मधेस


मधेसको आर्थिक वृद्धिदर सबैभन्दा कमजोर रहने अनुमान

मधेसको आर्थिक वृद्धिदर सबैभन्दा कमजोर रहने अनुमान

नेपालखबर
जेठ ६, २०८३ बुधबार २१:४९, जनकपुरधाम

चालु आर्थिक वर्ष २०८२/०८३ मा मधेशको अर्थतन्त्र सबैभन्दा बढी कमजोर रहने अनुमान गरिएको छ। 

राष्ट्रिय तथ्यांक कार्यालय धनुषा जनकपुरधामले सार्वजनिक गरेको प्रादेशिक लेखा तथ्यांकअनुसार मधेसको आर्थिक वृद्धिदर १.३१ प्रतिशत अनुमान गरिएको छ। राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन वार्षिक वृद्धिदरतर्फ मधेशको ३.८५ प्रतिशत हुने प्रारम्भिक अनुमान छ।

सबैभन्दा बढी आर्थिक वृद्धिदर बागमती प्रदेशको सबैभन्दा बढी ५.४० प्रतिशत र गण्डकीको ५.०१ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ। अन्य प्रदेशहरू कोशी ३.१३ प्रतिशत, लुम्बिनी २.८७ प्रतिशत, कर्णाली २.९४ प्रतिशत र सुदूरपश्चिम ३.२८ प्रतिशत रहने प्रक्षेपण छ।

बागमती र गण्डकी प्रदेशको राष्ट्रिय वार्षिक वृद्धिदर अन्यभन्दा बढी हुने र बाँकी प्रदेशको राष्ट्रिय वार्षिक वृद्धिदरभन्दा मधेस प्रदेशको कम हुने प्रारम्भिक अनुमान रहेको कार्यालयका प्रमुख तथ्यांक अधिकारी शिवनारायण महतोले जानकारी दिए।

चालु आव देशको कुल अर्थतन्त्र करिब ६६ खर्ब हुने अनुमान छ, जसमा बागमती प्रदेशले मात्रै २४ खर्ब २३ अर्ब (३६.७ प्रतिशत) हिस्सा ओगट्ने छ।  कोशीले १५.८ प्रतिशत, लुम्बिनीले १४.२ प्रतिशत, मधेसले १३.१ प्रतिशत, गण्डकीले ९ प्रतिशत, सुदूरपश्चिमले ७ प्रतिशत र कर्णालीले ४.२ प्रतिशत हिस्सा ओगट्ने अनुमान छ।

प्रतिवेदनअनुसार मधेस प्रदेशको कमजोर वृद्धिदरको मुख्य कारण कृषिक्षेत्रमा देखिएको संकुचन हो। आर्थिक वर्ष २०८२/८३ मा मधेस प्रदेशको कृषि क्षेत्रको वृद्धिदर ऋणात्मक रहने अनुमान गरिएको छ।

कृषि मधेसको अर्थतन्त्रको प्रमुख आधार क्षेत्र भए पनि उत्पादन, मौसमीय जोखिम, सिँचाइ समस्या र बजार व्यवस्थापनको कमजोरीका कारण कृषिमा गिरावट आउने अनुमान गरिएको हो।

औद्योगिक वर्गीकरणअनुसार मधेस प्रदेशको अर्थतन्त्रमा कृषिको योगदान सबैभन्दा बढी छ भने दोस्रो ठूलो हिस्सा थोक तथा खुद्रा व्यापार क्षेत्रले ओगटेको देखिन्छ। तर प्रदेशमा खानी तथा उत्खनन क्षेत्रको योगदान सबैभन्दा न्यून रहेको उल्लेख गरिएको छ।

यद्यपि कृषि क्षेत्रमा आएको गिरावटले समग्र प्रदेशको आर्थिक गतिविधिमा प्रत्यक्ष असर पर्ने देखिएको छ। मधेसको ठूलो जनसंख्या कृषि पेसामा निर्भर रहेकाले कृषिक्षेत्रको ऋणात्मक वृद्धिले रोजगारी, आयआर्जन र उपभोगमा समेत असर पार्ने अर्थविद्हरूको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad