तराईमा यतिबेला कठ्यांग्रिने जाडो छ। विगत एक सातादेखि घाम लागेको छैन। चिसो हावा र शीतलहरले घर बाहिर निस्किन सक्ने अवस्थासमेत छैन।
तर, यो प्रतिकूल मौसममा पनि सर्लाहीका किसानलाई भने तरुल खन्न भ्याइनभ्याइ छ। मुटु काम्ने जाडोलाई बेवास्ता गर्दै कृषि मजदुरहरु यतिबेला खेतबारीमै बास बसेर तरुल खनिरहेका छन्। नजिकिँदै गरेको माघे संक्रान्ति पर्वको कारण यहाँका किसान र मजदुरलाई तरुल खन्ने चटारो परेको हो।
नेपाली समाजमा तरुललाई माघे संक्रान्तिको विशेष परिकारको रुपमा लिइन्छ। माघे संक्रान्तिमा फलाहारको रुपमा तरुल खाने प्रचलन शहर बजार, गाउँघर सबैतिर छ।
मंगलबार दिउँसो १२ बजे बागमती नगरपालिका–८ सोल्टीका खेतबारीमा पुग्दा जताततै कृषि मजदुर तरुल खन्न र ओसार्न व्यस्त थिए।
जमिनमुनीबाट तरुल निकाल्न कोदालो चलाइरहेका, खनेको तरुल ओसारी रहेका, तरुलका लहरा सोहोर्दै गरेका, खेतबारीमै काँटा गरेर गाडीमा तरुल लोड गर्दै गरेका किसान र मजदुरलाई देख्दा लाग्थ्यो, अल्छेलाई मात्रै जाडो हुन्छ, जाँगरिलालाई जाडोले छुँदैन!
बागमती–६ सोल्टीका मनिष विश्वकर्मा प्रहरीको ड्रेसमै कोदालो चलाइरहेका थिए। गएको मंसिर ४ गते सम्पन्न निर्वाचनमा म्यादी प्रहरी बनेर देशको सेवा गरेका उनी विगत दुई सातादेखि स्थानीयका खेतबारीमा ज्यालामा तरुल खन्ने काम गरिरहेका छन्।
‘म्यादी प्रहरी बनेर त्यतिबेला एक महिनामा ४५ हजार रुपैयाँ कमाएको थिएँ। त्यति कमाइ त अहिले पनि हुन्छ,’ साथीहरु अर्जुन पौडेल र उज्वल विश्वकर्मासँगै तरुल खन्दै गरेका मनिषले भने, ‘यो कामबाट दैनिक कम्तिमा पनि १५ सय रुपैयाँ आम्दानी भइरहेको छ।’
एक क्वीन्टल तरुल खनेबापत उनी आठ सय रुपैयाँ ज्याला लिन्छन्। कोदालो चलाउन सक्नेले एक दिनमा दुई क्वीन्टलसम्म तरुल खन्ने गरेका उनले सुनाए।
‘यसमा आम्दानी राम्रै छ। तर, मेहनत पनि धेरै गर्नुपर्छ,’ कोदालो चलाएर उठेको हत्केलाको ठेला देखाउँदै नेपालखबरसँग उनले भने, ‘पैसा कमाउन त्यति सजिलो त कहाँ हुन्छ र?’
सर्लाहीकै बसबरियाका विनोद यादव तरुल खन्ने कामकै लागि यतिबेला सोल्टी आएका छन्। यो सिजनमा उनी वर्षेनी मजदुरी गर्न यतै आउँछन्। स्थानीय ठेकेदर रोशन साह कलबारले यादवसहित झण्डै ३० जना मजदुरलाई तरुल खन्ने काममा खटाएका छन्।
साथीहरुसँगै उनी स्थानीय किसानका खेतबारीमा त्रिपालको टेण्ट टाँगेर बसेका छन्। पुस माघको कठ्यांग्रिने रातमा पनि उनीहरु त्यही टेन्टमै खान्छन्, त्यहिँ बास बस्छन्।
यादव जस्तै रौतहट धरमपुरका राम ध्यान राम (चमार) पनि तरुल खन्ने काममा खटिएका छन्। उनी तरुल खन्ने कामको लागि पहिलोपटक सर्लाही आएका हुन्।
‘उतै ज्याला मजदुरी गर्थें, साथीहरुले सर्लाहीमा तरुल खनेर राम्रो कमाइ गर्न सकिन्छ भनेपछि यता आएको हुँ,’ रामले भने, ‘काम गाह्रो भए पनि कमाइ ठिकै हुने रहेछ।’
सामान्यतया एकजनाले दिनमा एक डेढ क्विन्टलदेखि अढाई क्वीन्टलसम्म तरुल जमिनबाट बाहिर निकाल्छन्। चिम्ट्याइलो माटोमा भने एक क्विन्टल तरुल खन्न पनि गाह्रो हुने गरेको मजदुरहरुको अनुभव छ। जमिनको प्रकृतिअनुसार मजदुरले तरुल खनेको ज्याला पनि फरक फरक लिने गरेका सोल्टीकै रामबहादुर रोक्काले बताए।
‘हाम्रो टिमका सबैले ठेकेदारसँग प्रतिक्विन्टल ९ सय रुपैयाँका दरले ज्याला लिने गरेका छौँ,’ ठेकेदार शिवशंकर कलबारको काम गर्दै गरेका रोक्काले भने, ‘यो भेगमा जमिनको प्रकृतिअनुसार मजदुरले तरुल खनेबापत प्रतिक्वीन्टल ६ सयदेखि १२ सयसम्म ज्याला लिने गरेका छन्।’
उनीहरुले खनेको तरुल ठेकेदारले खेतबारीमै काँटा गरेर ज्याला दिने गरेका छन्। ज्यालाको लागि पर्खिनुपर्ने बाध्यता मजदुरलाई छैन।
पत्ताले तरुल खन्न भने निकै गाह्रो हुने गरेको रोक्का सुनाए।
‘पताले तरुल निकाल्न चार पाँच फिटसम्म गहिरो खन्नुपर्छ। यो तरुल खनेको ज्याला पनि महंगो छ,’ रोक्काले भने, ‘खनेको ज्याला मात्रै महंगो होइन, यो तरुल महंगै मूल्यमा बिक्री हुन्छ। यो तरुललाई कालिमाटीमा किलोकै डेढ सय रुपैयाँसम्म पर्छ रे।’
बागमती नगरपालिका– १० नयाँ बस्तीका रामअबतार साहले विगत तीन सातादेखि अरुको खेतबारीमा तरुल खन्ने काम गरिरहेका छन्। ‘काम गर्न सके वैशाखसम्म यो काम पाइन्छ। कमाइ पनि राम्रै हुन्छ,’ उनले भने, ‘झण्डै १० वर्षदेखि वर्षका तीन चार महिला तरुल खन्ने काम गर्दै आएको छु। यहि ज्यालाबाट घर परिवार चलेको छ।’
कमलो माटोमा एउटै बोटमा २० किलो सम्म तरुल फल्ने उनले बताए। ‘तरुल सप्रिन बलौटे खालको मलिलो माटो चाहिन्छ,’ साहले भने, ‘चिम्ट्याइलो माटोमा भने तरुल पनि सप्रिँदैन। खन्न पनि गाह्रो हुन्छ।’
किसान मजदुरले तरुल खनिरहेको ठाउँमा भेटिए, तरुल लिन गाडी लिएर आएका धादिङका शिव आले मगर। उनी सोमबार राति काठमाडौंबाट सर्लाही आएका हुन्। ‘यहाँबाट एक ट्रीप तरुल कालीमाटी (काठमाडौं) पुर्याएको भाडा १८ हजार पाइन्छ,’ उनले भने, ‘विगत एक सातादेखि दिनहुँ यहाँबाट तरुल ओसारिरहेको छु।’
आफूले ठेकेदार शिवशंकर कलबारको तरुल ओसारीरहेको उनले सुनाए। कलबारले राजघाटमा मात्रै पाँच विघा भन्दा धेरै जमिनको तरुल ठेक्का लिएका छन्। राम्रो फलेको जमिनको तरुल कठ्ठाकै २० हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको छ।
फलाइ अनुसार ठेकेदारले किसानको खेतबारीमै पुगेर प्रतिकठ्ठा १० हजारदेखि २० हजारसम्ममा ठेक्का लिने गरेका छन्।
राजघाटकै रमेश कटवालले केही वर्षदेखि थोकमा तरुलको कारोबार गरिरहेका छन्। पतिपत्नी नै तरुलको कारोबारमा लागेका कटवालले यो सिजनमा अहिलेसम्म १५ गाडि तरुल काठमाडौं पठाइसके।
माघे संक्रान्ति नजिकिएकाले उनलाई यतिबेला तरुल काठमाडौं पुर्याउन भ्याइनभ्याइ छ। ‘हामी किसानलाई खेतबारीमै प्रतिकिलो ५० रुपैयाँ दिएर तरुल खरिद गरिरहेका छौँ,’ कटुवालले भने।
यस वर्ष उत्पादन घटेकाले तरुल महंगो भएको अर्का ठेकेदरा विनोद कुमार महतोले बताए। उनले किसानलाई प्रतिकठ्ठा पाँच हजार हुण्डा तिरेर तरुल लगाएका छन्।
व्यवसायिक तरुल खेतीमा सर्लाही देशकै अब्बल जिल्लाको रुपमा चिनिन्छ। विशेषगरी सर्लाहीको पश्चिमी क्षेत्रमा पर्ने बागमती, बरहथवा लगायतका नगरपालिकामा तरुलको व्यवसायिक खेती हुन्छ। तरुल खेतीमा यहाँका हजारौँ किसान लागेका छन्।
सिँचाइको सुविधा भएको बागमती नदी आसपासको उर्वर जमिनमा यतिबेला तरुल उठाउन किसानलाई भ्याइनभ्याई छ। रातदिन नभनी किसान र व्यवसायी आफ्नो वर्ष दिनको बाली भित्र्याउने चटारोमा छन्।
बिक्रीको लागि समस्या नहुने र आम्दानी पनि मनग्गे हुने भएपछि यो खेती सर्लाहीमा वर्षेनी बिस्तार हुँदै गएको छ। कृषि ज्ञान केन्द्र सर्लाहीका अनुसार जिल्लामा २ सय हेक्टर भन्दा धेरै जमिनमा तरुल खेती हुन्छ।
सर्लाहीमा उत्पादित तरुलको मुख्य बजार राजधानी काठमाडौं भएपनि पोखरा, जनकपुर, वीरगञ्ज, विराटनगर, बुटवल जस्ता देशका प्रमुख शहर बजारमा पनि सर्लाहीको तरुल पुग्ने गरेको छ।
राजधानी काठमाडौँ वासीले सर्लाहीको तरुल विशेष रुचाउने अनुभव किसान र व्यवसायीको छ।
राजघाट क्षेत्रबाट मात्रै हिजोआज दैनिक झण्डै एकसय गाडी तरुल लिएर कालीमाटी पुग्छन्। माघे संक्रान्तिभन्दा दुई दिनअघिसम्ममा तरुल काठमाडौं पुर्याउन सके राम्रो आम्दानी हुने ठेकेदार कटुवालको भनाई छ।
‘माघे संक्रान्तिपछि अहिलेको जस्तो मूल्य पाइँदैन। बिक्री पनि अहिलेजस्तो धेरै हुँदैन,’ उनले भने।
सर्लाहीमा पुसदेखि वैशाखसम्म तरुलको कारोबार हुन्छ। फागुनदेखि जेठसम्म तरुल रोपिसक्नु पर्छ। विशेषगरी यहाँका किसानले मकैबारीमा तरुल रोप्ने गरेका छन्। मकैको ढोडले तरुलको लहरालाई थांग्रोको काम गर्छ। तरुल खाने सिजन भने पुसबाट सुरु हुन्छ। माघे संक्रान्ति आसपास यसको खपत अत्यधिक हुने गरेको छ।
धेरैजसो किसानले तरुल खेतीको लागि ठेकेदारलाई खेतबारी नै हुण्डामा दिने गरेका छन्। कतिपय किसानले भने आफैँ रोप्छन्। र, उठाउने बेलामा ठेकेदारलाई दिन्छन्। तरुल रोप्दा लगाइने मकै बालीले तरुल लगाउँदाको खर्च धान्ने किसान बताउँछन्।
सर्लाहीको स्थानीय बजारमै अहिले व्यापारीले खुद्रामा प्रतिकिलो ८० रुपैयाँका दरले तरुल बिक्री गरिरहेका छन्। उपभोक्ताले पत्ताले तरुल बढी रुचाउँछन्। सर्लाहीमा पत्ताले, आकाशे र जुँगे गरी तीन जातको तरुलको खेती बढी हुन्छ।
प्रतिक्रिया