म्यागेजिन


जब आफैँ खुसी हुन थालिन्, ऐश्वर्यारानी युनिभर्सिटी टप भइन्

जब आफैँ खुसी हुन थालिन्, ऐश्वर्यारानी युनिभर्सिटी टप भइन्

ऐश्वर्याले स्नातकोत्तरमा काठमाडौं विश्वविद्यालय टप गरेकी हुन्। तस्बिर: विक्रम राई

स्नातकोत्तर परीक्षामा विश्वविद्यालयकै सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीले चान्सलर उपाधि पाउने परम्परा नै थियो। सो उपाधि कुलपति अर्थात् प्रधानमन्त्रीले प्रदान गर्थे। काठमाडौं विश्वविद्यालयकी सर्वश्रेष्ठ विद्यार्थी ऐश्वर्यारानी सिंहले पनि मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाबाट चान्सलर उपाधि ग्रहण गरिन्। उनी विकासशास्त्र विषयकी विद्यार्थी हुन्।

तर, देशको कार्यकारी प्रमुखबाट पदक ग्रहण गरिरहँदा उनको अनुहारमा जति खुसी झल्किनुपर्ने हो, त्यो देखिँदैनथ्यो। शान्त, सामान्य अवस्थामै उनले पदक थापिन्। कारण, नतिजा प्रकाशित हुँदा नै उनको खुसी छचल्किसकेको थियो। 

‘फेब्रुअरीमा मैले टप गरेको रिजल्ट आउँदा निकै भावुक बनेकी थिएँ। स्नातकदेखि जीवनमा घटेका उतारचढाव याद आउन थालेका थिए। कोठामा एक्लै बसेर रोएँ पनि,’ झम्सिखेलस्थित आफ्नै निवासमा बसेर उनले सुनाइन्, ‘त्यसबेला नै जति इमोसन फिल गर्नुपर्ने थियो, गरिसकेकी थिएँ। प्रधानमन्त्रीबाट पदक लिँदै गर्दा त्यस्तो नयाँ अनुभव केही रहेन। एकदमै शान्त थिएँ।’

स्नातक अध्ययन गर्दैगर्दा ऐश्वर्याको जीवनमा अँध्यारो मोड आएको थियो। उनलाई लाग्थ्यो– म केही गर्न सक्दिनँ। चुपचाप बस्थिन्। केही इच्छा, रहर थिएन। कोहीसँग भेटघाट हुन्नथ्यो। बोल्न, साथीसंगीसँग हेलमेलमा रुचि हराएको थियो। 

के भएको थियो उनलाई? 

दोहोर्याएर सोध्दा पनि उनले पुरानो घाउ कोट्याउन चाहिनन्। बरु भनिन्, ‘कुनै दिन बायोग्राफी लेखेँ भने ती कुराहरु लेख्नेछु।’ 

उनले हामीलाई केही संकेत भने गरिन्। त्यसबेला आफ्नै नजिककाहरुले खुट्टा तान्ने, साथसहयोग नपाउने, गुरुहरुले भेद गरेर अंक कम गरिदिने, बुलिङ सहनुपर्नेजस्ता कारणले उनी डिप्रेसनको निकट पुगेकी थिइन्।

‘मान्छेलाई बाहिरबाट हेर्दा सबथोक छ जस्तो लाग्छ। तर आन्तरिक कहानी थाहा हुन्न,’ उनी भन्छिन्, ‘के भयो ठ्याक्कै भन्न म चाँहदिनँ। त्यो घाउलाई कोट्उनु ठिक हुँदैन, धेरै कुरा मैले शान्त बनाइसकेँ।’

सेन्ट मेरिजमा विद्यालय शिक्षा हासिल गरेकी ऐश्वर्यालाई यद्यपि त्यो चरणबाट गुज्रिनुपरेकोमा पछुतो छैन। त्यसले आफूलाई अझ धेरै कुरा सिकाएको, थप मजबुत तुल्याएको उनको अनुभव छ।

त्यहीबेला मार्क म्यान्सनको पुस्तक ‘द सटल आर्ट अफ नट गिभिङ अ फ**’ उनको हातमा पर्यो। किताबमा एक वाक्य थियो– ‘खुसी भनेको कसैले दिएर आउने होइन। आफैँले बनाउने हो।’

त्यही भनाइलाई मनन गर्दै ऐश्वर्या खुसी खोज्न होइन, खुसी हुन थालिन्। जहाँबाट उनको जीवनको नयाँ अध्याय सुरु भयो। 

उनको जीवन बदल्ने सिस्टर नेन्सीको एक भनाई पनि थियो- ‘अरुलाई आफ्नो शब्दले होइन कर्मले देखाउँनुपर्छ।’

त्यसपछि उनले सोचिन्, ‘अब यसरी चल्दैन। जीन्दगीमा सबैभन्दा ठूलो सफलता भनेको हार नमानी अगाडि बढ्नु हो।’

‘त्यो महसुस भएदेखि त म अहिले अर्कै मान्छे हुँ। म पहिलेको ऐश्वर्यालाई चिन्दै चिन्दिनँ। अहिले चाहिँ पुरै फरक मान्छे देख्नुहुन्छ’ उनी भन्छिन्। 

ऐश्वर्यालाई त्यसबेला महसुस भएको थियो, सकारात्मक सोच्नु र सकारात्मक सोच भएका मान्छेहरुलाई आफ्नो वरपर राख्नु एकदमै महत्वपूर्ण हुन्छ। नकारात्मक सोच्ने मान्छेहरुसँग कुरा गर्दा आफू पनि नकारात्मक बन्दै गइँदो रहेछ। 

यो कुरा महसुस भएपछि उनले नकारात्मक कुराकानी गर्ने मान्छेहरुलाई बाइबाइ नै गरिन्। आफैसँग सकारात्मक बात मार्न थालिन्। विगतका राम्रा कुराहरु सम्झिन्थिन्, त्यसबाट आफूलाई प्रेरित गर्न थालिन्। यसरी नै आफूलाई अलग बाटोमा हिँडाएपछि स्नातकोत्तर तहमा उनले विश्वविद्यालय नै टप गरिन्।

‘ब्याचलरको त्यो जर्नीपछि अब त मैले आफूलाई प्रमाणित गर्नैपर्छ भन्ने लाग्यो। अरुलाई नभएपनि आफूलाई विश्वास गर्न अब चान्सलर छाड्दिनँ भनेर मेहनत गरेकी हुँ। सर्टकट छैन, मेहनत गर्नैपर्छ। प्रत्येक दिन मेहनत दोब्बर गरेकी हुँ,’ उनी भन्छिन्।

सफलताको परिभाषा बदल्ने चाहना
‘समयमै आउनुहोला है,’ उनले हामीलाई भनेकी थिइन्।

कुराकानीका क्रममा पनि उनले समयको महत्व बताइन्। न उनलाई कसैले कुराएको मनपर्छ न कसैलाई कुराउन नै रुचाउँछिन्।

‘समय व्यवस्थापनमा म पहिलेदेखि नै कडा छु। स्कुलदेखि नै पढाइ, होमवर्क समयमै गर्थेँ,’ उनी भन्छिन्, ‘२४ घण्टा म एकदमै क्यालकुलेट गरेर इन्भेस्ट गर्छु।’

पहिलेदेखि अध्ययनप्रति उनको रुचि थियो। 

‘किताब पढ्दा मलाई वरपरको तनावबाट मुक्त भएको महसुस हुन्थ्यो,’ उनले भनिन्।

सन् २०१९ मा स्नातकोत्तर सुरु गर्दा उनले आफ्ना प्राथमिकताहरु खुट्याइसकेकी थिइन्। स्नातकमा भोगेको पीडाबाट मुक्ति पाउन स्वास्थ्य र मानसिक अवस्थाको सुधार, पढाइ र सुरु गर्न लागेको पुतली नेपाल संस्था उनका तीन मुख्य प्राथमिकता थिए। 

स्नातकोत्तरमा उनलाई अब्बल बनाउन उनका अध्यापकहरुको भूमिका पनि महत्वपूर्ण रह्यो। केही समस्या अझै बाँकी थिए। उनलाई आफैँप्रति पूर्ण विश्वास जागिसकेको थिएन। 

सोही कारण पहिलो सेमेस्टरसम्ममा ४ जीपीए ल्याउँदा भाग्यले आएको होला भन्ने सोचिन्। दोस्रो सेमेस्टरमा पनि ४ जीपीए आएपछि अध्यापकहरुले पनि उनलाई उत्प्रेरित गर्न थाले। 

‘मेरो मेडल तिनै अध्यापकहरुप्रति समर्पित गर्न चाहन्छु, उहाँहरुले जुन बाटो देखाउनुभयो, ममा भएको खुबी चिनाइदिनुभयो। त्यो नभएको भए म यहाँसम्म पुग्दिनथेँ होला,’ उनी भन्छिन्। 

उनी घोकन्ते विद्यामा विश्वास गर्दिनन्। पढेका कुरा जीवनसँग जोडेर हेर्छिन्। ती कुरा जीवन, सामाज र परिस्थितिसँग कसरी जोडिन्छन्, खोज्थिन्। त्यसले उनको ज्ञानको दायरा नै फराकिलो बनाइदिन्थ्यो। घोक्नुपर्ने आवश्यकतै पर्थेन। आफूले राम्रो नम्बर ल्याउनुमा मुख्य भूमिका यही कुराले खेलेको उनी मान्छिन्। 

‘परीक्षामा रटन्ते विद्याबाट आएको उत्तर कहिल्यै लेखिनँ। पढाइका कुराहरु जीवनमै, काममै कसरी लागू भइरहेका छन्, पहिलेदेखि नै दिमागमा हुन्थ्यो। त्यही कुरा उत्तरपुस्तिकामा उतार्थेँ,’ उनी भन्छिन्। 

उनको जीन्दगीको लक्ष्य पनि सजिलो छ– हरेक दिन काम गरेर आएपछि राति मिठो निद्रा परोस्। 

विदेश जानुपर्ने, सरकारी, एनजीओ–आईएनजीओमा जागिर खानुपर्नेजस्ता समाजले बनाइदिएका सफलताका मापदण्डहरुबाट उनी परै छिन्। आफ्नो सफलताको परिभाषा आफैँ बनाउन चाहन्छिन् उनी।

‘जे कुराले तपाईंलाई आनन्द दिन्छ त्यही सफलता हो,’ उनी भन्छिन्। 

विश्वविद्यालय नै टप गरेपछि उनीसामु थुप्रै अवसर आएका छन्। तर, उनी आफ्नै सानो संस्था हाँकिरहेकी छन्। पुतली नेपालले महिनावारी तथा महिला स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएको छ। उनको इच्छा भने शिक्षा क्षेत्रमा क्रान्ति ल्याउने छ। 

‘अहिले स्कुले शिक्षामा पाठ्यक्रम घोकाऊ, अंक देऊ मात्रै छ। त्यही नै पढाइ भएको छ,’ उनी भन्छिन्, ‘समाजिक मुद्दाहरुमा पाठ्यक्रम विकास गर्नुपर्यो। बच्चालाई नम्बर ल्याउने दबाबबाट मुक्त गर्दै ज्ञान लिने वातावरण बनाउनुपर्छ।’

उनलाई संस्था ठूलो बनाउने रहर छ। उनको परिवार सत्तासीन पार्टी नेपाली कांग्रेससँग नजिक छ। मामा जीतजंग बस्नेत तरुण दलका केन्द्रीय अध्यक्ष हुन। तर, त्यो सम्बन्धको फाइदा उठाउन उनी चाहन्नन्।

‘गर्वका साथ भन्छु, अहिलेसम्म पारिवारिक सम्बन्धको प्रयोग गरेकी छैन। जहाँ पुगेँ, आफ्नै मेहनतले पुगेँ,’ उनी भन्छिन्, ‘परिवारका अरु सदस्य जहाँ पुग्नुभयो, उहाँहरुको मेहनतले पुग्नुभयो। म आफ्नो सीपबाट सफलता हासिल गर्न चाहन्छु। मेरै कामबाट मानिसहरु मलाई चिनून् न। नकि फलानाकी छोरी, भान्जी भनेर।’

आमाको प्रेरणा
आमा पूजारानी सिंहको बिहे १८ वर्षको उमेरमै भयो। अर्को वर्ष ऐश्वर्या जन्मिइन्। डाक्टरले दिएको डेलिभरी डेटमा नै पूजाको परीक्षा परेको थियो। डाक्टरले उनलाई परीक्षा छाड्न सुझाव दिएका थिए। तर, पूजाले पढाइलाई महत्व दिइन। परीक्षा दिएकै साँझ उनलाई प्रसव व्यथाले च्यापेको थियो। अर्को दिन ऐश्वर्या जन्मिइन्।

कान्छी छोरी दिव्याणी जन्मिँदा पनि फेरि पूजालाई त्यस्तै पर्यो। त्यसबेला उनको टाँका चुँडिएर संक्रमण हुन लागेको थियो। एकदमै पीडाका बाबजुद उनले परीक्षा पुरा गरेकी थिइन्। 

अंग्रेजी साहित्यमा स्नातकोत्तर आमा पूजाको पढाइप्रतिको त्यो लगाव नै उनका दुवै छोरीहरु ऐश्वर्या र दिव्यानीका लागि प्रेरणा बन्यो।

ऐश्वर्या जन्मिएको केही समयमा आमाले ज्योतिषीलाई उनको चिना देखाइन्। ज्योतिषीले ५ वर्षको उमेरसम्म ऐश्वर्याको केही नराम्रो दुर्घटना हुनसक्ने बतायो।

त्यो सुन्दा आमाको मन आत्तियो। त्यस दिनदेखि पूजाले ऐश्वर्याको हात कहिल्यै छाडिनन्। 

‘आमाले कहिल्यै पनि फलानोको यति आयो, ढिस्कानोको यति आयो भनेर अरुसँग तुलना गर्नुभएन। जहिले पनि पढाइ भनेको ज्ञानका लागि हो भन्नुहुन्थ्यो,’ ऐश्वर्या भन्छिन्, ‘कतिपय आमाबुबाले छोराछोरीलाई प्रतिस्पर्धामा लगाइदिन्छौँ। त्यो प्रेसर मलाई आमाले कहिल्यै दिनुभएन। मलाई यति सक्षम बनाउनुभएकोमा आमालाई धन्यवाद दिन चाहन्छु।’

ज्योतिषीले ऐश्वर्यालाई चोट लाग्न सक्छ भनेपछि स्कुल भर्ना गर्दा पूजालाई कम्ता गाह्रो भएको थिएन। उनले छोरीलाई एक्लै छाड्नुपर्ने हुन्थ्यो। तर पूजाले उपाय निकालिन्। प्राचार्यलाई अनुरोध गरेर उनी स्वयमसेवी शिक्षक बनेर छोरीकै स्कुलमा पढाउन थालिन्। त्यहीँबाट ऐश्वर्याको हात डोर्याउँदै पूजाले उनको जीवन अघि बढाएकी हुन्।

पूजाका बुबा उनले धेरै पढेको, आफ्नै खुट्टामा उभिएको हेर्न चाहन्थे। तर, बिहेपछि उनका भूमिका परिवर्तन भए। आमा, बुहारी, श्रीमतीको भूमिकामा अल्झिदाअल्झिँदै उनका थुप्रै सपना अधुरा रहे।

‘ऐश्वर्या जन्मिँदा मेरो खुसीको त सीमै थिएन,’ पूजाले भनिन्, ‘जुन मेरो सपना छुटेको थियो, त्यो यही छोरीले पुरा गर्छे भन्ने भित्रैबाट लाग्यो। भगवानको चाहनाले अहिले छोरीले त्यो पुरा गरिदिइन्।’ 

छोरी किशोरी हुँदैदेखि उनीसँग पूजा गम्भीर कुराकानी गर्थिन्। जन्मिनु, बिहे गर्नु, साधारण जीवन जिउनु ठूलो कुरा होइन भन्थिन। आफू बन्नुपर्छ, समाज बनाउनुपर्छ, पहिचान राख्नुपर्छ भनेर प्रेरित गर्थिन्। अहिले ऐश्वर्या त्यही मार्गमा हिँडिरहेकी छन्। 

‘तिमी यदि अघि बढ्नु छ भने कमजोरी कहिले पनि नदेखाऊ। चाहेको कुरा हासिल गर्न लाग। दया र भीख कसैसँग नमाग। आशीर्वाद लेऊ भनेर सिकाएकी छु,’ आमा पूजा भन्छिन्, ‘संसारमा मेरो केही चाहना छैन। मेरो छोरीहरुको चाहना नै मेरो चाहना हो। मेरा जति पनि सपना थिए, त्यो उनीहरुले पुरा गरिदिइरहेका छन्। म नै उनीहरुसँग जिइरहेकी छु।’ 

‘मैले ४ जिपीए कसरी ल्याएको थाहा छ?’ जाँदाजाँदै एश्वर्याले दिव्याणीप्रति कृतज्ञता जनाउँदै भनिन्, ‘मेरी बहिनीले मलाई पढ्न दिएर हो नि!’

मिठो हाँसोसँगै उनले कुराकानीको बिट मारिन्। 

असोज २२, २०७८, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .