मधेस


मधेस प्रदेश सभामा एमालेबाट निर्वाचित सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता

मधेस प्रदेश सभामा एमालेबाट निर्वाचित सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता

नेपालखबर
कात्तिक २७, २०८२ बिहिबार १८:४२, काठमाडौँ

मधेस  प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलविरुद्ध पदअनुकूल आचरण नगरेको आरोप लगाउँदै विभिन्न ७ दलले अविश्वास प्रस्ताव दर्ता गरेका छन्।

बिहीबार दर्ता भएको प्रस्तावमा सभामुख मण्डलले संसदीय मर्यादा विपरीत एकतर्फी ढंगले सभा सञ्चालन गरेको आरोप लगाइएको छ। मण्डल नेकपा एमालेबाट सभामुख भएका हुन्।

गत २२ गतेको प्रदेश सभा बैठक सञ्चालनका क्रममा सभामुखले कार्यव्यवस्था परामर्श समितिको निर्णय विपरीत विपक्षी दलका नेताहरूलाई रोष्टम प्रयोग गर्न नदिएको तथा सत्तापक्षीय सांसदहरूलाई मात्र बोल्न अनुमति दिएको आरोप प्रस्तावमा गरिएको छ। 

सभामुखले विपक्षी दलहरूको अनुपस्थितिमा समेत बैठक सञ्चालन गरेको, मुख्यमन्त्रीलाई समेत रोष्टम प्रयोग गर्न नदिएको जस्ता कार्यहरू पदको आचरणविपरीत भएको भन्दै ६४ जना प्रदेश सभा सदस्यहरूको समर्थनमा प्रस्ताव पेस गरिएको हो।

मण्डलविरुद्धको प्रस्ताव प्रदेश सभाबाट दुई तिहाइले पारित भएमा उनी पदमुक्त हुने छन्। 

प्रस्तावमा नेपाली कांग्रेसका प्रमुख सचेतक कुमार कान्त झा, माओवादी केन्द्रका दलका नेता भरतप्रसाद साह, जसपा नेपालका प्रमुख सचेतक राम अशिष यादव, नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक कनिष पटेल र नागरिक उन्मुक्ति पार्टीकी नेतृ उर्मिला देवी सिंह लगायतका हस्ताक्षर छन्।

अविश्वास प्रस्तावमा भने एमालेले सहमति जनाएको छैन। ठूलो दलको हैसियतमा एमालेका सरोज यादव मुख्यमन्त्री नियुक्त भएपछि मधेस प्रदेशमा तोडफोड भएको थियो। 

तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले यादवलाई महोत्तरी जलेश्वरस्थित एक होटेलमा शपथ खुवाएकी थिइन्। उनको उक्त कदमपछि मधेसमा व्यापक तोडफोड भएको थियो। 

पदीय आचरण विपरित काम गरेको भन्दै सरकारले प्रदेश प्रमुख भण्डारीलाई पदमुक्त गरेर सुरेन्द्र लाभलाई नियुक्त गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad