ad ad

म्यागेजिन


बंगलादेश छुट्याउन पुष्पलाल चीनको विपक्षमा उभिए, बीपीले हतियार सुम्पिए

बंगलादेश छुट्याउन पुष्पलाल चीनको विपक्षमा उभिए, बीपीले हतियार सुम्पिए

सीताराम बराल
साउन ८, २०७८ शुक्रबार २२:१९,

बंगलादेशलाई संयुक्त राष्ट्र संघको सदस्यताका लागि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा २५ अगस्ट १९७४ (९ भदौ २०३१ ) मा मतदान हुँदै थियो। दुई वर्षअघि मात्र सुरक्षा परिषद्को स्थायी सदस्य बनेको चीनले ‘बंगलादेशलाई राष्ट्र संघको सदस्यता दिन हुँदैन’ भन्दै भिटो प्रयोग गरिदियो। 

जसका कारण संयुक्त राष्ट्र संघको सदस्यता पाउन बंगलादेशले थप २ महिना कुर्नपर्यो; १७ सेप्टेम्बर १९७४ (१ असोज २०३१) मा मात्र सदस्यता पायो।

सन् १९६२ को युद्धपछि चीन–भारत सम्बन्ध द्वेषपूर्ण थियो। यही भूराजनीतिक परिवेशका कारण पाकिस्तानसँग भने चीनको सम्बन्ध सुमधुर बन्दै थियो। चीनले बंगलादेशलाई संयुक्त राष्ट्र संघको सदस्य बन्न नदिन भिटो प्रयोग गर्नाको मुख्य कारण चीन–पाकिस्तान सम्बन्ध थियो। 

त्यसबेला विश्वभरका कम्युनिस्ट पार्टी चीन र रुसी (सोभियत संघ) धुरीमा विभाजन भएका थिए। यो ‘महाविवाद’मा नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठले चीनको समर्थन गरेका थिए। नेपालमा ‘सोभियत धुरी’का कम्युनिस्ट नेताका रूपमा डा. केशरजङ रायमाझी चिनिन्थे।  

यी दुई ‘धुरी’का नेतृत्वकर्तामध्ये ‘बंगलादेश स्वतन्त्रता संग्राम’मा सोभियत संघ पाकिस्तान विभाजनका पक्षमा थियो भने चीन विपक्षमा। यी दुई ठूला कम्युनिस्ट मुलुक बंगलादेश मामिलामा विश्वभरका कम्युनिस्ट पार्टीलाई आ–आफ्ना धारणाका पक्षमा ल्याउन ‘लबिङ’मा व्यस्त थिए।  

तर अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको ‘महाविवाद’मा चीनलाई साथ दिएका नेकपाका संस्थापक महासचिव पुष्पलाल बंगलादेशको स्वतन्त्रता संग्राम र बंगलादेश निर्माणका सवालमा चिनियाँ खेमामा उभिएनन्। उनी सोभियत संघबाट पनि अलग रहेर बंगलादेशको स्वतन्त्रताका पक्षमा दृढतापूर्वक उभिए।  

भूराजनीतिक खेलबाट अलग   
१ पुस (२०१७) को ‘शाही कु’प्रतिको दृष्टिकोण, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा आएको विभाजन र नेताहरूबीचको वैमनस्यताका कारण वि.सं. २०२० को दशकको पूर्वार्द्धदेखि नै नेकपामा विभाजन आइसकेको थियो। सहकर्मीहरूले साथ छाड्दै जाँदा पुष्पलाल सांगठनिक रूपमा निकै कमजोर हुँदै गए।

समर्थकहरूको संख्या कम हुँदै जाँदा त्यसको असर भारत निर्वासनमा रहेका पुष्पलालको आर्थिक स्थितिमा पनि पर्यो। त्यो बेला पुष्पलाललाई देखे/भेटेका नेताहरूको संस्मरण पढ्दा थाहा हुन्छ– कैयौं दिन त भोकै सुते पुष्पलाल। यस्तो विषम स्थितिमा बंगलादेशको स्वतन्त्रताका लागि उनले दिन सक्ने चिज ‘नैतिक समर्थन’ मात्र थियो।  

राजालाई दबाब दिएर शक्तिमा फर्कन बीपी कोइराला सशस्त्र संघर्षका लागि हतियार संकलन गरिरहेका थिए। भोला चटर्जीद्वारा लिखित ‘बीपी कोइराला : एक क्रान्तिकारी व्यक्तित्व’मा बीपीले भनेअनुसार एक ट्रक हतियार जम्मा भइसकेको थियो।

त्यति धेरै हतियार कोबाट र कसरी जम्मा हुन सक्यो, यो कुरा बीपीले ‘सस्पेन्स’मै राखेका छन्, चटर्जीसँगको त्यो बृहत् कुराकानीमा पनि। जगत नेपालको लेखनमा प्रकाशित ‘आफ्नै कुरा’मा गिरिजाप्रसाद कोइरालाले सशस्त्र संघर्ष तयारीकालमा ‘रअ’ प्रमुख आरएन काओलगायतसँग भेटघाट हुने गरेको उल्लेख गरेका छन्।

सशस्त्र संघर्षका लागि बीपीले हतियार संकलन गरिरहेका बेला पूर्वी पाकिस्तान (बंगलादेश) मा पाकिस्तानी ज्यादतीविरुद्ध पूर्वी बंगलादेशका जनता आन्दोलित हुन थालिसकेका थिए। सन् १९६५ मा भएको पाकिस्तानसँगको युद्धपछि ‘रअ’ स्थापना गरेर भारतले कुनै हिसाबले पाकिस्तानलाई गतिलै सबक सिकाउने योजना बनाउन थालिसकेको थियो। 

पूर्वी पाकिस्तान (बंगलादेश) वासीले सुरु गरेको संघर्ष, ‘रअ’का लागि पाकिस्तानलाई ‘सबक सिकाउने’ सुवर्ण अवसर बन्यो। त्यसै क्रममा बीपीले संकलन गरेका हतियार प्रयोग भए। चटर्जीसँगको कुराकानीमा बीपीले बंगलादेशीहरू आफूसँग हतियार माग्न आएपछि समाजवादी नेता जयप्रकाश नारायणको आग्रहबमोजिम दिएको उल्लेख गरेका छन्।

यसबाट भन्न सकिन्छ– बंगलादेश निर्माणमा ‘रअ’को भूमिका, बीपीले गोप्य रूपमा जम्मा गरेका हतियारबारे बंगलादेशीहरूलाई जानकारी र जयप्रकाश नारायणले भनेपछि ती हतियार हस्तान्तरण गरेको घटनाले बीपी जानी–नजानी भारत–पाकिस्तानबीचको भूराजनीतिक प्रतिस्पर्धामा सामेल हुन पुगेका थिए। 

बीपीले आफ्ना हतियार मात्र बुझाएनन्, बंगलादेशी स्वतन्त्रता सेनानीहरूलाई फौजी तालिम दिन कांग्रेसका फौजी कार्यकर्ता कर्णेल डिबी राईलाई पूर्वी पाकिस्तान पठाए पनि। कर्णेल राई २००७ को क्रान्तिदेखि नै नेपाली कांग्रेसमा आबद्ध थिए। हतियार बुझाउन जानेमा गिरिजाप्रसाद कोइराला, सुशील कोइरला, चक्र बास्तोला पनि थिए।  

‘मैले जयप्रकाशजीलाई भनें– ठीक छ, अहिले हामी (हतियार) दिन्छौं। तर पछि हामीलाई फिर्ता चाहिन्छ नि,’ गिरिजाप्रसाद कोइरालाले ‘आफ्नै कुरा’ मा भनेका छन्, ‘उहाँ (जयप्रकाश नारायण) ले भन्नुभयो– हतियार फिर्ताको कुरा नगर न तिमी, बंगलादेश स्वतन्त्र भयो भने त्यसको बदलामा धेरै (हतियार) पो पाउँछौ त तिमीहरूले!’ 

जयप्रकाश नारायणको ‘आग्रह’मा बीपीले बंगलादेशीहरूलाई सहयोग गरेको एक वर्ष बित्दानबित्दै बंगलादेशले स्वतन्त्रता प्राप्त गर्यो। तर बीपीले थप हतियार त के, आफैंले दिएका हतियारसमेत फिर्ता पाएनन्। बीपीको नेतृत्वमा नेपालमा सञ्चालित सशस्त्र संघर्ष (२०२९–३१) असफल हुनाको एउटा कारण हतियार पर्याप्त नहुनु पनि थियो। 

बीपीको नेतृत्वमा भएको त्यो असफल सशस्त्र संघर्षको परिणाम हो– स्वदेश फर्कन २०३३ मा उनीद्वारा अघि सारिएको ‘राष्ट्रिय मेलमिलाप’ नीति। सशस्त्र संघर्षमा सफलता प्राप्त गरेका भए बीपी रक्षात्मक बनेर ‘राजा र मेरो घाँटी जोडिएको छ’ भन्दै होइन, प्रधानमन्त्री पदमा दाबी गर्दै स्वदेश फर्कने थिए। तर भूराजनीतिक खेल बुझ्न नसक्दा उनले आफूले जम्मा गरेका हतियारसमेत गुमाउनपर्यो; सशस्त्र संघर्षमा असफलताको कारण पनि बन्यो।  

बंगलादेश स्वतन्त्रताका सन्दर्भमा भूराजनीतिक स्वार्थ र दाउपेच कसरी विस्तार हुन पुग्यो; झण्डै विश्वयुद्धको रूप लिन पुग्यो र यो खेलमा आफूलाई अलग राखेर पुष्पलालले कसरी बुद्धिमता देखाए भन्ने बुझ्न त्यसपछिका घटनाक्रम थाहा पाउनुपर्ने हुन्छ। 

बंगलादेशीहरूको स्वतन्त्रताको चाहनालाई भारतले पाकिस्तानसँग बदला लिने हतियार बनायो। बंगलादेशीविरुद्ध पाकिस्तानी सेनाले गरेको नृशंस दमनलाई आधार बनाएर उसले पाकिस्तानमा आक्रमण सुरु गर्यो; बंगलादेशको स्वतन्त्रता संग्राम भारत–पाकिस्तान युद्ध (१९७१) मा परिणत भयो।   

भारतसँगको युद्धमा पाकिस्तान कमजोर बन्दै गएपछि महाशक्ति अमेरिकाले उसका लागि पानीजहाजबाट हतियार र युद्ध सामाग्री पठायो। तर ती जहाजलाई भारतले बंगालको खाडीमा अवरोध गर्यो। त्यो ‘क्लियर’ गर्न अमेरिकाले आफ्नो नौसेनाको युद्धपोत त्यहाँ पठायो। 

त्यसपछि यो भूराजनीतिक प्रतिस्पर्धामा अर्का महाशक्ति राष्ट्र सोभियत संघ खुलेर आइपुग्यो; अमेरिकी युद्धपोतलाई ध्वस्त गर्न सक्नेगरी आफ्ना युद्धपोतका दुई समूह त्यसतर्फ पठायो। जसमा आणविक बमसमेत थिए। 

शीत युद्धकालका दुई महाशक्ति– बंगलादेश स्वतन्त्रता संग्रामले सिर्जना गरेको नयाँ परिस्थितिका सन्दर्भमा दक्षिण एसियाली समुद्र तटमा आमने–सामने हुन पुगे। सोभियत र अमेरिकी युद्धपोत आइपुगेपछि तेस्रो विश्वयुद्धको सुरुवात दक्षिण एसिया (बंगालको खाडी) मा हुनसक्ने आशंका बढ्न थाल्यो। 

धन्न ! आपसी शक्ति सन्तुलनका लागि महाशक्ति सोभियत संघ र अमेरिकाका युद्धपोत बंगालको खाडीमै रोकिए। पाकिस्तानलाई सहयोग गर्न आएको अमेरिकालाई सोभियत संघले रोकेपछि पाकिस्तानसँगको युद्धमा भारत हावी भयो; पाकिस्तान हार्यो; बंगलादेशले स्वतन्त्रता पायो।

यस आधारमा भन्न सकिन्छ– बंगलादेशले पाएको स्वतन्त्रता त्यहाँका जनताको ‘स्वतन्त्रता संग्राम’का कारण मात्र सम्भव भएको होइन, शक्ति राष्ट्रहरूबीचको स्वार्थ र ‘भूराजनीतिक प्रतिस्पर्धा’ त्यसको आधार हो।

प्रधानमन्त्री हुँदासमेत बीपीले उपनिवेशवाद झेलिरहेका उत्पीडित राष्ट्रहरूका पक्षमा नैतिक समर्थन जनाएका थिए। पाकिस्तानी ज्यादतीविरुद्ध बंगलादेश (पूर्वी पाकिस्तान) मा जारी संग्राममा बीपीको समर्थन त्यही न्यायिक नीतिको निरन्तरता थियो। तर पाकिस्तानको विभाजन चाहेका भारतीय नेताहरूको आग्रहमा उनले आफ्ना हतियार सुम्पिए। 

पाकिस्तानी ज्यादतीविरुद्धको संघर्ष भएकाले बंगलादेशी स्वतन्त्रता संग्रामलाई समर्थन र सहयोग गर्नु आवश्यक थियो। तर स्वतन्त्रता संग्रामको बहानामा भारतले जसरी  सैनिक हस्तक्षेप गर्यो, त्यो नाजायज थियो। बीपी भारतीय सैनिकको हस्तक्षेप र ज्यादतीप्रति मौन रहे; यसविरुद्ध आवाज उठाएको कहीँकतै सुन्न/पढ्न पाइँदैन। 

बीपीले जस्तै बंगलादेशी स्वतन्त्रता संग्रामलाई समर्थन गरेका पुष्पलालले भने भारतीय हस्तक्षेप र ज्यादतिविरुद्ध पनि आफूलाई उभ्याए। ‘भूराजनीतिक खेल’बाट आफूलाई अलग राखेका कारण उनमा भारतीय हस्तक्षेप र ज्यादतिको विरोध गर्न नैतिक शक्ति थियो।  

माओको सम्मान : निर्णयमा स्वतन्त्र
आठ वर्ष लामो जेल जीवन (२०१७–०२५) बाट मुक्त भएपछि बीपीले आफ्ना गतिविधिको केन्द्र बनारसलाई बनाएजस्तै पुष्पलालले पनि बनारसलाई नै आफ्नो निर्वासनकालको केन्द्र बनाएका थिए। त्यसैले उनलाई भेट्न नेकपाका कार्यकर्ता–शुभेच्छुक बनारस पुगिरहन्थे। 

पुष्पलाल भेट्न बनारस पुग्नेमा काठमाडौंका मिलन तुलाधर (झलनाथ खनाल प्रधानमन्त्री बनेका बेला विदेश मामिला सल्लाहकार) पनि एक थिए। उनी बनारस पुगेका बेला बंगलादेशमा स्वतन्त्रता संग्राम जारी थियो। 

तुलाधरका भनाइमा– बंगलादेशमा चलिरहेको स्वतन्त्रता संग्रामका पक्षमा पुष्पलालले वक्तव्य जारी गरेका थिए। चीनले पाकिस्तानको पक्ष लिए पनि पुष्पलालले बंगलादेशको स्वतन्त्रता संग्रामलाई समर्थन गर्दै वक्तव्य निकालेपछि पार्टीका नेता–कार्यकर्तामा हलचल सिर्जना गर्यो। 

‘बनारसमा पुष्पलालसँग भेट हुनासाथ मैले उहाँले निकाल्नुभएको त्यो वक्तव्यको प्रसंग निकालेर आक्रोश व्यक्त गरें,’ तुलाधारले सुनाए, ‘चीनले पाकिस्तान विभाजनको समर्थन गरेको छैन, तर तपाईंले किन समर्थनमा वक्तव्य निकाल्नुभयो भनेर उहाँसँग झगडा नै गरें।’

भर्खर आइकम उत्तीर्ण गरेका तुलाधर युवा जोशमा थिए। माओ उनलाई प्रिय लाग्थे। माओको देश भएकाले चीन पनि प्रिय नै थियो।

‘मेरो कुरा सुनेपछि पुष्पलालले मेरो आक्रोशयुक्त प्रश्नको जवाफ दिन सुरु गर्नुभयो,’ तुलाधरले सम्झे, ‘पुष्पलालले भन्नुभयो– हेर भाइ, तिमी केटौले मिजासका रहेछौ। म तिमीलाई सबै कुरा बुझाउँछु, धैर्यतापूर्वक सुन।’  

तुलाधरका भनाइमा– पुष्पलालले दक्षिण एसियामा नेपाल इतिहासदेखि नै एक मात्र स्वतन्त्र राष्ट्रका रूपमा रहेको स्मरण गराउँदै कतिपय सैद्धान्तिक विषयमा चीन र नेकपाको नीतिमा समानता रहेको उल्लेख गरे।

‘अन्तर्राष्ट्रिय मामिलामा हामीले स्वतन्त्र नीति लिन सकेनौं भने कसरी हामी आफैं स्वतन्त्र रहन सकौंला,’ पुष्पलालले प्रश्न गरे, ‘आफैं स्वतन्त्र रहन नसक्ने हामीले कसरी देशको स्वतन्त्रता कायम राखौंला?’

पुष्पलालले थपे, ‘मलाई थाहा छ, तिमी माओत्सेतुङलाई सम्मान गर्छाै। माओत्सेतुङलाई म पनि सम्मान गर्छु। तर माओत्सेतुङलाई सम्मान गर्नुको अर्थ उहाँका सबै कुरा मान्नुपर्छ भन्ने होइन। माओत्सेतुङ चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष हुनुहुन्छ। तर नेकपाले गर्ने निर्णय माओत्सेतुङले के भन्नुभएको छ भन्ने आधारमा हुन हुँदैन।’

पुष्पलालको भनाइबाट तुलाधर ‘कन्भिन्स’ भएर फर्के। तर बंगलादेशको स्वतन्त्रतापछि जारी वक्तव्यका कारण पुष्पलाल नेतृत्वको नेकपामा विवाद बढ्यो। पुष्पलालको ४३औं स्मृति दिवस (७ साउन २०७८) मा प्रकाशित पुष्पलालको जीवनी ‘नेपाल रत्न : पुष्पलाल’मा उल्लेख भएअनुसार त्यस वक्तव्यले सिर्जना गरेको विवाद पार्टीको तल्लो कमिटीसम्मै पुगेको थियो। 

पुष्पलालका विपरित बीपीले ‘नैतिक समर्थन’को दायरा नाघे, आफूसँग रहेका हतियार नै बंगलादेशीहरूलाई बुझाइदिए; यसमा भारतीय पक्षको हात रह्यो। 

बंगलादेशको स्वतन्त्रता र पाकिस्तानको विभाजनमा भारतीय गुप्तचर संस्था ‘रअ’को संलग्नताको पटाक्षेप भइसकेको छ। पाकिस्तानको विभाजनलाई ‘रअ’को  सबैभन्दा सफल ‘अपरेसन’मध्ये एक मानिन्छ। त्यो ‘सक्सेसफुल अपरेसन’का लागि भारतीय नेताहरूमार्फत बीपीका हातहतियार बंगलादेश पुगे। 

भारत–पाकिस्तान युद्धले बंगलादेशको स्वतन्त्रतालाई सघायो। तर युद्ध बंगलादेश स्वतन्त्रताको मान्यताविरुद्ध थियो। तर स्वतन्त्रता संग्राम दमनको बहानामा भारतले पाकिस्तानविरुद्ध गरेको आक्रमणको विरोध बीपीबाट कहिल्यै भएन। भारतीय नेताहरूको योजनाअनुसार हतियार दिएका बीपी भारतको नाजायज भूमिकाको विरोध गर्न सक्ने स्थितिमा पनि थिएनन्।

तर बंगलादेशको स्वतन्त्रता संग्रामका सन्दर्भमा भारत र चीन दुवैका प्रभावबाट मुक्त पुष्पलाललाई भारतीय ज्यादतीप्रति नतमस्तक बन्नुपर्ने बाध्यता आइपरेन। बीपीका जस्तै ‘भारतीय मित्र’ पुष्पलालका पनि नभएका होइनन्। तर सुरुदेखि नै ‘भूराजनीतिक दाउपेच’बाट टाढा उनले बंगलादेशले स्वतन्त्रता प्राप्त गरेपछि भारतले पाकिस्तानविरुद्ध गरेका ज्यादतीको विरोध गर्न थाले। 

‘नेकपा केन्द्रीय समिति पूर्वी बंगालका जनताद्वारा पश्चिमी पाकिस्तानका शोषक वर्गको शोषण, उत्पीडन र सैनिक तानाशाहीको विरुद्ध चलाइएको राष्ट्रिय जनमुक्ति आन्दोलन र स्वतन्त्र बंगलादेशको जन्मको स्वागत र समर्थन गर्दछ,’ बंगलादेशले स्वतन्त्रता प्राप्त गरेपछि उनले जारी गरेको विज्ञप्तीमा भनिएको थियो, ‘साथै नेकपा यस जनसंघर्षको दौरानमा भारतीय हस्तक्षेप र फौजी प्रवेशको पनि घोर विरोध गर्दछ’ (नयाँ जनवाद, नेकपाको बुलेटिन नं ५, माघ–फागुन २०२९)।

‘कुनै पनि देशको मुक्ति आन्दोलन वा आन्तरिक मामिलामा बाह्य शक्तिको हस्तक्षेप र घुसपैठ पञ्चशीलको सिद्धान्त र प्रचलित अन्तर्राष्ट्रिय विधानविपरीत हुने’ कुरा पनि उनले विज्ञप्तीमार्फत स्मरण गराएका छन्। बंगलादेशको स्वतन्त्रता सन्दर्भमा पुष्पलालजस्तै स्पष्ट र भूराजनीतिक दाउपेचबाट बीपी मुक्त भेटिँदैनन्। 

पुष्पलालका ‘छानिएका रचना’ (भाग २ र ३, प्रकाशक : पुष्पलाल स्मृति प्रतिष्ठान) हरूको अध्ययन गर्ने हो भने पनि बंगलादेशको मुक्ति संग्रामका पक्षमा उनी कति मुखर रूपमा लागेका थिए र भारतीय हस्तक्षेप एवं ज्यादतीविरुद्ध कति प्रखर ढंगले विरोध गरेका थिए भन्ने जानकारी पाउन सकिन्छ। 

बंगलादेशका सन्दर्भमा निर्णय गर्दा पुष्पलालले चीनले के गरेको छ भन्ने कुराको पर्वाह गरेनन्। बरु सैन्य हस्तक्षेपमा भारतलाई समर्थन गरेको सोभियत संघको पनि जमेर आलोचना गरेका छन्।

पाकिस्तानको विभाजन र बंगलादेशको स्वतन्त्रताको भूराजनीतिक खेल बुझ्न नसक्दाको परिणाम पछि बीपीले भोग्नपर्यो। हतियार सुम्पेपछि मनग्गे हतियार दिलाइदिने वचन दिने जयप्रकाश नारायणबाट उनले सहयोग पाएनन्। हतियार अभावमा उनीद्वारा सञ्चालित सशस्त्र संघर्ष (२०२९–०३१) निष्प्रभावी बन्न पुग्यो। ‘राष्ट्रिय मेलमिलाप’ नीति लिएर स्वदेश फिर्ता हुन उनी बाध्य भए।

स्वदेश फर्केपछि पनि उनी चैनले बस्न सकेनन्। राजतन्त्र र राष्ट्रियता (भारत सम्बन्ध) का सन्दर्भमा आफ्नो भूमिका विवादित हुने डर उनलाई भइरह्यो। त्यसैले यी विषयमा आफ्ना अडान र भूमिका स्पष्ट हुनेगरी शैलजा आचार्यले नेपाली कांग्रेसको इतिहास लेखिदिने अपेक्षा उनले आफ्नो आत्मवृत्तान्तका लेखक गणेशराज शर्मासँग गरे (जेल जर्नल, दोस्रो संस्करण, गणेशराज शर्माको भूमिका)।   

पुष्पलाललाई भने आफ्नो राष्ट्रवादी छवि उजिल्याउन विशेष मिहिनेतको जरुरत परेन। स्वविवेकबाट निर्णय गर्ने बुद्धिमत्ताका कारण राष्ट्रवादका सवालमा उनी बेदाग साबित भए। पुष्पलालद्वारा लिखित दस्तावेजहरू हेर्दा थाहा पाइन्छ– राष्ट्रियताका सवालमा उनी कति अब्बल थिए।

राष्ट्रवादी देखिन बीपीलाई ‘राष्ट्रियताका सवालमा राजा र मेरो घाँटी जोडिएको छ’ भन्नुपर्ने स्थिति आइलाग्यो। पुष्पलालले भने पञ्चायत र दरबारविरुद्ध विद्रोहको झण्डा जीवनको अन्तिम क्षणसम्म उठाइरहे। भारत निर्वासनमै उनको निधन भयो। तर जीवनभर भारतको हेपाहा प्रवृत्तिको विरोध गर्न कहिल्यै पछि हटेनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .