मधेस


प्रेमिका भेट्न गएका सुमितको हत्या, युवतीसहित काका र भाइ पक्राउ

प्रेमिका भेट्न गएका सुमितको हत्या, युवतीसहित काका र भाइ पक्राउ

सुभाष कर्ण
फागुन १५, २०८२ शुक्रबार २१:१८, जनकपुरधाम

धनुषाको औरही गाउँपालिका ६ चक्करस्थित खेतमा फेला परेको शवबारे रहस्य खुलेको छ। 

प्रहरीका अनुसार मृतक युवक हंसपुर नगरपालिका–९ रुदौली बस्ने गंगाराम मण्डलको छोरा १८ वर्षीय सुमित मण्डल हुन्।

उनको हत्या प्रेमिकासँग भेट्न गएको बेला भएको प्रहरीले जनाएको छ। 

शव भेटिएको २४ घण्टा भित्रै प्रहरीले हत्यामा संलग्न आरोपीहरूलाई पक्राउ गरेको छ। पक्राउ पर्ने युवतीसहित उनका काका र भाइ हुन्।

जिल्ला प्रहरी कार्यालय धनुषाले शुक्रबार पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी दिएको छ। 

प्रहरीका अनुसार मृतक सुमितको हंसपुर–६ की १७ वर्षीया किशोरी काजलकुमारी मण्डलसँग प्रेम सम्बन्ध थियो। सुमित घरमा कोही नभएको मौका छोपी बुधबार बाइक लिएर काजललाई भेट्न उनकै घर पुगेका थिए।

सुमित र काजललाई सँगै देखेपछि प्रेमिकाका काका र भाइले उनको हात बाँधेर कुटपिट गरेका प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रुगमबहादुर कुँवरले भने, ‘बुधबार साँझ ६ बजे सुमित घरमा कोही नभएको बेला सोही पालिकाका वडा नम्बर ६ सोनिगामा बस्ने प्रेमिका काजल मण्डलसँग भेट्न गएका थिए। सोही क्रममा काजलको काका आफ्नो पसल बन्द गरी घरमा आउँदा दुवै जनालाई सँगै बसेको देखि सुमितलाई कोठाबाट बाहिर निकाली आफ्नो भतिज दिपेश मण्डललाई बोलाई दुवै जना मिलेर कुटपिट गरी पछाडी हात बाँधि खेतमा लगेर धारिलो हतियार दबियाले घाँटी रेटी हत्या गरेको हो।’

घटना पश्चात मृतकले प्रयोग गरेको मोटरसाइकल दिपेशले अर्कै ठाउँमा लुकाएर राखेका अनुसन्धानमा खुलेको छ। घटनामा प्रयोग भएका हतियार समेत प्रहरीले बरामद गरेको छ।

घटनामा संलग्न भएको आशंकामा काजल, उनका काका परमेश्वर र भाइ दिपेशलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad