महोत्तरीको बर्दिबास नगरपालिका–३ कालापानीका लोकहरी पौडेलको रातु खोला नजिकै १५ कठ्ठा ऐलानी खेत थियो। त्यहाँ वर्षेनी १५/२० मुरी धान फल्थ्यो।
खनजोत गर्दा हलो कोदालोमा अलिअलि ढुंगा गिटी लागेपनि उब्जनी राम्रै हुन्थ्यो। त्यही खेतमा फलेको अन्नले पौडेल परिवारलाई वर्षभरी खान पुग्थ्यो।
तीन वर्षअघि धनुषाको गोदारका क्रसर व्यवसायी महादेव महतो कालापानी पुगे। उनले पौडेलसहितका स्थानीय किसानलाई भेला गरेर ढुंगा गिट्टी भएको खेतबारीलाई मट्याइलो बनाइदिने लोभ देखाए।
खेतबारीमा भएको ढुंगा गिट्टी आफूलाई दिए बाहिरबाट मलिलो माटो ल्याएर हालिदिने लोभ देखाए। गाउँका सोझा किसानले महतोको कुरो पत्याए।
स्थानीय ६ जना किसानले पचासौँ वर्षदेखि जोतखनसहित भोजचलन गर्दै आएको खेतबारीबाट ढुंगा गिट्टी निकाल्न महतोलाई मौखिक सहमति दिए।
ढुंगा गिट्टी लगेवापत सम्बन्धित किसानलाई तत्कालको लागि जग्गा नापेर प्रतिकठ्ठा २ हजारदेखि तीन हजार रुपैयाँसम्म क्षतिपुर्ती दिने प्रतिवद्धतासमेत महतोले व्यक्त गरे।
जग्गा पहिलाकै अवस्थामा पुगेर उब्जनी लिन नपाउन्जेल क्षतिपुर्ती पनि पाइने, भविष्यको लागि जग्गा मट्याइलो पनि बन्ने भएपछि सोझा किसानले दायाँ–बायाँ सोचेनन्।
किसानले महतोलाई जग्गा सुम्पिएपछि उनले कालापानी नजिकै पर्ने रातुखोला पारि धनुषाको मिथिला नगरपालिका- ११ बाहुनमारामा छिरेश्वर नामको क्रसर उद्योग स्थापना गरे। किसानको खेतबारीबाट ढुंगा गिट्टी निकालेर उद्योगमा प्रशोधन गर्न थाले।
कालापानीका लोकहरी पौडेल, संगिता वाइबा, नरहरी पौडेल, गणेशप्रसाद पौडेल, तुलसीराज पौडेल र मकरबहादुर श्रेष्ठसहितका किसानको झण्डै पाँच बिघा जमिनमा जेसीबी र टिपर चल्न थाल्यो। खेतबारीमा ठूला ठूला खाडल बनाएर महतोले टिपरका टिपर ढुंगा गिट्टी लैजान थाले।
हेर्दाहेर्दै धान फल्ने खेत खाडलमा परिणत भयो। झण्डै एक वर्षसम्म महतोले त्यहाँबाट ढुंगा, गिट्टी निकालेर लगे। उनले किसानको खेतबारीबाट हजारौँ टिपर ढुंगा गिट्टी निकाले। ढुंगा, गिट्टी बेचेर करोडौँ कमाए।
क्रसरले ढुंगा गिटी निकालेपछि धान फल्दै गरेका खेतमा ठूला ठूला खाडल बन्यो। त्यो खडलमा पानी जम्न थाल्यो। अन्न फल्ने खेत पोखरीमा परिणत भयो। खनजोत गरेर खेती लाउन नमिल्ने भयो।
ढुंगा गिट्टी निकाल्दा बनेको खाडलमा महतोले चालेको बालुवा र बाहिरबाट मलिलो माटोसमेत ल्याएर भर्ने मौखिक सहमति गरेका थिए।
त्यहीअनुसार उनले खेतमा बनेको खाडल पुर्लान् र जग्गा नापेर क्षतिपुर्ती पनि देलान् भन्ने आशमा किसान बसे। तर, ढुंगा गिट्टी लगिसकेपछि महतो बेपत्ता भए। किसानको सम्पर्कैमा आउन छाडे। उनीहरुले गरेको फोन पनि नउठाउने भए। किसानसँग भागिभागि हिँड्न थाले।
किसानहरूले धेरैपटक महतोलाई गोदारस्थित उनको घरमै गएर भेटे। खेतबारीको खाडल पुरिदिन आग्रह गरे। खेतबारीको त्यो हालत हुँदा जीविकोपार्जनमै समस्या भएको भन्दै दुःख बिसाए। तर महतोले केही दिनपछि खेतबारीको खाडल पुर्छु भन्दै टारिरहे। अन्नको क्षतिपुर्ती पनि दिएनन्।
‘हाम्रो खेतमा वर्षको २० मुरीजति धान फल्थ्यो। त्यहीअनुसार गहुँ, मकै पनि उब्जनी हुन्थ्यो। तीन वर्षअघिसम्म खान लाउन दुःख थिएन,’ बर्दिबास ३ कालापानीकी संगिता वाइवाले नेपालखबरसँग भनिन्, ‘उनको (महादेव महतो) विश्वासमा पर्दा आज अर्काको खेतबारीमा बनिबुतो गरेर खानुपर्ने अवस्था सिर्जना भएको छ।’
अहिले उनी बिहान बेलुकाको छाक टार्न अर्का खेतबारीमा मेलापात गर्न जान्छिन्। जीविकोपार्जनकै लागि उनका पति शंकर वाइवा स्थानीय सवारी साधनमा खलासी काम गर्न थालेका छन्।
क्रसरवालाले ढुंगा गिट्टी निकालेको किसानको जमिन ऐलानी हो। ‘यो हामी आफैँले बिराएर बनाएको जग्गा हो। नापी भएर दर्ता प्रक्रियामा गएको छ, तर, लालपुर्जा बनिसकेको छैन,’ स्थानीय पूर्णबहादुर भण्डारीले भने।
यतिबेला संगिताको १८ कठ्ठा खेत पोखरीमा परिणत भएको छ। उनको धान मकै फल्ने खेतमा यतिबेला पाँच फिटसम्म पानी जमेको छ।
त्यस्तै लोकहरी पौडेलको १५ कठ्ठा, तुलसीराज पौडेलको झण्डै एक बिघा खेत पनि पोखरीमा परिणत भएको छ। गहिरो बनाएर गिट्टी, ढुंगा निकालिएकोले धेरै जसो खाडलमा पानी जमेको छ। किसानको खेतबारीबाट तीन चार फिटदेखि सात आठ फिटसम्मका खाडल बनाएर गिट्टी, बालुवा र ढुंगा निकालिएको छ।
‘कठ्ठाको अढाई तीन मन धान फल्ने हाम्रो खेतलाई क्रसरवालाले माछा पोखरी जस्तो बनाइदियो,’ लोकहरी पौडेलले भने, ‘गिट्टी ढुंगा लगिसकेपछि मेरोमा एक ट्रीप बालुवा ल्याएर खाडल पुरेजस्तो गरेको थियो, त्सपछि फर्केर आएन। क्रसर साहु नै बेपत्ता भयो।’
क्रसरवालाले अत्याचार गर्दा पनि स्थानीय सरकार, प्रहरी प्रशासनले वेवास्ता गरेको गुनासो पीडित किसानले गरेका छन्।
‘क्रसरवालाले हामीलाई नटेरेपछि हामीले बर्दिबासको प्रहरीलाई जानकारी गरायौँ, न्याय पाइन्छ कि भनेर स्थानीय जनप्रतिनिधिलाई गुहार्यौं,’ भण्डारीले भने, ‘प्रहरीलाई भन्दा सेवा केन्द्रमा भन्नुस् भन्छन्। सेवा केन्द्रमा जाँदा हामी केही गर्न सक्दैनौँ सीडीओ आर्यालयमा जानुन् भन्ने जवाफ पाइन्छ। अहिलेसम्म कसैले हाम्रो पीडाको सुनुवाई गरेनन्।’
धनुषाको मिथिला नगरपालिका–११ बाहुनमाराका सामाजिक अभियन्ता प्रेम कार्कीले कालापानीका किसानलाई क्रसर व्यवसायिले दिएको दुःखप्रति स्थानीय जनप्रतिनिधि र प्रहरी प्रशासन मुक दर्शक बन्नु नहुने बताए।
नेपालखबर संवाददाताले क्रसर व्यवसायी महादेव महतोलाई पटकपटक फोन गर्दा पनि उनले फोन रिसिभ गरेनन्। र, सम्पर्कमा आउन चाहेनन्।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) दीपक पहाडीले कालापानीका किसानले अहिलेसम्म क्रसरले गरेको बदमासीको विषयमा आफूलाई जानकारी नगराएको दाबी गरे।
‘आफ्नो खेतबारीबाट ढुंगा गिट्टी उत्खनन् गर्न दिँदा किसानले लिखित सहमति गर्नु पथ्र्यो। प्राविधिक परीक्षण नगरी व्यवसायिले पनि आफूखुसी ढुंगा गिट्टी निकाल्न हुँदैनथ्यो,’ उनले नेपालखबरसँग भने, ‘पीडितले आफूलाई परेको मर्का उल्लेख गरेर, वातावरण विगार्यो भनेर जिल्ला अनुगमन समिति र राजश्व कार्यालयमा उजुरी गर्नुभयो भने क्रसर व्यवसायिमाथि छानविन हुन्छ। त्यसपछि हामी व्यवसायिलाई कानुनअनुसार कारबाही गर्ने छौँ।’
बर्दिबास नगरपालिकाका मेयर प्रल्हाद कुमार क्षेत्रीले पनि पीडित किसानले अहिलेसम्म आफूलाई भेटर समस्याको विषयमा जानकारी नगराएको दाबी गरे।
‘उहाँहरुले आफूलाई परेको अन्यायको विषयमा हामीलाई जानकारी गराउनु भएकै छैन,’ उनले भने, ‘उहाँहरुले उजुरी गर्नुभयो भने हामी समस्या समाधानको खोजी गर्ने छौँ।’
प्रतिक्रिया