ad ad

म्यागेजिन


आरजुले राधिकाबाट सिकून्, देउवाले ओलीबाट नसिकून्

आरजुले राधिकाबाट सिकून्, देउवाले ओलीबाट नसिकून्

सीताराम बराल
साउन १, २०७८ शुक्रबार २०:२३,

बालकोटस्थित निजी निवासको बार्दलीबाट समर्थकहरूलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले गत बुधबार (३० असार) घोषणा गरे, ‘माधव नेपाल पक्षका अरू नेता र सांसदहरू आत्मालोचना गरेर आएछन् भने ठीकै छ। तर माधव नेपाललाई अब एमालेमा कुनै स्थान छैन।’

एमालेको ढोका वरिष्ठ नेता नेपालका लागि बन्द गर्नुभन्दा ३ दिनअघि २७ असारमा एमाले कार्यदलले प्रतिनिधि सभा विघटन सम्बन्धमा पार्टी एकताको मर्म र भावनाका आधारमा विधिसम्मत एवं संस्थागत निर्णयअनुरूप अगाडि बढ्ने १० बुँदे सहमति गरेको थियो। तर त्यो सहमति बालुवाटार छाड्नासाथ ओलीले आवश्यक देखेनन्। 

नेकपा एकताले ओलीलाई बालकोटको साँघुरो गल्लीबाट सिंहदरबार पु्र्याएको थियो। तर मनमौजी पारामा चल्ने शैली, पार्टीमा आफ्नोभन्दा बढी लगानी र इतिहास भएका नेताहरूलाई खिसिट्युरी र अपमान गर्ने स्वभाव र पार्टीलाई एक राख्ने अक्षमताका कारण ओली आफ्नो घरको बार्दलीबाट भाषण गर्नुपर्ने स्थितिमा पुगे। 

ओलीका यिनै कमजोरी र अक्षमताका कारण शेरबहादुर देउवा प्रधानमन्त्री बनेका हुन्। यसअघि प्रधानमन्त्रीका रूपमा देउवाका पनि ‘रेकर्ड’ सकरात्मक छैनन्। यसकारण यसपटक उनलाई धुमिल छवि उजिल्याउने सुवर्ण अवसर प्राप्त भएको छ। 

यसर्थ नवनियुक्त प्रधानमन्त्री देउवाले ओलीबाट पाठ सिक्न सक्छन्। कम्तीमा ओलीले गरेका गल्ती दोहोर्याएनन् भने देउवा प्रतिनिधि सभाको बाँकी अवधि (पाँच वर्षको बाँकी) प्रधानमन्त्री पदमा रहन सक्छन्। अनि निवर्तमान ‘फर्स्ट​ लेडी’ राधिका शाक्य (ओलीकी श्रीमती) का कतिपय सकरात्मक पक्षलाई देउवाकी पत्नी डा. आरजु राणाले पछ्याउन सकिन् भने देउवा दम्पतीले यसअघिको आफ्नो विवादास्पद छवि सुधार्न सक्छ। 

पछ्याउनै नहुने ओलीको पदचाप
एमाले र कांग्रेसबीच फरक के हो भने एमालेमा प्रधानमन्त्री भइसकेका ३ नेता छन्। प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल पनि हो, ऊ। एमालेभित्रको टकरावले राष्ट्रिय राजनीतिमै ठूलो हल्लाखल्ला हुनुको कारण यो पनि हो। तर एमालेजस्तै विवाद र विग्रहबाट देउवाको पार्टी (कांग्रेस) पनि अछुतो होइन। 

खासमा पार्टीभित्र ओलीको अत्याचार खप्न नसकेकै कारण पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले उनी अपदस्थ हुने स्थिति सिर्जना गरेर देउवालाई प्रधानमन्त्री बनाइदिएका हुन्। ओली सत्ताबाट हट्नुपरेको मूलतः नेकपा र एमालेभित्रको एकता कायम राख्न नसकेकाले हो। एकता कायम रहन नसक्नुमा ओलीको अहंकार र अनुदार स्वभाव, अरूलाई हेप्ने शैली प्रमुख कारक हुन्। 

पार्टी एकताका लागि आफूले प्रधानमन्त्री पद मात्र लिएर पार्टीको अध्यक्ष र संसदीय दलको नेताको जिम्मेवारी ओलीले क्रमशः प्रचण्ड र माधव नेपाललाई दिन सक्थे। यसो गर्दा पनि उनको शक्ति कम हुने थिएन। सत्ताले उनलाई यति अन्धो बनायो कि ‘त्याग’ भन्ने कुरा गर्नै सकेनन्। 

सबै शक्ति आफूमा केन्द्रित गरेर उनले आफू समानका नेताहरूलाई सशंकित बनाए, चिढ्याए। र, ‘मुकुन्दे स्टाइल’मा घरको बार्दलीबाट चिच्याउनुपर्ने स्थिति आयो।    

पदका लागि मरिहत्ते गर्ने ‘ओली प्रवृत्ति’ देउवामा पनि प्रस्टै देखिन्छ। चार–चारपटक सरकारको नेतृत्व गरिसकेका उनले पाचौंपटक प्रधानमन्त्री बन्ने लोभ त्याग्न सकेनन्। देउवाकै लागि कति राम्रो हुने थियो– कांग्रेसले पाएको यो अवसर गगन थापा वा कांग्रेसका अन्य कुनै नेतालाई दिइएको भए! तर ओलीको जस्तै देउवाको ‘डिक्सनरी’मा सायद ‘त्याग’ भन्ने शब्दावली छैन। यसैले उनी आगामी महाधिवेशनबाट पनि पुनः पार्टीको सभापति बन्ने तयारीमा छन्।  

ओली अत्याचारका कारण कांग्रेसजन देउवालाई प्रधानमन्त्री स्वीकार गर्न बाध्य भए पनि उनीविरुद्ध पार्टीमा चर्काे असन्तुष्टि छ। जुन साम्य पार्न देउवाले जरुरी ठानेका छैनन्। छाती फराकिलो पारेर पार्टी एकताको माहोल बनाउने होइन, जसरी हुन्छ, पार्टीको नेतृत्व कब्जा गर्ने दाउमा उनी देखिन्छन्। 

एमालेभित्र विग्रह सिर्जना हुँदा जसरी नेकपाको एकता टिकेन, त्यसैगरी देउवाले पार्टीभित्रको असन्तुष्टि साम्य पार्न सकेनन् भने अहिलेको गठबन्धन टुट्नेछ। आफ्नो पार्टी भताभुंग पारेर अर्काे दलको समर्थन खोज्दै हिँड्ने ओलीको शैलीबाट देउवाले आफूलाई टाढा राख्न सके भने मात्र सत्ता–गठबन्धन कायम रहन्छ र प्रतिनिधि सभाको बाँकी अवधिभर उनी सत्तामा रहन सक्छन्। 

सत्तामा पुगेपछि समान त्याग र इतिहास भएका सहयोद्धालाई हेपेर भित्तैमा पुर्याउन खोज्दा कस्तो मनोविज्ञान उत्पन्न हुन्छ, देउवाले आफ्नो गठबन्धनमा सहभागी प्रचण्ड र माधव नेपालबाट ज्ञान प्राप्त गर्न सक्छन्। त्यस्तो मनोविज्ञानले कस्तो परिणाम दिन्छ, आफ्नो सत्तारोहण र ओलीको बहिर्गमनबाट देउवाले पाठ सिक्न सक्छन्।   

देउवाले रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, डा. शेखर कोइराला, विमलेन्द्र निधिजस्ता नेताहरूलाई विश्वासमा लिन सक्नुपर्छ। देउवाले उदारता देखाउन सके भने मात्र कांग्रेसभित्रको असन्तुष्टि साम्य हुन सक्छ। नत्र जसरी ३६ भाइ–बहिनी भड्किँदा ०५१ मा गिरिजाप्रसाद कोइरालाको तथा २६ भाइ–बहिनी बिथोलिँदा केपी शर्मा ओलीको सरकार ढल्यो, त्यसरी नै कांग्रेसका १६ भाइ मात्र रुष्ट भए भने देउवाको सत्ता गुम्न सक्छ।   

देउवाले प्रधानमन्त्री पदलाई ओलीले झैं पार्टी तथा सरकारको शक्ति आफूमा केन्द्रित गर्ने हतियार बनाउन हुँदैन। यस्तो दाउपेचले ओलीजस्ता चतुर नेता त असफल भए भने देउवा सफल हुने सवालै छैन। ‘पावर सेयरिङ’का लागि अनुदार ओलीका गल्ती देउवाले दोहोर्याउन हुँदैन। यस्तो हर्कतले सिंहदरबारको कुर्सीमा टिकिरहने अवस्था होइन, आफ्नै घरको बार्दलीमा चिच्याउनुपर्ने स्थिति सिर्जना गरिदिन्छ।  

‘लो प्रोफाइल’ भूमिकाको सुन्दरता  
बालकोटको बार्दलीबाट ओलीले माधव नेपालविरुद्ध विष वमन गरिरहँदा पूर्व‘प्रथम महिला’ राधिका शाक्य उनकै आडैमा थिइन्। ओलीका उत्तेजक अभिव्यक्तिको समर्थनमा अन्ध–समर्थकहरूले नेपालविरुद्ध फाँसीसम्मका नारा लगाएको बरु सुनियो, तर आफ्नै पतिका अभिव्यक्तिका लागि शाक्यले ताली ठोकेको सुनिएन। भाषण अवधिभर उनी शान्त र मौन रहिन्।  

शाक्यको पनि राजनीतिक पृष्ठभूमि नभएको होइन। बरु राजनीतिक पृष्ठभूमिकै कारण उनी १४ वर्ष जेलमा बिताएर छुटेका ओलीसँग ०४५ मा विवाह बन्धनमा बाँधिएकी थिइन्। तर कमजोर स्वास्थ्यका ओलीको राजनीतिक उत्तराधिकारी बन्ने महत्वाकांक्षा शाक्यमा कहिल्यै देखिएन। ओलीको पछिल्लो साढे तीनवर्षे प्रधानमन्त्रित्व कालमा एकाध आर्थिक कारोबारमा उनको नाम पनि जोडिए, तर खासै विवादमा परिनन्।  

बरु यसबीच पदीय मर्यादामा बस्नुपर्ने राष्ट्रपति विद्यादेवी भण्डारी अनेक विवादमा मुछिइन्। सरकारी नियुक्ति, सरुवा–बढुवामा समेत राष्ट्रपतिले चासो दिएका समाचार सार्वजनिक भए। राष्ट्रपतिसँग निटकताका आधारमा कतिपय व्यक्ति सांसद पनि बने। संसद् बैठक आह्वानका लागि सांसदहरूले राष्ट्रपति कार्यालयमा बुझाएको निवेदनलाई सुटुक्क बालुवाटार पुर्याएकै आधारमा कतिपयले संवैधानिक अंगमा नियुक्ति पाए।

कतिसम्म भने दल–विशेष राजनीतिबाट अलग रहनुपर्ने राष्ट्रपति भण्डारी दलीय झगडामा समेत सामेल भइन्। एमालेभित्र आफ्ना विरोधीलाई पन्छाएर आफूनिकटलाई मुख्यमन्त्री बनाउनेसम्मका खेल उनीबाट भए। आफ्ना मानिसलाई राजदूतमा नियुक्ति दिलाइन्। प्रधानमन्त्री ओलीलाई प्रभावमा पारेर राष्ट्रपति भण्डारी एकपछि अर्काे विवादमा मुछिइरहँदा ‘लो प्रोफाइल’मा रहन चाहने स्वभावका कारण स्वयं प्रधानमन्त्रीकी पत्नी राधिका भने विवादबाट टाढै रहन सफल भइन्।  

राधिका शाक्यझैं ‘फर्स्ट लेडी’का रूपमा अब डा. आरजु राणा देउवा पनि ‘लो प्रोफाइल’मै रहनुपर्छ भन्न खोजिएको होइन। शिक्षादीक्षा, पारिवारिक पृष्ठभूमि, राष्ट्रिय–अन्तर्राष्ट्रिय सम्पर्क र आफैं राजनीतिमा सक्रिय डा. आरजु त्यसरी ‘लो प्रोफाइल’मा रहन सक्ने स्थिति छैन। तर ‘फर्स्ट लेडी’का रूपमा उनले आफ्नो सीमा निर्धारण गर्नैपर्छ। तब मात्र देउवाको धुमिल छवि उज्यालिन सक्छ। 

यसका लागि कतिपय कुरा उनले पूर्व ‘फर्स्ट लेडी’ राधिका शाक्यबाट सिक्न जरुरी छ। जसबाट डा. आरजुको ‘राजनीतिक करिअर’लाई फाइदै पुग्छ। किनभने उनले कैलाली–५ लाई आफ्नो निर्वाचन क्षेत्र बनाइसकेकी छन्। देउवा यसअघि चारपटक प्रधानमन्त्री हुँदा बनेको विवादास्पद छविकै कारण गत निर्वाचनमा पराजय हुनुपरेको यथार्थ डा. आरजुले बिर्सन हुँदैन। 

यसअघि देउवा प्रधानमन्त्री बन्दा बनेको छविका कारण अहिले पनि महत्त्वपूर्ण पदमा नियुक्ति, सरुवा–बढुवा र ठूला आयोजनामा ठेक्काका लागि कतिपय मानिस ‘ब्रिफकेस’ बोकेर डा. आरजुसमक्ष धाउने सम्भावना छ। यसबाट आर्थिक लाभ त अवश्य होला; देउवाको देशव्यापी प्रभाव विस्तार तथा डा. आरजुको चुनावका लागि उपयोगी पनि होला, तर यसबाट उनीहरूलाई दीर्घकालिन फाइदा हुने छैन।   

जतिसुकै तीतो लागे पनि देउवा दम्पतिले यो तथ्य स्वीकार्नैैपर्छ– ओलीको बहिर्गमनले नागरिक खुसी भए पनि देउवाको सत्तारोहणमा हर्षित हुन सकेका छैनन्। विगतमा देउवाको शासनकालमा भएका राजनीतिक विकृति, कुशासन र भ्रष्टाचारका कारण उनी प्रधानमन्त्री बन्नु नागरिकका लागि हर्षको विषय बन्न नसकेको हो। 

यसअघि देउवा प्रधानमन्त्री छँदा राजनीतिक नियुक्ति, ठूला ठेक्कापट्टा, उच्च पदस्थका सरुवा–बढुवा आदिमा डा. आरजुको नाम जोडिएका थिए। अहिले देउवा परिवारको जुन आर्थिक हैसियत छ, त्यसको जग देउवा पटक–पटक सत्तामा पुगेका बेला डा. आरजुले गरेको ‘रजगज’बाट बसेको हो। गैरसरकारी संस्था चलाएकै भरमा अकुत सम्पत्ति जोड्न सकिने भए मारवाडीहरू पनि बन्द–व्यापार छाडेर त्यतै लाग्थे होलान्। 

झन्डै दुईतिहाई बहुमत प्राप्त कम्युनिस्ट सरकारका नेतृत्वकर्ता ओलीसँग जस्तो देउवाबाट नागरिकले धेरै अपेक्षा गरेका छैनन्। यत्ति मात्र खोजेका छन्–  विगतका शासनकालमा जस्तै राजनीतिक विकृति, कुशासन र भ्रष्टाचार नमौलाए हुन्थ्यो। ओलीका गल्ती दोहोर्याएनन् भने देउवा प्रतिनिधि सभाको बाँकी अवधिभर प्रधानमन्त्री बन्ने सम्भावना प्रबल छ भने डा. आरजुलाई पनि राधिकाका सकरात्मक पक्षबाट पाठ सिकिन् भने आफ्नो र पतिको छवि उजिल्याउने ठूलो अवसर छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .