बर्खामा हिलोले हिँड्न नसक्ने, हिउँदमा धुलोले सास फेर्न गाह्रो हुने। २० वर्षअघि ‘राजमार्ग बन्छ र पिच होला’ भन्ने आशामा घडेरी किनेर बसेका सुन्दरहरैँचा–२, खोटाङ्गे टोलका बासिन्दाहरूको धैर्य यतिबेला फुटेको छ।
निर्वाचनको माहोल तातिरहेका बेला नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला भोट माग्न मंगलवार दिउँसो त्यस टोलमा पुगेका थिए। त्यहाँ पुगेका कोइरालालाई स्वागत मात्रै भएन वर्षौंदेखिको आक्रोश र जिज्ञासाको पनि सामना गर्नु पर्यो।
स्थानीय सीताराम कार्कीको आक्रोश सुन्दा लाग्थ्यो, यहाँका जनता नेताका आश्वासनले अघाइसकेका छन्। बिगत १० वर्षदेखि यही ठाउँमा बसेका उनका लागि यस ठाउँमा सडक कालोपत्रे हुन्छ, ठूलो रोड बन्छ भनेर जग्गा किनाइएको थियो।
‘मलाई यहाँ सडक कालोपत्रे हुन्छ, सडक चौडा हुन्छ भनेर घडेरी किनाइएको हो, आजसम्म केही भएन,’ उनले कोइरालासामु भने, ‘हिँड्नै नसक्ने अबस्थाका हिलो सडकमा यात्रा गर्नु परेको छ, कसरी हुन्छ हाम्रो बाटो बनाइदिनु पर्यो।’ उनी यतिमा मात्रै रोकिएनन्, ‘नेताहरूलाई भोट दिएर पठायो हामीले पाउने केही हैन’ भन्न समेत भ्याए।
निर्वाचन आउँदा ‘हुन्छ, पख्नुस्’ भन्ने, तर जितेर गएपछि फर्किएर नहेर्ने प्रवृत्ति रहेको उनको भनाई थियो।
नजिकै बसेकी अर्की एक महिलाले चार किलो मल चाहिएको बेला नदिनेलाई भोट नदिने भन्दै कराउँदै थिइन्।
किसानलाई चुनावभन्दा ठूलो चिन्ता खेतीको छ। स्थानीयहरूले झापादेखि लुकीछिपी मल ल्याउनुपरेको बाध्यता पनि सुनाए।
‘हामीलाई ४ किलो मल दिन नसक्ने सरकारलाई कुन मुखले भोट दिने?’ भन्दै उनीहरूले राज्यको उदासीनताप्रति प्रश्न गरे।
स्थानीय बबिता बस्नेतले आफ्ना श्रीमान् लामो समयदेखि विदेशमा रहेको सुनाउँदै बच्चाहरू पानीमा डुब्दै विद्यालय जानु पर्ने बाध्यता सुनाइन्। वर्षौं भयो श्रीमान् वैदेशिक रोजगारीमा रहेको र छोराहरूको शिक्षामा समेत सास्ती भोग्नुपरेको बबिताको पीडाले यहाँको सामाजिक अवस्थालाई चित्रण गर्थ्यो।
नेताहरूले बजेट थोरै छ भनेर पन्छिने गरेकोमा स्थानीयको चित्त दुखाइ छ। वडाको बजेटले भ्याउँदैन भने प्रदेश र केन्द्रबाट ल्याउनुपर्ने उनीहरूको माग छ।
मत माग्दै मतदाताको घर घर पुगेका कोइरालाको साथमा सुन्दर हरैँचा नगरपालिका वडा नम्बर २ का नेपाली कांग्रेसबाट निर्वाचित वडाअध्यक्ष विवस प्रधान पनि थिए। सडक नै नबनेको भन्ने प्रश्न मतदाताले उठाएपछि उनी आफ्ना वडावासीलाई बुझाउन खोज्थे।
उनले भने, ‘वडा अध्यक्षको घर अगाडिसम्म पनि बाटो पिच भएको छैन, बिस्तारै गरौँला नी।’ यसरी उम्मेदवारसँग कुनैपनि जनप्रतिनिधिले भोट माग्न नपाउने आचारसंहिता निर्वाचन आयोगको छ, तर विवस भने कोइरालाको विकासका कुराले मतदाता प्रभावित पार्दै थिए।

लालपुर्जा चिन्ता
सुन्दरहरैँचा नगरपालिका वडा नम्बर २ करेवानाका घुरन धामी निर्वाचित भएर गएका नेता गाउँमा नआउँदा भोट माग्न जाने अबस्था नभएको बताउँछन्। त्यहाँ पुगेका कोइरालाई उनले भने, ‘यहाँका नागरिकको समस्या ठूलो छ सर, समस्याको समाधान गरिदिनुस् भनेर पटक पटक भनेको गरिदिनु भएन।’
यहाँको समस्याको बारेमा सबैकुरा वडालाई जानकारी गराएको भएपनि कसैले नसुनेको बताए। लामो समयदेखि जग्गाको भोगचलन गर्दै आएका यहाँका नागरिकले अहिलेसम्म धनी पुर्जा नपाएको भन्दै स्थानीयले आक्रोश पोखे।
धामीले भने, ‘अब यहाँ यो पटक भोट माग्ने अबस्था छैन, कुन मुखले यहाँ भोट दिनुस् भनेर जानु? तपाईंहरूले हामीलाई ढाँटेको ढाँटेकै गर्नु भएको छ।’
नहरदेखि माथिका झण्डै १० हजार सुकुम्वासीहरूले धनी पुर्जा नपाएको उनले सुनाए। आफ्नो गाउँमा मात्रै २५ घरहरू रहेकोले अहिलेसम्म धनीपुर्जा नपाएको, ढाँटेको कारण अब भोट माग्न जान सक्ने अबस्था नभएको समेत उनले बताएका थिए।
उनको कुरा सुन्दै गरेका कोइरालाले यहाँको समस्या समाधान गर्छु भनेर दोहोर्याए। ‘अनिललाई बोलाउनु पर्यो दिनेशजी’, उनले भन्दै थिए। घुरन धामीले आफ्ना कुरा राख्न नछाडेपछि कोइरालाले खुसुक्क भने, ‘चुप लाग्नुस् न।’
तर धामी आफ्ना गुनासाहरू निरन्तर राखि नै रहेका थिए। अन्त्यमा कोइरालाले त्यहाँबाट निस्कने क्रममा समस्या समाधान गर्ने वचन दिएर निस्किए।
खेटाङ्गे टोलमा कोइरालाले कतिपय वडाबाट हुने वडाका योजनालाई वडाबाट, प्रदेशबाट हुनेलाई प्रदेशका योजना र संघबाट आउने योजनाहरू खोटाङ्गे गाउँमा लगाउने प्रतिवद्धता जनाएका थिए। त्यति हुँदा हुँदै पनि जनताका गुनासा धैर्यपूर्वक सुनेपछि डा. शेखर कोइरालाले केही आश्वासन त दिए, तर मतदाताहरू पूर्ण रूपमा आश्वस्त देखिएनन्।
कोइरालाले भने, ‘निवेदन दिनुस्, म केन्द्र र प्रदेशमा पहल गर्छु।’
चुनाव प्रचारप्रसारको क्रममा डा कोइराला सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ को सामाजिक मिलन केन्द्रमा ज्येष्ठ नागरिकहरूसँग पनि छलफल गरेका थिए। उनले सबैलाई निर्वाचनमा सहयोग गर्न आग्रह गरे। सबैजना लागिदिने हो भने चुनाव जितिने उनले बताए।
विहान करिव ६ बजे कोइराला निवासबाट चुनावी अभियानमा निस्किने उनी दिनभर नै भेटघाट, घरदैलो र रिसाएका मतदातालाई फकाउँदैमा बिताउँछन् । कोइराला राती करिब ११ बजेसम्म पनि मतदाताको घरदैलोमा नै हुने गरेको सुनाउँछन्।
मंगलबार बिहान ८ बजे सुन्दर हरैँचा ७ ठडिया चौक राधाकृष्ण मन्दिर, पानीटंकी चोक हुँदै कोइराला सुन्दर हरैँचा ३ गछिया चोक, खोटाङ्गे टोल र सामाजिक मिलनकेन्द्रमा भेटघाट र छलफलका औपचारिक कार्यक्रम राखिएको भएपनि अन्य थुप्रै भेटघाट र मतदातासँग छलफलका कार्यक्रम राखिएको थियो।
चुनाव नजिकिँदै गर्दा अभियानलाई तिब्र बनाएको भएपनि आफ्नै कार्यकर्ताले समेत अझै विश्वास गरिसकेका छैनन्। कोइराला चुनावी प्रचारमा जाने क्रममा उनले आफ्नै गाडीमा पार्टीको झण्डा समेत लगाएका थिएनन्।
उनी सहभागी हरेक कार्यक्रमहरूमा पालिका, जिल्ला र प्रदेश तहका नेताहरू चुनाव प्रचारमा देखिएपनि स्थानीय कार्यकर्ताहरूको उपस्थिती कमजोर थियो।
कतै राष्ट्रिय स्वतन्त्र पार्टीको चर्चा भइरहेको र केहीले एमालेको चर्चा गरिरहँदा उनी फकाउने प्रयासमा छन्। मंगलबार दिनभर कोइरालालाई पछ्याउँदा कार्यकर्ताहरू सुस्ताएको र मतदाताहरू मौन तर सचेत रहेको पाइन्थ्यो।
Shares

प्रतिक्रिया