक्ने छुट हुँदैन

राधिका अधिकारी
पुस १०, २०७८ शनिबार ८:२६, काठमाडौँ

ललितपुर धापाखेलको मूल सडकमा जोडिएको घर। उनकै घर अघिल्तिरबाट ओहोर–दोहोर गरिरहन्थ्यो मान्छेको लस्कर। आँगनकै बाटो भएर कोही अफिस जान्थे, कोही चोक–चौतारा निस्कन्थे, कोही स्कुल र कलेजका किताब बोकेर पढ्न जान्थे। यही लस्करमा मिसिन्थ्यो हरेक बिहान एउटा दुःखी अनुहार, दिनभरि हराउँथ्यो र साँझ फर्किन्थ्यो। त्यो अनुहार थियो उनकी आमाको। उनी अर्थात् सुगारिका केसी। 

उनकी आमा पहिले यस्ती थिइनन्। साथमा उनका बुबा थिए। तर, ६ महिनाकी छोरी र २२ वर्षीया श्रीमती छोडेर उनका बुबा परलोक भए। आफ्ना पिताको मृत्यु कथा बुझ्ने भएपछि आमाकै मुखबाट सुनेकी हुन सुगारिकाले। लोकसेवा आयोगका अधिकृत उनका बुबालाई खुट्टाको क्यान्सर भएको रहेछ। क्यान्सर थियो भनेर पनि मृत्यु भएको लामो समयपछि मात्रै पत्ता लाग्यो। 

त्यसपछि कहालीलाग्दो भयो आमाको संसार। सुगारिका संयुक्त परिवारमा पनि एक्लै हुर्किइन्। आर्थिक रुपमा उनकी आमालाई गाह्रो थिएन। उनी सञ्चयकोषको जागिरे थिइन्। गाह्रो थियो त समाजसँग, आफ्नै मनसँग। आमाले २२ वर्षको उमेरदेखि त्यो अप्ठेरो र एक्लोपन भोगेर छिचोली आएको बाटो सम्झिँदा अहिले पनि ढक्क फुलेर आउँछ सुगारिकाको मुटु। 

उनी सानै थिइन। धेरै कुरा बुझ्दिनथिन्। उनलाई लाग्थ्यो– प्रत्येक बिहान किन सुन्निएका हुन्छन् आमाका आँखाका डिल? किन समुहमा बसेर कुरा गर्न मान्दिनन् आमा? किन मन लाएर खान खान्नन् उनी? हिजोआज उनलाई लाग्छ– त्यो सबै एक्लोपनको चोट रहेछ।

आदर्श आमा, असल छोरी
सुगारिकाको स्कुल भर्खर सुरु भएको थियो। नेपाल सरकारले बिहान ९ बजेबाट सरकारी कार्यालय खोल्ने निर्णय गर्यो। हजुरबुबा, हजुरआमा, काका, फुपूसहितको संयुक्त परिवारमा सखारै निस्किएर साँझ फर्किन सजिलो थिएन। उनकी आमा छोरी लिएर एक्लै बस्न थालिन्। घरको काम, छोरीलाई पढाउने, ख्वाउने, कमाउने सबै काम आमाको थाप्लोमा। त्यसैले नै सुगारिका आफ्नी आमालाई जीवनको आदर्श मान्छिन्। 

मानिसहरु भन्थे– एक्लो आमाले हुर्काएकी छोरी, कस्तो संस्कार सिक्ली! उनकी आमा घरबाट निस्किँदा समाजको आँखामा प्रश्न हुन्थ्यो। आमाप्रति समाजले गरेको त्यही व्यवहारबाट सुगारिकाको मनमा एक प्रकारको पीडा गुम्सिएको थियो। उनलाई भन्न मन लाग्थ्यो, ‘मेरो आमा काम गर्न गएकी हुन्, तिमीहरुलाई के मतलब?’ तर, त्यो आँट गर्न सक्दिनथिन्।

गृहकार्य एक्लै गर्नु पथ्र्यो। लड्दा उठाउने कोही हुँदैनथ्यो। शनिबार पनि उनकी आमा काममा जान्थिन्। किनकि शनिबार काम गर्दा तलबमा पैसा थपिएर आउँथ्यो। त्यसैले बाल्यकालको अधिकांश समय एक्लै बित्यो सुगारिकाको। उनकी आमा सहनशील थिइन्। एक्लोपन, निराशा, समाजको असामाजिक व्यवहार, सबैलाई उनले पचाएकी थिइन्। यसलाई नजिकैबाट नियालिरहेकी सुगारिकाको आँतमा भने आगो लाग्थ्यो। विद्रोह बल्थ्यो। कक्षा ८ तिर पुगेर शब्दसँग खेल्न थालेपछि उनी कविता लेख्न थालिन्– विद्रोहको।

आमाको सपना थियो– छोरीलाई डाक्टर बनाउने। उनी छोरीलाई भन्थिन्, ‘आफ्नो खुट्टामा उभिन सक्ने हुनुपर्छ। काम गर्नुपर्छ। आफ्नो परिचय आफैँ बनाउनुपर्छ।’

जतिजति चेत हुर्किंदै गयो, सुगारिका उति स्वतन्त्र हुँदै गइन्। समयले उनलाई सिकायो– ‘अरुको भर पर्नु हुँदैन। आफ्नाहरु पनि अप्ठ्यारोमा आफ्ना रहँदैनन्। जीवनमा काम र पैसाको महत्व ठूलो हुने रहेछ।’

जमाना फेरियो, धेरै कुरा बदलिए तर, कहिल्यै फेरिएन उनको आमाप्रतिको दृष्टिकोण। उनलाई लाग्छ, ‘म असल आमाको असल छोरी हुँ।’ 

एफएम र मिस नेपाल
नेपालमा रेडियो क्रेज बढ्दै गर्दा, एफएम स्टेसनहरुको संख्या थपिँदै गर्दा उनी हुर्किंदै थिइन्। ९/१० मा पढ्ने बेलाबाटै उनलाई एफएफमको आवाजले तान्न थाल्यो। त्यतिबेला मानिसहरु एफएममा फोन गर्थे, आफ्ना कुरा सुनाउँथे। उनलाई त्यो स्वतन्त्रताप्रति गहिरो झुकाव हुन थाल्यो। उनी बिस्तारै रेडियोमा बोल्ने सपना पाल्न थालिन्। उनकी आमाले पनि भनिन्, ‘तिमीलाई इच्छा छ भने ओके।’

क्लासिक एफएमबाट सुरु भयो उनको रेडियो जिन्दगी। 

रेडियो सुरु गरेपछि फेरिइरहने सुगारिकाका सपना टक्क अडिए। काम सुरु गरेको केही समयपछि क्लासिक एफएम बन्द भयो। त्यसपछि उनी नेपाल एफएम गइन्। त्यहाँ काम गरेको दुई महिना पुग्दै थियो। यता स्नातकको पढाइ पुरा हुन लागेको थियो। यही बेला उनले मिस नेपालको ताज उचालिन्। त्यसपछि जीवनका धेरै कुरा परिवर्तन भए। जीवनको बाटो, लय र गति पुरै बदलियो। 

मिस नेपाल भएपछि रेडियो छाडिन्। बरु, सामुदायिक रेडियोमा काम गर्नेहरुलाई तालिम दिन थालिन्।

प्रेम, विवाह र गर्भावस्था
मिस नेपाल भएपछि उनको दौडधुप अझै थपियो। जीवनको दौडमा थुप्रै मान्छे भेटिन्थे। सन् २००८ तिर बीएसआई नेपाल नामक संस्थाले मलेरिया रोकथाम र परिवार नियोजनसम्बन्धी अभियान चलाउँथ्यो। यही संस्थाको कामको सिलसिलामा भेटिए सनत न्यौपाने। त्यो भेट मित्रता हुँदै प्रेमपछि विवाहमा परिणत भयो। 

दुवैको स्वभाव एकै थियो। एकअर्काप्रति सम्मान थियो। बुझ्ने श्रीमान् हुँदा विवाहपछि पनि कामलाई निरन्तरता दिन उनलाई सजिलो भयो। 

विवाहलगत्तै सन्तान जन्माउने योजना उनीहरुले बनाए। किनभने घरमा पाको पुस्ता हुँदै जन्मिएको बच्चा हुर्काउन सजिलो हुन्छ।

विवाह गरेको दुई महिना बित्दै थियो। बिहानै सुगारिकालाई आमाको फोन आयो।

आमाको पहिलो प्रश्न थियो ‘तँ ठिक छस्?’

उनले भनिन् ‘ठिक छु।’

सुगारिकाले सञ्चोबिसञ्चो सोध्न नपाउँदै आमाले भनिन्, ‘मैले कस्तो राम्रो सपना देखेँ, प्रेगनेन्सी टेस्ट गरा।’

सुगारिकाले प्रेगनेन्सी टेस्ट गराइन्। रिपोर्ट पोजिटिभ आयो। 

सबभन्दा पहिला आमालाई सम्झिइन्। यसपछि टुरमा रहेका श्रीमानलाई सम्झिइन्। तीर्थ यात्रामा निस्किएका सासु–ससुरालाई सम्झिइन्। घरमा उनी एक्लै। विवाह गरेको दुई महिना हुँदैछ, कसरी भन्ने, ‘म आमा हुँदैछु’ भनेर। थोरै लाज, धेरै डर सुगारिकाका हात–खुट्टा थरथर भए। घरका सबै मान्छेलाई नभेट्दासम्म उनको छट्पटी घटेन। 

छोरी अब आमा बन्दै छे भनेर थाहा पाएको दिन उनकी आमाको खुसी चुलियो, सासूससुरा तीर्थबाट फर्किएर आएपछि घरको माहोल नै अर्कै भयो। 

जब श्रीमान् नै नाक लागे
गर्भावस्था सुरु भएबाटै सुगारिकाको क्षुधा हरायो। यसै पनि साकाहारी, त्यही पनि हेर्नै मन नलाग्ने। हरेक कुरा गनाउने। खाएपछि वाक्वाकी हुने।

असाध्यै पातलो शरीर, खानामा अरुचि बढ्दै गएपछि पटकपटक अस्पताल भर्ना भएर बस्नु पर्यो। खाना मात्रै होइन, उनलाई श्रीमान पनि नाक लाग्यो। गर्भावस्थाको ३ महिनापछि अब श्रीमान् घरमा आइपुगे भन्ने भएपछि सुगारिकालाई तनाव हुन थाल्यो। नजिक बस्न नपरे हुन्थ्यो, कोठा सेयर गर्न नपरे हुन्थ्योजस्तो लाग्ने। सुगारिका आजित भइन् र एकदिन श्रीमानलाई भनिन्, ‘तिमी हेर्नै मन लाग्न छोड्यो। नजिकै हुँदा रिस उठ्न थाल्यो।’

त्यसपछि उनीहरु दुरी राखेर बस्न थाले। त्यतिबेला सुगारिकालाई लाग्यो, बुझ्ने श्रीमान् हुनु निकै खुसीको कुरा रहेछ।

नौ महिनासम्म सुगारिकाले आलुमा नुन मात्रै हालेर रस खाइन्। सुकाएको साग र भातले गर्भावस्था गुजारिन्। 

‘म एकदम कम खान्थेँ तर मेरो बच्चाको हुर्काइ एकदम राम्रो थियो,’ उनले भनिन्।

आफूलाई असाध्यै गाह्रो भएका बेला सुगारिका आफ्नी आमाको दैनिकी सम्झिन्थिन्। सुगारिकालाई इच्छा नलागेको दिन अफिस नजाने छुट थियो। उनी गर्भमा हुँदा उनकी आमालाई त्यो छुट थिएन।

दिनभरि अफिस, बिहानबेलुका घर र खेतबारीको काम। उनकी आमाले भनेकी थिइन्, ‘तँलाई पाउने दिन मैले दिनभरि पराल बोकेको।’

सिरिंग हुन्थ्यो सुगारिकाको मन। ज्यानभरी काँडा उम्रिन्थे। 

उनलाई भएको गाह्रो नियालिरहेका साथीले भन्थे, ‘यो बच्चा जन्माउने कि नजन्माउने सोच्नुस्।’ 

सुगारिकाको आँखा भरी भएर आउँथ्यो सासूससुराको खुसी। आफ्नै आमाले देख्न चाहेको जिन्दगी। पेटमा बच्चाको हलचल। उनी सबै पीडा बिर्सिन्थिन्।

गर्भावस्थाको ८ महिना पुरा भएपछि सुगारिकालाई थोरै सहज भयो। उनको वजन पनि बढ्न थाल्यो। एकदिन विहानै ‘वाटर ब्रेक’ भयो। घरमा पहिलाबाटै इमर्जेन्सी ब्याग तयार थियो। उनी श्रीमान् र सासूको साथ लागेर बीएन्डबी अस्पताल पुगिन्। डाक्टरले भर्खर ‘कन्ट्रयाक्सन’ सुरु भएको छ, कुर्नु भनिन्। 

प्रसव व्यथा सुरु भएको सात घण्टा उनको जीवनको सबैभन्दा कष्टकर समय भयो। लामो समय व्याथा लाग्दा पनि पाठेघरको मुख खुलेन। उनी अस्पताल नै थर्किने गरी चिच्याउँथिन्। शरीर र मन दुवै शिथिल भयो। 

उनलाई लाग्थ्यो, ‘म मरिरहेकी छु। मेरो जिन्दगी यहीँसम्मको हो।’

अन्ततः उनले भनिन् ‘मैले सकिनँ, अप्रेसन गर्देऊ।’ 

त्यसपछि उनको अप्रेसन भयो। उनी आमा भइन्। सुगारिकाले त्यस्ता मानिसहरु सम्झिइन्, जो भन्थे, ‘आमाले के गरेकी छन् र मेरो लागि?’

उनलाई लाग्यो, ‘मृत्युसँग लडेर जन्मदिने आमाको ऋण जिन्दगीभरि तिरेर सकिँदैन।’

आफू आमा बनेपछि आफ्नी आमा र सासूप्रति पनि उनको श्रद्धा बढेर आयो।

बच्चा पाएपछि त्यही पीडा खुसीमा परिणत भयो​ 
बच्चा जन्मिएपछि डाक्टरले सुगारिकालाई देखाए। बच्चा जन्मुअघिसम्म उनलाई लागेको थियो, ‘संसारको सबैभन्दा अभागी मान्छे म नै हो। मैले मात्रै यो खालको पीडा खपिरहेको छु।’

बच्चा पाएपछि त्यही पीडा खुसीमा परिणत भयो।

तर, त्यसपछि पनि शारीरिक पीडा कम थिएन। अप्रेसन गरेको शरीर। आफैँ उठ्न नसक्ने। काखमा बच्चा लिनै गाह्रो। त्यसमाथि दुईतीन दिन दूध आएन। सुख्खा भएर निप्पल फुट्न थाल्यो। मसाज गर्नु पर्छ भन्ने उनलाई थाहा भएन। अरुले पनि सिकाइदिएनन्। असह्य पीडा हुन्थ्यो, बच्चाले दूध चुस्दा पीडाले पिसाब खुस्किन्थ्यो। एउटी आमा आफ्नो बच्चाको लागि लाज भनिएका रेखा पनि हाँसीहाँसी पार गर्न तयार हुँदिरहिछन्। बिस्तारै दूध आउन थालेपछि पीडा सहन सक्ने हुँदै गयो।

चार महिनापछि डाक्टरले उनलाई बच्चालाई दूध धेरै भयो, कम गर्नुस् भने। डाक्टरले भने पनि उनले बच्चालाई दूध नदिन सकिनन्।

उनी सम्झिन्छिन्, ‘बच्चाले आँ गरिरहेको छ, कसरी दूध नदिनु?’

५ महिनापछि पनि काममा फर्किन सकिनन्
पाँच महिनासम्म उनी बाहिर निस्किइनन्। त्यसपछि भने उनलाई कामको अफर आयो। उनी निस्किइन्। तर, भक्तपुरबाट कोटेश्वर आइपुग्दा दूध चुहिएर कुर्ता भिज्यो। दूध गानिन् थाल्यो। उनी आधी बाटोबाटै घर फर्किइन्। त्यसपछि १ वर्षसम्म उनी काममा गइनन्।

उनको दूध धेरै आउँथ्यो। बच्चाले खाइनसकेर फाल्नु पर्थ्यो। हरेक दिन दूध दुहेर गमलामा फाल्दा सोच्थिन्, ‘कसैले खाइदिए हुन्थ्यो।’ त्यतिबेला उनलाई आमाको दूध दान गर्न मिल्ने भन्ने थाहा थिएन।

कयौँपटक उनलाई लाग्यो, ‘अब मेरो करिअर यहीँ सकियो।’

उनी निराश हुन्थिन्।

उनका श्रीमान् छेउमा बसेर सम्झाउँथे, ‘मातृत्व भनेको धेरै ठूलो कुरा हो। तिमीले यति राम्रो बच्चा जन्माएकी छौ। म अझै काममा उर्जाशील भएको छु। अहिले पो बाबुलाई तिमी चाहिएको हो त, अलिक समयपछि म घरमा बसौँला, तिमी काम गरौली।’

संयुक्त परिवारमा भएकाले पनि बच्चा हुर्काउन उनलाई गाह्रो भएन।

आठ दिनमा १४ किलो घट्दा
सानो छँदा उनको बच्चा निकै बिरामी हुन्थे। चिसोबाट जोगाउन मुस्किल। चिसोको एलर्जी र दमका कारण पटकपटक अस्पताल भर्ना गर्नु पथ्र्यो। एकपटक उनको छोरालाई पखाला लाग्यो। रोकिँदै नरोकिएपछि अस्पताल भर्ना गरियो। ८ दिन अस्पताल बस्दा सुगारिकाको ज्यान १४ किलो घट्यो।

‘सबैभन्दा ठूलो पीडा सन्तानलाई दुख्दा हुँदो रहेछ,’ सुगारिकाले सुनाइन्।

उनलाई हेरेर अस्पतालका नर्सले भन्थे ‘म्याम अरु थाक्छन्, तपाईं थाक्नु हुन्न।’

उनी जवाफ दिन्थिन्, ‘आमा भएपछि थाक्न पाइँदैन। मेरो ठाउँमा तपाईं भएको भए पनि थाक्नु हुन्नथ्यो।’

छोरालाई सास फेर्न गाह्रो भएको छ। दूध खान सकेको छैन। उनी पटकपटक छोरोको नाक नजिकै हात लगेर राख्थिन् र नाप्थिन् छोराको स्वासको गति। उनलाई डर लाग्थ्यो, ‘मेरो छोराले स्वास फेर्नै पो छाडिसक्यो कि!’ 

५ वर्षपछि छोरो बिरामी हुने क्रम कम हुँदै गयो। 

भर्खर हिँड्न सिक्दै गरेको बच्चा, मोटो शरीर। कयौँ पटक लड्दै उठ्दै गर्थे उनका छोरा। भर्खर पलाएका दुधे दाँत। हिँड्दाहिँड्दै लडेर भाँचियो। झण्डै चार वर्ष त्यहाँ दाँत पलाएन। भाँचिएको दाँत कालो देखिन्थ्यो।

साथीका मिलेका दाँत देखेर छोराले प्रश्न गर्थे, ‘मामु मेरो दाँत साथीको जस्तो राम्रो किन छैन?’

सुगारिकाले त्यतिबेला थुप्रै डाक्टरसँग छलफल गरिन। डाक्टरले भन्थे ‘नडराउनु पछि ठिक हुन्छ।’

ठिक नभएसम्म पोलिरहन्थ्यो उनको मन। 

छोरो हुर्किंदै गए। स्कुल भर्ना भए। सुगारिकाको कामको लय पुरानै गतिमा फर्कियो। एकदिन उनी काममा निस्कने हतारोमा थिइन्। छोराले पिर्दै आए। उनले झापड हानिन्। छोरा रुन थालेपछि उनलाई पश्चाताप भयो। बच्चा च्यापेर निक्कैबेर रोइन्। त्यो दिन काममा जान पनि सकिनन्। सोचिन्, बच्चालाई अब हात हाल्दिनँ। 

अब त उनको छोरा ९ वर्षका भएका छन्। भन्छिन्, ‘छोराबाट सिक्ने र उसलाई जिन्दगी सिकाउने सिलसिला चलिरहेको छ।’ 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .