बाराको ३ नम्बर क्षेत्रमा राजनीतिक दलका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवारले चुनौती खडा गरेका छन्। बारा ३ को प्रतिनिधि सभा र प्रदेश सभाका दुवै क्षेत्रमा राम्रो जनमत भएका स्वतन्त्र उम्मेदवार खडा भएपछि यहाँ चार पक्षीय प्रतिस्पर्धा हुने अनुमान गर्न थालिएको छ।
बारा ३ मा सत्तारुढ गठबन्धनबाट लालबाबु सिंह प्रतिनिधिसभाको उम्मेदवार छन्। यो क्षेत्रमा एमालेले पोलिटब्युराे सदस्य ज्वालाकुमारी साहलाई उम्मेदवार बनाएको छ।
कांग्रेसका पूर्वजिल्ला सभापतिसमेत रहेका सिंह केही समयअघि मात्रै कांग्रेस परित्याग गरी लोसपामा प्रवेश गरेका थिए। त्यसैगरी एमाले उम्मेदवार साह पूर्व माओवादी नेता हुन्। जनयुद्धदेखि नै माओवादीमा लागेकी साह ०७४ को निर्वाचनमा माओवादीबाटै बाराबाट प्रदेश सभामा निर्वाचित भएकी थिइन्। दुई पार्टी विभाजन हुँदा उनी एमालेतिर लागेकी हुन्। त्यसैगरी यो क्षेत्रमा जसपाबाट रामबाबु यादव उम्मेदवार बनेका छन्। यहाँ एमाले र जसपाबीच गठबन्धन छैन।
प्रतिनिधि सभातर्फ बारा ३ मा सिंह, साह र यादवलाई स्वतन्त्र उम्मेदवार कलामुद्दिन अन्सारीले चुनौती खडा गर्ने अनुमान गरिएको छ।
अन्सारीको टिमबाट बारा ३ को (क) मा नारायण क्षेत्री उम्मेदवार छन्। युवा उमेरमा एमालेको तर्फबाट डुमरवाना गाविस अध्यक्ष भएर राम्रो काम गरेका कारण क्षेत्री यो क्षेत्रका चर्चित नेता हुन्। त्यसैगरी (ख) मा प्रदीप यादवले उम्मेदवारी दिएका छन्। यादव पनि अन्सारी र क्षेत्री निकट मानिन्छन्।
अन्सारी र क्षेत्रीले एमालेबाट विद्राेह गरेर स्वतन्त्र उम्मेदवारी दिएका हुन्। एमालेका पुराना नेता क्षेत्रीले गएको स्थानीय तह निर्वाचनमा जितपुर–सिमरा उपमहानगरपालिकाको मेयरको टिकट पाएका थिए। तर, मनोनयनको दिन पार्टी अध्यक्ष केपी ओलीले क्षेत्रीको टिकट खोसेर सरस्वती चौधरीलाई दिएपछि उनी एमाले नेतृत्वप्रति रुष्ट थिए।
स्थानीय तह निर्वाचन परिणामअनुसार बारा ३ मा सत्तारुढ गठबन्धन र एमाले नै बलिया देखिन्छन्। तर, यहाँ टिकट वितरणपछि सत्तारुढ गठबन्धन र एमाले दुवैतिर विवाद चुलिएको छ। जसको फाइदा उठाउने दाउमा स्वतन्त्र उम्मेदवार लागेका छन्।
कांग्रेस छाडेर लोसपामा प्रवेश गरेका सिंहले गठबन्धनबाट टिकट पाएपछि यहाँ कांग्रेसका धेरै नेता कार्यकर्ता असन्तुष्ट बनेका छन्। त्यसैगरी आफ्नो पार्टीका पुराना नेतालाई पन्छाएर माओवादी पृष्ठभूमिकी ज्वालाकुमारी साहलाई टिकट दिएपछि यस क्षेत्रमा एमालेका नेता/कार्यकर्ता पनि रुष्ट छन्। बारा ३ मा झण्डै ७५ हजार मतदाता छन्। जसमा मुस्लिम समुदायको मत झण्डै २० हजार छ।
बारा ३ मा ३७ वडा छन्। गएको स्थानीय तह निर्वाचनमा जितपुर सिमराका ४ वटासहित मेयरमा माओवादी विजयी भएको छ। उपमेयरसहित १३ वटा वडा एमालेले जितेको छ। कलैयाको मेयरमा एमाले र फेटा गाउँपालिकाको नेतृत्व विवेकशील साझा पार्टीले पाएको छ।
अन्यत्र एमालेको जसपासँग गठबन्धन भए पनि बारा ३ मा भने एमाले र जसपा दुवै पार्टीले उम्मेदवारी दिएका छन्। सत्तारुढ गठबन्धन र एमालेको मत विभाजनले आफूहरुलाई फाइदा पुग्ने अनुमान स्वतन्त्र उम्मेदवारको छ।
बारा ३ को प्रदेश सभा (क) मा स्वतन्त्र उम्मेदवारी दिने क्षेत्री डुमरवाना गाविसका पूर्वअध्यक्ष हुन्। एमालेका पुराना नेता क्षेत्रीले गाविस अध्यक्ष र देशकै नमूना साना किसान कृषि सहकारीको नेतृत्व गरेर त्यो क्षेत्रमा राम्रो प्रतिष्ठा कमाएका छन्।
क्षेत्रीकै कारण बारा ३ मा एमालेको मत स्वतन्त्र उम्मेदवारलाई जाने अनुमान एमालेकै नेताहरुले गर्न थालेका छन्। क्षेत्रीसँग एमालेका रवीन्द्रदास श्रेष्ठ र सत्तारुढ गठबन्धनबाट मुकेश साहले प्रतिस्पर्धा गर्दै छन्। श्रेष्ठ र साह दुवै क्षेत्र बारिहका भएकाले आफ्नो टिमलाई अझ फाइदा पुग्ने अनुमान क्षेत्रीको छ।
बारा ३ को प्रदेशसभा (ख) मा एमालेका केन्द्रीय सदस्य समीर अन्सारी उम्मेदवार छन्। ज्वाला साहजस्तै अन्सारी पनि पूर्वमाओवादी हुन्।
यो क्षेत्रमा सत्तारुढ गठबन्धनबाट कांग्रेसका भोला चौरसिया र जसपाबाट पारस साह उम्मेदवार छन्। यस क्षेत्रमा पनि अन्सारी, चौरसिया र साहलाई स्वतन्त्र उम्मेदवार प्रदीप यादवले चुनौती दिने अनुमान गर्न थालिएको छ।
‘बारा ३ मा राष्ट्रिय गठबनधनभन्दा अलि भिन्न खालको प्रतिस्पर्धा हुँदै छ,’ क्षेत्रीले भने, ‘यहाँ संघ र प्रदेशका दुवै क्षेत्रमा राजनीतिक दलका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवार भारी पर्ने अनुमान मतदाताले नै गर्न थालेका छन्।’
क्षेत्री ०३६ सालदेखि तत्कालीन नेकपा मालेबाट राजनीति यात्रा सुरु गरेका नेता हुन्। त्यतिबेला क्षेत्रीले मालेको विद्यार्थी संगठनको जिल्ला कमिटी अध्यक्ष भएर पनि काम गरे। ०५४ मा उनी अध्यक्ष भएको डुमरवाना गाविस देशकै उत्कृष्ट स्थानीय निकाय घोषित भएको थियो।
उनले नेतृत्व गरेको डुमरवानाको साना किसान कृषि सहकारी संस्था देशकै उत्कृष्ट सहकारीमा पर्छ।
‘बारा ३ मा एमाले गठबन्धनबाट जसपा बाहिरिएकाले यहाँ एमाले बलियो छैन’, स्वतन्त्रबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार अन्सारीले भने, ‘टिकटकै लागि लालबाबु सिंहले कांग्रेस छाडेकाले सत्तारुढ गठबन्धनकै मत पनि उहाँलाई जाने सम्भावना छैन। जसको फाइदा हामी लिँदै छौँ। जनमत हाम्रो पक्षमा छ।’
प्रतिक्रिया