मधेसमा शृंखलावद्ध हत्या र आत्महत्याका घटना हुन थालेपछि त्रास फैलिएको छ।
धनुषामा एक सातामै तीन जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
हिजो (शुक्रबार) जनकपुरधाम उपमहानगरपालिका–२२ बसबिट्टीस्थित धनुषा–महोत्तरी सीमाना नजिक रोईयाहा पोखरी छेउको खोला किनारमा एक युवकको शव फेला परेको छ। जामुनको रुखमा झुन्डिएको अवस्थामा युवकको शव भेटिएको हो।
स्थानीयको सूचनापछि प्रहरी टोली घटनास्थल पुगेर कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइ सकेको छ। मृतकको पहिचान खुल्न नसकेको र घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
यसअघि माघ २८ गते जनकपुरधाम–१७ तेतरियास्थित सडक किनारमा एक युवतीको शव फेला परेको थियो। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार घटनास्थलको प्रकृति हेर्दा मृत्यु शंकास्पद देखिएको र हत्या हुनसक्ने आशंकामा अनुसन्धान अघि बढाइएको छ।
पोस्टमार्टम रिपोर्ट नआउँदासम्म मृत्युको कारण यकिन हुन नसक्ने प्रहरीको भनाइ छ।
यस्तै, माघ २३ गते धनुषाको देउरी परवाहाबाट पौडेश्वर जाने सडकखण्डमा पनि एक अपरिचित महिलाको शव फेला परेको थियो। ती मृतकको पनि पहिचान हालसम्म खुलेको छैन।
लगातार तीनवटा घटनामा शव सार्वजनिक स्थानमा भेटिनु र पहिचान नखुल्नुले स्थानीयलाई त्रसित बनाएको छ।
तीन वटै घटनाको प्रकृति हेर्दा हत्या नै अनुमान गरिएकाले छुट्टाछुट्टै रूपमा अनुसन्धान अघि बढाइएको धनुषा प्रहरी प्रवक्ता डीएसपी गणेशबहादुर बमले बताए।
यसअघि पछिल्लो साता दुई दिनमै माघ १४ देखि १६ गतेसम्म पनि तीनजनाको हत्या भएको थियो। श्रृंखलाबद्ध रूपमा भएका यी घटनाले मधेशमा भय–त्रासको वातावरण सिर्जना भएको छ।
माघ १६ माघ दिउँसो ३ बजे सिरहा नगरपालिका–१ का ४५ वर्षीय प्रेमनाथ यादवमाथि गोली प्रहार गरि हत्या गरिएको थियो।
महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरकी ७३ वर्षीया रासोदेवी यादवको शव घर नजिकैको उखुबारीमा फेला परेको थियो।
निर्वस्त्र अवस्थामा मृत फेला परेकी उनी माघ १४ गते राति घरमै सुतिरहेको अवस्थामा बेपत्ता भएकी थिइन्।
यस्तै, माघ १४ गते मध्यराति करिब २ बजेतिर बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडिहमा जगरुक मण्डलको घरमा एक समूह प्रवेश गरी अन्धाधुन्ध हतियार प्रहार गर्यो। उक्त घटनामा आमा र छोराको घटनास्थलमै मृत्यु भएको थियो भने बुबासहित तीन जना घाइते भएका थिए।
६ महिनामै ५६ हत्या
प्रदेश प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को छ महिनामा ५६ वटा हत्या भएको छ।
मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामको तथ्यांकअनुसार चालु आवमा हत्या भएका ५६ जना मध्ये २६ जना पुरुष, १८ महिला र १२ जना बालबालिका रहेका छन्।
जिल्लागत रूपमा सबैभन्दा बढी सप्तरीमा १३ जनाको हत्या भएको छ भने धनुषा र सिरहामा ९र९ जनाको हत्या भएको छ। यस्तै रौतहटमा ८, पर्सामा ६, महोत्तरी र सर्लाहीमा ४र४ र बारामा ३ जनाको हत्या भएको छ।
गत आर्थिक वर्ष २०८१र०८२ मा मधेस प्रदेशमा ९९ जनाको हत्या भएको थियो। जसमा ५३ जना पुरुष, ३६ जना महिला ११ जना बालबालिका रहेका थिए।
आर्थिक वर्ष २०८०/०८१ मा मधेशमा १२७ जना र आव २०७९/०८० मा १०९ जनाको हत्या भएको प्रहरीको तथ्यांकमा उल्लेख छ। अधिकांश घटना पारिवारिक विवाद, आपसी रिसइबी, सामाजिक सञ्जाल, लागुऔषध प्रयोगलगायत कारण हुने गरेको अनुसन्धानमा देखिएको प्रहरीको भनाई छ।
Shares

प्रतिक्रिया