ad ad

म्यागेजिन


एसिड आक्रमणपछिको पश्चाताप

एसिड आक्रमणपछिको पश्चाताप

ईश्वरकुमार मैनाली
कात्तिक २, २०७६ शनिबार ९:५७,

 फोन नलागेको धेरै समय भएको थियो। उसले बिकल्प खोजिरहँदा भेटिएकी थिई रमिला। रमिलाको हातमा खबर छाडेपछि उसमा आशाका मसिना रेसाहरु सल्बलाउन थाले। उसले त्यो दिन मधुशालाको बाटो नहेरी हिँड्यो। बेलैमा घर पुग्यो र सोच्न थाल्यो– यति बेला के गर्दै होलिन् उषा?

कतै उसैलाई सराप्दै रोइरहेकी त छैन? कतै परिवारले उषाको मनोकामनाविपरीत थुनुवा बनाइदिएका त छैनन्? कतै उसले आत्माहत्या त गरिन? कतै उसलाई प्रेम नै गर्ने मान्छे नै पो छैनन् कि? उसले आफैलाई कति कुरूप ठान्दिहो। आफैँलाई कति गाली गर्दी हो। धिकार्दी हो। विनोद अनेक तर्कना गर्न थाल्यो।

दराजको माथिल्लोपट्टि आत्महत्या गरेको मानिस जसरी निष्प्राण झुण्डिरहेको पाइन्टबाट चुरोट निकाल्यो। सल्कायो। चुरोटको पहिलो सर्कोमा उसले प्रस्ट उषाको अनुहार देख्यो। सेतो टीका, सेतै कुर्तामा सजिएकी उषा उसलाई आज बडो प्रेमिल लाग्यो। मोबाइल उठायो र चुरोटको धुवामा मिसाएर मनको तुस फाल्दै फोन सम्पर्क गर्न प्रयास गर्यो। उसले त्यो रात निकै पटक सपना देख्यो। सपनामा कसैसँग घरजम गर्यो। उसका बच्चा पनि भए। ऊ कति बेला निदायो पत्तो भएन।

रातभर झ्याल खुला थियो। बिहानीपख परेको अविरल वर्षाले उसको मुख धोइदियो। उसका आँखासँगै मोबाइलको पर्दाले पनि आँखा खोल्यो र चिम्लियो। उसले मोबाइल उठायो। उसको आँखामा चमक थपियो। उसलाई झरीको आवाजसम्म हेक्का भएन। जब मान्छे मन पर्ने कुरालाई नै भुलेर अर्को कुरामा रमाउँछ त्यहाँ बडो आन्दको अनुभूति पाउँछ। उसले चुरोट सल्कायो र लामो सर्को तानेर मनको तुषलाई निकैबेर धुवामा घोल्दै बाहिर फ्याक्यो।

म्यासेज उषाको थियो। उषा उसँग भेट्न राजी भएकी थिए। उसलाई उषाको आवाज आइरहेको झैँ लाग्यो। ऊ झस्कियो। कतिबेला उसका औलाहरुले उषालाई फोन लगाए उसलाइ हेक्कासमेत भएन।

हेल्लो!

नमिठो धुवाको गन्दले उसको एकाग्रता भंग गरिदियो। हातको चुरोट प्लास्टिकको कार्पेटमाथि खस्यो। उसका पैतालाले हत्तपत्त कुल्चियो। एक्कासि उसले आवाज निकाल्यो– आत्था।

उसको कानमा परिरहेको आवाज उषाकै थियो तर उसलाई अझै विश्वास थिएन। फोन भनिरहेको थियो, के भयो? हेल्लो विनोद... विनोद।

विनोदलाई सबै समस्या सामाधान भएको भान भयो। मान्छेको बोली दुःखले मात्र होइन सुखले पनि अवरुद्ध बनाउँछ। उसको आवाज फुरेन। फोन काटियो।

एकछिन सालिकजस्तो खडै रह्यो। उसले धेरै आवाज सुनिहरेको छ तर कुनै सुनिरहेको छैन। उसले भित्ता देखिरहेको छ तर केही देखिरहेको छैन। मानौ ऊ ऊ नै हो तर ऊ ऊ होइन।

विनोद ऐनाको आगाडि उभियो। आफूलाई शिरदेखि पाउँसम्म नियाल्यो। अग्लो शरीर, कसिएका साप्राहरु, बाटुलो अनुहारमा पातलो दारी। श्यामश्वेत छाला, आलीजस्ता मिलेका ओठ, मकैको दाना घोगामा मिलेर बसेको हारजस्तो दाँत। आज उसलाई निकै कुरूप भएको महसुस भयो। उसका औँलाले ऐनालाई स्पर्श गरे मानौँ कुनै प्रेमीले आफ्नी प्रेमिकालाई प्रेम जताइरहेको छ।

आफू कुरूप लाग्दालाग्दै पनि उसका औँलाहरु ऐनामा ठोकिन पुगे। उसले हत्तपत्त ऐनाबाट हात हटायो। ज्यानलाई बेरिरहेको गन्जीलाई मुक्ति दियो। छोपिनु पर्ने ठाउँ उदांगो बनायो र उसले आफैँलाई निकैबेर हेरिरह्यो। लाजबिनै, बिनासंकोच हेर्दाहेर्दै उसलाई शरीर नभएको झैँ महासुस भयो। उसले फेरि चुरोट सल्कायो। चुरोटको धुँवामा देखिने अनेक आकृतिले उसलाई आकृतिको याद दिलायो। सुन्दर अनुहारसँग जोडिएको कुरूप मान्छे। अनि उसले सम्झियो, कुरूप अनुहारसँग जोडिएको सुन्दर मान्छे।

आकृति जसलाई उसले बेहद प्यार गर्यो। उसका लागि आत्महत्याको प्रयाससम्म गर्न पछि परेन। विनोद चाहन्थ्यो प्रेम जताउन, प्रेमको सीमा आकृतिलाई बुझाउन। धनी परिवारकी पढेलेखेकी सुन्दरी जसलाई खाजासम्म ठूला–ठूला रेस्टुरेन्टमा पुगेर खानुपर्छ। आधा शरीर ढाक्ने लुगा पनि ठूला महलमा किनेर लाउनु पर्छ। दुई मिनेटको बाटो हिँड्दा खुट्टा दुख्छ। अलि कति धुलो छेउँ उभिँदा रुघा लाग्छ। ठूला मान्छेको संगत गर्नुपर्छ। धनी मान्छेको साथ मन पर्छ।

विनोदले आफ्नो औकात सम्झियो। भुँइचालोले मेटाएका बाआमा सम्झियो। उसले आफ्नाहरुको अनुहार बल गरेर आँखा अगाडि ल्याउन खोज्यो। उसका आगाडि कुनै अनुहार देखिएन। ऊ फेरि ऐनाको अघि गयो। आफैँलाई हेर्यो र बेसंकोच मुसुक्क हाँस्यो। सधैँ सबै हाँसो मान्छेलाई सुहाउँदैन। उसलाई पनि सुहाएन। सुहाउने कपडा ज्यानमा उन्दै विनोदले आफूलाई तयार गर्यो र निस्क्यो कोठाबाट।

बाटो आज उसलाई बाटो होइन खाल्टो जस्तो लाग्यो। पोखरीजस्तो लाग्यो। मरुभूमि जस्तो लाग्यो। अनि जिन्दगीजस्तो पनि लाग्यो। उसो त बाटोमा जति जिन्दगी अन्त कता हुन्छ र? ऊ सोच्दै हिँड्यो– मैले आकृतिको प्रेमका लागि बालाई मुख छाडेको छु, आमाको कपाल लुछेको छु। अहो म कति अन्धो भएको रहेछु। उनीहरुले के नै भनेका थिए र? हामीले ठूला कुरालाई ताक्नु हुँदैन। जस्तो चप्पल लगाउँदा उस्तै जोडी लगाउनु पर्छ, नत्र कुरूप देखिन्छ।

एक्लो सन्तान भए पनि म केही साल दशैंमा समेत घर पुगिनँ। खबर लगातर आउँदा पनि कुनै उत्तर नदिई बसे। कुन बाआमा आफ्नो सन्तानको शत्रु कसरी हुन सक्छ र? मैले यतिसम्म सोच्न सकिनँ। मैले अपराध गरेँ। यति बुझ्न मलाई निकै वर्ष एक्ल्लीनु पर्यो। मैले बाआमा गुमाउनु पर्यो। साथीभाईबाट हेला पाउनु पर्यो। समाजबाट तिरस्कार पाउनु पर्यो। जेलबाट निस्किएपछि मलम भट्टीलाई बनाउनु पर्यो। म जड्याहा हुनुपर्यो। अर्धपागल हुनुपर्यो। अब म मान्छे हुनुपर्छ, उसले चलायमान पाइलासँगै यस्तै सोच्यो।

मेरी आकृतिलाई मदेखि छुटाउन खोज्नेलाई मारिन भने मेरो नाम विनोद होइन भनेको थिएँ। खै त मैले मार्न सकेको? खै मैले मेरो नाम फेर्न सकेको? म त उसैलाई भेट्न जाँदैछु। जसले मेरो भलोको लागि मलाई सधैँ सम्झाई रही। मैले कहिल्यै बुझ्न सकिनँ उसले बोलेका शब्दहरु। उसले सुनाएका कथाहरु अनि उसले देखाएका व्यवहारहरु। जीवनको काँडा ठानेको मान्छे नै आखिर फूल रहेछ। उसलाई चिन्न नसक्नु मेरो भुल रहेछ।

बिगतलाई सोचिरहँदा उसको ज्यानले केही माग्यो, मनले केही माग्यो, समयले केही माग्यो। विनोद भट्टी छिर्यो। एक गिलास लोकल र दुई पोटी लसुनसँग उसले पश्चाताप पियो। बिगतलाई पियो। नयाँ हुन खोज्यो। खोजेर हुने भए दुनियाँमा कोही पुरानो हुँदैन थियो होला। कोही मर्दैन थियो होला। कोही कसैदेखि टाढा हुँदैन थियो होला। सबै कुरा नयाँ हुँदामात्र राम्रा लाग्छन। जति पुरानो हुँदै जान्छ त्यति नै रुपहरु देखिदै जान्छन्। उसले पनि पुरानो हुँदै गर्दा देखेको हो आकृतिको रुप।

खेत बेचेर शहर पढ्न बसेको आकृतिको प्रेमी आकृतिलाई पछ्याउँदैमा खेत सकायो। पढाई बिगार्यो। तर, उसले कहिल्यै सिकेन, कहिले बुझेन, कहिले जानेन आकृतिको आकृति। आकृति हरेक पटक नयाँ हुन सक्थी। आकृतिका सपनाहरु पलपलमा नयाँ हुन सक्थे। आकृतिको अनुहारको हाँसो खोज्दा उसले आफ्नो जीवन आँसुले भरेको पत्तो पाएन।

उषाले निकै पटक उसलाई भनेकी थिई विनोद तिमी उसँग नजिक नहोउ। उसले तिमीलाई कतै ठाउँ दिएकी छैन। तर, विष पिइसकेको मान्छेलाई मर्नदेखि डर नभएजस्तै भयो। आकृतिबाहेक अर्को बिकल्प उसले देखेन।

कलेजको पहिलो दिन। एक्लिएको विनोदको छेउ एउटी युवती कसैलाई कुरिरहेकी थिई। सायद ऊ कसैको पर्खाइमा थिई। उसका नजर पनि विनोदको नजर झैँ अलमलमा थिए। उनीहरुका आँखा जुधे। मुस्कान साटासाट गरे। त्यसपछि सल्यानकी उषा पाठक र सिन्धुलीको विनोद ढकाल दाजुबैनी बने। उनीहरुको एकै गोत्र रहेछ, उपम्न्यु। कलेजको दोसो वर्ष अरु कुनै कलेजबाट सरुवा भएर एउटी युवती आइपुगी। रुप ठिकै। पैसाले सुन्दरता किनेकी। विनोदले उसलाई मनमा सजाउन थाल्यो। उषा, विनोद र आकृति घनिष्ट साथी भए।
०००
विनोद भट्टीबाट निस्किएर हिँड्न थाल्यो। उसका पैताला किन किन हिँडेनन्, घिस्रिए मात्र। ऊ फेरि सोच्न थाल्यो कसरी उषाको अघि उभिन्छु होला? उसलाई के भनेर सम्बोधन गर्छु होला? मैल गरेको अपराधको सजाय उसले कासरी दिन्छे होली? उसले दुई हातले आँखा मिच्यो। अलिअलि आँसु पनि लत्पतिए। सडकमा हिँड्नुको नियति भोग्दै–सोच्दै ऊ हिँडिरह्यो। उसलाई पुग्नु पर्ने ठाउबाहेक अरु ठाउको हेक्का छैन। उसलाई विश्वास छ जति नै बेहोस भए पनि पुग्ने छ उषाकोअघि। झुकाउने छ शिर र भोग्ने छ उषाले दिएको सजाए।

सडक किनारमा हिडिरहँदा अचानक फेरि उसले आकृतिलाई सम्झियो। निल्न लागेको थुक घाँटीबाट फर्काउँदै थुक्यो। यसैगरी आकृतिको छाप पनि उसलाई मनबाट थुक्न मन छ । त्यसैले ऊ जाँदै छ उषालाई भेट्न।

आकृतिको प्रेमी अमेरिका थियो। आकृतिले उषालाई विनोदकै जन्मदिनमा रक्सीको उन्मादले आफ्नो प्रेमकथा सुनाएकी थिई। आकृतिको आकृति नियालेकी उषा आफ्नो दाजु नजिकको साथीलाई सजग गराउन चाहन्थी। विनोदलाई जस्तै आकृतिलाई पनि सम्झाउन चाहन्थी। तर कुनै सीप लागेन।

बरु उल्टै विनोदको अघि अप्रत्यासित प्रस्ताब राखी आकृतिले। विनोद र उसको प्रेमको काँडा उषा हो। उषालाई तह लगाउन सके विनोदसँग उसले घरजम गर्ने छे।
उनीहरुको बाटोको खाडल पुर्ने अनि ढुक्कले प्रेमको बाटोमा लहरिँदै हिँड्ने सपनाले विनोदलाई उत्तेजित बनायो। उसले सोच्नसमेत सकेन उषाले उसलाई के ठान्छे? उषाले उसको लागि केके गरेकी छ। कोठामा ग्यास सकिँदा ल्याइदिएको, भएको पैसा आकृतिलाई दिएर आफू बुंगो हुँदा गाडी भाडा दिएको।

रक्षाबन्दनामा संसारकै भाग्यमानी दाजु तुल्याएको। परिवारसँग राम्रो सम्बन्ध नभएको मन्छेलाई परिवार झैँ माया र अपनत्व दिएको। आमाले झैँ रेखदेख गरेको। बिरामी पर्दा १० दिनसम्म अस्पतालमा कुरेको।

उसले त केवल सम्झियो आकृतिले उसलाई छोएको, आकृति हाँसेको। उसको नजरले देख्दै देखेनन् डीआईले उसलाई चुट्दा उषाको आँखा भरिएको।

योजना मुताबिक आकृतिलाई सुन्दर तुल्याउन विनोदले उषालाई एसिड प्रहार गर्यो। प्रहरीले भाग्न लाग्दै गर्दा घटनास्थल छेउबाटै विनोदलाई गिरफ्तार गर्यो। यति बिध्न योजना हुँदा कसरी समातिए? कसले दियो सुराकी र तुरुन्तै परे म फन्दामा? कहाँ गई आकृति? उसले त्यतिबेलाको क्षण सम्झियो।

जेलको बन्द भित्तामा उसले जीवनलाई फर्केर हेर्ने मौका पायो। उसलाई भेट्न आउने त के आकृतिको अत्तोपत्तो समेत भएन। जेल जीवनभर उसले आफ्नै जीवनमात्र पढ्यो। हरेक पल, हरेक घटना, हरेक शब्दलाई नियालेर हेर्ने, बुझ्ने, सुन्ने प्रयास गर्यो। जब मान्छे आफैँलाई पढ्न सिक्छ, बुझ्न सिक्छ, सुन्न सिक्छ मुर्ख विद्वान हुन्छ, अपराधी बुद्ध हुन्छ। अन्ततः विनोद पश्चताप बोकेर जेलमुक्त भयो।

जेल बाहिरको संसार उसलाई अनुपम लाग्यो, बिराट लाग्यो। भब्य लग्यो। उसले उषाको ठहर ठेगाना खोज्नुसम्म खोज्यो। उषा कतै भेटिइन। बरु आकृतिले उषाले उसलाई देखाएकै अमेरिकावाला केटोसँग बिहे गरी भन्ने खबर उसले पायो। ऊ आकृतिको खोजीमा भौतारिरहँदा संयोगले भेटिएकी थिइ रमिला। उसकै बलले राजी भएकी थिई विनोदलाई भेट्न उषा।

उसलाई आफ्नो जीवन सम्झँदा कुनै चलचित्र झैँ लागिरहेको छ। कति चाँडो इमानदार मान्छे अपराधी बन्छ। कति चाँडो सपनाहरु फेरिन्छन्। कति चाँडो बाटोहरु फेरिन्छन्। अनुहारहरु फेरिन्छन्। अनि कति चाडो पोल्छ पापले। कति चाँडो बिर्सन्छ गुन मान्छेले। प्रेममा कुन हदसम्म गिर्न सक्छ मान्छे?

उषालाई भेट्न यति बिध्न उत्तेजित भएर निस्एिको विनोद एक्कासी यी कुराले झस्किन्छ। उसलाई उषाको अघि उभिने हिम्मत जुटाउन खोलामाथि बग्नुपर्ने हुन्छ। जमिनबाट झरी आकाशतिर उक्लिनुपर्छ। एक्कासी एउटा साइरन बज्यो। विनोद हिँड्दा हिँड्दै थ्याचच बस्यो। धुलोमुलो सडकमा केहि थोपा आँसु चुहियो। केही थोपा पानि चुहियो। केही थोपा पश्चताप चुहियो। केही थोपा विनोदको जीवन चुहियो। सपना चुहियो।

मोबाइलको नोटिफिकेसनको आवाजले तर्सिने गरी विनोद कति बिध्न सोच मग्न भएको होला। यदि यसरी उषाले सम्झाएको बेला घोरिएको भए, आकृतिले उचालेको बेला सम्झिएको भए, बाआमालाई हात लगाउनुअघि उनीहरुको कुरा बुझ्न खोजेको भए सायद अपराधी विनोद अपराधी हुने थिएन। सकेको बलले जुरुक्क उठ्दै कुनै चलचित्रको नायकले अन्तिममा बहादुर फैसला गरेझैँ विनोदले एक्कासी फैसला गर्यो।

आजसम्म ऊ कुरूप थियो। सुन्दरताको पुजारी थियो। अब ऊ आफै सुन्दर हुनेछ। आफैलाई पोल्ने छ उसले। जलाउने छ। गर्ने छ अपराधको बोध र लगाउने छ मलहम पीडाको।

विनोद उषातिर बढ्दै गरेको पाइला मोडेर जर्किन बोकेर कोठामा फर्कियो। आज उसले दुई पोटी लसुन आफ्नो अघिल्तिर राखेन। बरु उभियो ऐनाको अघिल्तिर। हेर्यो आफ्नो कुरूप अनुहार। उठायो जर्किन र खन्यायो आफैँमाथि। उसलाई कुनै जलन भएन, पीडा भएन। ऊ सोचिरह्यो– अब म पाप मुक्त भएँ। म सुन्दर भएँ। म उषाजस्तै पवित्र भएँ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .