नगर क्षेत्रमा डेंगु संक्रमण बढ्दै गएपछि सर्लाहीको हरिवन नगरपालिकाले लामखुट्टे नष्ट गर्ने अभियान सुरु गरेको छ।
हरिवन नगरपालिकाले लामखुट्टे रहन सक्ने बजार क्षेत्रका सम्भावित ठाउँमा लामखुट्टे खोज र नष्ट गर (सर्च एण्ड डिस्ट्रोए) अभियान सुरु गरेको हो।
हरिवन नगर क्षेत्रमा अहिलेसम्म करिब ४० जनामा डेंगु संक्रमण देखिएको छ। परीक्षण नगरी घरमै ज्वरोको औषधि खाएर बस्ने बिरामीको संख्या सयौँ छ।
डेंगु संक्रमण तीव्र बन्दै गएपछि लामखुट्टे खोज र नष्ट गर अभियान सञ्चालन गरिएको नगरपालिकाको स्वास्थ्य शाखाका सह–संयोजक रामबाबु चौधरीले जानकारी दिए।
‘सर्च एण्ड डिस्ट्रोए’ अभियान अन्तर्गत डेंगु सार्ने लामखुट्टे नष्ट गर्न औषधि स्प्रे सुरु गरिएको छ,’ चौधरीले भने।
हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकीले मंगलबार हरिवन बजार क्षेत्रमा औषधि स्प्रे गर्दै अभियानको सुरुवात गरेका छन्। पहिलो चरणमा डेंगुको उच्च जोखिम रहेको हरिवन, नयाँरोडसहितका बजार क्षेत्रलाई प्राथमिकतामा राखेर औषधि छर्कने मेयर बुढाथोकीले बताए।
लामखुट्टे नष्ट गर्न औषधि स्प्रेसँगै डेंगुबाट जोगिन जनचेतना जगाउने अभियान पनि नगरपालिकाले सञ्चालन गरेको छ।
त्यसको लागि माइकिङ गर्ने, पर्चा पम्प्लेट बाँड्ने, र्याली गर्ने काम पनि नगरपालिकाले अघि बढाएको छ।
लामखुट्टे नष्ट गर्ने अभियानसँगै नगर क्षेत्रका सरकारी, सामुदायिक र निजी अस्पतालमा पुगेर डेंगुका बिरामीको विवरण संकलन गर्न सुरु गरिएको स्वास्थ्य शाखाले जनाएको छ।
चिकित्सकले डेंगुको संक्रमणबाट जोगिन लामखुट्टेको टोकाइबाट बच्न सुझाव दिँदै आएका छन्।
स्वास्थ्यकर्मीका अनुसार एजिप्टाई जातको लामखुट्टेको टोकाइबाट मानिसमा डेंगुको संक्रमण हुन्छ। यो लामखुट्टेले विशेषगरी दिनमा मात्रै टोक्ने गर्छ।
Shares
प्रतिक्रिया