मधेस


सिरहा कारागारमा लागु औषध : छानबिन गर्न समिति गठन

सिरहा कारागारमा लागु औषध : छानबिन गर्न समिति गठन

नेपालखबर
कात्तिक २५, २०८१ आइतबार २१:३४, लहान (सिरहा)

सिरहा कारागारमा कैदीहरूले कारागारभित्रै मदिरा सेवन गर्नेदेखि अवैध लागु औषधसमेत कारोबार गर्ने गरेको सम्बन्धमा अनुसन्धान गर्न आज पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ।

प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीको नेतृत्वमा छानबिन समिति गठन भएको हो। प्रहरी नायब उपरीक्षक सोतीको नेतृत्वमा जिल्ला प्रशासन र कारागार कार्यालयका प्रतिनिधिसमेत रहने गरी पाँच सदस्यीय छानबिन समिति गठन गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले जानकारी दिए। उनका अनुसार समितिले सोमबारदेखि काम सुरु गर्नेछ।

छानबिन समितिलाई १५ दिनभित्र जिल्ला सुरक्षा समितिलाई प्रतिवेदन बुझाउने समय दिइएको छ। समितिले बुझाउने अनुसन्धान प्रतिवेदनका आधारमा कानुनी कारबाही प्रक्रिया अघि बढ्ने प्रजिअ दाहालको भनाइ छ।

केही दिनअघि कारागारभित्रै मूल नाइके र अन्य कैदीहरूले मदिरा खाँदै गरेको तथा मोबाइल चलाउँदै गरेको घटना प्रमाणसहित सञ्चार माध्यममा सार्वजनिक भएको थियो।

यस्तै, कारागारमा लागु औषध उपलब्ध हुने गरेको तथ्य पनि खुलेको थियो। यसअघि शनिबार कारागारमा सिरहाका प्रजिअ दाहालको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेनालगायतको उपस्थितिमा अनुगमन गरिएको थियो। उक्त अनुगमनका क्रममा कारागारमा सुर्ती, चुरोटलगायतका अवैध वस्तुहरू भेटिएको थियो।

यस्तै, यस प्रकरणमा कारागार व्यवस्थापन विभागले शुक्रबार नै जिल्ला प्रशासन कार्यालय सिरहालाई घटनाको छानबिन गरी संलग्नलाई कारबाही गर्न र कारागार कार्यालय सिरहालाई घटनाबारे प्रतिवेदन पठाउन लिखित रूपमा नै निर्देशन दिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad