ad ad

मधेस


साइकल खरिदमा भ्रष्टाचार प्रकरण : जनमत पार्टीले माग्यो मुख्यमन्त्रीको राजीनामा

साइकल खरिदमा भ्रष्टाचार प्रकरण : जनमत पार्टीले माग्यो मुख्यमन्त्रीको राजीनामा

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत


शैलेन्द्र महतो
साउन १९, २०७९ बिहिबार १०:३७, जनकपुरधाम

जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको राजीनामा मागेको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साइकल खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेपछि जनमत पार्टीका नेता बीपी साहले मुख्यमन्त्री राउतको राजीनामा माग गरेका हुन्। 

‘हामीले सुरुदेखि नै भन्दै आएका छौं बेटी पढाउ, बेटी बचाउ कार्यक्रममा ब्यापक भ्रष्टाचार भएको छ। हाम्रो पार्टीको दबाबले छानविन प्रक्रिया सुरु भयो,’ नेता साहले भने, ‘अख्तियारले छानविन गर्दा नै मुख्यमन्त्री राउतले राजीनामा दिनु पर्ने थियो। त्यतिबेला दिएनन्। तर, अब विशेष अदालतमा मुद्दा नै दायर भएपछि नैतिकताको आधारमा मुख्यमन्त्रीले राजीनामा दिनु पर्छ।’

कर्मचारीलाई मात्र दोष दिएर मुख्यमन्त्री राउत जोगिन खोजेको आरोप लगाउँदै नेता साहले भने, ‘मुख्यमन्त्री कै नाम जोडिएको कार्यक्रम, मुख्यमन्त्रीकै कार्यालयबाट सञ्चालित कार्यक्रम, मुख्यमन्त्रीकै निर्देशनमा सबै निर्णय हुने कार्यक्रममा मात्र कर्मचारी दोषी छन् भनेर तर्क गर्नु गलत हो। मुख्यमन्त्रीको संलग्नता बिना यत्रो ठूलो भ्रष्टाचार हुनै सक्दैन।’

‘आफ्नै हातबाट साइकल वितरण गर्ने, फोटो खिचाउने तर कुन ब्रान्डको साइकल वितरण भइरहेको छ भनेर मुख्यमन्त्रीले थाहा नपाउने कुरै भएन ।’ नेता साहले भने, ‘मुख्यमन्त्री हुनुभन्दा पहिले लालबाबु राउत बीरगंज महानगरपालिकाको कर्मचारी हुँदा पनि भ्रष्टाचारमा मुछिएका थिए। त्यतिबेला नै राउत जीले भ्रष्टाचार कसरी गर्ने र कसरी जोगिने भनेर तालिम लिनुभएको होला। त्यसकारण साइकल खरिदमा कागजी रुपमा आफू नदेखिने गरी भ्रष्टाचार गर्नु भएको छ।’

राजनीतिक दबाब र प्रभावका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री राउतलाई जोगाउन खोजेको आरोप उनले लगाएका छन्। 

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ठूलो माछामाथि हात हाल्न डराउँछ भन्ने कुरा नेपाली जनतालाई थाहा छ। त्यही भएर अख्तियारले पनि कर्मचारीमाथि मात्र मुद्दा दायर गरेको छ।’ नेता साहले भने, ‘राजनीतिक प्रभाव मुक्त अनुसन्धान हुने हो भने मुख्यमन्त्री लालबाबु राउत सरासर भ्रष्ट देखिनु हुन्छ।’

अब अख्तियारले मुद्दा दायर गरी सकेपछि राजीनामा दिनु बाहेक मुख्यमन्त्री राउतसँग विकल्प नभएको नेता साहको भनाई छ।
 
मुख्यमन्त्री राउतले यत्रो ठूलो रकमको भ्रष्टाचार गरेर मधेश प्रदेशका जनताको बदनामी गराउनुका साथै संघीयता विरोधी गतिविधि गरेको आरोप उनले लगाए।

‘मुख्यमन्त्री राउतले यत्रो ठूलो भ्रष्टाचार गरेर संघीयतालाई नै बदनाम गराएका छन्। उनको यो भ्रष्टाचारले संघीयता विरोधीलाई बल मिलेको छ। संघीयता जोगाउन भएपनि मुख्यमन्त्री राउतले राजीनामा दिनैपर्छ।’ नेता साहले भने, ‘मधेश प्रदेशका जनतालाई समेत मुख्यमन्त्रीले बदनाम गराउनु भएको छ।’

मधेश प्रदेश सरकारले सञ्चालन गरेको बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रममा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै तत्कालिन प्रदेश सचिवसहित ८ जनाविरुद्ध बुधबार अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .